पर्याप्त बजेट र कर्मचारी नहुँदा ताप्लेजुङको विषयगत कार्यालयका सेवामा असर
काठमाडौं। जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून बजेटले सेवा प्रभावकारी हुन नसकेको बताएका हुन्। घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सुनिल आचार्यले न्यून बजेटका कारण लक्ष्यअनुसारका काम गर्न कठिन भएको र पर्याप्त कर्मचारी नहुँदा पनि भ्याइनभ्याइ विकट क्षेत्रमा पुगेर काम गर्नुपरेको बताए। सीमित बजेट हुँदा कामले पूर्णता नपाउने गरेको सडक डिभिजन कार्यालयका इञ्जिनियर महमद हारिज आलमको गुनासो थियो । बजेट सीमित हुने तर काम चौतर्फी गर्नुपर्दा लक्षित कामले पूर्णता नपाएको उनको भनाइ थियोे । आएको बजेट खर्च हुन नसकी फिर्ता हुनुमा पनि कर्मचारीको अभाव, निर्माण पक्षको लापर्बाही र समयमा बजेट निकासा नहुनु प्रमुख कारण रहेको सम्बद्ध कार्यालय प्रमुखले बताएका थिए । कतिपय आयोजना नीतिगत समस्याका कारण अघि बढ्न ढिलाइ हुने गरेको उनिहरुको भनाइ थियो । आव २०७४/०७५ मा रू एक अर्ब ४० करोड ३५ लाख १४ हजार कूल बजेटमध्ये ६३ करोड ८१ लाख ८२ हजार ३०० फिर्ता भएको जिल्ला समन्वय अधिकारी नरहरि भण्डारीले जानकारी दिए। रासस
आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन
काठमाडौं। आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरेका हुन्। उनले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग्ने बताए। भक्तपुरबाट पर्यटकलाई बन्दीपुर र पोखरा लैजाने तथा पोखराबाट पर्यटकलाई भक्तपुर ल्याउने गरी साझेदारी कार्यक्रम सञ्चालन गर्न सकिने चर्चा गर्दै नगरप्रमुख थापाले नगरपालिका पर्यटन व्यवसायीसँग पर्यटन विकासको मामिलामा हातेमालो गरेर अगाडि जान तयार रहेको बताए। सेवा उद्घाटन गरेलगत्तै स्वदेशी तथा विदेशी यात्रु बोकेर पोखराको लागि बा १ प १३६३ नंको पहिलो बस सूर्यविनायकबाट गुडेको थियो । ब्यास ट्राभल एण्ड टुर प्रालिले पहिलो पटक भक्तपुरबाट पोखरा सिधा सब सेवा सञ्चालन गरेको हो । अब दैनिक बिहान ६ः३० बजे सूर्यविनायकबाट पोखराको लागि बस गुड्ने र सोही समयमा पोखराबाट अर्को बस भक्तपुरका लागि गुड्ने प्रालिका निर्देशक दीपक भट्टराईले जानकारी दिए। भक्तपुरबाट पोखराका लागि दुई वटा बस सञ्चालनमा ल्याएको बताउँदै उनले यात्रुको संख्या बढेमा अरु बस थप गर्दै लैजाने बताए। बसभित्रै शौचालय, वाइफाइलगायतको सुविधा सम्पन्न बसले प्रतियात्रु रु ८०० को टिकट निर्धारण गरेको छ । बस सूर्यविनायकबाट छुटेर यात्रु लिँदै कोटेश्वर, बानेश्वर, माइतीघर, ठमेल, सोह्रखुट्टे, कलंकी हुँदै पोखरा जाने छ । प्रालिका सञ्चालक आशुतोष प्रधानले भक्तपुरदेखि बन्दीपुर र पोखरासम्मको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न बस सेवाले टेवा पु¥याउने बताए । रासस
रिलायन्स लाईफको साधारणसभा सम्पन्न, ६३ करोडको आईपीओ निष्कासनको प्रस्ताव पारित
काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका छ । साधारणसभाले प्रस्ताव पारित गरेकाले आईपीओ निष्कासन गर्न कम्पनी व्यवस्थापनलाई बाटो खुला भएको छ । सभाले ताराचन्द केडियालाई सर्वसम्मत रुपमा कम्पनीको अध्यमा चयन गरेको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । कम्पनीले हाल ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। कम्पनीले हाल मेरो मुटु बालयोजना, सुखमय जीवन सवाधिक तथा आजीवन, सुरक्षित जीवन सवाधिक, धनफिर्ता १५ र २० वर्ष, जीवन शान्ति बीमा योजना सञ्चालनमा ल्याएको छ । साथै कम्पनीले हालै ७,११ र १८ घातक रोगहरु विरुद्धको रक्षावरण र सामुहिकम्यादी बीमा योजना पनि अघि ल्याएको छ।
धेरै निक्षेप बैंकमा राख्ने म्युचुअल फण्डलाई धितोपत्र बोर्डको स्पष्टीकरण
काठमाडौं । मापदण्ड भन्दा धेरै रकम बैंक तथा वित्तिय संस्थामा निक्षेप राख्ने म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । यी फण्डहरुले कुल योजनाको १० प्रतिशत भन्दा बढि रकम बैंकमा निक्षेप राखेका थिए । बोर्डले सिटिजन म्युचुअल फण्ड अन्तर्गतको सिटिजन म्युचुअल फण्ड–१ को योजना ब्यवस्थापक सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्डअन्तर्गतको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड–१ को योजना व्यवस्थापक एनएमबी क्यापिटल, लक्ष्मी म्युचुअल फण्डअन्तर्गतको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड–१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र एनआइसी एसिया म्युचुअल फण्डअन्तर्गतको एनआइसी एसिया ग्रोथ फण्डको योजना व्यवस्थापक एनआइसी क्यापिटललाई स्पष्टीकरण सोधेको हो ।
संचय कोषले ६ लाख कर्मचारीलाई घर बनाईदिने, चितवनमा १५० आवास यसै बर्ष
काठमाडौं । कर्मचारी संचय कोषले ६ लाख संचयकर्तालाई कर्मचारी नमुना आवास निर्माण गरिदिने भएको छ । कोषले सस्तो मूल्यमा कर्मचारीका लागि आवास योजना ल्याउन लागेको हो ।कोषले पहिलो चरणमा चितवनमा आफनो स्वामित्वमा रहेको ४ विगाह १६ कठठ जग्गामा १५० कर्मचारी आवास निर्माण योजना अघि सारेको छ । हाल भवन निर्माणको नक्सालगायत प्रारम्भीक काम सुरु भइसकेको संचय कोषका प्रशासक तुल्सी गौतमले बताए । उनले आवास निर्माणको काम यो वर्षदेखि सुरु हुने बताए । आवास निर्माणका लागि कोष् आफैले लगानी गर्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्मचारी आवास योजना सञ्चालन गर्ने योजना अनुसार न्युनतम लागतमा निश्चित मापदण्डका आधारमा आवास निर्माण गरिने उनले जानकारी दिए । लागत मूल्यमा १० प्रतिशत मात्र थप गरेर कोषले कर्मचारीलाई आवास बिक्री गर्नेछ । कोषले आवास निर्माण कर्जा प्रवाह गरिरहेको जानकारी दिदै उनले भने “अब सस्तो लागतको आवास नै निर्माण गरिदिने छौं ।” उनले सातै प्रदेशमा कर्मचारीलाई आवास निर्माण गर्ने योजना रहेको सुनाए । क्रमिक रुपमा सबै प्रदेशमा आवास योजना कार्यान्वयनमा ल्याइने उनको भनाई छ । कोषले चालु आर्थिक वर्षका लागि घरकर्जाको ब्याजदर बढाएर ९.७५ प्रतिशत पुर्याएको छ । कोषले आफुसंग भएको पुँजी काठमाडौं उपत्यकामा ठुला भवन निर्माणमा लगानी गरिरहेको छ । यसका साथै माथिल्लो तामाकोसी, रसुवागढीलगायत ठुला जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।
कर्णाली प्रदेशमा लगानीकर्तालाई १० वर्षसम्म कर छुट
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्। त्यसैगरी वैदेशिक ऋण अनुदान सहायता एवं अन्तर्राष्ट्रिय लगानी प्राप्त गर्ने सम्बन्धमा विकास साझेदार, दातृ निकाय एवं वैदेशिक लगानीकर्तामैत्री वार्ता, संवाद र साझेदारी गर्न प्रदेश सरकारलाई सहमति दिन नेपाल सरकार तथा अर्थ मन्त्रालयसंग अनुरोध गरी पठाउने निर्णय भएको प्रवक्ता केसीले बताइन। उनका अनुसार सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको केन्द्र विवाद र गाउँपालिकाको नाम परिवर्तनको विषयलाई प्रदेश सरकारको राजनीतिक समितिमा पठाउने निर्णय गरिएको छ । विशेषतः सरकारले कर्णाली प्रदेशमा निजी क्षेत्रबाट लगानी हुने आयोजना/योजना, कार्यक्रम र उद्योगमा राज्यबाट संकलन हुने कर र राजश्वमा दश वर्षसम्म छुट हुने व्यवस्था मिलाइदिन सरकार तथा अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाउने र कर्णाली प्रदेशका गौरवका आयोजनाको विशेष अनुदान, समपूरक अनुदान, आन्तरिक ऋण तथा वैदेशिक सहायता एवं लगानीको व्यवस्थापनका लागि सरकार तथा अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाउने अर्को निर्णय पनि गरेको छ । विकासका दृष्टिले पछि परेको कर्णाली प्रदेशमा लगानीकर्ताहरुलाई आकर्षित गर्ने मूल ध्येयले दश वर्षसम्म कर छुट दिने आधिकारिक निर्णय पनि गरिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए । त्यसका लागि भने पूर्वाधार निर्माण, शान्तिका साथै लगानी सुरक्षा हुने वातावरण तयार गरिने आर्थिक मामिलामन्त्री ज्वालाले जानकारी दिए। रासस
मध्यतमोर बनाउन साढे ९ अर्ब कर्जा लिने प्रस्ताव सभाबाट पारित, ७३ मेगावाटको आयोजना ०७८ मा सम्पन्न हुने
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत आयोजना निर्माणका लागि कर्जा लिने भएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभाले ९ अर्ब ५१ करोड रुपैयाँ कर्जा लिने प्रस्ताव पारित गरेको छ । कम्पनीलाई बैंकको कर्जा सुविधा लिनका लागि बाटो खुला भएको छ । सभाले अगुवा तथा सहअगुवा बैंकसंग ऋण सम्झौता गर्न सभाले सञ्चालक समितिले अख्तियारी दिएको छ । आयोजना बनाउन १२ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंक ऋण लगानी हुनेछ । उनले आयोजना २०७८ को मध्यमा सम्पन्न हुने जानकारी दिए । आगामी ४ वर्ष्भित्र आयोजना सम्पन्न हुने छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ऋण लगानी हुनेछ ।आयोजनाको सिभिल निर्माणको काम चीनको झेझाङ प्रोभिन्स नम्बर १ कम्पनीले सुरु गरिसकेको छ । नदिनको वहावमा आधारितआयोजना ताप्लेजुङ जिल्लामा पर्छ । सानिमा समूहले ३१ मेगावाट क्षमताको विभिन्न ३ वटा आयोजना सम्पन्न गरेको छ । सानिमाले ५२ मेगावाटको तल्लोलिखु आयोजनाको काम सुरु गरिसकेको छ ।
साना तथा मझौला व्यवसाय गर्दै हुनुहुन्छ ? जानुस मेगा बैंक, २४ घण्टाभित्र कर्जा स्वीकृत हुन्छ
काठमाडौं । साना तथा मझौला व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ ? व्यवसाय सञ्चालन गर्नका लागि लगानीको समस्या भएको छ ?सञ्चालन गरिरहेको व्यवसायमा पनि चालु पुँजीको अभाव छ ? कर्जा लिन समय र झण्झट हुने गरेको छ ? यदी छ भने अब चिन्ता नलिनुस, मेगा बैंकले २४ घण्टा भित्र साना तथा मझौला व्यवसायलाई कर्जाको निर्णय गर्ने भएको छ । बैंकले साना तथा मझौला व्यवसाय सञ्चालनका लागि न्युनतम १० लाख रुपैयाँ भन्दा बढी कर्जा लगानी गर्ने जानकारी दिएको छ । यस्तै निर्णय भएको ७ दिनभित्र बैंकले व्यवसायीलाई कर्जा उपलब्ध गराउने भएको छ । तपाइको व्यवसायमा निरन्तर साथ भन्ने नाराका साथ आयमुलक, कृषि, स्टेशनरी र किराना पसल सञ्चालन गर्नका लागि ऋण लिने बैंकले जानकारी दिएको छ । यस्तै घर र गाडी कर्जा लिएमा पनि विशेष सुविधा दिने बैंकले जानकारी दिएको छ । ज्ञान तथा सीप र दक्षताको कदर गर्दै साना तथा मझौला व्यवसायलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।