पञ्चेश्वर विकास प्राधिकरणको सीईओमा एएस गोयल नियुक्त
काठमाडौं । पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा एएस गोयल नियुक्त भएका छन् । हालका सीईओ महेन्द्रबहादुर गुरुङको कार्यकाल सकिएपछि भारतको तर्फबाट गोयल नियुक्त भएका हुन् । प्राधिकरणको पहिलो सीइओको रुपमा गुरुङले आफनो ३ वर्षे कार्यकाल पुरा गरेका छन् । गोयलले आजैदेखि कार्यभार सम्हालेका हुन् । बहुउद्धेशिय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा सहमति हुन सकेको छैन् । डीपीआरको तयारी भारतको वापकोर्स इण्डिया लिमिटेडले गरेको छ ।
माछापुच्छ्रे बैंकको सीईओमा सुमन शर्मा, कर्जा र जोखिम व्यवस्थापनमा उत्कृष्ट
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । नवनियुक्त शर्माले नियुक्त भएकै दिन(आज)देखि कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ्ग शुरु गरेका थिए । त्यसपछि शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । शर्माले माछापुच्छ्रे बैंकमा यसअघि झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिदै आएका छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । साथै, नवनियुक्त सीईओ शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।
कानून बनाएर आवासविहीनको व्यवस्थापन गरिने- मन्त्री राई
काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले संविधानमा आवासको हक सुरक्षित गरिएकाले कम्पनीले दलितलगायत विपन्न वर्गको आवासका लागि काम गर्ने दायित्व निर्वाह गर्नुपर्ने बताएका छन् । कम्पनीलाई संघ वा प्रदेश कुन तहअन्तर्गत राख्ने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गर्ने वचन उनले दिए । कार्यक्रममा सांसद दिलकुमारी, कम्पनी सञ्चालक समितिका अध्यक्ष मोहन चौधरी, सञ्चालक समिति सदस्य मीरा ज्ञवाली, महाप्रबन्धक दूतबहादुर गुरुङलगायतले कम्पनीमा कर्मचारी व्यवस्थापन हुन नसक्दा काममा प्रभाव परेकाले समस्या समाधानका लागि मन्त्री राईसमक्ष अनुरोध गरेका छन् । कम्पनीको २० वर्षे कार्ययोजना तयार भए पनि जनशक्ति व्यवस्थापन हुन नसक्दा कार्यान्वयन गर्न नसकिएकाले छिटो समस्या समाधान गरिदिन उनीहरुले आग्रह गरेका थिए । विसं २०३० मा पुनर्वास कम्पनीका नाममा खुलेको यो संस्थाको नाम ग्रामीण आवास कम्पनी हुँदै हाल राष्ट्रिय आवास कम्पनी राखिएको छ । कम्पनीको आफ्नै भवन नहुँदा केन्द्रीय कार्यालयका लागि भौँतारिनु परेकाले स्थायी भवनको व्यवस्था गरिदिन पनि माग गरिएको थियो । सो अवसरमासफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका कम्पनीका कर्मचारी सुशील शेर्मालाई सम्मान गरिएको थियो । कम्पनीले तीन योजना कार्यालयमार्फत व्यवस्थित आवासका लागि काम गरिरहेको जनाइएको छ । रासस
वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक ! सबैभन्दा कम सिभिलको, हेर्नुस कसको कति ?
काठमाडौं । सेयर बजार निरन्तर घट्दै गएपछि वाणिज्य बैंकको सेयर मूल्य साधारणको दर (आईपीओ) को हारहारीमा आइपुग्न लागेको छ ।पछिल्लो समयमा ४ वटा वाणिज्य बैंकको सेयर मूल्य अंकित मूल्य नजिक आइपुगेका छन् । बजार केही दिन घटेमा सिभिल बैंक, सेन्चुरी कमर्शियल बैंक, जनता बैंक र मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ हारहारीमा आउने देखिएको छ । सबैभन्दा सस्तो सेयर सिभिल बैंकको छ । सिभिलको सेयर प्रतिकित्ता १५१, जनताको १५९ र सेन्चुरीको १७० र मेगाको १७५ रुपैयाँमा झरेको छ । केही साताअघि मात्र कारोबार खुलेको मेगाको सेयर मूल्य प्रतिकित्ता २२८ मा कारोबार भएकोमा घट्दै गएको हो । सबैभन्दा बढी सेयर मूल्य नविल बैंकको छ । नविलको प्रतिकित्ता ९५५ रुपैयाँमा कारोबार भएको छ । स्ट्याडर्ड चाटर्ड बैंकको मूल्य प्रतिकित्ता ७७५ रुपैयाँ छ । वाणिज्य बैंकको सेयर मूल्य १००० भन्दा तल छ । अधिकाँश बैंकको सेयर मूल्य न्युनतम २०० देखि अधिकतम ५०० रुपैयाँसम्म छ ।८ अर्ब रुपैयाँ पुँजी भएका बैंकको सेयर मूल्य धेरै कम छ । करोडमा पुँजी भएका लघुवित्तीय संस्था, बीमा कम्पनीको सेयर मूल्य बढी छ । कृषि विकास बैंकको प्रतिकित्ता ३२३, एनआईसी एसिया बैंकको ३२२, नेपाल एसबीआई बैंकको ५०५, नेपाल इन्भेष्टमेन्ट बैंकको ६२८, नेपाल क्रेडिट एन्ड कमर्श बैंकको २४३, नेपाल बैंकको ३१३, नेपाल बंगलादेश बैंकको २१४, माछापुच्छ्रे बैंकको २१६, लक्ष्मी बैंकको २६७, कुमारी बैंकको २१६ र हिमालयन बैंकको ५६० रुपैयाँ रहेको छ । यस्तै ग्लोबल आईएमई बैंकको ३००, एभरेष्ट बैंकको ६८६, सिटिजन्स बैंकको २५०, बैंक अफ काठमाण्डुको ३१०, एनएमबी बैंकको ३७१, प्रभु बैंकको २०५, प्राइम कमर्शियल बैंकको २९४, सानिमा बैंकको ३३३, सिद्धार्थ बैंकको ३१३ र सनराइज बैंकको २२५ रुपैयाँमा झरेको छ ।
सहयोगी विकास बैंकले महिन्द्राको बाइकमा ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको दुई चक्के सवारी साधान(मोटरसाइकल)मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा जनकपुरमा रहेको माहा गणपति अटो सेल्स प्रालिसँग सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र महा गणपति अटो सेल्स प्रालिको तर्फबाट प्रबन्ध सञ्चालक दिपेन्द्रकुमार दासले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माहा गणपति अटो सेल्सले विक्री गर्ने दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ । बैंकले मोटरसाइकल मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी महा गणपति अटो सेल्सले समेत सघाउनु पर्ने भएको छ । उक्त कम्पनीको मोटरसाइकलमा कर्जा लगानी गरिदिएवापत कम्पनीले बैंकलाई प्रति मोटरसाइकल दुई देखि चार हजार रूपैयाँसम्म कमिशन भुक्तानी गर्नुपर्ने छ । यो सम्झौता २०७७/३/३१ सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ । सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिएका छन् । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने उनले बताए ।
सेयर बजार करेक्सनतर्फ, नेप्से ९ अंकले बढ्यो, दुई कम्पनीले कमाए ९ प्रतिशत बढी
काठमाडौं । केही दिनदेखि घट्दै आएको सेयर बजार अब करेक्सनको बाटो तर्फ लागेकाे छ। सोमबार बजार ९.५५ अंक बढेर १ हजार २४१ अंकमा पुगेको छ । आइतबार बजार २५ अंकले घटेर १२३१ अंक तल पुगेको थियो । लगातार घट्दै गएको बजार बढेपछि एउटा विन्दुमा आएर करेक्सन भएको बुझिन्छ । आज एक दिनको वृद्धिलाई आधार मानेर विश्लेषण गर्न नसकिने र आगामी दिनमा यसले निरन्तरता पाउँछ की पाउदैन भन्ने लगानीकर्तामा चासोको विषय बनेको छ । अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकममा गिरावट आएको छ । आइतबार ४४ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा ४३ करोडको सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । बैंकको दिनभरमा ३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ रहेको छ । सोमबार बीमा समूह १०२ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स, होटल, उत्पादनमूलक, बैंकिङ्, हाइड्रोपावर र अन्य समूह हरिया भएका छन् भने बाँकी समूह ओरालो लागेका छन् । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्शका लगानीकर्ताले एकैदिन ९ प्रतिशत बढी कमाएका छन् । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ९.९६ र ९.५२ प्रतिशतले बढेको छ । यस्तै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेडका कन्भर्टिभल प्रिफेरेन्स सेयरका लगानीकताले ५८१ रुपैयाँ गुमाएका छन् । जुन प्रतिशतको आधारमा ९.२२ प्रतिशत घटी हो ।
२१ कम्पनीको ८ अर्ब ८८ करोडको आईपीओ र एफपीओ, कसको कति हेर्नुहोस (सुचिसहित)
काठमाडौं । नेपालको पुँजी बजारमा अर्बौ रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) आउने भएको छ । जलविद्युत, बैंक तथा वित्तीय संस्था र सिमेन्ट उद्योगले आईपीओ र एफपीओ निष्कसन गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डमा २१ कम्पनीले ८ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति मागेका छन् । यसमध्ये ३ कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । ३ कम्पनीले मात्रै ६ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ बराबरको एफपीओ र आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । जसमध्ये अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता र नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । यस्तै एनएमबी बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ बराबर एफपीओ निष्कासन गर्न अनुमति पाएको हो । नेपाल बैंकले प्रतिकित्ता २८० रुपैयाँमा ४ अर्ब ९४ रुपैयाँको एफपीओ निष्कासन गर्ने भएको छ । उसले एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । सिटिजन्स बैंकले पनि एफपीओ निष्कासन गर्न लागेको छ । सिटिजन्सले ४ लाख ६३ हजार कित्ता एफपीओ निष्कासन गर्न लागेको छ । सिवम् सिमेन्ट लिमिटेडले पनि आईपीओ निष्कासन गर्न लागेको हो । कसको कति ? निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिनेमा अधिकाँश जलविद्युत कम्पनी छन् । स्थानीयबासिन्दालाई न्युनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था आएपछि धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुन थालेका छन् । बोर्डले आयोजना प्रभावित स्थानिबासिन्दालाई आईपीओ १० प्रतिशतसम्म निष्कासन गर्न पाउने व्यवस्था गरेको छ । सबैभन्दा बढी रकमको आईपीओ निष्कासन गर्नेमा अपर तामाकोसी र एफपीओमा नेपाल बैंक रहेको छ । पाइपलाईनमा एफपीओ र आईपीओ भएका कम्पनीमा सीईडीबी हाइड्रो फण्ड लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड, सीबीआईल क्यापिटल लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, युनियन हाइडेल लिमिटेड, मैलुङखोला हाइड्रोपावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेड रहेका छन् । निष्कासनका लागि अनुमति दिने अन्य कम्पनीमा लाफिङ बुद्धपावर लिमिटेड, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, पञ्चकन्य हाइड्रोपावर लिमिटेड र कालिका पावर लिमिटेड रहेका छन् ।
चन्द्रनिगाहपुरमा सनराइज बैंकको नयाँ शाखा
काठमाडौं । सनराइज बैंक लिमिटेडले रौतहटको चन्द्रनिगाहपुरमा आफ्नो ८५ औं शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक विरगंजका निर्देशक रविन्द्र महर्जन, बैंकका संचालक ई.बच्छराज तातेड र ज्योतिकुमार बेगानीले एक कार्यक्रमका बिच संयुक्त रुपमा गरेका हुन् । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देथ्य लिएको छ ।