बाढी आएको १६औं दिन पनि खोजी तीव्र, माथिल्लो त्रिशूली-१ मा थप एक शव फेला
काठमाडौं । भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका तथा विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र हेडवक्र्समा फसेकाहरूको खोजी कार्य १६औं दिन पनि निरन्तर जारी छ । नेपाली सुरक्षाकर्मीका साथै भारत, चीन र दक्षिण कोरियासहितका देशबाट आएका विज्ञ टोलीहरू उद्धार तथा खोजीमा सक्रिय छन् । बाढीका कारण प्रभावित ११ वटा जलविद्युत् आयोजनाहरूबाट हालसम्म कुल ९१६ जना मानिसहरू सम्पर्कविहीन रहेका छन् । यसैक्रममा बिहीबार कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रको हाकुबेसीस्थित फूलबारी त्रिशूलीको बायाँ किनारमा थप एक जनाको शव फेला परेको छ । आयोजना स्थलमा कार्यरत १,४३३ जनामध्ये हालसम्म ८७८ जना सम्पर्कमा आएका छन् भने ९ कोरियाली, ३४ चिनियाँ र ५० भारतीयसहित ५४५ जना अझै सम्पर्कविहीन छन् । आयोजनाको क्षतिग्रस्त अडिट र हेडवक्र्स क्षेत्रमा मिनी एक्स्काभेटर लैजान सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी भइरहेको छ भने कम्पनीले सम्पर्कविहीन कर्मचारीका परिवारलाई तत्काल राहत वितरणको काम सुरु गरिसकेको छ । उता चिलिमे जलविद्युत् केन्द्रको पहुँच सुरुङको ११० मिटर सफाइ भइसकेको छ । सुरुङभित्र ग्याप देखिनुका साथै आवाज दिँदा प्रतिध्वनि (इको) सुनिएकाले भित्र फसेकाहरू जीवितै हुनसक्ने आसमा नेपाली र भारतीय सेनाको टोलीले खोजी कार्य थप तीव्र बनाएको छ । यस्तै, १७८ जना सम्पर्कविहीन रहेको ३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ आयोजनामा भवनका जगहरू नै बगाएकाले उत्खनन जारी राखिएको छ भने लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ३९ जना अझै बेपत्ता रहेका छन् ।
३८३ अस्पताललाई २ अर्ब १ करोड रुपैयाँ भुक्तानी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेका ३८३ स्वास्थ्य संस्थालाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो। विवरणअनुसार विभिन्न जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताललाई रकम भुक्तानी गरिएको हो । बोर्डको निर्णयअनुसार स्वीकृत दाबी रकममध्ये भुक्तानी हुन बाँकी वैशाखसम्मको रकम सेवा प्रदायक संस्थाको खातामा पठाइएको छ ।
एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैंमा गौरवको विषय भएको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गरे । उनले व्यक्तिगत प्रदर्शनसँगै राष्ट्रको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर खेल्न खेलाडीलाई सुझाव दिए । 'देशको प्रतिनिधित्व गरेर जान लाग्नुभएको छ । सीमित स्रोत र साधनका बाबजुद मेहनत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,' मन्त्री पोखरेलले भने, ' प्रतियोगितामा सहभागी हुनु जित्नकै लागि हो । तर जिते पनि नजिते पनि खेलाडीको सम्मान राज्यका तर्फबाट घट्ने छैन । अहिले जसरी बिदाइ गरिएको छ, भोलि जितेर आए पनि हारेर आए पनि त्यति नै सम्मानका साथ स्वागत गर्नेछौं ।' उनले नेपाली खेलाडीमा पर्याप्त प्रतिभा र क्षमता रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा हासिल गर्न सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताए । खेलाडीको क्षमता विकास, प्रशिक्षण, खेल पूर्वाधार तथा खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । जापानमा आगामी असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २१ खेलका १३५ खेलाडी रहेका छन् । तीमध्ये ५७ महिला र ७८ पुरुष खेलाडी छन् । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टिमका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारीसमेत सहभागी हुनेछन् । नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ मात्र नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औं संस्करणमा जितेको थियो। त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकबिहीन भएर फर्किएको छैन । सरकारले खेलाडीको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षण तथा अन्तर्राष्ट्रिय एक्सपोजरको व्यवस्था गर्दै आएको जनाएको छ । विदेशमा प्रशिक्षणरत केही खेलाडी त्यहीँबाट जापान पुग्नेछन् । नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको छ । तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर उच्चस्तरीय तयारी गराइएको जनाइएको छ । यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन् । क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा समान छ/छ खेलाडी सहभागी हुनेछन् । खेल तालिकाअनुसार नेपाली खेलाडी जापान जाने क्रम सुरु भइसकेको छ । विभिन्न खेलका खेलाडी प्रतियोगिताको तालिकाअनुसार फरक-फरक मितिमा जापान पुग्नेछन् ।
कार्यक्षेत्रमा घाइते कर्मचारीलाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर) लाई विद्युत् क्षतिपूर्ति विनियमावली, २०७७ बमोजिम क्षतिपूर्ति तथा उपचार खर्च गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका-१०, आम्बोटेमा २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा करेन्ट लागेर घाइते भएका मगरको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो । विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति तथा उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । यसअघि १० लाख पेश्की प्राप्त गरिसकेका मगरलाई बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउने गरी सञ्चालक समितिले स्वीकृति प्रदान गरेको छ ।
कोरला नाकाबाट ओरा ५ र जोलियन म्याक्सको डेलिभरी सुरु गर्दै जीडब्ल्यूएम नेपाल
काठमाडौं । नेपालमा जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ । कम्पनीले बुकिङ गरेका ग्राहकलाई सवारीसाधन उपलब्ध गराउने तयारी तीव्र पारेको जनाएको छ । भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि गाडी ढुवानीका लागि वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ । सडक अवरोधका बाबजुद कोरला नाकाबाट ढुवानी सुरु भएपछि गाडीको डेलिभरी प्रक्रिया निरन्तर राख्न सहज भएको कम्पनीको भनाइ छ । हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभी, जीडब्ल्यूएमको ओरा ५ पछि नेपाली बजारमा आएको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो । कम्पनीले जोलियन म्याक्स ईभीलाई ५९ लाख ९९ हजार रुपैयाँको विशेष सुरुवाती मूल्यमा बजारमा ल्याएको थियो । ओरा ५ र जोलियन म्याक्स ईभी दुवैले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । विशेषगरी नयाँ पुस्ताको डिजाइन, विद्युतीय प्रविधि तथा प्रिमियम एसयूभी सेगमेन्टमा केन्द्रित यी मोडलप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको दाबी छ । भीजी इम्पेक्सका अनुसार प्राप्त बुकिङहरू क्रमशः प्रशोधन भइरहेका छन् । डेलिभरीको समयतालिकाबारे थप जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । बुकिङदेखि डेलिभरीसम्मको प्रक्रिया ग्राहकका लागि सहज र व्यवस्थित बनाउनेतर्फ कम्पनीले ध्यान केन्द्रित गरेको बताएको छ । जीडब्ल्यूएम नेपालले नेपाली अटो बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै प्रिमियम तथा लक्जरी सेगमेन्टका नयाँ मोडलहरू क्रमशः भित्र्याउने तयारी समेत गरिरहेको जनाएको छ । नयाँ मोडलको विस्तारमार्फत विश्व बजारमा उपलब्ध जीडब्ल्यूएमका आधुनिक तथा विद्युतीय प्रविधियुक्त सवारीसाधन नेपाली ग्राहकलाई उपलब्ध गराउने कम्पनीको लक्ष्य छ ।
बाढीपछि प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्बभन्दा बढी मौज्दात
काठमाडौं । गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । रसुवामा भोटेकोशी नदीमा बाढी आएपछि सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो । सोहीबमोजिम स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सहयोग रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो ।
उद्योग मन्त्री बने दीपककुमार शाह, को हुन् उनी ?
काठमाडौं । सुनसरी-४ बाट निर्वाचित रास्वपा सांसद दीपककुमार साह नयाँ उद्योगमन्त्री बनेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उद्योगमन्त्रीका लागि साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री बालेनले साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा जन्मेका उनी हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन् । मेकानिकल इन्जिनियरसमेत रहेका साहको राजनीतिक यात्रा भने उतारचढावपूर्ण देखिन्छ । उनी चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए । त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा सक्रिय थिए । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा जन्मेका उनी हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन्। साह जनमत पार्टीका उपाध्यक्षसमेत बनेका थिए । तर, पार्टीभित्रको विवाद र अनुशासन उल्लंघनको आरोपमा उनी कारबाहीमा परे । सुरुमा ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरिएका साह पछि पार्टीबाटै निष्काशित भएका थिए । जनमत पार्टीले उनीमाथि गुटगत गतिविधि सञ्चालन गरेको र पार्टी विधानविपरीत व्यवहार गरेको आरोप लगाएको थियो । जनमतबाट निष्काशित भएपछि साहले आफ्नै राजनीतिक दल निर्माण गर्ने प्रयास गरेका थिए । जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक पहिचानसहित ‘जनस्वराज पार्टी’ गठन गर्ने प्रयास गरे पनि प्रारम्भमा अदालतबाट त्यसले मान्यता पाएन । त्यसपछि उनले पार्टीको नाम परिवर्तन गरी गत मंसिरमा ‘सर्वोदय पार्टी’ दर्ता गराएका थिए । साह उक्त पार्टीका अध्यक्षसमेत बने । तर, प्रतिनिधिसभा निर्वाचनमा भने उनले रास्वपासँग सहकार्य गर्दै रास्वपाको चुनाव चिह्न लिएर सुनसरी-४ बाट उम्मेदवारी दिएका थिए । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा साहले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेका थिए । उनले कार्कीलाई झन्डै २६ हजार मतान्तरले हराएका थिए । निर्वाचनमा उल्लेख्य मतान्तरसहित विजयी भएका साह अहिले उद्योग मन्त्रालयको नेतृत्वमा पुगेका छन् । राजनीतिक दल परिवर्तनदेखि आफ्नै पार्टी गठनसम्मको यात्रा तय गरेका साहका लागि उद्योगमन्त्रीको जिम्मेवारी भने सरकारमा उनको पहिलो ठूलो कार्यकारी भूमिकाका रूपमा आएको छ । साहसँग जलविद्युत क्षेत्रमा विज्ञता रहेको छ । पूर्णकालीन राजनीतिकर्मी हुनुअघि उनले २३ वर्षसम्म हाइड्रोपावर परियोजनाहरुमा काम गरेका थिए । उनले राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक परीक्षकको रूपमा काम गरेको अनुभवसमेत बटुलेका छन् । ग्यासको सहज आपूर्ति व्यवस्थापन गर्न नसकेपछि मन्त्री गौरीकुमारी यादवले राजीनामा दिनु परेको थियो । साहको पनि मुख्य काम ग्यासको तत्काल सहज व्यवस्थापन गर्नुहुनेछ।
बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण रसुवा,नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य सेवासँगै मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको मन्त्रालयले जनाएको छ । विपद्को अवस्थामा यी सेवामा हुन सक्ने अवरोध तथा स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउन नियमित अनुगमन आवश्यक देखिएपछि समिति गठन गरिएको हो । मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक र कान्ति बाल अस्पतालका निर्देशक सदस्य रहेका छन् । समितिले आवश्यकताअनुसार अन्य विषय विज्ञलाई समेत आमन्त्रण गर्न सक्ने जनाइएको छ । समितिले प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य,बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवाको अवस्था,आवश्यक स्वास्थ्य जनशक्ति,औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता र विपद्पछिका स्वास्थ्य जोखिमको नियमित अनुगमन तथा पहिचान गर्नेछ । पहिचान भएका समस्या तथा आवश्यकताका आधारमा सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गरी सेवा निरन्तरता र थप स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल गर्नेछ ।