रसुवाको टिमुरे ड्राईपोर्टको निर्माण असोजदेखि, २ अर्ब लागत

<p>काठमाडौं । रसुवाको टिमुरेमा चिनियाँ सहयोगको ड्राईपोर्टको निर्माण असोज महिनादेखि आरम्भ हुने भएको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले असोज दोश्रो सातादेखि टिमुरे ड्राईपोर्टको निर्माण आरम्भ गरिने बताए । समितिले गत माघ १ गते चीनको छेन्दुमै पुगेर रसुवाको टिमुरे ड्राईपोर्टको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो । चीन सरकारको पुर्ण स्वामित्वमा रहेको [&hellip;]</p>

काठमाडौं । रसुवाको टिमुरेमा चिनियाँ सहयोगको ड्राईपोर्टको निर्माण असोज महिनादेखि आरम्भ हुने भएको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले असोज दोश्रो सातादेखि टिमुरे ड्राईपोर्टको निर्माण आरम्भ गरिने बताए ।

रसुवाको टिमुरेमा निर्माण हुने ड्राईपोर्टको डिजाइन

समितिले गत माघ १ गते चीनको छेन्दुमै पुगेर रसुवाको टिमुरे ड्राईपोर्टको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो । चीन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो । चीन सरकारको सहयोगमा निर्माण हुने ड्राईपोर्टको लागत करिब २ अर्ब रुपैंयाँको हुनेछ ।

निर्माण आरम्भ गरिएको २४ देखि ३० महिनामा सम्पन्न गर्ने लक्ष्य चिनियाँ कम्पनीले सुनाएको छ । ड्राईपोर्टमा ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । ८ हेक्टर जमिनमा निर्माण हुने ड्राईपोर्टमा चिनियाँ लगानी र नेपाली निगरानी रहनेछ । अर्थात चीनले आफैं ड्राईपोर्टको निर्माण गरिदिनेछ भने नेपालले त्यसको गुणस्तर लगायतका प्राबिधिक पक्ष मात्रै हेर्नेछ ।

‘चीनले आफ्नै प्रणाली अनुसार ठेक्का लगाउँछ, उसैले भुक्तानी दिन्छ, हामीले त्यसको गुणस्तर मात्रै हेर्ने हो’, कार्यकारी निर्देशक बस्नेतले भने । ड्राईपोर्टमा ५ हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, २०८० वर्गमिटरका २ वटा जाँचपास स्थल रहनेछ । ड्राईपोर्टले लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी क्षेत्रफल ओगट्नेछ ।

स्थानीयको जमिन ५० करोड रुपैंयाँ मुआब्जा दिएर अधिग्रहण गरिएको थियो भने निकुञ्ज र अन्य सरकारी स्वामित्वका जमिन मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर उपलब्ध गराईएको थियो । टिमुरे ड्राईपोर्ट निर्माण भएपछि रसुवागढी नाकाबाट हुने नेपाली चीन व्यापारका लागि आगामी २० बर्षका लागि पुर्वाधारको समस्या नहुने गरि डिजाइन गरिएको दावी इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ ।

Share News