इरान–अमेरिकाबीच न्युयोर्कमा गोप्य भेटवार्ता

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाई । फाइल तस्बिर ।

काठमाडौं । न्युयोर्कमा जारी संयुक्त राष्ट्र महासभाको सत्रको बीचमा इरानका प्रतिनिधि र अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले यस कुराको पुष्टि गरेका हुन् ।

उनले अमेरिकी पक्षसँगको सम्पर्क कतारको मध्यस्थतामार्फत भएको बताए ।

इस्माइल बकाईले भने, ‘गत साता इरानले होर्मुज जलडमरूमध्य, क्षेत्रीय सुरक्षा र कूटनीतिबारे आफ्नो धारणा स्पष्ट गरिसकेको थियो । त्यसपछि न्युयोर्कमा रहेको इरानी प्रतिनिधिमण्डलले अमेरिकी पक्षसमक्ष आफ्ना माग स्पष्ट रूपमा राखेको छ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी अधिकारी र इरानी प्रतिनिधिमण्डलबीच करिब तीन घण्टासम्म ‘धेरै राम्रो’ बैठक भएको बताएका थिए ।

यद्यपि, उनले उक्त वार्ता मध्यस्थकर्तामार्फत मात्रै भएको स्पष्ट पारेका थिए ।

यस बैठकअघि डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने धम्कीसमेत दिएका थिए । 

उनले संयुक्त राष्ट्र महासभामा अमेरिकासँग इरानका सम्बन्धमा दुईवटा विकल्प रहेको बताएका थिए, इरानसँग सम्झौता गर्ने वा इरानलाई समाप्त पार्ने ।

Share News