दक्षिण अफ्रिकामा गोलीकाण्ड हुँदा कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको डरबन सहरनजिकै एउटा घरमा भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार राति अबेर बन्दुकधारीहरू क्वामाखुथा टाउनसिपस्थित एउटा घरमा प्रवेश गरी त्यहाँ रहेका १४ जनामाथि गोली चलाएका थिए ।

घटनास्थलमै १० जनाको मृत्यु भएको थियो । चार जनालाई अस्पताल लगिएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।

प्रहरीले मृतकमध्ये केही व्यक्ति गैरकानुनी गतिविधिसम्बन्धी घटनामा प्रहरीको निगरानीमा रहेको जनाएको छ । अनुसन्धान प्रभावित नहोस् भनेर प्रहरीले यसबारे तत्काल थप जानकारी दिन नसकिने बताएको छ ।

गोलीकाण्डको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन । यद्यपि, दुई प्रतिद्वन्द्वी समूहबीचको विवादका कारण घटना भएको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार प्रारम्भिक जानकारीमा १३ पुरुष र एक महिला घरभित्र पार्टी गरिरहेका थिए । 

ती महिला गर्भवती रहेको अनुमान गरिएको छ । त्यही क्रममा तीन जना पुरुष त्यहाँ पुगेका थिए र उनीहरूमाथि गोली चलाएका थिए । गोली लागेर महिलाको पनि मृत्यु भएको छ ।

घटनास्थलमा पुगेका एक स्थानीय टेलिभिजन च्यानलका रिपोर्टरका अनुसार भाग्नुअघि आक्रमणकारीहरूले एक जना पीडितको गाडीमा आगो लगाएका थिए । सार्वजनिक भएका तस्बिरमा जलेको गाडी देखिएको छ ।

प्रहरीले घटनामा संलग्न हमलाकारीहरूको खोजी सुरु गरिएको जनाएको छ ।

दक्षिण अफ्रिकामा विश्वकै उच्च हत्या दरमध्ये एक रहेको छ । प्रहरीको तथ्यांकअनुसार देशमा दैनिक ६० भन्दा बढी मानिसको हत्या हुने गरेको छ ।

Share News