क्याफेमा अनलाइन सट्टेबाजी खेल्ने-खेलाउने तीन जना पक्राउ

काठमाडौं । बिर्तामोडमा अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का ४१ वर्षीय किरण कान्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाईं रहेका छन्।

बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारीका अनुसार उनीहरूको साथबाट अनलाइन सट्टेबाजी गतिविधिमा प्रयोग भएका विभिन्न विद्युतीय उपकरणहरू बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले लामो समयदेखि अनलाइन सट्टेबाज सम्बन्धी खेल खेलाउने तथा सञ्चालन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share News