लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा
काठमाडौं । लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडालाई नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले गत जेठ २५ गते बोर्डको उक्त पदमा खतिवडालाई नियुक्त गरेकाे बोर्डका सहसचिव एवं प्रवक्ता एवं सूचना अधिकारी उत्तम भक्त वाग्लेले बताएका छन् ।
बजार २५ अंकले घट्दा उन्नति माइक्रो फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । साताको पहिलो दिनको सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको सो दिनको बजार अन्ततः २५.४३ अंकले झरेर १२३१ अंकमा अडेको छ । नेप्से परिसूचक भारी अंकले घटेको बजारमा पनि सबैभन्दा बढी उन्नत्ति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । अघिल्लो कारोबारको तुलनामा उक्त कम्पनीका सेयरधनीले दिनभरमा ९.९४ प्रतिशत अर्थात १३८ रुपैयाँ बढी कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५२६ रुपैयाँ रहेको छ । त्यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.९० प्रतिशतले बढेको छ । दिनभर खुलेको बजारमा १६२ कम्पनीको ४४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी मेघा बैंकको ४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २१७ अंकले घटेको छ । त्यस्तै, अन्य र फाइनान्स समूह एकल अंकले घटेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेको छन् ।
विश्वकप शुरु हुन ९९ घण्टा बाँकी: भ्लादिमिर पुटिनले बोलाए विश्व फुटबल समर्थकलाई रसियामा
काठमाडौं । विश्वकप शुरु हुन करिब ९९ सय घण्टा बाँकी रहँदा रसियाका राष्ट्रपति भ्लाद्मिर पुटिनले विश्व फुटबल समर्थकलाई रसियामा स्वागत गरेका छन् । १ मिनेटको भिडियो सन्देश दिदैं पुटिनले सबै फुटबल समर्थक तथा खेलाडीलाई रसियामा स्वागत गरेका हुन् । भिडियो सन्देशमा उनले भनेका छन् “सबै फुटबल समर्थक, यस ग्रहका ठूला फुटबल टोली, जो यहाँ आइसकेका छन् जो आउन बाँकी छन् स्वागतम् ! हामी सबै फुटबल समर्थक एउटै परिवार भएर आनन्द लिनेछौं । हामीले यस मेलालाई दृढ इच्छा शक्ति र भावनाले भरिपुर्ण बनाउनेछौं । मलाइ विश्वास छ यो मेलामा तपाइहरुले विर्सनै नसक्ने अनुभव सगाल्नु हुनेछ । यो मेलामा तपाइहरुले खेलाडीले खेलेको खेल मात्र होइन, खेलाडीको स्किललाई रसियाले कसरी पाउनेछ । रसियाको संस्कृति, रसियाको प्रकृतिक सुन्दरता र इतिहास समेत हेर्नु हुनेछ । रसियाका जनता धेरै सचेत र अनुसासित छन् । हामीले हाम्रो तर्फबाट खेलाडी र पाहुनालाई उत्कृष्ट वाताारण बनाएका छौं । जसले तपाइले रसियालाई आफ्नै घर आफ्नै घर अनुभव गर्नु हुनेछ ।”
सनराइज बैंकको शाखा जनकपुरमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले धनुषाको जनकपुरमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक नरेश शाक्य, बैंकका संचालक ई.बच्छराज तातेड र ज्योतिकुमार बेगानीले संयुक्त रुपमा गरेका छन् । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देथ्य लिएको छ । साथै, बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने बैंकले जनाएको छ । त्यस्तै, बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यबस्था मिलाएको छ । साथै, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।
नागढुङगा-नौबिसे सुरुङमार्ग निर्माणको तयारी पुरा, जाइकाको पत्रपछि टेण्डर
काठमाडौं । बहुप्रतिक्षित नागढुङगा-नौबिसे सुरुङ मार्ग निर्माणको सम्पूर्ण तयारी सम्पन्न भएको छ । सुरुङ मार्ग आयोजनाका प्रमुख छविलाल पौडेलका अनुसार लागत अनुमान तयार पारेर जाईकालाई पठाई सकिएको छ । जाइकाले लागत अनुमानलाई स्वीकृत गरेर आयोजना अघि बढाउन सहमति पत्र दिएसँगै ग्लोबल टेण्डर आव्हान गरिनेछ । सुरुङ मार्गको लागत कति हुनेछ भन्ने विकासन्युजको प्रश्नमा आयोजना प्रमुख पौडेलले भने–लागत अनुमान सार्वजनिक गर्न मिल्दैन, जाईकासँग १७ अर्बको ऋण सम्झौता भैसकेको छ, टेण्डर निकाल्न तयार भएर बसेका छौं’, आयोजनाका प्रमुख पौडेलले विकासन्युजसँग भने । जाइकाले एक महिनाभित्रै सुरुङ मार्गको लागत अनुमान र आयोजना अघि बढाउने स्वीकृति प्रदान गर्ने र त्यस लगत्तै ग्लोबल टेण्डर निकाल्ने पौडेलले जानकारी दिए । ‘हामी जाईकाको पत्र कुरेर बसेका छौं, हाम्रो तर्फको सबै काम सम्पन्न भैसकेको छ’, पौडेलले भने । काठमाडौं खण्डमा पर्ने २६७ रोपनीमा र धादिङ खण्डमा पर्ने १०९ रोपनी जमिन अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकिएको छ । काठमाडौं तर्फ सुरुङ मार्गको प्रस्थान विन्दु टुटीपाखा हुनेछ भने धादिङमा सिस्नेखोला हुनेछ । ती दुबै ठाउँको जमिन अधिग्रहण भने सरकारले आफ्नै श्रोतबाट गरिदिनेछ । जाईकाले दिने सहयोगले भने सुरुङ मार्गको निर्माण गरिनेछ । सुरुङ मार्गमा इन्धन बोक्ने गाडी तथा मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ । २.७ किलोमिटर सुरुङ मार्गको उपयोग वापत २५ रुपैंयाँ शुल्क असुल्ने प्रारम्भिक सोँच तयार भएको छ । मार्ग निर्माणका लागि जापानले ०.०१ प्रतिशतको ब्याजदरमा ४० बर्षका लागि ऋण दिएको हो । निर्माण सम्पन्न भएको १० बर्षपछिसम्म ऋणको सावाँ तथा ब्याज तिर्नुपर्ने छैन् । त्यसपछिको ३० बर्ष भित्र भने नेपालले सावाँ तथा ब्याज दुबै भुक्तानी गरिसक्नुपर्नेछ ।
औद्योगिक क्षमता बढेर ५८ प्रतिशत पुग्यो, उच्च आर्थिक वृद्धिको संकेत : राष्ट्र बैंक
काठमाडौं । लोडसेडिङको अन्त्य भएपछि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेर ५८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रको क्षमता ५४.२ प्रतिशत थियो । एक वर्षको अवधिमा ४ प्रतिशतले औद्योगिक क्षमता विस्तार भएको छ । निर्माण, खानी तथा उत्खनन्का साथै पर्यटन क्षेत्रमा भएको वृद्धिले समेत योगदान दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमानलाई हेर्दा देशको समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको राष्ट्र बैंकको भनाई छ । आर्थिक वर्षको शुरु मै आएको अविरल वर्षा तथा डुवानले कृषि क्षेत्रको वृद्धिदरमा केही संकुचन आएपनि जीडीपीमा करिब ६ प्रतिशतको फराकिलो वृद्धि रहने अनुमान गरिएको छ । सरकारले हालै सार्वजनिक गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०७५/ ७६ मा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यी तथ्यहरुबाट मुलुकले उच्च आर्थिक वृद्धिको बाटो समातेको संकेत मिलेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै मुद्रास्फीतिमा चाप पर्ने संकेतका बावजुद केही उपभोग्य वस्तुहरुको मूल्यमा भएको गिरावटका कारण गत वैशाखमा उपभोक्ता मुद्रास्फीति अघिल्लो महिनाको ५.३ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा सीमित भएको छ । आर्थिक वर्ष २०७४/७५ मा औसत मुद्रास्फीति प्रक्षेपित सीमाभन्दा न्यून रहने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरले मुद्रास्फीतिको परिदृश्य प्रभाव पार्ने देखिन्छ । वाह्य क्षेत्रतर्पm, आयात उच्च दरमा बढेकाले चालू आर्थिक वर्षको १० महिनासम्ममा चालू खाता घाटा बढेर १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । विप्रेषण आप्रवाहमा सुधार आई गत वर्षको ५.२ प्रतिशत वृद्धिको तुलनामा ७ प्रतिशत पुगेको छ । त्यसैगरी, विदेशी विनिमय सञ्चिति १० खर्ब ७२ अर्ब ८५ करोड रुपैयाँ छ । यसले ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । वार्षिक विन्दुगत आधारमा १० महिनासम्ममा कर्जा प्रवाहको १९.६ प्रतिशत र निक्षेप परिचालनको वृद्धिदर १६ प्रतिशत रहेको छ । कर्जा र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको छ । वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुश लगाउनु पर्ने राष्ट्र बैंकको भनाई छ ।
सिप्रदीको दुबई र अजरबैजनको भ्रमण सम्पन्न
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गत एक्साइड ब्याट्रीले हालै आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक सुरेशकुमार तिवारीले आफ्ना डिलरको मानसिक र वौद्धिक विकासका साथै मनोरन्जनका लागि यस कार्यक्रमको आयोजना गरिएको बताएका छन् । उक्त भ्रमणमा कम्पनीले डिलर मिटको आयोजना गरी चण्डेश्वरी इलेक्ट्रिस एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सलाई सर्वाधिक बिक्री गर्ने बिधामा प्रथम, स्वस्तिक अटो इलेक्ट्रिक्स् कन्सर्नलाई द्धितीय र न्यु अटो इलेक्ट्रिक्स् सेन्टरलाई तृतीय उपाधिले सम्मानित गरेको छ । यस्ता कार्यक्रमले डिलरहरुमा थप उर्जा दिने काम गरेकाले अब आउने दिनहरुमा युरोप जस्ता विकसित देशको भ्रमण गराउने योजना कम्पनीको रहेको छ ।
सेयर बजार, केक र धितोपत्र बोर्डको पत्र
काठमाडौं । विकास र समृद्धिको मार्गचित्र कोर्छौ भन्दै गठन भएको सरकारको १५० दिन नबित्दै सेयर बजारका लगानीकर्ताले २ पटक आन्दोलन गर्न बाध्य भए । यो साह्रै दुर्भाग्यको कुरा हो । निर्वाचन पूर्व वर्तमान प्रधानमन्त्री केपी ओलीले सम्भावित बामपन्थी सरकारलाई देखाएर पूँजीबजार घटाउने षडयन्त्र भएको आरोप लगाउनु भएको थियो । उहाँले सेयर बजारको विकास र विस्तारका लागि आफुले योगदान गर्ने घोषणा पनि गर्नु भएको थियो । निर्वाचनपछि करिब २ तिहाईको विजय बामपन्थीहरुले प्राप्त गरे । फेरी पनि बजार घट्न थाल्यो । ओलीले दोहोर्याएर आफ्नो सरकारले सेयर बजारको विस्तार र विकासका लागि योगदान दिने बताउनु भएको थियो । तर जब उहाँ प्रधानमन्त्री बन्नु भयो, विज्ञ व्यक्तिलाई अर्थमन्त्री बनाउनु भयो । अर्थमन्त्रीले बीबीसीमा अन्तर्रवार्ता दिएर सेयर बजारलाई अनुत्पादन क्षेत्रको संकेत दिनुभयो । जसले पूँजी बजारलाई घटाउन सहयोग गर्यो । श्वेतपत्रका कारण केहि राहत हुने अपेक्षा थियो तर त्यस्तो भएन् । अर्थमन्त्रीका कारण बजार घट्ने क्रमले निरन्तर नै रह्यो । सरकारले नीति तथा कार्यक्रम ल्यायो बजेट पनि आयो । दुबैले सेयर बजार विस्तारका लागि सघाउने अपेक्षा थियो । दुबै डकुमेन्टले सेयर बजारको विस्तार र विकास गर्ने त भन्यो तर सबै उधारो प्रतिवद्धता मात्रै आए । सेयर बजारका लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए तर त्यसलाई बढाएर ७.५ प्रतिशत पुर्याईयो । फेरी पनि हामीले मौन समर्थन नै गर्यौं । राज्यलाई ठूलो श्रोत साधनको आवश्यकता छ । कर बढाउनु बाध्यता हो भन्ने ठान्यौं । तर जब आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरमा पूँजीगत लाभकर उठाउने पत्र काट्यो । त्यसले भने सेयर बजारका लगानीकर्तालाई आक्रोसित बनायो । हामीले बाध्य भएर आन्दोलन नै गर्नु पर्यो । हामीले इतिहासकै पहिलो पटक आफ्नै अगुवाईमा बजार बन्द गराउनुपर्ने बाध्यात्मक परिस्थिती निर्माण भयो । निर्वाचनमा हामीले विश्वास गरेर बामपन्थीलाई सहयोग गरेका थियौं, सबै लगानीकर्ताहरुले भोट दिएका थिए । तर हाम्रो विश्वासमाथी कुठाराघात भएको छ । गृहणी, जागिरे, विद्यार्थीहरुले दुःख गरेर कमाएको पैसा सेयर बजारमा लगानी गरेका छन तर सरकारले त्यो लगानीमाथी अन्याय गरिरहेको छ । आज ११ लाख डिम्याटमा सूचिकृत लागनीकर्ता छन् । देशभर अझै धेरै लगानीकर्ता छन् । ३० औं लाख लगानीकर्ताहरुलाई रुवाउने काम सरकारले नगरोस् भन्ने हाम्रो अपेक्षा हो । भन्न त सरकारले पूँजी बजारको दिगो विकास र विस्तार गर्छाै भनिरहेको छ । तर एक कदम सुधारका लागि चार कदम पछाडी फकर्ने बामपन्थी सरकारको शैली हुन्छ । सुधारको नजिता नआउँदै पूँजी बजार ध्वस्त भैसक्ने सम्भावना देखिएको छ । विकास र विस्तारका कुरा चाँही उधारोमा दिने तर कर चाँही हातहातै लिने काम भएको छ । हातबाट पैसा लिएर नपुगेर खल्तिबाटै पैसा झिक्ने काम भैरहेको छ । २१ खर्ब रुपैयाँको पूँजी बजार घटेर १४ खर्बमा झरेको छ । अहिले सेयर बजारका लगानीकर्ता इतिहासमै सबै भन्दा निरास छन् । अधिकांश लगानीकर्ताहरु सेयर बेचेर बजारबाट निस्कने मनस्थितीमा पुगिसकेका छन् । सरकारले आगामी आर्थिक बर्षमै ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने भनेको । देशको अर्थतन्त्रको पहिलो झल्को दिने पूँजी बजारका लगानीकर्तालाई यसरी निरुत्साहित गरेर आर्थिक वृद्धिदरको लक्ष्य कसरी पुरा हुन्छ ? एनआरएनलाई पुँजी बजारमा भित्र्याउने भनेर हल्ला गरेको लामो समय भयो । तर अझै त्यसको औपचारिक प्रक्रिया अघि बढेको छैन् । बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने भनेको पनि धेरै समय भयो तर अझै पनि सेयर बजार सिमित ब्रोकरहरुको कब्जाबाट मुक्त भएको छैन् । बणिज्य बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने हो भने देशभरका २ हजार ६०० शाखाहरुसम्म सेयर बजारको पहुँच पुग्ने थियो । रिङरोड भित्र खुम्चिएको पूँजीबजारलाई ब्रोकरहरुले अनामनगर, कमलपोखरी, पुतलीसडक र न्युरोड क्षेत्रमै कब्जा गरिरहेका छन् । यस्तो शैलीले कसरी सेयर बजारको विकास र विस्तार सम्भव छ ? नेपालमा पुँजी बजार उत्पादनशिल हो की अनुत्पादक क्षेत्र भनेर बहस भैरहेको छ । संसारको कुनै पनि देशमा पूँजी बजार उत्पादक हो की अनुत्पादक भनेर बहस हुँदैन् । १९८५ मा २०० इण्डेक्स थियो मुम्बई एक्सचेञ्जको, अहिले ३५ हजार पुगेको छ । इण्डेक्स ३५ हजार पुगेको अवसरमा मुम्बई स्टक एक्सचेञ्जले केक काटेको थियो । तर हाम्रो विडम्बना, नेपालमा १७०० इडेक्स पुग्दा धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत हुनुस् भनेर विज्ञप्ति निकालेको थियो । हामीले पूँजी बजारको विरुवा रोपेको २६ बर्ष भयो । विरुवा ठूलो भएपछि छाया दिनुपर्ने हो, फल दिनुपर्ने हो । तर यहाँ छायाँ र फल दिनुको साटो हाँगाबिँगा काट्ने काम भैरहेको छ । सेयर बजार बाम पुड्के भयो । सरकारले यथावत स्थितीमा पुँजी बजारलाई हेरेर सुधार गर्नु पर्ने हो । विगत पाँच/सात बर्षदेखि नेपाली पूँजी बजारका लगानीकर्ता नोक्सानीमा छन् । सेयर किन्दा÷बेच्दा दुबै पटक कमिसन तिर्नुपर्ने अवस्था विद्यमान छ । ब्रोकर कमिसन साह्रै महंगो छ । अहिले पूँजी बजारका लागि नकारात्मक अवस्था हो । बैंक तथा वित्तिय संस्थाहरुको पुँजी वृद्धि, त्यसमा हकप्रदको बहार, बीमा कम्पनीहरुको पूँजी वृद्धि, त्यसमा पनि हकप्रद सेयरमै जोडबल, तरलता अभावका कारण उच्च भैरहेको ब्याजदर, बामपन्थी सरकारले लिएको पूँजी बजार प्रतिको नीति लगायतका कारणले यो पूँजी बजारका लागि ऐतिहासिक रुपमा खराब समय हो । नयाँ बीमा कम्पनी समेत थपिएकाले ठूलो पूँजी त्यता गएको छ । हकप्रद सेयरका लागि मात्रै ३ खर्ब पैसा बैंक तथा वित्तिय संस्थाबाट गएको छ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याउन लागिरहेको छ । त्यसमा मार्जिन लेण्डिङको सुबिधा बढाउनु पर्छ । ५० प्रतिशतमा रहेको मार्जिन लेण्डिङको सुबिधालाई कम्तिमा पनि ७० प्रतिशत पुर्याउनु पर्छ । मार्जिन लेण्डिङलाई १५० प्रतिशत जोखिम भएको ऋणका रुपमा केन्द्रिय बैंकले सूचिकृत गरेको छ । त्यसलाई पनि हटाएर एक सय भन्दा कम जोखिमको सूचिमा राख्नु पर्छ । वास्तवमा बैंकहरुलाई जोखिम लाग्ने वित्तिकै बेचेर सुरक्षित हुन पाउने सेयर कर्जा सबै भन्दा कम जोखिम भएको क्षेत्र हो । बैंकलाई ब्रोकर लाइसेन्स दिनु पर्छ र तरलता व्यवस्थापनका लागि उपयुक्त औजार मौद्रिक नीतिले ल्याउनु पर्छ । बैंकबाट लिएको ऋण भन्दा ब्रोकरलाई महंगो सेवा शुल्क लिएर अघि बढाउन लागिएको मार्जिन ट्रेडिङले पूँजी बजारका लागि खासै ठूलो प्रभाव पार्ने अवस्था छैन् । पूँजी बजारको हाम्रो अविभावक भनेको नेप्से हो । नेप्सेको पनि अविभावक भनेको धितोपत्र बोर्ड हो । नेपाल राष्ट्र बैंक र बीमा समिति छन् । तिनलाई पनि हेर्ने अर्थमन्त्रालय छ । सबैका बीचमा एउटै प्रकारको नीति देखिन्न । पूँजी बजारमा एकिकृत खालको नीति ल्याउने व्यवस्था गरिनुपर्छ । अहिले पूँजी बजारका लगानीकर्ता इतिहासकै सबै भन्दा खराब समयबाट गुज्रिरहेका छन् । पुँजी बजारबाट निस्कने तयारीमा छन लगानीकर्ता । ११७५ बाट २९२ इण्डेक्समा बजार आईपुग्दा भन्दा पनि निरास बनेका छन यतिबेला लगानीकर्ता । अलिकति बजार बढ्ने वित्तिकै सेयर बेचेर भाग्ने तयारीमा छन लगानी कर्ता । सबै रोएर बसिरहेका छन् । अर्थमन्त्री र सरकारी अधिकारीहरुले बुझ्नु पर्छ की पुँजी बजार सम्वेदनशिल भएकाले बोल्दा ख्याल गर्नु पर्छ । म्यानमारमा यंगुन स्टक खुलेको २ बर्ष भयो त्यहाँ सिंगापुर र जापानले अनलाईन बनाइदियो । हामी २७ बर्षदेखि भर्खर अहिलेको अवस्थामा आईपुगेका छौं । (नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष रौनियारसँग गरिएको कुराकानीमा आधारीत)