काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण रसुवा,नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य सेवासँगै मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको मन्त्रालयले जनाएको छ ।
विपद्को अवस्थामा यी सेवामा हुन सक्ने अवरोध तथा स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउन नियमित अनुगमन आवश्यक देखिएपछि समिति गठन गरिएको हो ।
मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक र कान्ति बाल अस्पतालका निर्देशक सदस्य रहेका छन् ।
समितिले आवश्यकताअनुसार अन्य विषय विज्ञलाई समेत आमन्त्रण गर्न सक्ने जनाइएको छ ।
समितिले प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य,बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवाको अवस्था,आवश्यक स्वास्थ्य जनशक्ति,औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता र विपद्पछिका स्वास्थ्य जोखिमको नियमित अनुगमन तथा पहिचान गर्नेछ ।
पहिचान भएका समस्या तथा आवश्यकताका आधारमा सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गरी सेवा निरन्तरता र थप स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल गर्नेछ ।