विकासन्युज

क्याफेमा अनलाइन सट्टेबाजी खेल्ने-खेलाउने तीन जना पक्राउ

काठमाडौं । बिर्तामोडमा अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का ४१ वर्षीय किरण कान्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाईं रहेका छन्। बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारीका अनुसार उनीहरूको साथबाट अनलाइन सट्टेबाजी गतिविधिमा प्रयोग भएका विभिन्न विद्युतीय उपकरणहरू बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले लामो समयदेखि अनलाइन सट्टेबाज सम्बन्धी खेल खेलाउने तथा सञ्चालन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज १ देखि काठमाडौंमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ । प्रदर्शनी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ । आयोजकका अनुसार प्रदर्शनीमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी १०० भन्दा बढी स्टल रहनेछन् । सबै स्टल बुकिङ भइसकेका छन् । प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, रङ, सेनेटरी सामग्री, विद्युतीय उपकरण, आन्तरिक सजावट, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि राखिनेछन् । यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, विद्युतीय कियोस्क तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ । यसबाट प्रदर्शनीलाई कागजरहित बनाउने लक्ष्य राखिएको छ । प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । घरजग्गा व्यवसायमा आएको सुस्तताले समग्र अर्थतन्त्रमा समेत असर परेको भन्दै उनले घरजग्गा कारोबारमा लाग्ने विभिन्न शुल्क तथा करबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे । उनले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन कर्जा–मूल्य अनुपात ७० प्रतिशत पुर्‍याउनुपर्ने मागसमेत गरे । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले घरजग्गामा लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए । क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको उनले बताए । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी र आर्थिक शिथिलताका बाबजुद घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए । प्रदर्शनीले घरजग्गा कारोबारसँगै निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने उनले बताए । कुँवरका अनुसार प्रदर्शनीमा करिब १ करोड ४० लाख रुपैयाँ आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्प समेत उपभोक्तामाझ प्रस्तुत गरिनेछ ।  बाढीपीडितलाई राहतदेखि निःशुल्क स्वास्थ्य शिविरसम्म आयोजकले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको जनाएको छ । भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकिएको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । प्रदर्शनी अवधिमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श दिइनेछ। रक्तदान कार्यक्रमका साथै ओम अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रदर्शनीमा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायतका विषयमा नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा वास्तुविद्को सहभागितामा सेमिनार र प्यानल छलफल आयोजना गरिनेछ । युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेका तथा चुनौती सामना गरिरहेका युवालाई खुला आह्वान गरी छनोट भएकालाई निःशुल्क तालिम र परामर्शसमेत प्रदान गरिनेछ । सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीले भूकम्प, कोभिड महामारी तथा आर्थिक शिथिलताका बाबजुद निरन्तरता पाउँदै आएको आयोजकको भनाइ छ । यसपटकको प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । बैंकिङ क्षेत्रमा तरलता सहज र ब्याजदर घट्दो क्रममा रहेकाले घरघडेरी छनोट, वित्तीय निर्णय तथा सुरक्षित लगानीबारे जानकारी लिन प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ ।

सरकारले अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने

काठमाडौं । बागमती प्रदेश सरकारले अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने भएको छ।  बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा अभिभावक गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने निर्णय गरेको हो ।  प्रदेश सरकारले भदौ १८ गते बालबालिकाको आवास, विद्यालय शिक्षा तथा आवश्यक शैक्षिक व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो । प्रदेश सरकारले राहत वितरणलाई छिटो र प्रभावकारी बनाउन प्रदेश विपद् व्यवस्थापन कोषको कार्यविधि संशोधन गरी राहत रकम जिल्ल तथा स्थानीय तहमा प्रत्यक्ष पठाउन सकिने व्यवस्था समेत गरेको छ । भदौ १० गते बिहान आएको बाढीमा रसुवा,नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो । हालसम्म १३ सय बढीको शव फेला परिसकेको छ । 

परोपकार प्रसूति अस्पतालमा ६० प्रतिशत स्टाफ नर्स दरबन्दी खाली

काठमाडौं । देशकै प्रमुख प्रसूति अस्पतालमा दैनिक दर्जनौं महिलाले सुरक्षित प्रसूति सेवाका लागि उपचार लिइरहेका छन् । तर त्यही अस्पतालमा बिरामीको चापअनुसार आवश्यक पर्ने नर्सिङ जनशक्ति व्यवस्थापनमा सरकार भने उदासीन देखिएको छ ।  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा संघीय सरकारअन्तर्गत स्वीकृत स्टाफ नर्सका २० दरबन्दीमध्ये १२ पद लामो समयदेखि रिक्त छन् ।  सरकारबाट स्वीकृत दरबन्दीको ६० प्रतिशत नर्सिङ पद खाली छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पठाएको पत्रले यो अवस्था पुष्टि गर्छ । पत्रमा पाँचौं तहका स्टाफ नर्सका २० स्वीकृत दरबन्दीमध्ये ८ पद मात्र पूर्ति भएको र १२ पद रिक्त रहेको उल्लेख छ ।  अस्पतालमा आउने सेवाग्राहीको चापको तुलनामा नर्सिङ जनशक्ति न्यून हुँदा गुणस्तरीय सेवा प्रवाहमा बाधा पुगेको भन्दै निर्देशक अधिकारीले रिक्त पदमा तत्काल पदपूर्ति गर्न मन्त्रालयसँग आग्रह गरेका छन् ।  डा. अधिकारीले साउन ८ गते पत्र लेखे पनि हालसम्म सरकारले दरबन्दीअनुसार नर्सिङ कर्मचारी पठाएको छैन । अस्पतालमा वार्षिक करिब २३ हजार प्रसूति हुने गरेका छन् । औसत दैनिक करिब ६१ प्रसूति हुने भए पनि कतिपय दिनमा यो संख्या ७० देखि ८० सम्म पुग्ने गरेको अस्पताल प्रशासनको तथ्यांक छ ।  देशभरबाट जटिल प्रसूति तथा स्त्रीरोगका बिरामीसमेत आउने केन्द्रीय अस्पतालले प्रसूति सेवासँगै आकस्मिक उपचार, शल्यक्रिया र नवजात शिशु उपचारको जिम्मेवारीसमेत सम्हाल्दै आएको छ । प्रसूति सेवाको यो चापबीच अस्पतालको ओपीडीमै वार्षिक करिब २ लाख बिरामी पुग्ने गरेका छन् । दैनिक औसत करिब ५३३ बिरामीले ओपीडी सेवा लिने अवस्थामा आकस्मिक कक्ष, भर्ना भएका बिरामी, प्रसूति वार्ड, शल्यक्रिया र नवजात शिशु उपचारमा समेत नर्सिङ जनशक्ति खटाउनुपर्ने बाध्यता छ ।  तर यति ठूलो सेवा भार धानिरहेको अस्पतालमा सरकारकै स्वीकृत २० नर्सिङ दरबन्दीमध्ये १२ पद खाली छन् ।  अस्पतालमा नर्सिङतर्फ कुल १०० दरबन्दी रहेकामा ८० दरबन्दी अस्पताल विकास समितिअन्तर्गत र २० दरबन्दी संघीय सरकारअन्तर्गत रहेको डा. अधिकारीले जानकारी दिए । विकास समितिअन्तर्गतका कर्मचारीहरू सेवा निवृत्त हुँदै जाँदा नर्सिङ जनशक्ति घट्दै गएको निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार स्थायी दरबन्दी बढाएर जनशक्ति अभाव सम्बोधन गर्ने प्रयास भइरहेको छ ।

शिक्षक सेवा आयोगको अध्यक्षमा हरिप्रसाद लम्साल नियुक्त

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे (रिमाल) लाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । आयोगमा पदाधिकारी रिक्त हुँदा शिक्षक छनोट तथा नियुक्तिसम्बन्धी काम प्रभावित हुँदै आएको थियो ।  सरकारले नयाँ पदाधिकारी नियुक्त गरेसँगै आयोगका नियमित काम अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रधानाध्यापक र शिक्षिकालाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरी सरकारी कागजात सच्याएको आरोपमा विशेष अदालतबाट सफाइ पाएका तत्कालीन प्रधानाध्यापक बासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरूविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले तत्कालीन मनोहर उच्च माध्यमिक विद्यालय, हाल मनोहर माध्यमिक विद्यालय, गंगबु काठमाडौंका तत्कालीन प्रधानाध्यापक बासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरूविरुद्ध गलत लिखत तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम सजायको मागदाबी गरिएको थियो । तर, विशेष अदालत काठमाडौंले २०८२ चैत २ गते फैसलामार्फत दुवैलाई आरोपबाट सफाइ दिएको थियो । विशेष अदालतको उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले २०८३ भदौ २५ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो । आयोगका अनुसार गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध कानुनी उपचारका लागि सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कामका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता दुवै संस्थाबीच सम्पन्न भएको हो । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र तथा सेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, सेयरको अभौतिकीकरण, सेयर प्रमाणपत्र वितरण, नामसारीलगायतका कामका लागि सिटिजन्स क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो । सम्झौताअनुसार सिटिजन्स क्यापिटलले २०८३ असोज २ गतेदेखि शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारका रूपमा सेवा प्रदान गर्नेछ । कम्पनीका सेयरधनीलाई सेयर रजिष्ट्रारसम्बन्धी आवश्यक सेवा, अभिलेख व्यवस्थापन तथा सेयर कारोबारसँग सम्बन्धित काममा आवश्यक सहजीकरण र सेवा उपलब्ध गराइने सिटिजन्स क्यापिटलले जनाएको छ । सिटिजन्स क्यापिटलले अनुभवी जनशक्ति तथा व्यावसायिक दक्षतामार्फत शिव श्री हाइड्रोपावरका सेयरधनीलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यस सहकार्यबाट कम्पनीका सेयरधनीलाई सेयरसम्बन्धी सेवा थप सहज र व्यवस्थित हुने तथा दुवै संस्थाबीचको व्यावसायिक सहकार्य थप मजबुत हुने विश्वास लिइएको छ ।

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।  बैठकले विभिन्न ७ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू : १. २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने । २. भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने । ३. अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने । ४. काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७,४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने । ५. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल (भक्तपुर), सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौं) लाई नियुक्ति गर्ने । ६. सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने । ७. सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।