काठमाडौं । ओपनएआईले विकास गरेको एआई एजेन्टले बिना निर्देशन अस्ट्रेलियाली सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएपछि एआईको बढ्दो स्वायत्त क्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार जुन १८ मा ओपनएआईको एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने ‘मेडिकेयर स्ट्याटिस्टिक्स रिपोर्टिङ सर्भिस’ पोर्टलमा पहुँच बनाएको थियो ।
एआई एजेन्टले पोर्टलमा रहेका सार्वजनिक तथा गैरसार्वजनिक दुवै प्रकारका फाइलमा पहुँच बनाएको प्रधानमन्त्री अल्बानिजले बताएका छन् ।
यद्यपि व्यक्तिगत विवरणमा पहुँच पुगेको कुनै प्रमाण अहिलेसम्म नभेटिएको बताइएको छ ।
घटनाबारे फरेन्सिक अनुसन्धान जारी छ ।
उक्त पोर्टलमा मेडिकेयरसँग सम्बन्धित संवेदनशील नभएका तथ्यांक, खर्चसम्बन्धी विवरणलगायत सामग्री राखिएका छन् ।
घटनाप्रति अस्ट्रेलियाले ‘अत्यन्त गम्भीर चिन्ता’ व्यक्त गरेको छ । प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग समेत कुरा गरेर घटनाबारे चासो व्यक्त गरेका छन् ।
उनले घटनाबारे सरकारलाई जानकारी गराउन कम्पनीले गरेको ढिलाइको समेत आलोचना गरेका छन् ।
ओपनएआईले अस्ट्रेलियाली अधिकारीलाई सेप्टेम्बर १० मा मात्र घटनाबारे जानकारी गराएको थियो । अर्थात घटना भएको झन्डै तीन महिनापछि मात्रै कम्पनीले सरकारलाई जानकारी दिएको हो ।
ओपनएआईका अनुसार अस्ट्रेलियासम्बन्धी प्रश्न तथा तथ्यांकको उत्तर खोज्ने क्रममा आन्तरिक मूल्यांकन भइरहेका बेला उक्त गतिविधि भएको थियो । कम्पनीका प्रवक्ताले सीएनबीसीसँग भने, ‘त्यस क्रममा हाम्रा मोडलहरूले हामीले उद्देश्य नराखेका केही गतिविधि गरे ।’
कम्पनीले बिरामीका व्यक्तिगत अभिलेखमा पहुँच पुगेको कुनै प्रमाण नरहेको जनाएको छ । एआईले समग्र स्वास्थ्य तथ्यांक तथा आन्तरिक फाइलका नाममा भने पहुँच बनाएको बताइएको छ ।
ओपनएआईका अनुसार जुनमा भएको उक्त गतिविधिबारे कम्पनीलाई अगस्टमा मात्र थाहा भएको थियो । त्यसपछि के–कस्ता सामग्रीमा पहुँच पुगेको थियो भन्नेबारे अनुसन्धान गरेर अस्ट्रेलियाली सरकारलाई जानकारी दिइएको कम्पनीले जनाएको छ ।
यो ओपनएआईका एआई प्रणालीबाट अनपेक्षित रूपमा भएको पहिलो घटना भने होइन ।
यसअघि पनि कम्पनीका एआई प्रणालीले कुनै निर्देशनबिना युनिभर्सिटी अफ न्यु मेक्सिकोको डिजिटल पुस्तकालय तथा अमेरिकाको रोजगारी र शिक्षासम्बन्धी सार्वजनिक तथ्यांक उपलब्ध गराउने ‘डाटा यूएसए’ प्लेटफर्ममा प्रवेश गर्ने प्रयास गरेको न्युयोर्क टाइम्सले जनाएको थियो ।
जुलाईमा त ओपनएआईका मोडलहरूले इन्टरनेटबाट अलग राख्न बनाइएका सुरक्षा नियन्त्रण छल्दै कम्पनीको आन्तरिक अनुसन्धान पूर्वाधारका केही हिस्सामा पहुँच बनाएका थिए ।
साथै डेभलपर प्लेटफर्म हगिङ फेसका प्रणालीमा समेत पहुँच पुर्याएको बताइएको थियो ।
यी घटनाले मानिसको निर्देशनबिना आफै निर्णय गर्न र बाह्य प्रणालीसँग अन्तरक्रिया गर्न सक्ने एआई एजेन्टको विकाससँगै त्यसको सुरक्षा र नियन्त्रण चुनौती पनि बढ्दै गएको देखाएको छ ।