नियम उल्लंघन गर्ने ८ हजार सवारी साधन कारबाहीमा
काठमाडौं । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४÷७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ । गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही भएको थियो । जरिवानाबापत रु ५७ लाख ६६ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । सवारीको चाप र संख्यासँगै ट्राफिक प्रहरीको सक्रियता बढेकाले राजस्वसमेत दोब्बरले वृद्धि भएको छ । मादक पदार्थको सेवन गरेर सवारीसाधन चलाउने २९६ जनालाई रु दुई लाख ९६ हजार जरिवाना तिराइएको छ । सवारीसाधनको स्वरुप परिवर्तन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र र सवारी धनी प्रमाणपत्र बिना सवारी चलाउने चालक तथा सवारी धनीलाई कारबाही गरिएको हो । सो अवधिमा भएका १४ वटा दुर्घटनामा ११ जनाको मृत्यु, १९ गम्भीर र १३ जना सामान्य घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु बोक्नु, चालकको लापर्बाही, तीव्र गति, सडकको जीर्ण अवस्था र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि विद्यार्थी, सर्वसाधारण र सवारी चालक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । मापसे परीक्षण गर्ने मेसिन थप र सवारीको गति जानकारी पाउने राडर गनको व्यवस्थाका साथै जनशक्ति र पोष्ट थप गर्न पहल गरिएको छ । बेनीका साथै भुरुङ तातोपानी र सिंगा तातोपानीमा समेत ट्राफिकको पोष्ट रहेको छ । रासस
४० संस्थाको लगानीमा बीमा तालिम इन्स्टीच्युट खुल्यो, जनशक्ति विकासमा महत्वपूर्ण याेगदान पुग्ने विश्वास
काठमाडौं । ३९ वटा बीमा कम्पनी र बीमा समितिको संयुक्त लगानीमा बीमा तालिम इन्स्टीच्युट नेपाल खुलेको छ । बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले आइतबार उक्त तालिम ईन्स्टीच्युटको उद्घाटन गरेका छन् । नयाँ इन्स्टीच्युटको अध्यक्ष बीमा समितिका निर्देशक राजुरमण पौडेल भएका छन् भने प्रमुख कार्यकारी अधिकृतमा भोजराज शर्मा नियुक्त भएका छन् । एक करोड रुपैयाँ पुँजी लगानी गरेर शुरु गरिएको उक्त इन्स्टीच्युट हाल बीमा समितिको कार्यालय परिसरमा नै राखिएको छ । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभावको समस्या उत्कर्षमा पुगेपछि बीमा समिति र बीमा कम्पनीहरुको संयुक्त लगानीमा तालिम केन्द्र सञ्चालन गरिएको हो । गत आर्थिक वर्षमा मात्र १२ वटा नयाँ बीमा कम्पनी खुलेपछि बीमा बजारमा जनशक्ति अभाव देखिएको छ । तालिम केन्द्रको सञ्चालनको केही वर्षमा नै यस्तो अहिलेको समस्या कम हुने अपेक्षा गरिएको छ ।
भेरी बबई डाइभर्सनको ४९ प्रतिशत काम सकियो, निर्धारित समय अगावै सम्पन हुने
सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको काम ४९ प्रतिशत सम्पन्न भएको छ । गत कात्तिक महिनाको पहिलो साताबाट सुरुङ निर्माण कार्य थालिएको १२ किलोमिटरलामो सुरुङ खन्ने काम लगभग आधा सम्पन्न भएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी दिए । निर्देशक बस्नेतका अनुसार काम सुरु भएको ८ महिनामा ४९ प्रतिशत काम भएको हो । आयोजनाका बाँध बनाउनदा ३२ हेक्टर जमीन डुबान पर्ने भएको बताउँदै त्यस क्षेत्रको समुदायको व्यवस्थापनमा सहयोग गर्न निदेशक बस्नेतले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अनुरोध गरेका थिए। आयोजनाको काम सम्पन्न मिति २८ मार्च २०२० भनिए पनि तोकिएको तालिकाभन्दा दुई महिना अघि काम सम्पन्न हुने उनले जानकारी दिए। आयोजना सम्पन्न भएपश्चात् वार्षिक ७ अर्ब आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजनाको पानीबाट बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ भई त्यसबाट उठ्ने वार्षिक राजस्व ३ अर्ब र उत्पादित ४८ मेगावाट जलविद्युत्बाट ४ अर्ब रुपैयाँ आम्दानी हुने आयोजनाका निर्देशक बस्नेतले बताए। कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको थियो । मुख्यमन्त्री शाहीले नेपालमा सबैभन्दा ठूलो सुरुङ प्रविधिबाट निर्माणाधीन भेरी बबई डाइभर्सनको काम कारबाहीबारे बुझ्न, समस्या थाहा पाउन र यथार्थ प्रगतिको जानकारी लिन उक्त आयोजनाको अवलोकन गरिएको जानकारी दिए। “आयोजनाको ल्याब, क्रसर उद्योग, सिगमेन्ट निर्माण कारखाना र मुख्यगरी करीब छ किलोमिटर निर्माण भइसकेको सुरुङमार्ग हेरेका छौँ । छोटो समयमा यसको उत्साहजनक र प्रशंसा गर्न लायक काम भएको छ,” उनले भने। मुख्यमन्त्री शाहीका अनुसार तीव्र गतिमा बनिरहेको सरकारको सबैभन्दा सस्तो लगानीको यो आयोजनाले कर्णाली प्रदेश र ५ नं प्रदेशको समृद्धिको ढोका खोल्न सहयोग पुग्ने छ । रासस
विद्युतीय भुत्तानी ३० प्रतिशत बढ्यो, नेपाल क्लियरिङ हाउसमार्फत ७०५३ अर्बको कारोबार
काठमाडौं । विद्युतीय चेक भुत्तानी प्रणाली (ईसीसी) र अन्तर बैंक भुत्तानी (आईपीएस) मार्फत हुने कारोबार ३०.२३ प्रतिशत बढेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा ईसीसी र आईपीएस मार्फत ७० खर्ब ५३ अर्ब रुपैयाँ कारोबार भएको छ । अघिल्लो वर्ष ५४ खर्ब ३९ अर्ब रुपैयाँ मात्र कारोबार भएको थियो । एक वर्षको अवधिमा १६ खर्ब १४ अर्ब रुपैयाँ विद्युतीय भुत्तानीमार्फत कारोबार बढेको हो । यो रकम एकाउन्ट पेइ र बैंकमार्फत चेक विना गरिने विद्युतीयको मात्र कारोबार हो । बैंकमा गएर सिधै भुत्तानी लिने अर्थात वेरर चेक कारोबार यसमा समावेश गरिएको छैन् । एक वर्षको अवधिमा भुत्तानीका लागि सरकार तथा निजी क्षेत्रबाट १ करोड थान एकाउन्ट पेई चेक जारी भई ईसीसी प्रणालीमार्फत ६३ खर्ब ४१ अर्ब रुपैयाँ कारोबार भएको । जारी भएका मध्ये ८.५ प्रतिशत अर्थात साढे ८ लाख थान चेक फिर्ता भएको विद्युतीय भुत्तानी व्यवस्थापनकर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ । अघिल्लो वर्ष ईसीसी प्रणालीबाट ५१ अर्ब ७५ करोड रुपैयाँ कारोबार भएको थियो । यस्तै बैंकबाट सिर्ध अर्को बैंकबाट चेक विनै हुने अन्तर बैंक भत्तानी प्रणाली आईपीएसबाट ७ खर्ब १२ अर्ब रुपैयाँ कारोबार भएको छ । अघिल्लो वर्ष यस प्रणालीबाट २ खर्ब ६४ अर्ब रुपैयाँ मात्र कारोबार भएको थियो । आईपीएसमार्फत ७२ जिल्लामा जी २ बीबाट ४८ अर्ब रुपैयाँ भुत्तानी भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ अर्ब रुपैयाँ थियो । वर्षेनी विद्युतीय कारोबार रकम बढ्दै गएको हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान बताउछन् । ईसीसीका अतिरित पछिल्ला वर्ष आईपीएस प्रणालीबाट हुने कारोबार बढेको उनको भनाई छ । यस्तै हाउसले अहिले ई–पेमेन्ट प्रणालीलाई आईपीएसको रुपमा विकास गरिएको प्रधानले बताए । उनकाअनुसार ग्राहकले घरमा बसेर इन्टरनेटको माध्यमबाट रकम ट्रान्सफर, ई–भुत्तानी र विलको भुत्तानी गर्न सक्ने प्रणाली सञ्चालनमा आइसकेको छ । सरकारलाई कर तिर्न र भुत्तानी लिन दिन विद्युतीय कारोबार सुरु गरेको छ । आफनो मोवाइल र ल्यापटबाटै कर तिर्न सकिने व्यवस्था साउन १ गतेदेखि सुरु भएको छ । यस्तै भुत्तानी पनि सम्बन्धित व्यक्ति र संस्थाको खातामा सिर्ध जाने व्यवस्था गरिएको छ । सरकारले चेक तथा कागजी नोट प्रतिस्थापन गर्न मोवाइल, ल्यापटबाट ई–भुत्तानी प्रणालीलाई जोड दिन थालेपछि कारोबार बढ्ने देखिएको हो । दिउसो २ वजेसम्म बैंकले प्रणालीमा राखेको चेक सोही दिन क्लियरिङ अर्थात भुत्तानी हुने गरेको छ । भारतमा मात्रै गत वर्ष २.४ ट्रिलियनको चेक कारोबार भएको थियो । यस्तै श्रीलंकामा अझै चेक क्लियरिङ गर्न २ दिन लाग्ने गरेको छ । आर्थिक वर्षको अन्तिम दिन नेपाल क्लियरिङबाट मात्रै ८२ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो । रकमको आधारमा अहिलेसम्मको सबैभन्दा ठूलो कारोबार भएको दिन हो । एकाउन्ट पेई चेक र अन्तर बैंक विद्युतीय प्रणालीमार्फत एक खाताबाट अर्को खातामा ८२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी भएको छ
सिटिजन्स बैंकको नाफा ३० प्रतिशत बढेर १ अर्ब ४० करोड पुग्यो, ४६ करोड राइट ब्याक
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खदनाफा १ अर्ब ८ करोड १६ लाख रुपैयाँ थियो । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा निक्षेप तथा कर्जा विस्तार प्रक्षेपण गरेअनुसार रहेको जानकारी दिएको छ । ब्याज खर्चमा केही वृद्धि भए पनि नाफा सन्तोषजनक रहेको बैंकले जानकारी दिएको छ । गत वर्ष बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ थियो । गत वर्ष बैंकले ४६ करोड ४१ लाख रुपैयाँ निष्क्रिय कर्जा असुल (राइट ब्याक) गरेको छ । समीक्षा अवधिमा बैंकको निक्रिय कर्जा अनुपात घटेर १.२५ प्रतिशतमा झरेको छ । गत चैतसम्म यस्तो कर्जा १.४६ प्रतिशत थियो । निक्षेप लागत बढेर ८.४५ प्रतिशत पुगेको छ । गत चैतसम्म यस्तो लगात ८.३५ प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७७.८७ प्रतिशत छ । आधार दर बढेर ११.७८ प्रतिशत पुगेको छ । तेस्रो त्रैमाशमा बैंकको आधार दर ११.१५ प्रतिशत थियो । ब्याजदर अन्तर ३.८४ प्रतिशत छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको छ । बैंकको संचित कोषको आकार बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ६१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ५७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । “दोस्रो वाइड बढी विमान भित्र्याउनका लागि निगमको एक समूह ‘टोली’ हिजो शुक्रबार फ्रान्स गइसकेको छ । निगमका महाप्रबन्धकसहितको टोली भोलि आइतबार त्यसतर्फ जाने तयारीमा छ”, उनले भने । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आउनेछ । निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमान फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको थियो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुई वटा विमान खरिद गरिएको निगमले जनाएको छ । निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान आइसकेको छ भने दोस्रो विमान आगामी शुक्रबार काठमाडौँ आइपुग्नेछ । विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो । निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुवै वाइड बढी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । निगमको पहिलो वाइड बढी विमानबाट आगामी साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्दैछ । दोस्रो विमान पनि हाललाई पुरानै गन्तव्यमा उडाइनेछ । पछि क्रमशः नयाँ गन्तव्यमा उडान भर्ने निगमको तयारी छ । दोस्रो वाइड बढी आएपछि आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक रुपमा उडान गर्ने तयारी गरिएको छ । वाइड बढी विमानका लागि विमान चालक (पाइलट) को व्यवस्थासमेत भइसकेको प्रवक्ता श्रेष्ठले बताए । “वाइड बढी उडाउने पाइलट तयार भइसकेका छन् केही आउने क्रममा छन् । दोस्रो वाइड बढीका लागि पनि चाँडै पाइलटको व्यवस्था हुनेछ”,–उनले भने । निगमका अनुसार अब आउने थप वाइड बढी विमानसमेतलाई दृष्टिगत गरी जम्मा १३ वटा विमानलाई पाइलट ११६ जना चाहिने भए पनि हाल निगमसँग जम्मा ८८ जना मात्र पाइलट छन् । थप २८ जना पाइलट सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने निगमको भनाइ छ । निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी पाइलटहरु कारारमा नियुक्त गर्दै जाने नीति लिएको हालै पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । यसका साथै निगमभित्रका पाइलटलाई पनि तालीम दिँदै क्रमिकरुपमा नियमानुसार स्तरोन्नति ‘अपग्रेट’ गर्दै लैजाने जनाएको छ । निगमका अनुसार आन्तरिक उडानका लागि चिनियाँ वाई–१२ र टुइनअटर विमानका लागि विदेशी क्याप्टेन करारमा नियुक्त गर्दा मासिक अन्दाजी रु १२ लाख तलब भत्ता (करसहित) लाग्ने देखिएको छ भने वाइड बढी ए३३०–२०० को लागि क्याप्टेनको अन्दाजी रु १८ लाख र को–पाइलटको रु १२ लाख लाग्नेछ । हालको अवस्थामा नयाँ विमान थप्दै जाने हो भने विदेशी पाइलटकै भर पर्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको जनाइएको छ । विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीतिसमेत निगमको छ । निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई वटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् । रासस
बजार घटेका बेला प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सबैभन्दा बढी कारोबार
काठमाडौं । यस साता प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको ३५ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोवार भएको छ । कारोवार भएको सेयर संख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा छ । सो संस्थाको १२ लाख ५२ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । धितोपत्र बजारमा यस साता १ अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१.३२ प्रतिशत कम हो । गत साता १९१ कम्पनीको २ अर्ब ११ करोड ८८ लाख आठ हजारबराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेर अन्तिम दिन एक हजार १९३ अंकमा पुगेको छ । यस साता विभिन्न पाँच कम्पनीका हकप्रद, बोनस शेयरसमेत स्टकमा सूचीकृत भएका छन् । रासस
घुस रकमसहित राजकुमार मण्डल अख्तियारको फन्दामा
लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको ७० हजार रुपैयाँ नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको हो । टोलीका प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले मण्डलको साथवाट घुसबापत लिएको नगद ७० हजार बरामद भएको जानकारी दिए । सकरपुरामा सडक निर्माणको योजना मिलाई दिएबापत मण्डलले उपभोक्ता समितिबाट कमिसनबापत उक्त रकम लिएको अख्तियारको टोलीले जनाएको छ । अख्तियारको टोलीले मण्डललाई अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालयमा लगेको जनाएको छ । रासस