काठमाडौं । काभ्रेका गणेश दोङ मकाउमा मासिक १ लाख ७० हजार रुपैंयाँ तलब बुझ्थे । मकाउका चल्तिका क्यासिनोहरु भेनेसियन ग्यालेक्सी, वीनहरुमा सेक्युरीटी गार्डका रुपमा दोङले ४० महिना काम गरे । सप्लाई कम्पनीबाट मकाउ पुगेका दोङले त्यहाँको वैभव देखे । ठूला महल, क्यासिनो र होटलहरुमा पर्यटकहरुको चाप, अर्थतन्त्रको गतिशिलतालाई नजिकबाट नियाल्ने प्रयास गरे ।

उनलाई लाग्यो, अब देश फर्केर केहि गर्नु पर्छ । उनी परिवारका सदस्यलाई समेत खबरै नगरि काठमाडौं ओर्लिए र सिधै काभ्रेको तेमाल पुगे ।
परिवारका सबै त्यतिबेला अचम्बित भए जब उनले आफु मकाउ नफर्किने गरि आएको बताए । अधिकांशले उनलाई हतारमा देश फर्किएको भन्दै पुनः विदेशिन आग्रह पनि गरे ।

तब उनले सनाए ठमेलमा रेष्टुरेन्ट खोल्ने योजना । धेरैले जिब्रो टोके तर उनी दृढ संकल्पित थिए । ‘मकाउमा १२ घण्टा ड्युटी गर्न सक्ने हामी आफ्नै देशमा किन केहि मेहनत गर्न सक्दैनौं, त्यहाँको काम गर्ने संस्कृति र शैलीले मलाई देश फर्किएर केहि गर्न प्रेरित गर्यो’, दोङले हर्षित मुद्रामा भने ।

मकाउमा कमाएको पैसामा केहि ऋण थपे र ठमेलमा खोले ५० लाख रुपैंयाँको रेष्टुरेन्ट । मध्य ठमेलमा दोङले खोले वेस्टर्न किचेन एण्ड अर्गानिक कफी हाउस । ‘मकाउबाट फर्कदाँ सबैले असन्तोष व्यक्त गरे, ठमेलमा रेष्टुरेन्ट खोल्छु भन्दा त झनै विश्वास गरेनन्, अहिले मेरो काम देखेर सबै सन्तुष्ठ नै छन्’, दोङले सुनाए ।
उनीको रेष्टुरेन्टमा नेपालमै उत्पादित कफीको चुस्की लिन पाइन्छ । नेपाली थाली, इण्डियन, कन्टिनेन्टल फुड आइटम उपलब्ध छन् । ‘नेपाली थालीदेखि संसारमै अधिक रुचाईएका कन्टिनेन्टल फुड आइटम हामी कहाँ उपलब्ध छन’, दोङले भने । ९ जनालाई रोजगारी दिएका दोङको रेष्टुरेन्टमा एकै पटक ५५ जनाले सेवा लिन सक्छन् ।