काठमाडौं । निजी लगानीमा सञ्चालित शिवम् सिमेन्टस् लिमिटेडले आउँदो २ वर्षमा नाफा २९.४४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढाएर १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । चालु आर्थिक वर्ष ०७५/०७६ मा २५.२८ प्रतिशत बढाएर खुद नाफा १ अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । गत आवमा उद्योगको नाफा १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ छ ।
उद्योगले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लाग सार्वजनिक गरेको वित्तीय विवरणमा आम्दानी तथा नाफा बढाउने योजना सार्वजनिक गरेको हो । २ वर्षमा उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख रुपैयाँ पूग्ने आब्हानपत्रमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा आम्दानी ८.४१ प्रतिशत मात्र बढ्ने अनुमान उद्योगको छ ।
चालु आवमा उद्योगले १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । नाफा बढेपछि उद्योगको लगानीकर्ताको प्रतिसेयर आम्दानी (ईपीएस) ४२ रुपैयाँ १६ पैसा पुग्ने छ । चालु आवमा ईपीएस ३२.५७ प्रतिशत हुने अनुमान उद्योगको छ । यस्तै प्रतिफल १७.७८ प्रतिशत पुग्ने छ । चालु आवमा प्रतिफल १५.५१ प्रतिशत पुग्ने आब्हानपत्रमा उल्लेख छ ।
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेपछि उद्योगको सेयर पुँजी बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । यस्तै जगेडा कोषको आकार पनि बढेर आगामी आवमा ६ अर्ब ३ करोड २८ लाख रुपैयाँ पुग्ने छ । चालु आवमा जगेडा कोष बढेर ४ अर्ब ८३ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । २ वर्षमा उद्योगको चुक्तापूँजी र जगेडा कोष गरी सम्पत्ति १० अर्ब ४३ करोड २८ लाख रुपैयाँ पुग्ने वित्तीय विवरणमा उल्लेख छ ।
चालु आर्थिक वर्षदेखि कर्मचारीलाई नाफाको १० प्रतिशत बोनस छुट्टाउने भएको छ । यस्तै कुल आम्दानीको १८ प्रतिशत आयकर सरकारलाई तिर्ने छ । उद्योगले साउन १३ गतेखदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित मकवानपुरका स्थानीय बासिन्दालाई ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
स्थानीय बासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनबाट उद्योगले २६ करोड ४० लाख रुपैयाँ संकलन गर्नेछ । आईपीओ निष्कासन साउन १३ गतेदेखि शुरु भई भदौ ११ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । स्थानीय बासिन्दालाई बाँडफाँड गरेको ३ दिनभित्र उद्योगले सर्वसाधारणलाई प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँ ४४ लाख कित्ता आईपीओ निष्कासन गर्ने सिद्धार्थले जानकारी दिएको छ । यसबाट १ अर्ब ७६ करोड रुपैयाँ संकलन हुने छ ।
सर्वसाधारण र स्थानीय बासिन्दाबाट गरी २ अर्ब २ करोड ४० लाख रुपैयाँ संकलन हुने छ । आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ हुने छ । २ अर्ब २ करोड ४० लाख रुपैयाँको आईपीओ प्रत्याभूति (अण्डरराइटिङ) एनआईबीएल एस क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीको आईपीओले ईक्रा एनपी आईपीओ ग्रेड ३ प्लस प्राप्त गरेको छ ।