विकासन्युज

ऐन नबन्दा सर्वोच्चको आदेश भन्दै क्यासिनोले कर तिर्न मानेन्, मल्ल होटलले भने तिर्यो ९ करोड

काठमाडौं । सर्वोच्च अदालतको आदेश भन्दै क्यासिनाहरुले कर नतिरी सञ्चालनमा रहेका छन् । सरकारले बन्द गरको क्यासिनो सर्वोच्चको आदेशले सञ्चालमा आएपछि पनि कर नतिरेका हुन् । पर्यटन विभागका अनुसार सर्वोच्चको आदेशबाट चलेका क्यासिनोहरु गील्ट इनभेष्टमेन्ट प्रालीले सञ्चालन गरेको क्यासिनो रोयल, रक इन्टरनेश्नल प्रालीको क्यासिनो र्याड, रक इन्टरनेश्नल प्रालीको रक, ह्याप्पी हावर प्रालीको ह्याप्पी अवार रहेका छन् । विभागका होटल शाखाका प्रमुख नारायण भट्टराईका अनुसार क्यासिनोले तिर्नुपर्ने रकमको हिसाब गरी अर्थमन्त्रालय पेश गरिएको छ । तर यसमा प्रगति हुन सकेको छैन् । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विद्येयक २०७५ को बुँदा नम्बर १६ मा क्यासिनो शुल्क उठाउने सम्बन्धित व्यवस्था गरेका छन् । सो व्यवस्था अनुसार क्यासिनोले वार्षिक ४ लाख र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेलका लागि १ करोड रुपैंया तिर्नु पर्नेछ । क्यासिनो रोयल्टीको नियमन र प्रशासन सम्बन्धि सम्पुर्ण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट हुनेछ भनि उल्लेख गरिएको छ । तर मन्त्री रविन्द्र अधिकारीले आफ्नो १०० दिने कार्ययोजनामा क्यासिनो ऐन तर्जुमाको लागि अवधारण पत्र तयार गरि राय प्रतिक्रियाको लागि अर्थ मन्त्रालय पठाइएको । राय प्राप्त हुनासाथ मन्त्रिपरिषदमा पेश हुने भनिए पनि  हुन सकेको छैन  । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७४ /०७५ मा मन्त्रालयले क्यासिनो इजाजत नविकरण नगरेको र रोयल्टी उठाउन नसकेको भनी बेरुजु देखाएको छ । विभागले बेरुजु रकम उठाउनका लागि आन्तरिक राजस्वको कार्यालय कुमारी चोकमा पत्राचार गरेको थियो । कुमारी चोकले राजस्व उठ्न बाँकी होटल तथा क्यासिनोलाई चिठ्ठी र सार्वजनिक सूचना समेत निकालेको थियो । यसरी निकालिएको सूचनाको विरुद्धमा एभरेष्ट होटल, फुलबारी रिर्सोट, होटल याक एण्ड एति, होटल सोल्टी लगायले विभाग विरुद्ध नै सर्वोच्चमा मुद्दा दायर गरको कुमारीचोका लेखा प्रमुख जिवनप्रकाश महोत्राले बताए । ‘हामीले कर असुली गर्नका लागि सबै प्रयास गरिरहेका छौं, मल्ल होटलले यसको परिणाम स्वरुप सबै कर तिरेर उदाहरणीय बनेको छ महोत्राले भने क्यासिनो र्याडले पनि केहि रकम तिर्न सुरु गरको छ ।’ महोत्राको अनुसार मल्ल होटलले ९ करोड रुपैंया २ किस्ता गरेर असार मसान्तसम्ममा चुक्ता गरेको हो । यसैगरी नियमित कर तिर्ने क्यासिनोहरुमा मिलिनियर्स कल्ब, माजोङ, प्राइड नेपाल, टाइगर प्यालेस, एट्लान्टिक रिक्रिएसन, फोर क्वीन, बेलिज नेपाल र सि एम जी क्लब रहेका छन् । जसमध्ये सबैभन्दा धेरै कर एट्लान्टिक रिक्रिएसनले वार्षिक ५ करोड रूपैयाँ तिर्दै आएको छ ।

मन्त्रीको भागवण्डा गर्न मन्त्रालय कृषि तथा भुमिसुधारलाई फुटाइयो

  काठमाडौं । सरकारले एक मन्त्रालय थप गरेको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो। प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ । बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई अलग अलग बनाएको छ । कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय हुने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए । हाल कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल छन् । अब उनलाई कृषि तथा पशुपंक्षी, स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

शुक्रबार शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने, यी राशीका व्यक्तिले हेर्दा शुभ हुने

काठमाडौं । असार शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले  जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने उनले बताए । कूल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । यसैगरी, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने व्यवस्था छ । धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थमा भनिएको छ– निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।। अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति । वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।। अर्थात् “सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ”, उनले भने । पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ । त्यसबेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ । त्यस्तो अवस्थामा पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ । पृथ्वी ठूलो भएकाले छायाँले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबारको चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने समितिले स्वीकृत गरेका पञ्चाङ्गमा उल्लेख गरिएको छ । मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक स्त्री प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ । यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुने समितिका सदस्यसचिव ढुंगेलले बताए । अन्य आठ राशि भएकाले हेर्न नहुने समितिको ठहर छ । चन्द्रग्रहणका अवसरमा देशका विभिन्न स्थानमा हुने मौसमको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको छ । शुक्रबार बेलुकीदेखि शनिबार बिहानसम्म सार्वजनिक अनुमान गरिएको मौसमको विवरणअनुसार दीपायलमा पूर्ण बदली भई हल्का वर्षा हुने सम्भावना छ । यसैगरी, वीरेन्द्रनगरमा पनि सामान्य एवम् पूर्ण बदली भई मध्यम वर्षा हुने सम्भावना छ । काठमाडौंमा पनि बदली भई हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । धरानमा पनि बदली भई मध्यम वर्षा एवम् भारी वर्षा हुने सम्भावना छ । पोखरामा भने बदली भई हल्का वर्षा हुने सम्भावना रहेको विभागकी मौसमविद् विभूति पोखरेलले बताए । मौसम सफा भएका स्थानमा खग्रास चन्द्रग्रहण देख्न सकिने जनाइएको छ । शुक्रबार राति करीब एक घण्टा ४३ मिनेटसम्म लाग्ने खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा देखिने गाढा रातो रंगको चन्द्रमाको दृश्य खगोल तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्नु हुने सबैका लागि एक सुनौलो तथा अभूतपूर्व अनुभव हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् । खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मतअनुसार चन्द्रग्रहण हेर्दा हानि नहुने उनले बताए । राति १२ बजेर ९ मिनेटमा शुरु हुने ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाक्नेछ । अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ४ बजेर ४ मिनेटमा सकिनेछ । टेलिस्कोपबाट हेर्न चाहने व्यक्तिले शुक्रबार राति साढे ११ देखि साढे चार बजेसम्म विशेष व्यवस्था गरिएको सोसाइटीले जनाएको छ । रासस

स्पर्स लघुवित्तको ५ वटा नयाँ शाखा संचालनमा, शाखा संख्या २० पुग्यो

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले एकै पटक पाँच वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । संस्थाले तनहुँको मानपुर, गोरखाको घ्याम्पेशाल, गुल्मीको खज्र्याङ्ग, नवलपुरको डेढगाँउ र परासीको भुताहामा गरी सो मात्रा शाखा संचालनमा ल्याएको हो । संस्थाले थप नयाँ शाखा सहित हालसम्म पश्चिमाञ्चल क्षेत्रका १० वटा जिल्लामा २० वटा शाखा संचालनमा ल्याएको छ । हाल ५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस वित्तीय संस्थाले १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।

चर्को आलोचनापछि सरकारद्वारा ईन्टरनेटमा लगाईएको १३ प्रतिशत कर फिर्ता

काठमाडौं। जनस्तरबाट आएको चर्को दवाव थेग्न नसकेपछि सरकारले ईन्टरनेटमा लगाईएको १३ प्रतिशत कर फिर्ता लिएको छ। सरकारले साउन १ गतेबाट लगाईएको कर बिहीबार फिर्ता लिएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए। सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएका थिए।अब पुरानो दरमा इन्टरनेट चलाउन पाइने छ । ईन्टरनेटको मुल्य पहिलेकै अवस्थामा फर्किने मन्त्रालयले जनाएको छ। सबैतिरबाट चर्को बिरोध भएको कारण सरकारले कर फिर्ता लिएको हो। अन्य मुलुकमा इन्टरनेटको शुल्क घट्दै जाने तर नेपालमा बढेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा, अनसन आजै तोडिने

काठमाडौं । अनसनरत प्रा.डा. गोविन्द केसी र सरकारबीचको वार्ता  २७ औं दिनमा आएर निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ता टोलीबीच आज दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । उक्त सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ। सहमतिमा हस्ताक्षरसँगसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् । सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेटेर आज वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराई, उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना छ।

नेपाल सरकारले के-के सुविधा दियो भनेर सोधे भने मैले के भन्ने ?- अध्यक्ष तिवारी

काठमाडौं । ईन्डियन टिचर एशोसिएशन अफ नेपालका अध्यक्ष अरुण नारायण तिवारीले नेपाल सरकारबाट उचित किसिमको सेवा सुविधा नपाएको गुनासो गरेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा ईन्डियन टिचर एशोसिएशन अफ नेपालले पत्रकार सम्मेलन गरेर नेपाली शिक्षक बराबर सेवा सुविधा नपाएको भन्दै सेवा सुविधामा हेरफेर गर्न सरकारसँग माग गरेको छ । आदर्श उच्च मा.बि. दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा कार्यरत शिक्षक तथा ईन्डियन टिचर एशोसिएशन अफ नेपालका अध्यक्ष तिवारीले नेपाल सरकारले दिँदै आएको सेवा सुविधालाई भारतीय मुद्रा अनुसार उपलब्ध गराउन माग गरेका छन् । उनले भने, ‘म विगत २०३९ सालदेखि शिक्षण सेवामा जागिरे भएर नेपालमा बस्दै आएको छु, गैर- नेपाली भएर नेपालको शिक्षा क्षेत्रमा काम गर्दै आएका छौं, पहिले १ सय ५० जना जति हामी शिक्षकहरु यसरी नै अस्थायी रुपमा नेपालका स्कुलहरुमा पढाउँदै आएका थियौं, पछिल्लो समयमा १५ देखि २० जनामात्रै छन् जस्तो लाग्छ, एक दशक पहिलेदेखि रिटायर्ड भएका साथीहरुले पनि पेन्सन, पिएफ, ग्राजुएटि, औषधी उपचार खर्च लगायतका सुविधाहरु उपलब्ध गराउनुपर्छ ।’ उनले थपे, ‘राज्यले एउटै स्कुलमा अध्यापन गराउने शिक्षकलाई विभेदपूर्ण व्यबहार गरेको छ, हामीले ३५ वर्षदेखि पढाउँदै आएका छौं, सेवाबाट बिदा हुँदा खेरि हामीले ८ देखि १२ लाखसम्म पाउने हुन्छ, सरकारले त्यसमा पनि हेरफेर गरिदेओस् भन्ने हाम्रो माग हो ।’ २०५२ सालमा तत्कालिन् सरकारका प्रधानमन्त्री शेर बहादुर देउबालाई समेत भारतीय शिक्षकहरुका मागका बारेमा ज्ञापनपत्र बुझाएको स्मरण गर्दै अध्यक्ष तिवारीले भने, ‘हाम्रा माग र अधिकारको लागि धेरै वर्ष पहिलेदेखि नै लड्दै आएको छु, तर सरकारले हाम्रा मागहरुको बारेमा कुनै वास्ता गरेन, हामीले जहिले दु:ख पोखि मात्रै रह्यौं, जीवनका ६० वसन्तहरु पार भएपछि हामीले बिदा भएर घर जानुपर्ने हुन्छ, मैले पनि अबका २/४ वर्षपछि शिक्षण पेशा छोडेर घर जानुपर्ने हुन्छ, साथीभाईहरुले तँलाई नेपाल सरकारले के-के सुविधा दियो भनेर सोधे भने मैले के भन्ने ? हामीले पाउने सेवा सुविधा र तलबका बारेमा भन्दा नेपालको बेईज्जत हुन जान्छ, यत्रो जीवन यही माटोमा बिताएको र सयौं विद्यार्थीको शैक्षिक भविष्यलाई उज्यालो बनाउन हामी लागि परियो, युद्ध कालमा समेत अनेकौं दुःख र पीडाहरु भोगियो, तर राज्यले हामीलाई दोस्रो देशका नागरिक भनेर हेला गर्यो ।’

अल्फा बिटाले अष्ट्रेलियन शैक्षिक मेला गर्दै, २५ वटा कलेज तथा विश्वविद्यालयको सहभागिता

काठमाडौं । अल्फा बिटाले आगामी साउन १६ गते बुधवारको दिन अल्फा बिटा अष्ट्रेलियन शैक्षिक मेला अयोजना गर्ने भएको छ । यस मेलामा अष्ट्रेलियाका २५ भन्दा बढि कलेज तथा विश्वविद्यालयले सहभागिता जनाउँदै छन् । उक्त मेला बिहान १० बजे देखि अल्फा बिटा कमप्लेक्सको चौथो तल्ला शिव तथा कृष्ण सदनमा हुने अल्फा बिटाका कार्यकारी निर्देशक द्विराज शर्माले जानकारी गराएका छन् । साथै, यस मेलामा अष्ट्रेलियाका २५ भन्दा बढि कलेज तथा विश्वविद्यालयले सहभागिता जनाउँदै छन् । माछापुच्छ्रे बैंककाे प्रमुख प्रायाेजनमा हुन गइरहेको यस मेलामा करिब १५०० देखि २००० विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । वैदेशिक शिक्षामा जाने सोचमा रहेका विद्यार्थीहरुले यस मेलामा सहभागिता भई कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरुबाट नै सम्पूर्ण जानकारी तथा प्रक्रियाहरु बुझ्न सक्नेछन् । त्यस दिन मेलामा सहभागी हुने विद्यार्थीहरुका लागि अल्फा बिटाले प्रदानगर्दै आएका हरेक सेवाहरुमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कम्पनीका सिनियर मार्केटिङ्ग अफिसर रुपेन्द्र गिरीले जानकारी गराएका छन् । साथै, मेलामा सहभागी हुने विद्यार्थीहरुले आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको छ । इच्छुक विद्यार्थीहरुले यस लिङ्कमा गएर आफ्नो नामदर्ता गर्न सक्नेछन् ।