विकासन्युज

ग्लोबल आइएमई बैंकले ल्यायोे स्मार्ट सेवा, खाता नभएका व्यक्तिले पनि प्रयोग गर्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल मै पहिलो पटक नयाँ रुपमा मोबाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट सेवा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि शुक्रबार(आज)देखि उक्त सेवालाई परिमाजन गरेको हो । अद्यावधिक गरिएको मोबाइल बैंकिङ्ग कारोबारको सहजताको लागि व्यक्तिगत क्यिूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ । यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप मार्फत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ । बैंकको नयाँ ग्लोबल स्मार्ट सुबिधा अन्तर्गत ग्राहक स्वयंले बैंकमा नगइकन आफैँ उक्त सेवा सुचारु गर्न सक्ने (सेल्फ रजिस्ट्रेशन) सुबिधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिनेछ । त्यसैगरि, फोनिपेको नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने विशेषता थप गरिएको छ । थप गरिएका अन्य विशेषताहरुमा अकाउन्ट ड्यासबोर्ड र क्यालेण्डर इन्ट्रिगेशन सुबिधा पनि रहेको छ । यसअघि पनि ग्राहकले ग्लोबल स्मार्ट मार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आइएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शूल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्ने तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटिएम पत्ता लगाउन, आफु रहेको स्थानको लोकेशन म्याप हेर्न र बैंकको सेवा सुबिधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुबिधा रहेकोमा यि सम्पूर्ण सुबिधालाई नयाँ रुपमा ग्राहक सामू प्रस्तुत गरेको छ । यो सेवा मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । ग्राहकहरुले गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करण लाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्नेछन् । विज्ञान प्रबिधिले नयाँनयाँ आयामहरु भित्राइरहेको अहिलेको समयमा आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै बैंकले समय समयमा आफ्ना सुबिधाहरु परिमार्जन गर्दै आइरहेको बैंकले जनाएको छ ।

पुनःनिर्माणका निम्ति भारतद्वारा आज २ अर्ब १० करोड ४३ लाख प्रदान

काठमाडौं। भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप  गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरे। गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अनुदानस्वरुप उक्त रकम नेपाल सरकारलाई पुनर्भुक्तानी भएको हो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पुरीले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल र उनका नेपाली समकक्षी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबाट नयाँ उचाइमा पुगेको बताए। ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने वर्तमान सरकारको लक्ष्य प्राप्तिमा भारतले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले दुई देशबीच भएका सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्न भारत दृढ छ भने। सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार प्रकट गर्दै पुनःनिर्माणलगायत शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि भारत सरकारले उल्लेख्य सहायता उपलब्ध गराएको बताए। रासस –––

४९४ अर्ब नोट निष्कासन, सरकारको वचत १४४ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असारमा नोट निष्कासन बढाएको छ । केन्द्रीय बैंकले ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँ निष्कासन गरेको छ । कुल निष्कासन मध्ये ४ खर्ब ८६ अर्ब २१ करोड रुपैयाँ चलनचल्तिमा र ८ अर्ब १५ करोड ५८ लाख बैकिङ कार्यालयमा मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ । गत जेठको तुलनामा नोट निष्कासन बढेको हो । राष्ट्र बैंकमा सरकारको १ खर्ब ४४ अर्ब १६ करोड रुपैयाँ वचत रहेको छ । वाणिज्य बैंकको १ खर्ब ९१ अर्ब ८ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले कोषमा भएको रकम विदेशी सेक्युरिटिजमा २ खर्ब ८९ करोड ८७ लाख ९५ हजार रुपैयाँ, सरकारको सेक्युरिटीमा ७४ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ ।

रोजिन टर्पेन्टाइन कत्थाको निकासीमा वृद्धि

काठमाडौं। कैलाली भन्सार नाकाबाट आर्थिक वर्ष २०७४/७५ मा रु ७३ करोड ९३ लाख बराबरको रोजिन, टर्पेन्टाइन, कत्था र खैर कच्छ निकासी भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले गत आवमा कत्था एक लाख४३ हजार किलो, खैरकच्छ तीन लाख ९१ हजार किलो र रोजिन टर्पेन्टाइन आठ लाख एक हजार ४७० किलो निकासी भएकामा अघिल्लो आवमा यो नाकाबाट रु ५२ करोड ६५ लाख मूल्य बराबरका यी वस्तु निकासी भएको जानकारी दिए। भन्सार नाकाबाट आव २०७४।७५ मा रु १६ अर्ब ६२ करोड मूल्य बराबरका विभिन्न सामान पैठारी भएका थिए । पैठारी हुने मुख्य वस्तुमा डिजेल, पेट्रोल, ग्यास, बिस्कुट लगायतका छन् । पैठारी हुने वस्तुमध्ये पेट्रोलियम पर्दाले कूल राजश्व संकलनको ५० प्रतिशत, बिस्कुट सात प्रतिशत, कागज चार प्रतिशत र दालमोठ र पापड दुई दशमलव २१ प्रतिशत रहेको थियो । गत आव २०७४/७५ मा यो नाकाबाट चामलमात्रै रु ८७ करोड ८१ लाख मूल्य बराबरको १८ हजार ६०० मे टन पैठारी भएको छ । कार्यालयले गत आव २०७४/७५ रु तीन अर्ब ८७ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु चार अर्ब २१ करोड राजश्व संकलन गरेको छ । यो राजश्व संकलन लक्ष्यको तुलनामा आठ प्रतिशत बढी हो ।

रोनाल्डोलाई कौडीको भाउ बेच्नु दुखद्, मेसीलाई यस्तो हुन दिन्नौं: जोसेफ भिभेस

काठमााडौं । बार्सिलोनाका सहायक प्रेसिडेन्ट जोसेफ भिभेसले रियल म्याड्रिडले खेलाडी प्रति असभ्य व्यवहार गरेको बताएका छन् । रोनाल्डोलाई रकममा बेचेर क्लबले खेलाडीको अपमान गरेको भिभेसले बताएका हुन् । बार्सिलोनाको टोली अमेरिका भ्रमणमा निस्कनु भन्दा पहिले पत्रकारसँग कुरा गर्दै भिभेसले भने-‘रोनाल्डो प्रति क्लबले जुन व्यवहार गर्यो यो निकै दुखद छ । यसबाट हामीलाई प्रश्न उठेको छ, बार्सिलोनाले मेसीलाई पनि यस्तै गर्छ ?  तर म कल्पना सम्म पनि गर्न सक्दिन बार्सिलोनाले खेलाडीलाई अपमान गर्छ । रोनाल्डोलाई जुन व्यवहार गरियो यसबाट म निकै दुखी छु र केहि दिन फुटबलबाट टाढा भए, तर यस्तो अवस्था बार्सिलोनामा कदापी आउन दिन्न । ब्राजिलिय बिगंर बुधबार बार्सिलोना आइपुगेको छ, उनको सम्झौतामा मलाई पश्चाताप छैन । उनले बार्सिनालाई नयाँ शक्ति दिनेछन् ।’ मालकोमलाई इटालियन क्लब रोमाले ३५ मिलियनमा लिइसकेको खेलाडीलाई बार्सिलोनाले ४१ मिलियन तिर्दै क्याटलान तानेको थियो । समान्यतय फुटबलमा भावना पनि जोडिएको हुन्छ । रोनाल्डो यस युगको एक महान खेलाडी हुन् उनले मड्रिडमा ९ वर्ष बिताउँदा ४ वटा च्याम्पियान्स लिग जिताएका थिए । बार्सिलोनाले पछिल्लो समय जाभी हर्नाडेज, इनिस्टा जस्ता खेलाडीलाई ठूलो सम्मानको साथ बिदाई गरेको छ । मड्रिडले भने कासिलास पछि रोनाल्डोलाई अपमान गरी बेचेको छ । रोनाल्डोलाई युभेन्टस्ले ११७ मिलीयनमा अनुबन्ध गरेको थियो ।

एउटालाई मात्र हाेइन ५ वटा गन्तव्यलाई समेट्छाैं- महेशबाबु तिमल्सिना

विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श तथा सहजीकरण सेवा उपलब्ध गराउने नेपालका धेरै कन्सल्टेन्सीहरु मध्येको बिश्वासिलो नाम हो कंगारु एजुकेशन फाउण्डेसन । काठमाडौको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सात वटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुई वटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय छ । नेपालमा शैक्षिक परामर्श सेवा दिने कन्सल्टेन्सीहरुलाई संस्थागत गर्ने र यो व्यवसायलाई उद्योगको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने धेरै कम व्यक्तिहरू मध्येका एक हुन महेशबाबु तिमल्सिना । उनी नेपाल शैक्षिक परामर्श संघका बरिष्ठ उपाध्यक्ष पनि हुन् । उनकै नेतृत्वमा संचालित कंगारु ऐजुकेशन फाउण्डेशनले अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा निजी कलेजहरुको बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले कंगारु एजुकेशन फेयर आयोजना गर्दैछ । यहि आउँदो साउन १६ गते बुधबार कंगारु एजुकेशन फाउण्डेशनको केन्द्रीय कार्यालय, एबी कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभाहलमा र साउन १८ र १९ गते शाखा कार्यालय चिप्लेढुगां पोखराको कार्यालय परिसरमा आयोजना हुने उक्त एजुकेशन फेयरका बिषयमा कंगारु एजुकेशन फाउण्डेशनका तिमल्सिनासंग विकास वहसका लागि गरिएको कुराकानी: कंगारु एजुकेशन फेयरको तयारी कस्तो भइरहेको छ ? कंगारु एजुकेशन फाउण्डेसनले आगामी साउन १६ का दिन केन्द्रीय कार्यालय, एबी कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभाहलमा रसाउन १८ र १९ गते शाखा कार्यालय चिप्लेढुगां पोखराको कार्यालय परिसरमा आयोजना गर्न लागेको कंगारु एजुकेशन फेयरको तयारीका लागि म लगायत मेरा कंगारु टिम अहोरात्र खटिरहेको छ । मेलामा आउनुहुने हरेक विद्यार्थी र अभिभावकले साँचो अर्थमा सहभागी हुनुको औचित्य महसुस गर्ने गरी मेलाको व्यवस्थापकीय तयारी गरेका छौं । कंगारुको यो एजुकेशन फेयर गर्नुको मुल उदेश्य के हो ? स्थापनाकालदेखि नै नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्य अध्ययनको लागि जाने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आइरहेको कंगारुले विद्यार्थीहरुलाई सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो । मेलामा अस्ट्रेलिया, न्यूजल्याण्ड, अमेरीका, क्यानडा र यूरोपका गरी २६ वटा भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको पनि सहभागिता रहने छ । उक्त मेलामा आउने सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरी सत्य तथ्य, जीवनशैली, छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि लिएर परिपक्व डकुमेन्टेसन मार्फत् भर्ना र भिसाका सम्बन्धमा पनि परामर्श लिन सक्ने छन । मेलामा आउन चाहने जो कोही विद्यार्थी तथा अभिभावकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनुका साथै आकर्षक गिफ्ट हयाम्पर पनि व्यवस्था गरिएको छ । यो पटक आफ्नै कार्यालय परिसरमा आयोजना गर्न लागिएको मेला के अर्थमा विशेष छ ? कंगारुको मेला के अर्थमा विशेष छ भने हामीले एक मात्र गन्तव्यलाई नभई ५ वटा गन्तव्यलाई समेटेका छौं । व्यक्तिको रोजाई र क्षमता एउटै देशको शिक्षालाई नहुन सक्छ । तसर्थ उहाँहरुलाई मिल्दो र चाहनाअनुसारको विविधता मेलामार्फत पस्कने जमर्को गरेका छौं । मेलामा आइडीपी तथा सिद्धार्थ बैकको पनि सहभागिता रहने छ । अङ्ग्रेजी भाषा परीक्षा आइइएलटी.एस तथा शैक्षिक कर्जा सम्बन्धी जानकारी लिएर समेत सहभागीहरु लाभान्वित हुन सक्ने छन् । यसर्थ भाषा परीक्षा सम्बन्धी कौतुहलता तथा शैक्षिक कर्जा सम्बन्धी जिज्ञासाको समाधानका लागि यो शैक्षिक मेला अझै प्रभावकारी हुने छ भन्ने मलाई लागेको छ । सम्बन्धित संस्थाका विदेशबाटै आएका प्रतिनिधिसँगको अन्तरकृयाले विद्यार्थीहरुले सही तथा त्रुटि रहित जानकारी पाउनुहुनेमा पनि हामी ढुक्क छांै । कंगारुले यस किसिमको छुट्टै शैक्षिक मेला गर्नुको कारण के हो ? विगत एघार बर्षदेखि विद्यार्थीहरुको वैदेशिक शिक्षा सम्बन्धी आवश्यकतालाई सहजीकरण गरिरहेको संस्था कंगारु एजुकेशनले यसअघि थुप्रै शैक्षिक मेलाहरुमा भाग लिई सकेको छ । केही मेलामा सह–आयोजकको जिम्मेवारी निभाएकोले हामीमा मेला सम्बन्धी पर्याप्त अनुभव छ । सोही अनुभवलाई आधार बनाई हाम्रा सेवाहरु लिन चाहनु हुने विद्यार्थी र अभिभावकले हामीले प्रतिनिधित्व गर्ने विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरुलाई भेटी आफ्ना करिअर सम्बन्धी सम्पूर्ण पाटाहरुलाई नियाल्ने र एकिन गर्ने थलोको रुपमा विकसित गर्ने उद्देश्यका साथ कंगारुले आफ्नो छुट्टै मेला गर्न लागेको हो । हाम्रा परामर्शदाताहरु त सदैव सेवा दिन तयार नै छन् तर वर्षमा एक दुई चोटि हुने विदेशी प्रतिनिधिको उपस्थितिले मेलालाई थप गहन र प्रभावकारी बनाउने कुरामा हामी विश्वस्त छौं । कंगारुको यस मेलालाई एक डिपार्टमेन्टल स्टोरको रुपमा सम्झेर आफ्ना लागि उपयुक्त विषय, शिक्षण संस्था र सेवाहरुको छनोट अनि उपभोग गर्नका लागि म सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई आग्रह गर्दछु । विदेशमा उच्च शिक्षा अध्ययनका निम्ति जान चाहने बिद्यार्थीलाई कंगारुले के कस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ ? कंगारुले मूलत भाषा तथा शैक्षिक परामर्श सम्बन्धी सेवाहरु प्रदान गर्दछ । वैदेशिक अध्ययनका लागि भाषा परीक्षा,आइइएलटीएसको तयारी कक्षा सँगै सुरु हुने विद्यार्थीहरुको हामीसँगको यात्रामा कलेज छनोट,भर्ना प्रक्रिया, छात्रावृत्ति आवेदन, भिसा डकुमेन्टेसन, अन्तर्वार्ता तयारी, भिजा आवेदन हुँदै भिजाको निर्णयसम्म अघि बढ्छ । यात्रा प्रबन्ध, यएरपोर्ट पिकअप तथा अन्य परि आउने समस्यामा हाम्रो साथ विद्यार्थी आफ्नो अध्ययन गन्तव्य पुगेसम्मै कायम रहिरहन्छ । गन्तव्यका रुपमा भने हामीले अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरीका,क्यानडा,युरोपका विश्वविद्यालय तथा कलेजलाई प्रबर्द्धन गर्दै आएका छौ । विद्यार्थीले शैक्षिक परामर्श सेवाका लागि कंगारुलाई नै किन रोज्नु पर्ने ? कंगारुका परामर्शदाताले टीआईटीआई, क्युईएस, न्युजिल्याण्ड ट्रेनेड एजेन्टस, युएएटीसी, ब्रिटिस काउन्सिल सर्टिफाइट काउन्सिलर लगायतका हरेक परीक्षामा समावेश भई अन्तराष्ट्रिय सर्टि्फिकेसन प्राप्त गरेका छन् । हामी विद्यार्थी अभिभावकहरुलाई ग्राहकको रुपमा नलिई परिवारको सदस्यका रुपमा मानी आत्मीय र यथाशक्य छिटो सेवा प्रदान गर्दछौं । यिनै कारणले वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुले कंगारुलाई रोज्न म अनुरोध गर्न चाहन्छु । अन्त्यमा अन्तराष्ट्रिय स्तरको शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई तपाई के भन्न चाहनु हुन्छ ? विद्यार्थीहरुले भर्ना र भिसामा मात्रै हैन करिअरमा पनि ध्यान दिएर जाने देश, शिक्षण संस्था तथा विषय छान्नु पर्दछ । यसमा कंगारु एजुकेशन फाउण्डेशनका परामर्शदाताले आफ्नो ज्ञान र सीपले भ्याएसम्म सहयोग गर्ने छन् । तपाई हाम्रो साझा प्रयासले एक दिन नेपाल पनि त्यस्तै विकसित र व्यवस्थित बनाउनु आवश्यक छ । जुन देशमा तपाईले आफ्नो उर्वर युवावस्थामा ज्ञान सञ्चित गर्ने र सीप सिक्ने अवसर पाउनु भएको छ । बैदेशिक शिक्षा पुरा गरेपछि आफ्नो देश फर्कन पनि अनुरोध गर्दछु ।

पञ्चकन्या माई हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख १०० ले पाए

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) शुक्रबार बिहान बाँडफाँड भएको छ । रितिपूर्वक आवेदन दिने १ लाख ४६ हजार ३८९ जनामध्ये एक लाख १०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा कुल आवेदकमध्ये ६८ प्रतिशत अर्थात १ लाख १०० जना आवेदकले सेयर पाएका छन् भने ३२ प्रतिशत अर्थात ४६ हजार २८९ जनाको मात्र हात खाली भएको छ । कम्पनीले ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको छ । आईपिओमा १ लाख ४६ हजार ३८९ जना आवेदनबाट एक करोड ८४ लाख ७३० कित्ता सेयर माग गरेका थिए ।

मकाउको १ लाख ७० हजार छाडेर ठमेलमा ५० लाखको रेष्टुरेन्ट

काठमाडौं । काभ्रेका गणेश दोङ मकाउमा मासिक १ लाख ७० हजार रुपैंयाँ तलब बुझ्थे । मकाउका चल्तिका क्यासिनोहरु भेनेसियन ग्यालेक्सी, वीनहरुमा सेक्युरीटी गार्डका रुपमा दोङले ४० महिना काम गरे । सप्लाई कम्पनीबाट मकाउ पुगेका दोङले त्यहाँको वैभव देखे । ठूला महल, क्यासिनो र होटलहरुमा पर्यटकहरुको चाप, अर्थतन्त्रको गतिशिलतालाई नजिकबाट नियाल्ने प्रयास गरे । उनलाई लाग्यो, अब देश फर्केर केहि गर्नु पर्छ । उनी परिवारका सदस्यलाई समेत खबरै नगरि काठमाडौं ओर्लिए र सिधै काभ्रेको तेमाल पुगे । परिवारका सबै त्यतिबेला अचम्बित भए जब उनले आफु मकाउ नफर्किने गरि आएको बताए । अधिकांशले उनलाई हतारमा देश फर्किएको भन्दै पुनः विदेशिन आग्रह पनि गरे । तब उनले सनाए ठमेलमा रेष्टुरेन्ट खोल्ने योजना । धेरैले जिब्रो टोके तर उनी दृढ संकल्पित थिए । ‘मकाउमा १२ घण्टा ड्युटी गर्न सक्ने हामी आफ्नै देशमा किन केहि मेहनत गर्न सक्दैनौं, त्यहाँको काम गर्ने संस्कृति र शैलीले मलाई देश फर्किएर केहि गर्न प्रेरित गर्यो’, दोङले हर्षित मुद्रामा भने । मकाउमा कमाएको पैसामा केहि ऋण थपे र ठमेलमा खोले ५० लाख रुपैंयाँको रेष्टुरेन्ट । मध्य ठमेलमा दोङले खोले वेस्टर्न किचेन एण्ड अर्गानिक कफी हाउस । ‘मकाउबाट फर्कदाँ सबैले असन्तोष व्यक्त गरे, ठमेलमा रेष्टुरेन्ट खोल्छु भन्दा त झनै विश्वास गरेनन्, अहिले मेरो काम देखेर सबै सन्तुष्ठ नै छन्’, दोङले सुनाए । उनीको रेष्टुरेन्टमा नेपालमै उत्पादित कफीको चुस्की लिन पाइन्छ । नेपाली थाली, इण्डियन, कन्टिनेन्टल फुड आइटम उपलब्ध छन् । ‘नेपाली थालीदेखि संसारमै अधिक रुचाईएका कन्टिनेन्टल फुड आइटम हामी कहाँ उपलब्ध छन’, दोङले भने । ९ जनालाई रोजगारी दिएका दोङको रेष्टुरेन्टमा एकै पटक ५५ जनाले सेवा लिन सक्छन् ।