कार्यवाहक प्रधानमन्त्रीद्वारा मौसम र विपद् पूर्वतयारीको जानकारी, देशभर उच्च सतर्कता अपनाउन निर्देशन
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी लिएका छन् । बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग उनले मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन् । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता जारी गरिएको महानिर्देशक डा. श्रेष्ठले जानकारी गराए । त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात, पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले जानकारी गराए । आइतबारदेखि मौसममा सुधार हुने अनुमान रहेको समेत सो क्रममा जानकारी गराइएको थियो ।
कार्यवाहक प्रधानमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच भेटवार्ता
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई देशबीचको आर्थिक चासोका विषयमा छलफल भएको थियो । सो भेटमा अर्थ सचिव डा‍. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अध्यक्ष ओलीसहित ११ औं महाधिवेशनबाट निर्वाचित नेतृत्व असफल भइसक्योः कर्ण थापा
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य कर्ण थापाले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको टिप्पणी गरेका छन् । बुधवार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले पार्टी गत फागुन २१ मा सम्पन्न निर्वाचनमा भएको अप्राकृतिक पराजयसँगै अध्यक्ष ओलीको सान्दर्भिकता समाप्त भइसकेको बताए । अध्यक्ष ओलीले पराजयको जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्नुपर्नेमा थापाको जोड छ । उनले पार्टी पुनर्गठनको विषय कुनै व्यक्तिको व्यक्तिगत सोचको उपज नभई मुलुकको पछिल्लो राजनीतिक परिवेश, निर्वाचनमा एमालेले बेहोरेको पराजयको परिणाम भएको बताए । उनले गत २१ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ओलीसहित सचिवालयका सबै सदस्य पराजित भएको उल्लेख गर्दै ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्व र उक्त नेतृत्वले गरेको राजनीतिक प्रक्षेपण तथा विश्लेषणसमेत असफल भइसकेको जिकिर गरे । उनले भने, ‘११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको सम्पूर्ण नेतृत्व, त्यो नेतृत्वले गरेको प्रक्षेपण, विश्लेषण सबै कुरा पराजित भएको छ । यसको नेतृत्व अध्यक्षले गर्नुभएको कारण अब पार्टीमा उहाँको सान्दर्भिकता सकियो । उहाँको अनुमान फेल भयो, उहाँको विश्लेषण फेल भयो, उहाँ आफै पराजित हुनुभयो । योभन्दा ठूलो असफलताको लागि कुनै प्रमाण चाहिन्छ ? ’ उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमार्फत निकास खोजिनुपर्नेमा समेत जोड दिए ।
मासु प्रशोधनमा काम गर्ने ८८ चिनियाँको भिसा रद्द
काठमाडौं । अध्यागमन विभागले नेपालमा ८८ चिनियाँको भिसा रद्द गरेको छ । सिन्धुलीको मरिण गाउँपालिकास्थित जियान फुड प्रालिमा कार्यरत चिनियाँले अन्य कम्पनीको नाममा बिजनेस भिसा लिएको भेटिएपछि विभागले रद्द गरेको हो । विभागले भिसाको उद्देश्यविपरीत अर्को कम्पनीमा काम गरेको पाइएपछि भिसा रद्द गरेको हो । उनीहरूलाई निष्काशनको प्रक्रिया अघि बढाइएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले जानकारी थिए । उनका अनुसार चिनियाँ लगानीमा मासु प्रशोधनसम्बन्धि कम्पनी सञ्चालनमा छ । तर, त्यहाँका चिनियाँले भने फर्जी कम्पनी खडा गरेर भिसा लिएको विषयमा उजुरी परेको थियो । अध्यागमन नियमावली, २०५१ मा व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोही उद्देश्यका साथ नेपालमा बस्नुपर्ने व्यवस्था छ । व्यावसायिक भिसालाई रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न मिल्दैन । अध्यागमन विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्तबमोजिमका क्रियाकलापमा मात्र संलग्न हुन अनुरोधसमेत गरेको छ ।
आगो लगाउनुपूर्व दोङले प्रहरी र गर्लफ्रेन्डलाई फोन गर्छु भन्दै सहचालकलाई उतारेका थिए
काठमाडौं । त्रिपुरेश्वरस्थित बसमा चालक अर्जुन दोङले आफू र बसलाई पेट्रोल छर्केर आफै आगजनी गरेको खुलेको छ । सोमबार बिहान ऋद्धिसिद्धि बसका चालक दोङ स्वयंले बस स्टप अगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएको खुलेको हो । बुधबार सहचालक रूपेश फुँयालले गाडीमा एक बोतल पेट्रोल रहेको प्रहरीसँगको बयानका क्रममा उल्लेख गरेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा उपस्थित भएर उनले प्रहरीसमक्ष गाडीका पार्टपुर्जा र रेन्चलगायतका औजार सफा गर्न राखिएको पेट्रोल छर्केर आगो लगाएका बयान दिएका हुन् । फुयाँलले प्रहरीसमक्ष घटनाअघि चालक र सहचालक सँगै रहेको पनि बताएका छन् । ् उनले प्रहरीलाई दिएको बयानमा चालकले प्रहरी र आफ्नी गर्लफ्रेन्डसँग कुरा गर्ने भन्दै सहचालकलाई गाडीबाट बाहिर पठाएको उल्लेख गरेका छन् । फुँयाल नजिकै रहेको आँखा अस्पताल छेउको पसलमा गई चुरोट पिउँदै थिए । फर्किने क्रममा गाडीमा आगो लागेको देखेपछि दौडिएर घटनास्थल पुगेको उनले प्रहरीलाई बयान दिएका छन् । यसले गाडीभित्रै पेट्रोल रहेको कुरा पुष्टि गरेको कार्यालयका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । सोधपुछका क्रममा फुँयालले घटनाबारे मिडियामा सार्वजनिक भएको विषयभन्दा फरक कुनै नयाँ कुरा नखुलाएको खड्काले बताए । उनका अनुसार घटनाअघि हर्न बजाएको विषयमा विवाद भएको थियो । चालकले ‘बाइकलाई हटाउन हर्न’ दिएको विषयलाई लिएर चालकसँग विवाद भएको उनले बताएका छन् । सहचालक फुँयाल दोलखाका १९ वर्षीय युवक हुन् । उनले एसईई उत्तीर्ण गरेको भए पनि कक्षा ११ र १२ भने अध्ययन नगरेको प्रहरीलाई बयान दिएका छन् । सोमबार त्रिपुरेश्वरको बस स्टपमा ऋद्धिसिद्ध बसमा आगजनी भएको थियो । मंगलबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा चालक दोङको उपचारकै क्रममा मृत्यु भएको थियो । आफैलाई आगो लगाउने चालकको नागरिकता थिएन, अरूकै लाइसेन्स लिएर बस चलाउँथे
बैंकिङ क्षेत्रमा समस्या छ, तर आत्तिनुपर्ने अवस्था छैन : मनोज गोयल
काठमाडौं । बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) का महासचिव मनोज गोयलले बैंकिङ क्षेत्र विगतको तुलनामा अप्ठ्यारो अवस्थामा पुगे पनि धराशायी हुने अवस्थामा भने नरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले आर्थिक गतिविधि चलायमान हुँदै गए बैंकिङ क्षेत्र पनि पुनः सहज अवस्थामा फर्किने बताए । उनका अनुसार बैंकिङ क्षेत्रमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर समग्र अर्थतन्त्रमा पर्ने भएकाले बैंकिङ क्षेत्रलाई सहज बनाउनेतर्फ सरकार र नियामक निकायको ध्यान जान आवश्यक छ । गोयलले अहिले बलियो सरकार रहेकाले आर्थिक गतिविधि बढ्ने र त्यसले बैंकिङ क्षेत्रलाई समेत सहज बनाउने अपेक्षा रहेको बताए । ‘हाम्रो अर्थतन्त्रमा अवसर रहेकाले बैंकिङ क्षेत्र पनि सहज हुन्छ,’ उनले भने, ‘अहिले बैंकिङ क्षेत्र जरो आएजस्तो अवस्थामा छ ।’ उनले बैंक तथा वित्तीय संस्थाका पुराना प्रवद्र्धकलाई बाहिरिन दिने र नयाँ प्रवद्र्धकलाई प्रवेशको अवसर दिनुपर्ने माग आफूहरूले गर्दै आएको बताए । बैंकिङ क्षेत्रमा नयाँ लगानी र प्रवर्द्धकको प्रवेशले क्षेत्रलाई थप गतिशील बनाउन सहयोग पुग्ने उनको भनाइ छ । गोयलले कर प्रणाली र कर्जा नोक्सानी व्यवस्थापनमा समेत सुधार आवश्यक रहेको बताए । विशेषगरी खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुँदा बैंक तथा वित्तीय संस्थाले थप कर तिर्नुपर्ने व्यवस्थालाई पुनरवलोकन गर्नुपर्ने उनको भनाइ छ । ‘कर सुधार, लोन लस प्रोभिजनलगायतका व्यवस्थामा सुधार गर्न जरुरी छ,’ उनले भने, ‘खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुँदा थप कर तिर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था सरकारले हटाउनुपर्छ ।’ बाढीबाट प्रभावित ऋणीलाई कर्जा भुक्तानीमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्था तयार रहेको पनि उनले बताए । त्यसका लागि नेपाल राष्ट्र बैंकसँग आवश्यक छलफल गरिने गोयलले जानकारी दिए ।
तीन दिन भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौं । मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली शक्तिशाली बन्दै गएको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा समेत पर्ने बताएका छन् । बुधबार उक्त प्रणाली बिहीबार बिहानसम्म भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताए । उनले बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिने भएकाले यही शुक्रबारदेखि आगामी आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको बताए । उनले मनसुनी गतिविधि समेत कायमै रहेको कारण वर्षाले जनजीवन प्रभावित हुन सक्नेतर्फ सबै सचेत रहन आवश्यक रहेको बताए । मौसमविद् ढकालले बिहीबार कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको पनि बताए । बिहीबारको तुलनामा त्यसपछिका तीन दिनमा वर्षाको मात्रा बढ्ने उनको भनाइ छ । उनले आगामी तीन दिनमा लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षाको सम्भावना रहेको पनि बताए । उनले भने, ‘बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली अहिले गहिरो न्यून चापीय प्रणालीमा प्रवेश गरेको छ । यसले आज बेलुका वा भोलि बिहानसम्ममा भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तट नजिकबाट जमिनको सतहमा प्रवेश गर्ने देखिएको छ । यसले नेपालमा पनि वर्षा गराउने जस्तो देखिएको छ । न्यून चापीय प्रणाली भारतका जमिनका सतहमा हुने र त्यसको असर नेपालमा पनि पर्ने जस्तो देखिएको छ ।' मौसमविद् ढकालले यही अवधिमा उच्च हिमाली क्षेत्रमा समेत भारी हिमपातको सम्भावना रहेको बताए । यसले पर्वतारोहणलगायतका गतिविधिमा असर पर्न सक्ने उनको भनाइ छ । अहिले पर्वतारोहणको याम चलिरहेको कारण यसतर्फ सरोकारवाला पक्ष सचेत र सतर्क हुनुपर्ने उनले बताए । उनले भने, ‘यही प्रणालीको कारणले उच्च पहाडी तथा हिमाली भू–भागहरूमा बढी प्रभाव पार्ने नै सम्भावना देखिन्छ । यतिबेला पर्वतारोहण याम भएको कारण भारी हिमपातको सम्भावना रहेको कारणले गर्दा बढी प्रभावित हुने देखिन्छ ।’ मौसमविद् ढकालले मनसुनका क्रममा लगातार वर्षा भइरहे पनि पछिल्ला केही दिनमा वर्षाको मात्रा घटेको कारण अब एक्कासि वर्षा भए कमजोर भू–भागमा पहिरोको जोखिमसमेत बढ्ने बताए । उनले भारी वर्षाका कारण नदी तथा तटीय क्षेत्रमा बाढीको जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरे । उनले वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विज्ञको सल्लाहअनुसार मात्र धानबाली भित्र्याउन तथा अन्य कृषि कार्य गर्नसमेत आग्रह गरे । उनले भने, ‘मनसुनमा लगातार वर्षा भइरहेको भए पनि पछिल्लो केही दिनमा त्यस्तो वर्षा भएको छैन । अब एक्कासि भारी वर्षा भएमा कमजोर भू–भाग भएका क्षेत्रमा पहिरो जाने देखिएको छ । त्यसैगरी, भारी वर्षाका कारण तल्लो तटीय क्षेत्रका खोलानालाहरू पनि बढ्ने देखिन्छ । यसले असर गर्छ नै । उच्च हिमाली भेगमा हिमपातको सम्भावना भएको कारणले त्यो क्षेत्रमा पनि असर पर्ने जस्तो देखिन्छ ।' जल तथा मौसम विज्ञान विभागले शून्यदेखि १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा तथा १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ ।
दक्षिण अफ्रिकामा गोलीकाण्ड हुँदा कम्तीमा ११ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकाको डरबन सहरनजिकै एउटा घरमा भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति अबेर बन्दुकधारीहरू क्वामाखुथा टाउनसिपस्थित एउटा घरमा प्रवेश गरी त्यहाँ रहेका १४ जनामाथि गोली चलाएका थिए । घटनास्थलमै १० जनाको मृत्यु भएको थियो । चार जनालाई अस्पताल लगिएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । प्रहरीले मृतकमध्ये केही व्यक्ति गैरकानुनी गतिविधिसम्बन्धी घटनामा प्रहरीको निगरानीमा रहेको जनाएको छ । अनुसन्धान प्रभावित नहोस् भनेर प्रहरीले यसबारे तत्काल थप जानकारी दिन नसकिने बताएको छ । गोलीकाण्डको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन । यद्यपि, दुई प्रतिद्वन्द्वी समूहबीचको विवादका कारण घटना भएको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार प्रारम्भिक जानकारीमा १३ पुरुष र एक महिला घरभित्र पार्टी गरिरहेका थिए । ती महिला गर्भवती रहेको अनुमान गरिएको छ । त्यही क्रममा तीन जना पुरुष त्यहाँ पुगेका थिए र उनीहरूमाथि गोली चलाएका थिए । गोली लागेर महिलाको पनि मृत्यु भएको छ । घटनास्थलमा पुगेका एक स्थानीय टेलिभिजन च्यानलका रिपोर्टरका अनुसार भाग्नुअघि आक्रमणकारीहरूले एक जना पीडितको गाडीमा आगो लगाएका थिए । सार्वजनिक भएका तस्बिरमा जलेको गाडी देखिएको छ । प्रहरीले घटनामा संलग्न हमलाकारीहरूको खोजी सुरु गरिएको जनाएको छ । दक्षिण अफ्रिकामा विश्वकै उच्च हत्या दरमध्ये एक रहेको छ । प्रहरीको तथ्यांकअनुसार देशमा दैनिक ६० भन्दा बढी मानिसको हत्या हुने गरेको छ ।