विकासन्युज

नेरुडे लघुवित्तले ल्यायो ‘ट्यावलेट बैकिङ’, इन्टरनेट विना सेवा लिन सकिने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा “ट्यावलेट बैकिङ” सेवा सुचारु गरेको छ । संस्थाले यो कार्यक्रम युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत ल्याएको हो । लघुवित्तले सुनसरीको धरान शाखा कार्यालयबाट पहिलो पटक ट्यावलेट बैकिङ कार्यक्रम शूरु गरेको हो । धरान १७ को रेलवे लाइनमा रहेको सप्तरंगि नेरुडे महिला केन्द्रमा भएको कार्यक्रममा संस्थाका प्रबन्ध संचालक मणिकुमार अज्र्यालले यो प्रविधिबाट आफ्ना ग्राहक सदस्यहरुलाई सेवा दिने बताएका छन् । ग्राहकहरुलाई सहज र सजिलो तरिकाले सेवा उपलब्ध गर्न यो प्रविधि ल्याइएको संस्थाले जनाएको छ । इन्टरनेट नभएका स्थानबाट पनि अफलाइनमार्फत सेवा दिन सकिनेछ । यो परियोजना अन्तर्गत ७ जिल्लाका १९ शाखामा कार्यक्रम संचालन भै रहेको छ । ट्याबलेट बैकिङ सेवा मार्फत सबै सदस्यहरुले कारोबार हुने बित्तिकै कारोबारको जानकारी रसिद हात हातमा पाउने धरान शाखाको प्रमुख सम्झना लामाले बताए । धरान १७ की फुलमाया राईले बिजुलीको बिल जस्तै नेरुडेले पनि यस्तो रसिद दिन थालेकोले घरपारिवार र अन्य सबैलाई बताउन र देखाउन सजिलो भएको बताईन ।

फेसबुकको सेयर मूल्य घट्दा मार्क जुकरवर्गले गुमाए १७ अर्ब डलर

एजेन्सी । सामाजिक सञ्जाल फेसवुक इंकको सेयर मूल्य घटेपछि लगानीकर्ताले एकैदिन १ अर्ब ५१ करोड अमेरिकी डलर गुमाएका छन् । फेसबुकको सेयर मूल्य धेरै घटेर अमेरिकाको पुँजी बजारमा ऐतिहासिक रेकर्ड कायम भएको छ । फेसबुकको सेयर मूल्य घटेपनि बजार पुँजीकरण भारतका मूल्यवान टीसीएस र रिलायन्स इन्डष्ट्रिजको भन्दा बढी रहेको छ । टीसीएस आईटी कम्पनीको बजार पुँजीकरण बढेर १ खर्ब डलर पुगेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । यस्तै रिलायन्सले टीसीएसलाई पिछा गरिरहेको छ । बुधबार फेसबुकको बजार पुँजीकरण ६ खर्ब २९ अर्ब डलर थियो । बजार घटेपछि मार्क जुकरवर्गको एकै दिन १७ अर्ब डलर गुमेको छ । ठुलो रकम गुमाएपछि ब्लुमवर्ग अर्बपति सुची ३ बाट छैठौं स्थानमा झरेका छन् ।

माथिल्लो तामाकोसीको आईपीओ काठमाडौंबाट पनि भर्न पाउने, डिम्याट खाता नभए पनि हुने

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) काठमाडौंबाट पनि भर्न पाइने भएको छ । काठमाडौबाट पनि निश्चित अवधीमा निश्चित स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । वोर्डले आधिकारिक निर्णय गरेर खुला गर्ने सहमति भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । दोलखामा रहेका बैकका शाखाहरु भएका २१ वटा स्थानहरुवाट सेयर आवेदन संकलन हुने र बैक नभएको स्थानहरुमा घुम्ति संकलन केन्द्रको ब्यवस्था हुने उनले जानकारी दिए । श्रेष्ठका अनुसार यसको अतिरित्त विकट गाउँबाट आवेदन संकलन गर्न स्वयंसेवकहरु परिचालन गरिने भएको छ । डिम्याट अनिवार्य नभइ स्वेक्षिक हुने व्यवस्था गरिएको छ । ३ वर्षको लकिङ अवधी पछिको कारोबारको लागि डिम्याट अनिवार्य हुने भएकोले सहजरुपमा अहिले डिम्याट गर्न नेपाल धितोपत्र बोर्डको सुझाब दिएको छ । प्रत्येक आवेदकको बैक खाता अनिवार्य नगरी आवेदकले इच्छाएको परिवारको कुनै १ सदस्यको खातामा फिर्ता हुने नगद जम्मा गर्ने ब्यबस्था गरिएको छ । बिहीबार दोलखाका सबै माननीय सांसद, पूर्व मन्त्री, जिल्लाका प्रमुख राजनीतिक दल, गाउँपालिका र नगरपालिकाका अध्यक्ष, नेपाल विद्युत प्राधिकरण, बोर्ड र नागरिक लगानी कोषका प्रमुखहरु सहितको बैठकले आईपीओ निष्कासन सहज गराउने निर्णय गरेको हो । तामाकोसीको आईपीओ साउन १६ गतेदेखि भदौ १४ गतेसम्म निष्कासन हुनेछ । प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने कोषले जानकारी दिएको छ । जसअनुसार आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउनेक कोषले जानकारी दिएको छ ।  

पोखरा विश्व विद्यालयबाट बीबीए, बीआइ र एमबीए उत्तीर्ण गर्नेलाई मुक्तिनाथ विकास बैंकमा इन्टर्नशीपको अवसर

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरा विश्व विद्यालयबाट बीबीए, बीआइ र एमबीए उत्तीर्ण गर्नेलाई इन्टर्नशीपको अवसर प्रदान गर्ने भएको छ । साथै, बैंकले उक्त सङकायमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने भएको छ । मुक्तिनाथ विकास बैंक र पोखरा विश्व विद्यालय, स्कूल अफ बिजनेसबीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कूल अफ बिजनेसका निर्देशक डा.रविन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा व्यवहारिक ज्ञान आदान प्रदान गर्ने भएको छ । साथै, यस सम्झौताले शैक्षिक योग्यता हासिल गरी सकेपछि देखिने बेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

एचआईडीसीएलले २ अर्ब हकप्रद सेयर निष्काशन गर्ने, सरकारले दियाे ५ अर्ब, पुँजी २० अर्ब पुग्ने

काठमाडौं । सरकारको स्वामित्व रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ऊर्जामा लगानी बढाउन पुँजी वृद्धि गरेको छ । एचआईडीसीएलले पुँजी दोब्बर बढाएर २० अर्ब रुपैयाँ पुर्याएको छ । कम्पनीको १० अर्ब रुपैयाँ पुँजी थियो । पुँजी बढाएपछि एचआईडीसीएलले थप २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसअघि एचआईडीसीएलले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा सरकारको ८० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । थप १० अर्ब रुपैयाँ मध्ये ५ अर्ब रुपैयाँ सरकारले बिहीबार एचआईडीसीएललाई दिएको छ । जसअनुसार अर्थ मन्त्रालयले २ अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिंचाइ मन्त्रालयले १ अर्ब, कानून तथा न्याय मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रकको कार्यलयले १ अर्ब रुपैयाँ थप लगानी गरेका छन् । यस्तै कर्मचारी संचय कोषले १ अर्ब, नागरिक लगानी कोषले १ अर्ब र राष्ट्रिय बीमा संस्थाले १ अर्ब रुपैयाँ लगानी गर्नेछन् । उनिहरुबाट थप लगानी आउन बाँकी रहेको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनले केही वर्षभित्र कम्पनीको पुँजी बढाएर ३० अर्ब रुपैयाँ पुर्याउने जानकारी दिए । थप २ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्नका लागि प्रक्रिया सुरु गरिसकेको र यो आर्थिक वर्षभित्र ल्याउने तयारी भएको पोखरेलले जानकारी दिए । कम्पनीसंग रहेको १० अर्ब रुपैयाँ मध्ये साढे ९ अर्ब रुपैयाँ सहवित्तीयकरणका रुपमा विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ । यसअवधिमा एचआईडीसीएलले १ हजार १४४ मेगावाट क्षमताको २१ आयोजनामा लगानी गरेको छ । कम्पनीसंग ५० करोड रुपैयाँ मात्र बाँकी थियो । जलविद्युत आयोजनामा लगानी बढाउन पुँजी वृद्धि गरेको पोखरेलको भनाई छ । ५ वर्षे योजना कार्यन्वयनका लागि कम्पनीले दातृनिकायबाट थप २ खर्ब रुपैयाँ ऋण लिनका लागि प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । एचआईडीसीएलको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थले पनि विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) बाट कर्जा लिनका लागि प्रक्रिया सुरु गरिसकेको उनले बताए । आउदो ५ वर्षमा जलविद्युत विकासमा झण्डै ३६ अर्ब रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरिससकेको छ । कम्पनीले आगामी ५ वर्षका लागि व्यवसायिक योजना तयार पारी ३ हजार २३८ मेगावाट क्षमताका आयोजना निर्माणमा यो रकम लगानी गर्ने भएको हो । आउदो ५ वर्षमा निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका विभिन्न ८ आयोजनामा ५ अर्ब ९ करोड लगानी गर्ने भएको छ । सरकारी निकायबाट निर्माण गरिने १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ आयोजनामा १६ अर्ब २१ करोड र निजी क्षेत्रबाट निर्माण हुने १ हजार ३३ मेगावाट क्षमताका ५ जलविद्युत आयोजनामा १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गर्ने तयारी कम्पनीको छ । गत आर्थिक वर्षमा कम्पनीले ८० करोड रुपैयाँ नाफा गरेको छ । लगानीकर्तालाई कम्पनीले न्युनतम ५ प्रतिशत लाभांश दिने उनले बताए ।

पुर्व क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्दै

काठमाडौं । पुर्व क्रिकेटर इमरान खान पाकिस्ताका प्रधानमन्त्री बन्ने भएका छन् । हालै सम्पन्न निर्वाचनमा खानको पार्टी पीटिआईले प्रारम्भिक नतिजा अग्रता हासिल गरिरहेको छ । २७२ सिटको लागि भएको निर्वाचनमा पीटिआईले ११३ स्थानमा अग्रता हासिल गरिरहेको छ । पाकिस्तानको डन समाचार पत्रको अनुसार खानले अक्सर्फोड युनिभरसिटी पढेका हुन् । सन् १९९० मा विश्वकप क्रिकेट जिताउन महत्वपुर्ण भूमिका खेलेका खान १९९६ मा पहिलो पटक राजनितिमा आएका थिए ।  प्रारम्भिक नतिजा अनुसार दोस्रो स्थानमा ६४ स्थानमा अग्रता हासिल गर्दै पीएमल एन रहेको छ भने तेस्रो स्थानमा रहेको पीपीपीले ४३ स्थानमा अग्रता लिइरहेको छ ।

तनहुँ जलविद्युतको निर्माणका लागि २ कम्पनी छनोट, २४ अर्ब ४७ करोडमा खरिद सम्झौता

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको लागि २ वटा निर्माण कम्पनीहरु छनोट गरेको छ । कम्पनीले इटालियन कम्पनी सिएमसी र चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडलाई २४ अर्ब ४७ करोड रुपैयाँमा खरिद गर्ने सम्झौता गरेको हो । आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता हुने छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक)मा खरिद सम्झौता हुने छ । तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन् । पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावरका प्रवन्ध-सञ्चालक प्रदिपकुमार थिकेले बताए । ‘खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,’ उनले भने । तनहुँ हाइड्रोपावर लिमिटेडले १९ माघ २०७३ मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनौट भएका कम्पनीहरुलाई बोलपत्र प्रस्ताव पेश गर्न आहन गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आह्वान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद-बिक्री सम्झौता सम्पन्न भइसकेको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

१५ महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

काठमाडौं। जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ। निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र ठडिएको छ। पुल निर्माणको जिम्मा सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौँको फर्ममार्फत जाजरकोट सुवानाउलीका कर्णबहादुर थापाले लिएका थिए। १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएको पुलको ठेकेदारले समयमा काम नगर्दा अलपत्र परेको छ। तीनपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको छैन। समयमा निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ। स्थानीय जोखिम मोलेर खोलाबाट वारपार गर्ने गरेका छन् । महिला, बालबालिका, वृद्धवृद्धा, अपांगलाई खोला तर्न समस्या हुने गरेको छ । साना बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या छ। जिल्लाको पश्चिम सीमा, जुँगाथापाचौर, साल्मा, दसेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैकलगायत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ । स्थानीयले निर्माण व्यवसायीलाई कडा कारबाहीको माग गरेका छन्। खोला बढ्दा दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ढुवानीमा बाधा पुगेको छ। बालुवा बजारको यातायात बन्द भएको छ। यातायातका साधन मोर्क बजारमै थन्किएका छन्। निर्माणको जिम्मा लिएको ठेकेदारले काम नगरेर दोस्रो व्यक्तिलाई जिम्मा लगाउँदा निर्माणको काम अलपत्र परेको छ। व्यवसायीले तोकेको समयमा पुल नबनाउँदा यस क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या हुनुको साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको सीमा ९ स्यापीका पूर्णसमीर महताराले बताउनुभयो। पुल नबन्दा थलह बजारसम्मको २५ किलोमिटर सडकमा यातायात चल्न सकेको छैन । सडक बने पनि यातायातको सुविधा नहँदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ। पुल निर्माणका लागि हालसम्म रु ६० लाखभन्दा बढी रकम खर्च भइसकेको छ । २५ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको पुलका लागि पेस्की रकम बराबरको कामसमेत हुन सकेको छैन । व्यवसायीले प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने अनि काम सम्पन्न गर्नेतर्फ बेवास्ता गर्ने प्रचलनले समस्या भएको जिल्ला समन्वय समितिले जनाएको छ। रासस