बैंकको सेयर कर्जा ५४ करोड घट्यो, यस्तो छ कारण
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा (मार्जिन नेचर लोन) लगानी घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले ७२ करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा १ अर्ब २६ करोड ११ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी ५४ करोड रुपैयाँ घटेको छ । लगानीयोग्य पुँजीको संकट चुलिएपछि सेयर कर्जा घटेको छ । हालसम्म सेयर कर्जा ४१ अर्ब १९ करोड रुपैयाँ छ । समीक्षा अवधिमा १ करोड रुपैयाँ माथिको लगानी ०.९ प्रतिशत मात्र बढेको छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कर्जा ८.२, २५ देखि ५० लाखसम्म ३.९ र २५ लाखभन्दा मुनिको सेयर कर्जा ३.८ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ । यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउँदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ । लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ । बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढ्यो र सेयरबाट आउने प्रतिफल घट्दा थप लगानी आउन सकेन यसको असर सेयर कारोबारमा परेको हो । बजारमा हकप्रद, थप निष्कासन (एफपीओ) र साधारण सेयर (आईपीओ) को आपूर्ति बढेको र महंगो ब्याजदर र लगानीयोग्य पुँजी नभएपछि ठुला लगानीकर्ता बजारमा नआएको लगानीकर्ताको भनाई छ । १८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
ब्याजदर अझै बढ्ने संकेत, वाणिज्य बैंकहरुको आधार दर ११ प्रतिशत नजिक
काठमाडौं । बजारमा तरलताको अवस्था सहज हुँदै गएपनि वाणिज्य बैंकहरुको ब्याजदर अझै नघट्ने संकेत देखिएको छ ।वाणिज्य बैंकहरुको आधार ब्याजदर (वेसरेट) ग्राफ माथि चढेपछि ब्याजदर नघट्ने देखिएको हो । बैंकहरुले सञ्चालन खर्च बढाउँदा आधार ब्याजदर माथि पुगेको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “निक्षेप लागतको तुलनामा आधारदर धेरै माथि गएको छ” उनले भने “ब्याजदर मंहगो भएपछि यसले उद्योग व्यवसायमा असर पर्ने देखिएको छ । यसलाई अंकुश लगाउनु पर्नेछ ।” गत वैशाखसम्म बैंकको अाैसत आधार ब्याजदर बढेर १०.९४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष आधारदर ९ प्रतिशत रहेकोमा एक वर्षको अवधिमा झण्डै २ प्रतिशत बढेको हो । बैंकको आधार दर बढेपछि यसको असर कर्जामा पर्ने देखिएको हो । औसत निक्षेप लागत ६.६ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । आधारदरमा ५ प्रतिशत स्प्रेडदर थप्दा कर्जाको ब्याजदर औसत १७ प्रतिशत पुग्ने देखिन्छ । यसले कर्जाको ब्याजदर बढेपछि व्यवसायको लागत बढ्ने र अधिकाँश आयोजना आर्थिक रुपमा संभाव्य नहुने देखिएको छ । अधिकाँश आयोजना, उद्योग व्यवसाय बढ्दो ब्याजको मारमा परेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक परिदृष्यमा लगानी र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको देखाएको छ । वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुशित गर्नुपर्ने राष्ट्र बैंकको भनाई छ । पछिल्लो समयमा लगानीयोग्य पुँजी संकट चुलिएपछि अधिकाँश वाणिज्य बैंकले महंगोमा निक्षेप उठाएका छन् । महंगोमा निक्षेप उठाएपछि मुद्धति निक्षेपको ब्याजदर बढेर १४ प्रतिशतसम्म पुगेको थियो । पछि बैंकहरुले मुद्धतिको ११ र साधारण वचतमा ८ प्रतिशत ब्याजदर दिने आन्तरिक सहमति गरेका थिए । यस्तै शाखा विस्तार र कर्मचारीको दायित्व थप हुदा सञ्चाल खर्च बढेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । बैंकले सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा कृषि विकास बैंकको सबैभन्दा बढी कृषि विकास बैंको आधार दर १२.७२ र सरकार स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकको ६.२० प्रतिशत छ । गत बैशाखमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.७८ प्रतिशत रहेकोमा यो वैशाखमा बढेर ५.१५ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ वैशाखमा २.७३ प्रतिशत रहेकोमा बढेर वैशाखमा ४.५३ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेर ३ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ प्रतिशत बढेको छ । यस्तै कर्जा लगानी १९.६ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप परिचालन भन्दा बढी कर्जा लगानी गरेपछि बजारमा लगानीयोग्य पुँजीको अभाव भई कर्जाको ब्याजदरमा बढेको छ ।
लालबाबुको अर्को आक्रामक निर्णय: अब सरकारी खर्चमा कर्मचारी विदेश भ्रमणमा जान नपाउने
काठमाडौं । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीहरुलाई विदेश भ्रमणमा अंकुस लगाएको छ । आइतबार बसेको मन्त्री स्तरको बैठकले ६ बुँदे निर्णय गर्दै कर्मचारीलाई आफु खुसी विदेश भ्रमणमा रोक लगाएको हो । अधिकृत लिलाराज काफ्लेद्धारा हस्ताक्षर गरिएको निर्णयको नम्बर ३ मा सरकारले खर्च बेहोर्ने गरी कुनैपनि स्थानीय तहका पदाधीकारी र कर्मचारी विदेश भ्रमणमा जान नपाउने उल्लेख गरिएको छ । यस्तै बुँदा नम्बर ६ मा नेपाल सरकारको नियर्णय बिना वैदेशिक भ्रमणमा जाने प्रवृतिलाई निरुत्साहन गर्न राहदानी विभागले भिसा स्वीकृत गर्नुपुर्व मन्त्रालयको सिफारिस अनिवार्य रुपमा लागू गर्ने उल्लेख गरिएको छ । यस्तो छ मन्त्रालयको निर्णयहरु
गभर्नर भन्छनः पैसाले काँग्रेस/कम्युनिष्ट चिन्दैन
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पैसाले काँग्रेस/कम्युनिष्ट नचिन्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी भएका गभर्नर डा. नेपालले भने–पैसाले काँग्रेस कम्युनिष्ट चिन्दैन्, सम्पति सुद्धिकरणमा दायाँ बाँया भयो भने दातृ निकायहरुले सहयोग रोकिदिन्छन । त्यसैले सम्पति सुद्धिकरणमा सचेत हुनुपर्छ । उनले सम्पति सुद्धिकरणमा ध्यान नदिएकैले पाकिस्तानलाई अन्तराष्ट्रिय दातृ निकायहरुले सहयोग कटौती गरेको समेत स्पष्ट पारे । ‘पाकिस्तानले सम्पति सुद्धिकरणमा ध्यान दिएन, त्यसैले विदेशी सहयोग कटौती भएको छ, दाताहरुले सहयोग कम गरेपछि यतिबेला चीनसँग ऋण लिन थालेको छ’, गभर्नर डा. नेपालले भने । उनले पैसाले देश र सिमानाहरु नचिन्ने बताउँदै मुद्राको अन्तराष्ट्रिय मूल्य हुने बताउँदै भने–सम्पति सुद्धिकरणमा कडा हुनै पर्छ, नत्र संसारले नाका बन्दी लगाउँछन । गभर्नर डा. नेपालले आगामी मौद्रिक नीतिको उदेश्य उत्पादन बढाउनु, व्यापार घाटा कम गर्नु र आर्थिक वृद्धिदर बढाउनु रहेको स्पष्ट पारे । घर जग्गा र सवारी साधनमा धेरै ऋण प्रवाह भएकाले त्यसलाई कटौती गर्न सरकारले कर बढाएको र केन्द्रिय बैंकले कर्जा कटौतीको निर्णय लिनु परेको पनि स्पष्ट पारेका थिए ।
आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिताको विजेताहरु घोषणा
काठमाडौं । कलाइस्डकोप अखिल नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिता २०१७-२०१८को विजेताहरु घोषणा भएका छन् । नेपालका सम्पूर्ण आर्किटेक्चरल कलेजका २०६९ ब्याचका ३० जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए । २०७४ साल पुस ८ गतेबाट शुरु भएको उक्त प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज र कान्तिपुर इन्टरनेशनल कलेजका विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगीहरुलाई प्रोजेक्ट अन्तर्गत युनिभर्सिटि स्टुडेन्ट सेन्टर, त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको डिजाइन गर्ने जिम्मेवारी दिइएको थियो । उक्त प्रतियोगिता एशियन पेन्ट्सले आयोजना गरेको थियो । सहभागी ३० विद्यार्थी मध्ये १५ जनालाई अघिल्लो चरणका लागि छनौट गरिएको थियो र ती १५ जना विद्यार्थीहरुले निर्णायक मण्डल समक्ष आफ्नो परिकल्पना र धारणाहरु प्रस्तुत गरेका थिए । निर्णायक मण्डलमा आर्क समाजमा प्रसिद्ध व्यक्तित्वहरु आर्किटेक्ट सुमन मेहेर श्रेष्ठ, आर्किटेक्ट सुमननन्द बैद्य, आर्किटेक्ट अन्जन राज श्रेष्ठ, आर्किटेक्ट ईला श्रेष्ठ, आर्किटेक्टपोसन थापा रहेका थिए । उक्त प्रतियोगिताका विजेताहरु यस प्रकार रहेका छन् : प्रथम पुरस्कार विजेता: काठमाडौँ इन्जिनियरिङ कलेजका निकेश महर्जन द्वितीय पुरस्कार विजेता: आइओइ पुल्चोक क्याम्पसका अनिल वाइबा तृतीय पुरस्कार विजेता: आइओइ पुल्चोक क्याम्पसका गोपीनाथ अधिकारी सान्त्वना पुरस्कार विजेता: नेपाल इन्जिनियरिङ कलेजका एलिजा श्रेष्ठ सान्त्वना पुरस्कार विजेता:काठमाडौँ इन्जिनियरिङ कलेजका सान्त्वना मालाकार
१० महिनामा १३० अर्ब तरलता प्रशोचन
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुलाबजार कारोबारका विभिन्न उपकरणमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको १४ दिने निक्षेप संकलन बोलकबोलमार्पmत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् ८४ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत ६९ अर्ब ७२ करोड र सोझै खरिद बोलकबोलमार्फत् ३७ अर्ब ६२ करोड गरी कुल १ खर्ब ७ अर्ब ३४ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६१ अर्ब रुपैयाँ तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ३३ करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ६२ अर्ब ३९ करोड रुपैयाँको उपयोग गरेका थिए । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार वाणिज्य बैंकबाट ३ अर्ब ५० करोड डलर खरिद गरी ३ खर्ब ६२ अर्ब २१ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ ।
रेमिट्यान्स आप्रवाह ७०० अर्ब नजिक, शोधानान्तर घाटा १८ अर्ब ९३ करोड
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ । गत बैंशाखसम्म रेमिट्यान्स आप्रवाह ७ प्रतिशत वृद्धि भई ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले कमी आई ६ खर्ब ९२ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशत बढेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो । अघिल्लो वर्षको १० महिनामा चालू खाता ७ अर्ब ५७ करोड रुपैयाँ घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई १ खर्ब ९१ अर्ब २ करोड पुगेको छ । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको हो । अघिल्लो वर्षको १० महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १८ अर्ब ९३ करोड रुपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु. ११ अर्ब ६१ करोड रुपैयाँ थियो ।
आइएमएस मोटर्सकाे स्याङयोङ गाडी खरिदमा ५ लाख रुपैयाँ छुट, अभियान भोलिदेखि शुरू
काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले यहि जेठ २८ गते(भोलि)देखि अन्बिटेबल डिस्काउन्ट अभियान शुरु गर्दैछ । यस अभियान अबधिभर, आइएमएस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख रुपैयाँको छुट दिने जनाएको छ । त्यस्तै, यस कोरियन लक्जरी एसयूभी ब्राण्ड, स्याङयोङले ग्राहकलाई एक्सचेन्ज सुविधा, सरल फाइनान्सीङ, ३ वर्ष निशुल्क सर्भिसिङ्ग, ३ वर्षे वारेन्टी, चालु आर्थिक वर्षको निःशुल्क सवारी करका साथै निःशुल्क एक्सोसरिज प्रदान गर्ने भएको छ । मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिप आचार्यले भने “अहिलेको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४० प्रतिशतसम्मको अन्त शुल्क बढाएको हुँदा, हामीले ग्राहकहरुलाई ध्यानमा राखेर यो अभियान शुरु गर्न लागेका हौँ ।” त्यस्तै, आचार्यकाअनुसार यो छुट साङयोङ गाडीको सिमित स्टकको पूर्वनिर्धारित मूल्यमा लागु हुनेछ ।