उद्योगमन्त्री दीपककुमार शाहले लिए शपथ, को हुन् उनी ?

काठमाडौं । सुनसरी-४ बाट निर्वाचित रास्वपा सांसद दीपककुमार साह नयाँ उद्योगमन्त्री बनेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगमन्त्रीका लागि साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेनले साहलाई नयाँ उद्योगमन्त्रीका रूपमा अघि सारेका हुन् ।

मेकानिकल इन्जिनियरसमेत रहेका साहको राजनीतिक यात्रा भने उतारचढावपूर्ण देखिन्छ । उनी चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए । त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा सक्रिय थिए ।

साह जनमत पार्टीका उपाध्यक्षसमेत बनेका थिए । तर, पार्टीभित्रको विवाद र अनुशासन उल्लंघनको आरोपमा उनी कारबाहीमा परे । सुरुमा ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरिएका साह पछि पार्टीबाटै निष्काशित भएका थिए । 

जनमत पार्टीले उनीमाथि गुटगत गतिविधि सञ्चालन गरेको र पार्टी विधानविपरीत व्यवहार गरेको आरोप लगाएको थियो ।

जनमतबाट निष्काशित भएपछि साहले आफ्नै राजनीतिक दल निर्माण गर्ने प्रयास गरेका थिए । जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक पहिचानसहित ‘जनस्वराज पार्टी’ गठन गर्ने प्रयास गरे पनि प्रारम्भमा अदालतबाट त्यसले मान्यता पाएन । 

त्यसपछि उनले पार्टीको नाम परिवर्तन गरी गत मंसिरमा ‘सर्वोदय पार्टी’ दर्ता गराएका थिए । साह उक्त पार्टीका अध्यक्षसमेत बने । तर, प्रतिनिधिसभा निर्वाचनमा भने उनले रास्वपासँग सहकार्य गर्दै रास्वपाको चुनाव चिह्न लिएर सुनसरी-४ बाट उम्मेदवारी दिएका थिए ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा साहले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेका थिए । उनले कार्कीलाई झन्डै २६ हजार मतान्तरले हराएका थिए ।

निर्वाचनमा उल्लेख्य मतान्तरसहित विजयी भएका साह अहिले उद्योग मन्त्रालयको नेतृत्वमा पुगेका छन् । राजनीतिक दल परिवर्तनदेखि आफ्नै पार्टी गठनसम्मको यात्रा तय गरेका साहका लागि उद्योगमन्त्रीको जिम्मेवारी भने सरकारमा उनको पहिलो ठूलो कार्यकारी भूमिकाका रूपमा आएको छ ।

साहसँग जलविद्युत क्षेत्रमा विज्ञता रहेको छ । पूर्णकालीन राजनीतिकर्मी हुनुअघि उनले २३ वर्षसम्म हाइड्रोपावर परियोजनाहरुमा काम गरेका थिए । उनले राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक परीक्षकको रूपमा काम गरेको अनुभवसमेत बटुलेका छन् ।

Share News