विकासन्युज

अब वायुसेवा निगमको टिकट ‘आइएमई पे’ बाटै किन्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट अब ‘आइएमई पे’ बाटै किन्न सकिने भएको छ । आइतबार दुई कम्पनीबीच उक्त हवाई टिकट खरिद गर्न सकिने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’ को प्रयोग गरि नेपाल वायुसेवा निगमद्वारा संचालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट खरिद गर्न सक्नेछन् । आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा: आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गरे। सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाएका छन् छन्, भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २०० छन् । नेता भट्टराईको स्टाटस पढेपछि राससले उनलाई सोध्यो–साँच्चीकै विमानस्थल सुधार भएको हो त उनको प्रतिक्रिया थियो “ विगतमा भन्दा धेरै सुधार भएको छ । त्यो मैले आफैले अनुभव गरेँ ।” नेता भट्टराईले मुलुकको आँखीझ्यालका रुपमा रहेको विमानस्थलमा सुधार हुनुलाई वर्तमान सरकार र त्यसका विभागीय मन्त्री रवीन्द्र अधिकारीको प्रयासले सार्थकता पाएको उल्लेख गरे । उनले भने, “प्रस्थान र आगमन पत्र भर्न यात्रुलाई झन्झटिलो थियो र त्यसको कुनै उपयोगिता पनि थिएन त्यो हटाएर राम्रो काम भएको छ ।” सरकारले गत जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएको छ । सोही योजनाको प्रभावले गर्दा विमान उडान र अवतरणमा रहेको एयर ट्राफिकको समस्यामा समेत उल्लेख्य सुधार आएको छ । नेता भट्टराईले थप भने, “विमानबाट ओर्लेपछि आधा घण्टाभित्रमा लगेजसमेत लिएर बाहिर निस्किन सक्नु त क्रान्ति नै जिते जस्तो लाग्यो मलाई ।” विमानस्थलको प्रतिक्षालय, शौचालय पहिलेभन्दा सफा देखिएको उल्लेख गर्दै नेता भट्टराईले सानो प्रयासबाट पनि ठूलै उपलब्धि हासिल हुन सक्ने भन्दै राम्रोलाई राम्रो नै भन्न सक्ने बानी बसाल्नसमेत आग्रह गरे । नकारात्मक विषयले मात्रै प्राथमिकता पाइरहेका बेला सकारात्मक काम र अभ्यासलाई सबैले साथ दिनु जरुरी देखिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको सानो प्रयासले मुलुकमा लामो समयदेखि जकडिँदै आएको विद्युत्भार कटौतीको समस्याबाट मुलुकले त्राण पाएको थियो । गरे के हुँदो रहेनछ भन्ने एउटा प्रमाण विद्युत्भार कटौती पनि थियो । त्यस्तै प्रयासमा वर्तमान सरकार लागिपरेको छ । विमानस्थल सुधार तथा विकृति विसंगतिको अन्त्यका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले निरन्तर पहल गर्दै आएका छन्। मन्त्री अधिकारी भन्छन्, “सानो कामबाटै शुरु गरौँ र सेवाग्राहीलाई नै सुधारको अनुभव गराऔँ भन्ने मान्यता छ । सोही आधारमा काम भइरहेको छ ।” मन्त्री अधिकारीले सार्वजनिक गर्नुभएको कार्ययोजनामा समेत विमानस्थल सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । विमानस्थलमा हुने सामान्य व्यवहार तथा शिष्टताले पनि ठूलो अर्थ राख्दछ । त्यो राष्ट्रिय प्राथमिकताको विषयसमेत हो । वर्तमान सरकारले विमानस्थलको सुधार, सुरक्षा प्रणालीमा रहेको कमजोरीको अन्त्य गर्दै यात्रुलाई सरल र सहजरुपमा सेवा दिने लक्ष्य राखेको छ । सो लक्ष्यलाई पूरा गर्न हरतरहको प्रयास भइरहेको छ र केही सफलतासमेत हासिल भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पछिल्लो दिनमा गरिएको प्रयासले सार्थकता पाएको बताए । पर्यटनमन्त्रीका रुपमा अधिकारीले जिम्मेवारी सम्हालेदेखि विमानस्थल सुधार पहिलो प्राथमिकतामा परेको थियो । अहिले अध्यागमनमा विद्युतीयरुपमा नै फारम भर्ने व्यवस्थाले नेपाली यात्रुलाई सहज बनाएको छ । महाप्रबन्धक क्षेत्रीले भने, “यो ठूलो परिवर्तन हो । फारम भर्न नजान्ने, लेखपढ गर्न नजान्ने, शशारीरिकरुपमा अशक्त नागरिका लागि यो व्यवस्था अति उपयोगी देखिएको छ ।” सरकारको पछिल्लो प्रयासले विमानस्थलको सेवालाई सर्व सुलभ र प्रभावकारी बनाउन बल पुगेको छ । अहिले ४५ मिनेटमा ९९ प्रतिशत लगेज सम्बन्धित यात्रुले लिइसक्छन् । विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि सकारात्मक प्रभाव परेको छ । हाल एयर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । हरेक दिन बिहान ६ बजे अगावै आन्तरिकतर्फबाट उडान गरिसक्ने व्यवस्था मिलाइएको छ । विगतमा विमानस्थल ६ बजे खुल्ने गरेकामा हाल बिहान ५ बजे नै खुल्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले उडान र अवतरणको चापमा समेत व्यवस्थापन गर्न बल पुगेको छ । विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि पछि लामो समय ‘होल्ड’ बस्नुपर्ने बाध्यतासमेत हटेको छ । कहिलेकाहीँ सामान्य प्राविधिक समस्याका कारण उडान तलमाथि हुने विषय फरक भए पनि विमानस्थललाई व्यावसायिक र यात्रुमैत्री बनाउन हदैसम्मको प्रयास गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । निजी वायु सेवा कम्पनीलाई उडान अनुमतिपत्रमा गरिएको व्यवस्थाअनुसार नै क्षेत्रीय विमानस्थलमा पार्किङ गर्नुपर्ने नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइएको छ । केही विमान सेवा प्रदायकले त्यस्तो प्रक्रिया शुरु गरिसकेका छन् ।रासस

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच अस्पतालको सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहकले उपचार खर्चमा ७ प्रतिशत छुट पाउने छन् । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् । उक्त सेवाको लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड लिनु पर्नेछ । साथै, बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

सिन्डिकेटधारी व्यवसायीलाई बैंकबाट रकम झिक्न सोमबारबाट ३५ दिने सूचना

काठमाडौं । यातायात व्यवसायीहरुको बैंकमा रहेको रकम झिक्न सोमबार(भोली)देखि ३५ दिने सूचना आउने भएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत बैंकमा रहेको रकम झिक्न सूचना प्रकाशन गरिनेछ । सूचनाको आधारमा व्यवसायीले सम्पुर्ण विवरण जिल्ला प्रशासन कार्यालय(जिप्रका)मा बुझाउनु पर्नेछ । भौतिक तथा यातायात मन्त्री रघुविर महासेठका अनुसार व्यवसायीले आफुले दिनुपर्ने ऋण, कर्मचारीको तलब घाइते मृतकलाई दिनुपर्ने रकमको सम्पुर्ण विवरण भरेर बुझाउनु पर्नेछ । व्यवसायीले बुझाएको विवरण अनुसन्धान गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कोष लेखाको प्रतिनिधी, कर कार्यालयको प्रतिनिधी, यातायात कार्यालयका प्रतिनिधी रहनेछन् । यदि अनुसन्धानबाट विवरण झुटो ठहरिएमा त्यस्ता व्यवसायीहरुको रकम निकासा नहुने मन्त्री महासेठले बताए । नेपालमा ४ सयभन्दा बढी यातायात व्यवसायीहरु रहेका छन् । जसमध्ये केहि व्यवसायीको खाता खुल्ला भैसकेको छ भने २४२ खाता बन्द रहेका छन् । यातायात मन्त्रालयले असार ३२ गते गरेको निर्णयलाई साउन ४ गते गृहमन्त्रालय संयुक्त मन्त्री परिषदको निर्णयबाट व्यवसायीलाई रकम झिक्ने सुविधा दिइएको हो । यो पनि हेर्नुहोस् बैंक खाता बन्यो सिन्डिकेटको तगारो, अर्को निर्णय गर्दै यसरी दिइयो व्यवसायीलाई रकम झिक्ने सुविधा (निर्णयसहित)  

सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक मल्लको राजिनामा स्वीकृत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक शिबलाल मल्लले राजिनामा दिएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक मल्लले दिएका राजिनामा स्वीकृत गरेको हो । मल्ल २०७१ साल ६ महिना १० गते यस विकास बैंकको सञ्चालकको पदमा नियुक्त भएका हुन् । ४ वर्षको लागि नियुक्त भएका मल्लले आफ्नो व्यक्तिगत कारणले गर्दा विकास बैंकको संचालक समितिको सदस्य पदबाट राजिनामा दिएका बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

मेलम्चीकाे खानेपानी ल्याउने कामले इन्टरनेटमा समस्या

काठमाडौं । मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इन्टरनेट प्रयोग गर्नमा समस्या भएको छ । केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इन्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा समस्या आएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख धुब्र काफ्लेले जानकारी दिए । उनका अनुसार केही स्थानमा अहिले सो सेवामा समस्या भए पनि छिट्टै समस्या हटी सेवा पुनःसञ्चालन हुनेछ । तीन महिनाअघि कामपा र वर्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको थियो । सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशीको चाप बढी हुने भएकाले उनीहरुको सुविधालाई ध्यानमा राख्दै कामपाले यस्तो व्यवस्था गरेको हो । अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र इन्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो । हनुमानढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएको भन्दा धेरै एमबीपीएस क्षमताको इन्टरनेट राख्नुपर्ने अवस्था आएको काफ्लेले जानकारी दिएका छन् । आवश्यकता हेरी अन्य स्थानमा पनि इन्टरनेट राख्ने योजना कामपाको छ । ती नागरिकले इन्टरनेट सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन् । रासस

२९.४४ प्रतिशत नाफा बढाउने शिवम सिमेन्टकाे योजना, बिक्ला त ४०० रुपैयाँको आईपीओ ?

काठमाडौं । निजी लगानीमा सञ्चालित शिवम् सिमेन्टस् लिमिटेडले आउँदो २ वर्षमा नाफा २९.४४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढाएर १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । चालु आर्थिक वर्ष ०७५/०७६ मा २५.२८ प्रतिशत बढाएर खुद नाफा १ अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । गत आवमा उद्योगको नाफा १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ छ । उद्योगले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लाग सार्वजनिक गरेको वित्तीय विवरणमा आम्दानी तथा नाफा बढाउने योजना सार्वजनिक गरेको हो । २ वर्षमा उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख रुपैयाँ पूग्ने आब्हानपत्रमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा आम्दानी ८.४१ प्रतिशत मात्र बढ्ने अनुमान उद्योगको छ । चालु आवमा उद्योगले १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । नाफा बढेपछि उद्योगको लगानीकर्ताको प्रतिसेयर आम्दानी (ईपीएस) ४२ रुपैयाँ १६ पैसा पुग्ने छ । चालु आवमा ईपीएस ३२.५७ प्रतिशत हुने अनुमान उद्योगको छ । यस्तै प्रतिफल १७.७८ प्रतिशत पुग्ने छ । चालु आवमा प्रतिफल १५.५१ प्रतिशत पुग्ने आब्हानपत्रमा उल्लेख छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेपछि उद्योगको सेयर पुँजी बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । यस्तै जगेडा कोषको आकार पनि बढेर आगामी आवमा ६ अर्ब ३ करोड २८ लाख रुपैयाँ पुग्ने छ । चालु आवमा जगेडा कोष बढेर ४ अर्ब ८३ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । २ वर्षमा उद्योगको चुक्तापूँजी र जगेडा कोष गरी सम्पत्ति १० अर्ब ४३ करोड २८ लाख रुपैयाँ पुग्ने वित्तीय विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षदेखि कर्मचारीलाई नाफाको १० प्रतिशत बोनस छुट्टाउने भएको छ । यस्तै कुल आम्दानीको १८ प्रतिशत आयकर सरकारलाई तिर्ने छ । उद्योगले साउन १३ गतेखदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित मकवानपुरका स्थानीय बासिन्दालाई ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीय बासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनबाट उद्योगले २६ करोड ४० लाख रुपैयाँ संकलन गर्नेछ । आईपीओ निष्कासन साउन १३ गतेदेखि शुरु भई भदौ ११ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । स्थानीय बासिन्दालाई बाँडफाँड गरेको ३ दिनभित्र उद्योगले सर्वसाधारणलाई प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँ ४४ लाख कित्ता आईपीओ निष्कासन गर्ने सिद्धार्थले जानकारी दिएको छ । यसबाट १ अर्ब ७६ करोड रुपैयाँ संकलन हुने छ । सर्वसाधारण र स्थानीय बासिन्दाबाट गरी २ अर्ब २ करोड ४० लाख रुपैयाँ संकलन हुने छ । आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ हुने छ । २ अर्ब २ करोड ४० लाख रुपैयाँको आईपीओ प्रत्याभूति (अण्डरराइटिङ) एनआईबीएल एस क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीको आईपीओले ईक्रा एनपी आईपीओ ग्रेड ३ प्लस प्राप्त गरेको छ ।

बजार दोहोरो अंकले घट्दा एनसीसी बैंकको सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबारकाे बजार कारोबार खुलेदेखि अन्त्य सम्म निरन्तर रुपमा ओरालो लागेकोे छ । सो दिनको नेप्से परिसूचक ११.७३ अंकले घटेर ११८१ अंकमा झरेको छ । बजारमा कुल १६३ कम्पनीको २१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक(एनसीसी) बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको एक करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको छ । सो दिन फाइनान्स बाहेक बाँकी समूह राताम्मे भएका छन् । फाइनान्स समूह २.९९ अंकले उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन लाइफ इन्स्यारेन्स समूहको सूचक ११० अंकले घटेको छ । सबैभन्दा बढी तिनाउँ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४७ प्रतिशत कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ४.८३ प्रतिशतले घटेको छ ।