काठमाडौं । सरकारको स्वामित्व रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ऊर्जामा लगानी बढाउन पुँजी वृद्धि गरेको छ । एचआईडीसीएलले पुँजी दोब्बर बढाएर २० अर्ब रुपैयाँ पुर्याएको छ । कम्पनीको १० अर्ब रुपैयाँ पुँजी थियो । पुँजी बढाएपछि एचआईडीसीएलले थप २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

यसअघि एचआईडीसीएलले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा सरकारको ८० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । थप १० अर्ब रुपैयाँ मध्ये ५ अर्ब रुपैयाँ सरकारले बिहीबार एचआईडीसीएललाई दिएको छ । जसअनुसार अर्थ मन्त्रालयले २ अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिंचाइ मन्त्रालयले १ अर्ब, कानून तथा न्याय मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रकको कार्यलयले १ अर्ब रुपैयाँ थप लगानी गरेका छन् ।
यस्तै कर्मचारी संचय कोषले १ अर्ब, नागरिक लगानी कोषले १ अर्ब र राष्ट्रिय बीमा संस्थाले १ अर्ब रुपैयाँ लगानी गर्नेछन् । उनिहरुबाट थप लगानी आउन बाँकी रहेको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनले केही वर्षभित्र कम्पनीको पुँजी बढाएर ३० अर्ब रुपैयाँ पुर्याउने जानकारी दिए । थप २ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्नका लागि प्रक्रिया सुरु गरिसकेको र यो आर्थिक वर्षभित्र ल्याउने तयारी भएको पोखरेलले जानकारी दिए ।
कम्पनीसंग रहेको १० अर्ब रुपैयाँ मध्ये साढे ९ अर्ब रुपैयाँ सहवित्तीयकरणका रुपमा विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ । यसअवधिमा एचआईडीसीएलले १ हजार १४४ मेगावाट क्षमताको २१ आयोजनामा लगानी गरेको छ । कम्पनीसंग ५० करोड रुपैयाँ मात्र बाँकी थियो ।
जलविद्युत आयोजनामा लगानी बढाउन पुँजी वृद्धि गरेको पोखरेलको भनाई छ । ५ वर्षे योजना कार्यन्वयनका लागि कम्पनीले दातृनिकायबाट थप २ खर्ब रुपैयाँ ऋण लिनका लागि प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । एचआईडीसीएलको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थले पनि विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) बाट कर्जा लिनका लागि प्रक्रिया सुरु गरिसकेको उनले बताए ।
आउदो ५ वर्षमा जलविद्युत विकासमा झण्डै ३६ अर्ब रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरिससकेको छ । कम्पनीले आगामी ५ वर्षका लागि व्यवसायिक योजना तयार पारी ३ हजार २३८ मेगावाट क्षमताका आयोजना निर्माणमा यो रकम लगानी गर्ने भएको हो । आउदो ५ वर्षमा निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका विभिन्न ८ आयोजनामा ५ अर्ब ९ करोड लगानी गर्ने भएको छ ।
सरकारी निकायबाट निर्माण गरिने १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ आयोजनामा १६ अर्ब २१ करोड र निजी क्षेत्रबाट निर्माण हुने १ हजार ३३ मेगावाट क्षमताका ५ जलविद्युत आयोजनामा १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गर्ने तयारी कम्पनीको छ । गत आर्थिक वर्षमा कम्पनीले ८० करोड रुपैयाँ नाफा गरेको छ । लगानीकर्तालाई कम्पनीले न्युनतम ५ प्रतिशत लाभांश दिने उनले बताए ।