नेपाल नगरपालिका संघको माग, सातै प्रदेशमा मेगा र स्मार्ट सिटी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ । शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पठाएको ध्यानाकर्षणपत्रमा हरेक प्रदेशमा एक एक मेगा सिटी तथा देशभरिमा कम्तीमा ५० स्मार्ट सिटीको माग गरिएको छ । प्रधानमन्त्रीसमक्ष माग प्रस्तुत गर्ने क्रममा संयोजक ब्याञ्जुले कर्मचारी समायोजन ऐन २०७४ जारी भए पनि सरकारले कार्यान्वयन नगरेकाले स्थानीय तहलाई सेवा व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए। ध्यानाकर्षणपत्रमा भनिएको छ, “गएको वर्ष चैत २८ गतेसम्ममा स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने विषयगत कार्यालय अहिलेसम्म नभएकाले तिनको हस्तान्तरण हुनुपर्ने, एकीकृत सम्पत्ति कर संकलन गर्न सरकारको आर्थिक विधेयक २०७५ ले बाधा गरेकाले त्यसलाई फुकाउनुपर्ने, स्थानीय जनप्रतिनिधिको मर्यादा कायम गर्न र जनप्रतिनिधिको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने देखिन्छ ।” त्यस्तै साविकको जिल्ला विकास समितिले प्राकृतिक तथा अन्य स्रोतबाट संकलन गरेको रकम मापदण्ड बनाएर वितरण गर्ने व्यवस्था मिलाउन र स्थानीय सरकारको आन्तरिक ऋणको सीमा बढाउनुपर्ने विषयमा आग्रह गरिएको छ । संवैधानिक व्यवस्थाबमोजिम स्थानीय सरकारको गठन भइसकेपछि पनि नगर विकास ऐन क्रियाशील रहनाले विकासका नाममा दोहोरोपन कायम रहेको र स्रोतसाधनको दुरुपयोग भएकाले ऐन खारेज गरी त्यहाँ भएको स्रोत, साधन तथा दक्ष जनशक्ति नगरपालिकामा पठाउन माग गरिएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वय गर्न प्रधानमन्त्रीको संयोजकत्वमा संयन्त्र विकास गर्न आग्रह गरिएको छ । पत्र बुझ्दै प्रधानमन्त्री ओलीले कर्मचारी समायोजनलगायत काम सरकारका प्राथमिकतामा रहेको स्पष्ट पारे ।
डिस्नेले २१ सेन्चुरी फक्स इन्टरटेनमेन्ट ७१ अर्ब ३० करोड डलरमा किन्ने, सेयरहोल्डरको मन्जुरी
न्यूयोर्क । ट्वन्टी–फस्ट सेन्चुरी फक्स इन्टरटेनमेन्ट अधिग्रहण गर्न डिस्नेको ७१ अर्ब ३० करोड अमेरिकी डलरको प्रस्तावलाई सेयरधनीहरुले मन्जुरी दिएका छन् । यो मन्जुरीसँगै डिस्नेले फक्स खरिद गर्ने प्रक्रिया एक कदम अघि बढेको छ । यो खरिदबाट मार्भेलको एक्स–मीन र एभेन्जर्सको मताधिकार हासिल हुनेछ र डिजिटल स्ट्रिमिङमा मनोरञ्जनको विशाल भण्डार उपलब्ध हुनेछ । सेयरधनीहरुले यो प्रक्रियाका बारेमा डिसेम्बर २०१७ देखि नै सुन्दै आएका थिए । अर्को कम्पनी कम्कास्टले पनि बोलकबोलमा प्रतिस्पर्धा गरिरहेको थियो, र गत सातामात्र यसले युरोपेली पे–टिभी अपरेटर स्काई खरिद गर्ने प्रयत्नमा आफूलाई केन्द्रित गरेको थियो । फक्ससँगको यो सौदाबाजीले अमेजन र नेटफ्लिक्स जस्ता प्रविधिमा महारथ हासिल गरिरहेका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न सक्षम तुल्याउनेछ । तथापि, यो सम्झौता निष्कर्षमा पुग्न महिनौ लाग्न सक्दछ र नियामक निकायबाट स्वीकृति प्राप्त गर्नु आवश्यक छ । रासस
कृष्णनन्दन राय यादव र ऐनामुल हक अन्सारी १ लाख १० हजार घुससहित अख्तियारको फन्दामा
पर्सा । पर्साको धोवनी गाउँपालिकाका लेखापाल र नायब सुब्बालाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । आयोग मकवानपुरबाट आएको टोलीले गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नासु ऐनामुल हक अन्सारीलाई हिसाब फछ्र्योट गरेबापत सेवाग्राहीबाट १ लाख १० हजार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेको हो । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित लेखापाल यादव बसेको कोठामा अख्तियारको टोलीले छापामारी नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । गाउँपालिकामा रहेको संसारीमाई मन्दिरको पर्खाल निर्माणको हरहिसाब फछ्र्योट गरेबापत ४० हजार र ढलान सडकको हरहिसाब फ्र्योटबापत ७० हजार कमिशन लिएको सूचनाका आधारमा छापामारी गर्दा सूचनाअनुसारको रकम बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुवैलाई नियन्त्रणमा लिइएको अख्तियार टोलीले जनाएको छ । गाउँपालिकामा भएका निर्माणकार्यको हरहिसाब फछ्र्योट गरेबापत लेखापाल र नासुले १० प्रतिशत घुस माग गरेको सेवाग्राहीबाट गुनासो आएपछि घुस दिन तयार पारिएको रकममा हात रातो हुने रसायन मिसाइ रकम पठाएको र पछि परीक्षण गर्दा रकम छुने कर्मचारीको हातसमेत रातो भएको अख्यितार टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ । रासस
रसुवाको टिमुरे ड्राईपोर्टको निर्माण असोजदेखि, २ अर्ब लागत
काठमाडौं । रसुवाको टिमुरेमा चिनियाँ सहयोगको ड्राईपोर्टको निर्माण असोज महिनादेखि आरम्भ हुने भएको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले असोज दोश्रो सातादेखि टिमुरे ड्राईपोर्टको निर्माण आरम्भ गरिने बताए । रसुवाको टिमुरेमा निर्माण हुने ड्राईपोर्टको डिजाइन समितिले गत माघ १ गते चीनको छेन्दुमै पुगेर रसुवाको टिमुरे ड्राईपोर्टको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो । चीन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो । चीन सरकारको सहयोगमा निर्माण हुने ड्राईपोर्टको लागत करिब २ अर्ब रुपैंयाँको हुनेछ । निर्माण आरम्भ गरिएको २४ देखि ३० महिनामा सम्पन्न गर्ने लक्ष्य चिनियाँ कम्पनीले सुनाएको छ । ड्राईपोर्टमा ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । ८ हेक्टर जमिनमा निर्माण हुने ड्राईपोर्टमा चिनियाँ लगानी र नेपाली निगरानी रहनेछ । अर्थात चीनले आफैं ड्राईपोर्टको निर्माण गरिदिनेछ भने नेपालले त्यसको गुणस्तर लगायतका प्राबिधिक पक्ष मात्रै हेर्नेछ । ‘चीनले आफ्नै प्रणाली अनुसार ठेक्का लगाउँछ, उसैले भुक्तानी दिन्छ, हामीले त्यसको गुणस्तर मात्रै हेर्ने हो’, कार्यकारी निर्देशक बस्नेतले भने । ड्राईपोर्टमा ५ हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, २०८० वर्गमिटरका २ वटा जाँचपास स्थल रहनेछ । ड्राईपोर्टले लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी क्षेत्रफल ओगट्नेछ । स्थानीयको जमिन ५० करोड रुपैंयाँ मुआब्जा दिएर अधिग्रहण गरिएको थियो भने निकुञ्ज र अन्य सरकारी स्वामित्वका जमिन मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर उपलब्ध गराईएको थियो । टिमुरे ड्राईपोर्ट निर्माण भएपछि रसुवागढी नाकाबाट हुने नेपाली चीन व्यापारका लागि आगामी २० बर्षका लागि पुर्वाधारको समस्या नहुने गरि डिजाइन गरिएको दावी इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ ।
मध्यरातमा सय वर्षकै दुर्लभ चन्द्रग्रहण, के गर्न हुन्छ ? के गर्न हुन्न ?
काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमाका तथा दिन अर्थात् साउन ११ गते शुक्रबारका दिन तदनुसार २७ र २८ जुलाई २०१८ आजको दिन ‘खग्रास चन्द्रग्रहण’ २१ औं शताब्दीको सबैभन्दा लामो ‘खग्रास चन्द्रग्रहण’ लाग्ने भएको छ । आजको यो ‘खग्रास चन्द्रग्रहण’ नेपाल, भारत सहित अटलान्टिका, अस्ट्रेलिया, रुस, युरोप लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिने भएको छ । आजको यस चन्द्रग्रहण केहि समय तामा जस्तै रातो र केहि समय रातो देखिने भएकाले यस खग्रास चन्द्रग्रहणलाई ‘ब्लडमून’ भनिएको छ । यस्तो संयोग १०० वर्षभन्दा पछि आएको हो । समयावधि: आज हाम्रो देश नेपालमा रातीको १२र०९ मिनेटमा स्पर्श हुनेछ र रातीको १ बजेर १५ मिनेटदेखि सम्मिलन अर्थात् पूर्ण खग्रास प्रारम्भ भर्इ रातीको २ बजेर ८ मिनेटमा मध्य हुने र रातीको २ बजेर ५९ मिनेटमा उन्मिलन अर्थात् खग्रासको अन्त्य हुँदै रातीकै ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ५७ मिनेटको हुनेछ भने ग्रस्तोदित खग्रास १ घण्टा ४४ मिनेटको हुनेछ । सूतक समयः शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टा पूर्ण सूतक प्रारम्भ हुन्छ । त्यसैले साउन ११ गतेका दिन दिउँसो ३ बजेर ९ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलार्इ भोजन निषेध गरिएको छ । के गर्ने ? के नगर्ने ? ग्रहणको समयमा भोजन निषेध हुनुका साथै कल कारखाना, उद्योग धन्दा, सहित पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ । ग्रहणको स मयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलार्इ दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मूल मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभर्इ नवग्रहको समिक कृपा प्राप्त हुनेछ । कुनै जातकको जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको छ भने त्यस्ता जातकले चन्द्रमा तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाकसिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिर्इ सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलार्इ प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ । ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यसलार्इ सम्यक रूपले सकारात्मक पक्षबाट लिनुपर्दछ । यस खग्रास चन्द्रग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभर्इ ग्रहणलार्इ सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ । ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालार्इ खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुरा छेउमा शुद्ध गार्इको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालार्इ रोक्ने काम गर्दछ, अतः गार्इको गोबर राख्नु राम्रो मानिन्छ । यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा र श्रवण नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा र श्रवण नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै उत्तरषाढा र श्रवण अर्थात् मकर राशिमा ग्रहणको योग परेककाले विशेषगरी मकर राशि तथा मकर लग्न भएका जातकलार्इ प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको आर्थिक ग्रहणफल यसप्रकार रहेको छ : मेष : आर्थिकस्तर सुध्रिनेछ । भौतिक सुख मिल्नेछ । वृष : व्यवसायमा नोक्सानी हुनेछ । मानहानी हुनेछ । मिथुन : शेयर बजार दुखदायी रहला । कष्ट मिल्नेछ । कर्कट : घरजग्गाको कारोबार कमजोर रहनेछ । स्त्रीपीडा हुनेछ । सिंह : कार्यमा सफलता मिल्नेछ । सुखदायी हुनेछ । कन्या : लगानी डुब्ने भय रहनेछ । चिन्ता बढ्नेछ । तुला : वित्तीय संथाको लगानी कमजोर रहनेछ । व्यथा बढ्नेछ । बृश्चिक : शेयर बजारबाट लाभ मिल्नेछ । श्री : प्राप्ति हुनेछ । धनु : धातुजन्य लगानीबाट नोक्सानी हुने । आर्थिक क्षति हुनेछ । मकर : पाटनरसीपमा गरेको लगानी कमजोर रहनेछ । घात हुनेछ । कुम्भ : खाद्यान्नको लगानी डुब्ने भय रहनेछ । खर्च बढ्नेछ । मीन : रोकिएको अधुरो काम बन्नेछ । आर्थिक लाभ हुनेछ ।
माछापुच्छ्रे बैंकले एकैसाथ खोल्यो थप ८ शाखा, संख्या १०९ पुग्यो
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ थप ८ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको जहदा, सुनसरीको धरान, भोजपुरको भोजपुर शाखा, रौतहटको चन्द्रपुर, रौतहटकै वृन्दावन, डोल्पाको डोल्पा शाखा, भोजपुरको टेम्केमैयुङ र उदयपुरको कटारीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुकाे औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएकाे बैंकले जनाएकाे छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । साथै, धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखाहरुमा एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । यस बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । बैकले हाल १०९ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
एउटै व्यक्तिले विद्युत प्राधिकरणको ७४ वटा ठेक्का पाएको छ, यस्तो ऐन परिवर्तन हुन्छ- मन्त्री पुन
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा एउटै व्यक्तिले ७२ वटासम्म ठेक्का पाएको बताएका छन् । यत्रो ठेक्का एउटै व्यक्तिले पाएपछि उसले काम गर्न नसक्ने भन्दै यस्तो नीतिमा परिवर्तन गर्ने बताएका हुन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १४ औ वर्षिकोत्सव समारोहमा उर्जा,जलश्रोत पुनले भने “प्राधिकरणको ७४ वटा ठेक्का एउटै व्यक्तिले पाएको छ । उसले यत्रो काम गर्न सजिलै सक्छ होला त ? अब मन्त्रालयले ठेक्काको ऐन कानुनलाई परिवर्तन गर्ने छ ।” उनले काठका पोलहरु हटाउने काम सुरु भएको बताए । “दिन प्रतिदिन काठको पोल भएकै कारण धेरै नेपाली जनताहरु घाइते र मृत्यु भैरहेका छन् । त्यो रोक्नका लागि मैले काम शुरु गरिसकेको छु” नेपालभर १ लाख ५० हजार देखी २ लाखसम्म काठका पोलहरु छन् । ती पोलहरु परिवर्तन गर्नका लागि सरकारसँग बजेट पनि छ । प्रधानमन्त्रीलाई पनि पोलको बारेमा रिपोटीङ गरेको छु । उनले यसलाई अभियाको रुपमा संचालन गर्ने पनि बताएका छन् । मन्त्रालय र सरकारले कुनै कारण देखाएर पनि काम भएन भनेर भन्दैन । यो सरकारले जनआस्था अनुसार काम गर्दछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने नेपालमा अब लोडसेडिङ इतिहास भएको बताएका छन् । विद्युत स्टेसन देखि २० किलोमिटरमा सबस्टेसन राख्नु पर्छ । यसले विद्युत चुहावट र मानविय क्षति पनि कम गर्छ । ३ वर्ष भित्र आधारभुत विद्युत र ५ वर्षमा प्रत्यक नेपालीलाई विद्युतको पहुचमा पुर्याउने लक्ष्य रहेको उनले सुनाए ।
घाटामा रहेको आँखुखोला जलविद्युतले आउदो ५ वर्षमा पनि लाभांश नदिने, बिक्री होला त आईपीओ ?
काठमाडौं । निजी क्षेत्रबाट निर्माण भएको मध्ये सबैभन्दा महंगो आँखुखोला जलविद्युत आयोजना भएको छ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको ८.४ मेगावाटको आँखुखोला १ आयोजनाको लागत प्रतिमेगावाट झण्डै २९ करोड रुपैयाँ पुगेको छ । यो आयोजना निजी क्षेत्रबाट निर्माण भइरहेको र भएका मध्ये सबैभन्दा महंगो आयोजना हो । आयोजना निर्माण शुुरु हुँदा त्यसबेला निजी क्षेत्रबाट निर्माण हुने आयोजनाको लागत प्रति मेगावाट १५ करोड रुपैयाँ हारहारी थियो । तर आयोजनाको लागत प्रतिमेगावाट १० करोड रुपैयाँ बढाइएको छ । आयोजनाको लागत ८० देखि १ अर्ब रुपैयाँ बढेको देखिएको छ । साधारण सेयर आईपीओ निष्कासन गर्नका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा ८.४ मेगावाटको आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लागेको उल्लेख गरिएको छ । आयोजनाको लागत अप्रत्यासित बढेकाले आउँदो ५ वर्षमा पनि लगानीकर्ताले प्रतिफल नपाउने भएका छन् । यद्यपी चालु आर्थिक वर्षदेखि कम्पनी नाफामा जाने प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षमा कम्पनीले १ करोड ५४ लाख २५ हजार रुपैयाँ नाफा गर्ने अनुमान गरेको छ । आगामी ३ वर्ष अर्थात ०७७/०७८ मा कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ नाफा गर्ने अनुमान गरिएको छ । ३ वर्षपछि पनि कम्पनीको संचित नोक्सान ७ करोड ९० लाख रुपैयाँ हुने छ । चालु आवमा कम्पनीको संचित नोक्सान १६ करोड ६३ लाख रुपैयाँ हुने अनुमान छ । नाफा बढ्ने भएकाले संचित नोक्सान क्रमश घट्दै जानेछ । कम्पनीले आयोजना सञ्चालनमा आएको ९ वर्षमा मात्र बैंकको कर्जा तिर्नेछ । ३ वर्षपछि पनि कम्पनीको ऋण १ अर्ब १७ करोड ७४ लाख रुपैयाँ हुने छ । चालु आर्थिक वर्षमा कम्पनीको ऋण १ अर्ब २४ करोड १२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । आउँदो ५ वर्षदेखि लगानीकर्तालाई लाभांश वितरणको अवस्थामा पुर्याउने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल पनेरु बताउँछन् । आयोजनाको लागत बढी भएको स्वीकार गर्दै उनले ५ वर्षपछि लाभांश दिने वातावरण बनाइरहेको योजना सुनाए । जलविद्युत आयोजना दीर्धकालिन प्रकृतिको भएकाले लगानीकर्ताले प्रतिफल पाउन केही समय कुर्नुपर्ने उनको भनाई छ । ३ वर्षपछि कम्पनीले बिजुली बिक्रीबाट वार्षिक २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण छ । चालु आवमा कम्पनीले २७ करोड ६७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । ३ वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ २० पैसा पुग्ने अनुमान छ । प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ हुने देखिएको छ । कम्पनीले पहिलो चरणमा साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउने सिभिलले जनाएको छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने छ । आईपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । २०७० भदौ ८ गतेदेखि कम्पनीले व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । कम्पनीको क्रेडिट रेटिङ कमजोर रहेको छ । इक्रा नेपालले आईपीओ ग्रेड ५ निर्धारण गरेको छ ।