सरकारी हस्तक्षेपमा एनसेलको डीडीए हुँदै, ६१ अर्ब रूपैयाँ पुरानाे कर विवाद फेरि बल्झियाे
काठमाडौं । सरकारले एनसेलको सम्पति दायित्व मूल्यांकन(डीडीए) गर्न लागेको छ । टेलियासोनेरा र एक्जियटाबीच एनसेल प्राइभेट लिमिटेडको सेयर किनबेच सम्बन्धमा भएको खरिदबिक्री सम्झौता पत्र सरकारलाई नबुझाएको र ठूला करदाता कार्यालयले पटक पटक दिएको निर्देशन अनुसार सम्पति दायित्व मूल्यांकन नगराएपछि सरकारले कम्पनीमा हस्तक्षेप गर्न लागेको हो । सरकारले सम्पति दायित्व मूल्यांकन(डीडीए) गर्न लागेकामा एनसेलले अाश्चर्य व्यक्त गरेकाे छ । ‘सरकारले हरेक वर्ष एनसेलकाे लेखापरिक्षण गरेकाे छ । कम्पनीले वार्षिक रूपमा बुझाउनु पर्ने कर बुझाउँदै अाएकाे छ’ एनसेल स्राेतले भन्याे-‘अहिले सरकारले डीडीए गर्नुकाे अाैचित्य के हाे, हामीले बुझेका छैनाै ।’ ठूला करदाता कार्यालयले एनसेलको डीडीए गराउन परामर्श दिने कम्पनी खोज्दै बोलपत्र नै आव्हान गरिसकेकाे छ । उक्त कम्पनीको डीडीए गर्न लाग्ने सबै खर्च सरकारको आन्तरिक स्रोतबाट बोहोर्ने जनाइएको छ । डीडीए गर्न सक्षम कम्पनीले एकल वा संयुक्त रुपमा यहि साउन २५ गतेसम्म इच्छा पत्र पेस गर्न सक्नेछन् । टेलियासोनेरा र एक्जियटाबीच एनसेलको सेयर किनबेच गर्दा पुँजीगत लाभ कर छलि भएको र त्यस कारोबारबाट सरकारले अझै ६१ अर्ब रुपैयाँ कर प्राप्ति गर्न बाँकी रहेको बताइएको छ । सेयर किनबेच गर्नु पूर्व भएको डीडीए रिपोर्ट लुकाएर उक्त रिपोर्ट माग्दा सरकारलाई नदिएको, पुँजीगत लाभ कर छल्ने उदेश्यले कम मूल्यमा कारोबार गरेको, सेल्स पर्चेज एग्रिमेन्ट (एसपीए) लुकाएको, सरकारले माग्दा नदिएको सरकारको आरोप छ । ठूला करदाता कार्यालयले एनसेलको स्वामित्व खरिद बिक्रीको एकिन विवरण मागेको थियो । एक्जियटाले सो विवरण दिन अस्विकार गरेपछि कर कार्यालय आफैंले डीडीए गर्न लागेको हो । ‘एक खर्ब ८० अर्बमा एनसेलको स्वामित्व खरिद बिक्री भएको भनियो तर कर कार्यालयलाई नै त्यसको एकिन विवरण दिईएको छैन, हामीले माग्दा पनि आनाकानी गरेपछि डीडीए गर्न जुटेका हौं’, ठूला कर दाता कार्यालय उच्च स्रोतले भन्यो । कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पति र दायित्वको एकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ । एनसेल नेपालकाे सबैभन्दा ठूलाे काराेबार गर्ने र सबैभन्दा बढी कर बुझाउने कम्पनी हाे । यस कम्पनीले अार्थिक वर्ष २०७३।७४ मा ५७ अर्बकाे काराेबार गर्दै सरकारले करिब २९ अर्ब कर बुझाएकाे थियाे ।
मङ्गल ग्रहमा पानीको ताल फेला पर्यो
काठमाडौं । अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको जलाशय सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ । त्यो झन्डै २० किलोमिटर चौडा छ। यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए। तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो। यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो। तर पातलो वायुमण्डल भएकाले सो ग्रह चिस्सिएको छ र पानी हिउँ भएर जमेको छ। फेला परेको भनिएको ताल मङ्गल ग्रहको दक्षिणी ध्रुवमा हिउँमुनि रहेको छ । मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस नाम गरेको रेडार उपकरणको प्रयोग गरेर यो पछिल्लो तथ्य पत्ता लगाइएको हो। यो अनुसन्धानको नेतृत्व गरेका इटालियन नेसनल इन्स्टिट्युट फर एस्ट्रोफिजिक्सका प्रा। रोबर्टो ओरोसेई भन्छन्, सम्भवत यो त्यति विशाल ताल हैन । मार्सिसले त्यस्तो पानी तालको तहको गहिराइ निर्क्योल गर्न नसके पनि अनुसन्धान टोलीले त्यो कम्तीमा पनि एक मिटर जति हुनसक्ने अनुमान गरेको छ। यसबाट त्यसले जलाशयको योग्यता प्राप्त गर्छ। यो ताल नै हो, पृथ्वीमा जस्तो हिमतालको हिउँ पग्लिएर बगेको पानी चट्टान र बरफको बीचको भाग भरिएर रहे जस्तो हैन, उनले भने। कसरी पत्ता लाग्यो ? मार्सिसजस्ता रेडार उपकरणले ग्रहको सतह र त्यसमुनि रहेको अर्को तहमा सङ्केत पठाएर फर्केको प्रतिसङ्केतको परीक्षण गर्छन्। यही विधि प्रयोग गरेर मङ्गल ग्रहमा पानी रहेको प्रमाण फेला पारिएको प्रा। ओरोसेई बताउँछन्। तर यो खोजले मङ्गलमा जीवनको सम्भाव्यताका सम्बन्धमा कुनै विशेष अर्थ राख्दैन। ओपन युनिभर्सिटीका डा. मनीष पटेल भन्छन्, हामीलाई धेरै पहिलादेखि नै मङ्गलको बाहिरी सतह जीवनका लागि अनुपयुक्त छ भन्ने थाहा छ। त्यसैले अहिले मङ्गलमा जीवनको खोजी त्यसमुनिको तहमा हुँदैछ। रासस
मिस कल गर्दा मोवाईल रिचार्ज हुने, के बैंकका सबै काउन्टर खाली हुँदैछन् ?
काठमाडौं । सनराईज बैंकमा मिस कल गरेर मोवाईल चार्ज गर्न सकिन्छ । बैंकमा भएको नगद मौजदात (ब्यालेन्स) सोध्न सकिन्छ । पछिल्लो पाँच वटा कारोबार विवरण (स्टेटमेन्ट) जान्न सकिन्छ । आफ्नो एकाउन्टको बारेमा थप जानकारी लिन पनि सकिन्छ । रविन नेपाल, डेपुटी जनरल मेनेजर, सनराइज बैंक ‘यी सबै सेवा हामीले निःशुल्क प्रदान गरेका छौं’ बैंकका नायव महाप्रबन्धक रविन नेपाल भन्छन्–‘हामीले ग्रामिण क्षेत्रका उपभोक्तालाई लक्षित यो सेवा ल्याएका हौ । यो सेवा सामान्य मोवाइल प्रयोगकर्ताले पनि प्रयोग गर्न सक्छन् । स्मार्ट फोन नभए पनि हुन्छ ।’ उनका अनुसार मोबाइलबाट मिसकल गर्दा सिस्टमले नै फोन काटिदिन्छ । चार वटा नम्बर छन् । एउटा नम्बरबाट ब्यालेन्स सोध्न सकिन्छ । अर्काेबाट पछिल्लो पाँच वटा कारोबारको (स्टेटमेन्ट आउँछ । अर्काे नम्बरबाट चाँही मिसकल आउने वित्तिकै फोन काटिएर एक सय रुपैंयाँको रिचार्ज हुन्छ मोबाइलमा । चौथो नम्बरमा कल गर्दा चाँही कल सेन्टरमा जान्छ र बैंकले नै विभिन्न सेवाहरुको बारेमा ग्र्राहकको जिज्ञासा अनुसार थप जानकारी दिन्छ । नेपालका अनुसार मिस कल गरेर रिचार्ज गर्ने सुबिधा चौविसै घण्टा प्राप्त गर्न सकिन्छ । यो सेवा हाल दैनिक पाँच सय जना जतिले लिईरहेका छन् । जति पटक मिसकल गर्यो त्यति पटक नै रिचार्ज हुन्छ । बिशेषतः ग्रामिण क्षेत्रमा नागरिकहरुलाई रिचार्ज कार्ड लिन पसलसम्म जानु नपरोस भन्ने उदेश्यले मिसकल योजना ल्याएको उनले बताए । यो सेवालाई थप विस्तार गर्दै लैजाने बैंकको योजना रहेको छ । प्रविधि प्रयोग गर्न जाने यसबाट दैनिक जीवनशैली सरल बन्नुको साथै आर्थिक लाभ पनि लिन सकिन्छ । सनराईज बैंकको मिसकल सेवा यस्तै एउटा सेवा हो । बैंकको काउन्टर खाली गराँइदै प्रविधिको प्रयोग बढे पनि बैंकको पराम्परागत कारोबार घटेको छैन । बैंकहरुले डिजिटल पेपेन्ट सिस्टम प्रयोगमा ल्याएका छन् । मोवाईल बैंकिङ, इन्टरनेट बैकिङ, कार्ड पेमेन्ट, वालेट पेमेन्ट, एटीएम भुक्तानी जस्ता धेरै नामका धेरै विधि र शैलिका भुक्तानी विधि प्रयोगमा आएका छन् । बैंकहरुले शाखा पनि व्यापक रुपमा विस्तार गरेका छन् तर हरेक शाखाको काउण्टरमा बैकिङ सेवाग्राहीको भीड घटेको छैन, लामो लाईन बस्नुपर्ने बाध्यता छ । खोइ त प्रविधिको प्रयोगको प्रभाव ? किन घटेन काउन्टरमा ग्राहकको भीड ? सनराईज बैंकका नायव महाप्रबन्धक नेपाल भन्छन्–‘हो, काउन्टरमा आउने मान्छे घटेका छैनन् । तर एटिएमको विस्तार नभएको भए, शाखाको विस्तार नभएको भए काउन्टरमा भीड दोब्बर÷तेब्बर हुने थियो र व्यवस्थापन गर्न कठिन हुने थियो ।’ उनले थपे ‘हामी बैंकको काउन्टर खाली भएको हेर्न चाहान्छौं’ उनले जोड दिँदै फेरि भने ‘काउन्टरमा कोहि मान्छे पनि नआउन भन्ने हो । काउन्टरहरु बन्द गर्न पाईयोस भन्ने छ । प्रविधिले काउण्टरलाई विस्थापित गरोस भन्ने हाम्रो चाहना हो ।’ सनराइज बैंकको उदाहरण दिदै उनले भने ‘अहिले सनराईज बैंकको काउन्टरबाट भन्दा एटिएमबाटै धेरै पेमेन्ट भैरहेको छ । हामी एटीएम मेसिनको प्रयोगलाई बढाउँछौ । एटिएमबाट नगद संकलन हुने सुविधा पनि दिने सोचाई राखेका छौं ।’ बैंकले नगद कारोबारलाई निरुत्साहित गर्न पस मेसिनको संख्या बढाईरहेको छ । काठमाडौं, बिराटनगर, धरान, पोखरा, वुटवल जस्ता शहरहरुबाट विस्तार हुँदै अब राजमार्गका होटल र स–साना शहरहरुसम्म पस मेसिनको विस्तार भैरहेको उनी बताउँछन् । नयाँ नयाँ प्रविधिको विकास भईरहेको छ । पछिल्लो समय मोबाइलमा आधारित प्रविधिको प्रयोग बढी छ । बैंकिङ क्षेत्रमा वालेट सेवा पनि विस्तार हुँदै गएको छ । अब क्युआर सिस्टम आउँदैछ । त्यसले स्क्यान गरेपछि आफ्नो खाताबाट पैसा पठाउन सकिन्छ । ‘हामी सबैले पेमेन्ट सिस्टमलाई क्यासलेस बनाउने र स साना व्यवसायसम्म विस्तार गर्ने हो । ठूला होटल, डिपार्टमेन्टल स्टोरबाट साना व्यवसायसम्ममा क्यासलेस पेमेन्टको कल्चर विकास गर्नुछ’ उनले भने–तरकारी किन्ने पसलमा पनि क्युआर जडान गर्दैछौं ।’ क्युआर सिष्टम राखेपछि कुनै पसलमा समान खरिद गर्दा एउटा क्यू आर स्क्यानरमा स्क्यान गरेपछि खाताबाट पैसा तिरिदिन्छ । भारतमा व्यापक प्रयोग भैरहेको पेटिएम पनि क्यू आर जस्तै प्रणाली हो । ‘क्युआर सिस्टमका लागि एउटा सम्झौता भैसकेको छ । हामीले अन्य बैंकको खाता भएकाहरुले पनि चलाउन मिल्ने इन्टर अपरेटिभ सिस्टम जडान गराउन खोजेका हौं । भिसा, मास्टर कार्ड, युनियन पेले जस्तै एउटा क्युआर लिएपछि सबैको सेवा लिन सकिने व्यवस्था गर्न लागेका हौं । आगामी ६/७ महिनामा क्युआर मार्फत भुक्तान गर्न सकिन्छ । त्यसपछि तरकारी किन्दा पनि नगद तिर्नु पर्दैन’ उनले व्याख्या गरे । क्युआर सिस्टम महंगो पनि नहुने उनले बताए । ‘सानो आकारमा कारोबार गर्नेहरुले पनि क्युआर कोड लिन सक्छन् । हामीले इन्टर अपरेटिभ भएको क्युआर सिस्टम चाहेका छौं, त्यो नेपाली पनि हुन सक्छ वा विदेशी पनि हुन सक्छ । हामीले नेपाली कम्पनीलाई प्राथमिकतामा राखेका छौं । यसको सुरक्षा प्रणालीलाई पनि मजबुत बनाउनका लागि कुनै कसर बाँकी राख्ने छैनौं ।’ एक्लो वृहस्तपतिको अर्थ छैन बजारमा २८ वटा बाणिज्य बैंक छन् । विकास बैंक र फाइनान्स कम्पनी पनि छन । एक्लैले नयाँ सुबिधा ल्याएर हुन्न । त्यसमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता पनि अनिवार्य हुन्छ । धेरै वटा बैंकहरुले यस्तो सेवा आरम्भ गरे भने उपभोक्ताका लागि र नियामकका लागि पनि चासोको बिषय बन्छ । यसले सफलता प्राप्त गर्छ । ‘प्रविधिको पनि इकोसिस्टम हुन्छ । नियामक निकाय, बैंक, उपभोक्ता, इन्टरनेट सर्भिस प्रोभाइडर, विद्युत दिने निकायका बीचमा उपयुक्त समन्वय भयो भने मात्रै प्रविधिमा फड्को मार्न सकिन्छ’ नेपालले भने–‘सनराइज बैंकले मात्रै नयाँ प्रविधि दिईरहन सक्दैन्, यसलाई सघाउन अन्य बैंक तथा वित्तीय संस्था र उपभोक्ता देखि नियामकसम्मको सहयोग र सहभागिता अनिवार्य छ ।’ सुरक्षा व्यवस्था बैंकले विद्युतिय कारोबारलाई सुरक्षित बनाउनेतर्फ सर्तकता अपनाउँदै आएको छ । नेपाल भन्छन्–‘हामीसँग धेरै सर्भर छन् । हरेक सर्भिसका लागि छुट्टै सर्भर राखिएको छ । हामीले सबै सर्भिसलाई भर्चअलाइज गरिरहेका छौं । पेमेन्ट गेटवेलाई पनि चुस्त बनाउने प्रयास गरिरहेका छौं । हामीले एटिएम कार्डलाई थप सुरक्षित बनाउन चिप प्रविधिमा आधारित कार्डहरु र चिप रिड गर्न सक्ने गरी एटिएम मेशिन तथा पस ९एइक्० मेशिन लाई परिमार्जित गरिसकिएको छ । सेवा र शुल्क बैंकहरुलाई सर्भिस खरिद गर्न पनि ठूलो मूल्य तिर्नुपर्छ । सर्भिस ल्याएपछि उपभोक्ताले सञ्चालन गर्ने हैसियत बनाएका छन कि छैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । महंगो सर्भिस ल्याएर राम्रोसँग उपभोक्ता बढाउन सकिएन भने समस्या हुन्छ । नेपाल भन्छन्– हामीले सेवा अनुसारको शुल्क लिने हो । उच्चस्तरको सर्भिस लिनका लागि पेमेन्ट पनि बढी नै हुन्छ । सबै सेवा निःशुल्क खोज्नु हुन्न ।’ बैकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोग र अभौतिक कारोबार क्रमशः बढ्दै गएको छ । त्यसैले प्रविधि मैत्री ग्राहकको दैनिकी स्मार्ट हुन्छ भने नगदमा नै लेनदेन गर्नेको जीवनशैली परम्परागत शैलीको देखिन्छ ।
एनएमबी बैंकको साधारणसभा साउन ३१ गते, १५ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने
काठमाडौं । एनएमबी बैंकको २२ औं साधारणसभा साउन ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले साउन १७ गतेदेखि ३१ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर स्वीकृति गर्ने छ । बोनस सेयर स्वीकृतिपछि चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ । बैंकले थप निष्कासन (एफपीओ) जारी गरेर चुत्तापुँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।
आँखुखोला जलविद्युतको आईपीओ साउन १७ देखि, ४००० कित्तासम्म भर्न पाइने
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउने सिभिलले जनाएको छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने छ । आईपीओ निष्कासनपछि चुत्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । कम्पनीले धादिङ जिल्लामा ८.४ मेगावाटको आँखुखोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै कम्पनीले २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनामा समेत लगानी गरेको छ । २०७० भदौ ८ गतेदेखि कम्पनीले व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजना निर्माण गर्न २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको लागत प्रतिमेगावाट २८ करोड ८९ करोड रुपैयाँ पुगेको छ । लगातको हिसावले यो सर्वाधिक मंहगो आयोजना भएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने समय झण्डै ९ वर्ष रहेको छ । कम्पनीको क्रेडिट रेटिङ कमजोर रहेको छ । इक्रा नेपालले आईपीओ ग्रेड ५ निर्धारण गरेको छ ।
इन्डोनेसियली नेशनल पुलिस प्रमुख पुगे चन्द्रागिरि
चन्द्रागिरि । इन्डोनेसियाली नेशनल पुलिस प्रमुख प्रोफेसर डा. एच मुहम्द तटो कर्नाभियनले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरिको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुहम्दलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मुहम्दले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै सुन्दर परियोजना निर्माण भएको कुरा व्यक्त गरे । भ्रमणका क्रममा मुहम्दले यस्ता विभिन्न परियोजनाले देश विकासमा ठूलो भूमिका खेल्ने भन्दै नेपालको विकासका निम्ति यस्ता धेरै परियोजना निर्माणको आवश्यकता रहेको बताएका छन् । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
युनाईटेड फाईनान्सको एटीएम कालिमाटीमा पनि
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले कम्पनीको कालिमाटी शाखामा अत्याधुनिक प्रविधि सहित टच स्क्रिन एटीएम मेसिन संचालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्नदबहादुर श्रेष्ठले गरेका हुन् । उक्त एटीएमबाट कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिसा डेविट कार्ड प्रयोग गरी रकम झिक्न सकिने छ ।
ज्योति विकास बैंक ११औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमको आयोजना
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले आफ्नो सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । साथै, बैंकले हालै मुस्ताङ्ग जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान सहित सबै परिवार गमाउन पुगेकी रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका ५ उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोकालाई बैंकमा रोजगारी प्रदान गर्ने भएको छ । त्यसैगरी, हाल उनी सँगै रहेका बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्चका लागि बैंकले सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने गरी निर्णय गरेको छ । साथै बैंकको विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरिएको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गरिएको छ । त्यस्तै, बैंकको वर्दिबास शाखाबाट पनि धनुषामा अवस्थित लालगढ कुष्टरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिकिल्नकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ तथा बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन भएका छन् । सो अवसरमा बैंकले ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ । १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरि उक्त स्मारिकालाई त्रैमासिक रुपमा प्रकाशनको निम्ति औपचारिक शुभारम्भ समेत गरेको छ ।