असोज १ देखि काठमाडौंमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ ।

प्रदर्शनी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ । आयोजकका अनुसार प्रदर्शनीमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी १०० भन्दा बढी स्टल रहनेछन् । सबै स्टल बुकिङ भइसकेका छन् ।

प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, रङ, सेनेटरी सामग्री, विद्युतीय उपकरण, आन्तरिक सजावट, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि राखिनेछन् ।

यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, विद्युतीय कियोस्क तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ । यसबाट प्रदर्शनीलाई कागजरहित बनाउने लक्ष्य राखिएको छ ।

प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । घरजग्गा व्यवसायमा आएको सुस्तताले समग्र अर्थतन्त्रमा समेत असर परेको भन्दै उनले घरजग्गा कारोबारमा लाग्ने विभिन्न शुल्क तथा करबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

उनले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन कर्जा–मूल्य अनुपात ७० प्रतिशत पुर्याउनुपर्ने मागसमेत गरे । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले घरजग्गामा लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए । क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी र आर्थिक शिथिलताका बाबजुद घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए । प्रदर्शनीले घरजग्गा कारोबारसँगै निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने उनले बताए ।

कुँवरका अनुसार प्रदर्शनीमा करिब १ करोड ४० लाख रुपैयाँ आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्प समेत उपभोक्तामाझ प्रस्तुत गरिनेछ । 

बाढीपीडितलाई राहतदेखि निःशुल्क स्वास्थ्य शिविरसम्म

आयोजकले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको जनाएको छ । भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकिएको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनी अवधिमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श दिइनेछ। रक्तदान कार्यक्रमका साथै ओम अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ ।

रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायतका विषयमा नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा वास्तुविद्को सहभागितामा सेमिनार र प्यानल छलफल आयोजना गरिनेछ ।

युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेका तथा चुनौती सामना गरिरहेका युवालाई खुला आह्वान गरी छनोट भएकालाई निःशुल्क तालिम र परामर्शसमेत प्रदान गरिनेछ ।

सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीले भूकम्प, कोभिड महामारी तथा आर्थिक शिथिलताका बाबजुद निरन्तरता पाउँदै आएको आयोजकको भनाइ छ । यसपटकको प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

बैंकिङ क्षेत्रमा तरलता सहज र ब्याजदर घट्दो क्रममा रहेकाले घरघडेरी छनोट, वित्तीय निर्णय तथा सुरक्षित लगानीबारे जानकारी लिन प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ ।

Share News