टर्कीमा इन्धनको मूल्यले तोड्यो रेकर्ड : अर्थतन्त्र र जनजीवनमा दबाब

काठमाडौं । विश्व बजारमा ऊर्जाको मूल्यमा भएको भारी वृद्धि र आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण टर्कीमा इन्धनको मूल्यले हालै ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

डिजेलको मूल्य पहिलो पटक प्रतिलिटर १०० टर्की लिरा (२.०५ अमेरिकी डलर) नाघेपछि यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि यातायात र समग्र अर्थतन्त्रमा पर्न थालेको छ ।

टर्कीको अर्थतन्त्रमा ऊर्जाको बढ्दो मूल्यले गम्भीर संकट निम्त्याएको छ । विशेषगरी तेल र प्राकृतिक ग्यासको ठूलो आयातकर्ता रहेको टर्कीका लागि यो मूल्यवृद्धि निकै चुनौतीपूर्ण बनेको छ ।

हर्मुज जलडमरुमा आपूर्ति अवरोधको चिन्ता र विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरमाथि पुग्दा टर्कीको आन्तरिक बजार प्रभावित भएको हो । देशको करिब आधा जनसंख्या न्यूनतम ज्याला (२८,०७५.५० लिरा) मा निर्भर रहेको अवस्थामा इन्धनको मूल्यवृद्धिले मध्यम र निम्न वर्गलाई सबैभन्दा बढी प्रताडित बनाएको छ ।

अवकाशप्राप्त आर्किटेक्ट युसुफ कोसेओग्लु भन्छन्, ‘पेन्सनले बाँच्न असम्भव भइसकेको छ, हामी बचतको भरमा बाँचिरहेका छौँ । इन्धनको मूल्यमा हुने एक लिराको वृद्धिले पनि खाद्य पदार्थदेखि ढुवानीसम्मको मूल्य अकासिन्छ ।’

यसको प्रभाव यातायात र दैनिक उपभोग्य वस्तुमा पनि स्पष्ट देखिएको छ । महँगीका कारण सवारीधनीहरू निजी साधन छोडेर सार्वजनिक यातायात वा कम्पनीका बस प्रयोग गर्न बाध्य भएका छन् ।

शिक्षक हिलाल ओनाटका अनुसार इन्धनको मूल्यले घरभाडा र अपार्टमेन्टको मर्मत शुल्कमा समेत वृद्धि गराउने निश्चित छ ।

टर्की सरकारले मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको भए पनि ऊर्जाको यो मूल्यवृद्धिले सो प्रक्रियालाई सुस्त बनाइदिएको छ । अर्थमन्त्री मेहमेत सिमसेकले बाह्य कारकले गर्दा मूल्यवृद्धि नियन्त्रणको गति अपेक्षा गरिएभन्दा सुस्त भएको स्वीकार गरेका छन् ।

ऊर्जा मन्त्री अल्परस्लान बायरकतारले रूस–युक्रेन द्वन्द्व र क्षेत्रीय तनावलाई ‘परफेक्ट स्टर्म’ भन्दै यसले मुलुकको अर्थतन्त्रमा बाह्य दबाब सिर्जना गरेको उल्लेख गरेका छन् ।

Share News