विकासन्युज

डलर अर्बपति अनिल अम्बानीको रिलायन्स कम्युनिकेसनको सबैभन्दा बढी सेयर कारोबार

एजेन्सी । भारतीय डलर अर्बपति अनिल अम्बानीको स्वामित्वमा रहेको रिलायन्स कम्युनिकेसन्स (आरकम) सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीको सुचिमा परेको छ । नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा सुचिकृत मध्ये यो वर्ष आरकमको सेयर सबैभन्दा बढी कारोबार भएको भारतको फाइनान्सियल एक्सप्रेसले आफनो अनलाईन संस्करणमा उल्लेख गरेको छ । आरकमको सेयर दिनको औसत ११ करोड भारु बराबर कारोबार भएको छ । अनिलले ऋण तिर्नका लागि आरकमको केही हिस्सा बिक्री गरेकाले यो वर्ष उसको सेयर मूल्यमा व्यापक उतारचढाव आएको छ । सन् २०१७ र १८ मा एनएसईमा सबैभन्दा बढी ८२ करोडको इक्विटी सेयर कारोबार भएको छ । सोही समयमा आरकमको सेयर मूल्य १०० प्रतिशतसम्म बढेको थियो । मंगलबार दिउसोसम्म आरकमको सेयर मूल्य १.८१ प्रतिशत बढेर प्रतिकित्ता ३ करोड ७३ लाख भारुको सेयर किनबेच भएको छ ।

गोदावरी नगरपालिकाले भ्याट असुल्यो, खानेपानी ट्याङकरलाई १६९ रुपैंयाँ कर

काठमाडौं । ललितपुरस्थित गोदावरी नगरपालिकाले भ्याट असुली गरेको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाले पानी ट्याङकरहरुसँग प्राकृतिक श्रोतको उपयोग गरे वापत असुल गरेको करसँग भ्याट उठाएको प्रमाण विकासन्युजले फेला पारेको हो । नगरपालिकाले प्राकृतिक श्रोतहरुको उपयोग शुल्क वापत निकासी कर उठाउने क्रममा १३ प्रतिशत भ्याट असुली गरेको हो । गोदावरी नगरपालिकाले साउन १ गतेदेखि नै पानी ट्याङकरहरुसँग भ्याट असुल्दै आएको छ । ‘हामीले ट्याङकरहरुसँग भ्याट असुल्दै आएका थियौं तर अब रोक्ने तयारी भैरहेको छ’, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने । नगरपालिकाले हालसम्म उठाएको भ्याट के हुने भन्नेबारे चाँही मेयर महर्जनले केहि बताएनन् । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार रामशरण खरेलले स्थानीय तहहरुले भ्याट असुल्न नपाउने स्पष्ट व्यवस्था रहेको बताउँदै गोदावरी नगरपालिकाले भ्याट उठाएकोबारे मन्त्रालय अनभिज्ञ रहेको बताए । ‘संबिधानले नै भ्याटलाई केन्द्र सरकारको मातहतमा राखेको छ, स्थानीय तहले उठाउन पाउँदैन, के भएको हो हामी बुझ्छौं’, खरेलले भने । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्यालले पनि स्थानीय तहले भ्याट उठाउन नपाउने बताए । अधिवक्ता खिमलाल देवकोटाले स्थानीय तहरुले बुझेर वा नबुझेर अनावश्यक कर संकलन गरिरहेको बताए ।‘कतिपय अवस्थामा नबुझेर त कतिपय अवस्थामा बुझेरै पनि स्थानीय तहरुले अनावश्यक कर उठाईरहेका छन्, अधिकार क्षेत्रबारे सबैलाई स्पष्ट पार्नु आवश्यक देखिन्छ’, अधिवक्ता देवकोटाले भने । गोदावरी नगरपालिकाले पानी ढुवानी गर्ने ट्याङकरहरुलाई १ सय देखि १५० रुपैंयाँसम्म ढुवानी कर र १३ प्रतिशत भ्याट असुल्दै आएको छ । ५ हजार लिटर देखि ९ हजार लिटरसम्म पानी बोक्ने ट्याङकरहरुसँग प्रति ट्याङकर एक सय रुपैंयाँ र भ्याट तथा ९ हजार लिटर भन्दा ठूला ट्याङकरहरुसँग प्रति ट्याङकर १५० रुपैंयाँ र भ्याट असुलिरहेको छ । त्यसका लागि नगरपालिकाले ओजस निर्माण सेवा नामकको कम्पनीलाई ठेक्का दिएको छ ।

नेपालमा पहिलो पटक क्रियटिभ बिजनेस कप हुँदै, विजेतालाई ९ लाख रुपैयाँ पुरस्कार

काठमाडौं । नेपालमा पहिलो पटक उद्यमीहरुको लागि क्रियटिभ बिजनेस कप प्रतियोगिता हुने भएको छ । नेपालमा नयाँ सोच भएका नव उद्यमी तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण ‘स्टार्टअप इकोसिस्टम’ विकास, विस्तार र संस्थागत गर्नमा सघाउने उद्धेश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । करिब ३ वर्षदेखि सक्रिय संस्था अन्तरप्रेरणा र उद्यमशिलताको क्षेत्रमा विश्वभरि कार्यरत डेनमार्कको कोपनहेगनमा रहेको क्रियटिभ बिजनेस कपबिच नेपाली उद्यमीहरुलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ । यसबाट यहि वर्ष नोभेम्बर महिनामा डेनमार्कको कोपनहेगनमा सम्पन्न हुने अन्तर्राष्ट्रिय क्रियटिभ बिजनेस कप प्रतिस्पर्धामा नेपाली उद्यमीलाई सहभागी हुने अवसर मिलेको छ । नेपालमा पहिलो पटक हुन लागेको यस प्रतियोगितामा उद्यमशीलताका विविध क्षेत्रमा नविन र सृजनशील कार्यहरु गरिरहेका उद्यमीहरुले प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिताबाट छानिएका उत्कृष्ट प्रतियोगीले कोपनहेगनमा हुने अन्तर्राष्ट्रिय बिजनेस कपमा आफ्नो प्रस्तुती दिन पाउने छन् । तीन दिने अन्तराष्ट्रिय कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिनेले ७००० यूरो बराबरको नेपाली रुपैयाँ(अर्थात  ९ लाख ३ हजार रूपैयाँ) नगद पुरस्कारसँगै अन्य सुविधाहरु पाउनेछन् । क्रियटिभ बिजनेस कपले उद्यमीहरुको सशक्तिकरण, उद्यमीहरुलाई विश्व बजार, लगानीकर्ता र सरोकारवालाहरु सम्म जोड्ने काम गर्दछ । हाल अन्तरप्रेरणाले नेपाली उद्यमीहरुका विचमा राष्ट्रिय प्रतियोगिताकोलागि आवेदन आव्हान गरिरहेको छ । यस बिजनेस कपमा सहभागी हुनको लागि अन्तर्प्रेरणाको वेभसाईट https://www.antarprerana.com.np/cbc बाट आवेदन दिन सकिने छ र थप जानकारी पनि पाउन सकिने छ ।

२ वर्षमा एनसीसी बैंकको नाफा पौने २ अर्ब नाघ्ने, लगानीकर्ताले कति पाउनेछन् लाभांश ?

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले आउदो २ वर्षमा नाफा दोब्बर बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा दोब्बर बढेर १ अर्ब ८३ करोड ९७ लाख रुपैयाँ पुग्ने अनुमान गरेको हो ।  बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा दोब्बर बढाउने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष ०७४/ ०७५ मा बैंकले ९० करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । चालु आर्थिक वर्षमा बढाएर १ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ पुग्ने अनुमान छ । नाफामा भएको वृद्धिसंगै प्रति सेयर आम्दानी (ईपीएस) पनि बढ्ने भएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २२ रुपैयाँ ९८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्षमा बैंकको ईपीएस १९ रुपैयाँ ३२ पैसा, चालु आर्थिक वर्षमा १९ रुपैयाँ ४६ पैसा पुग्नेछ । यस्तै प्रतिसेयर नेटवर्थ पनि बढेर १७६ रुपैया पुग्ने छ । गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा घटेर १५० रुपैयाँ कायम भएको छ । बैंकले निक्रिय कर्जा अनुपात घटाएर १ प्रतिशतमा झार्ने भएको छ । गत वर्ष बैंकको यस्तो कर्जा ३.१९ र चालु आर्थिक वर्षमा १.९४ प्रतिशतमा झर्ने बैकको प्रक्षेपण छ । यस्तै पुँजी कोषको आकार १४.५१ प्रतिशत हुने अनुमान छ । गत आवमा बैंकको पुँजीकोष १३.७९ र चालु वर्षमा १७.२१ प्रतिशत पुग्ने अनुमान छ । आर्थिक वर्ष ०७६/०७७ मा बैंकको ब्याज आम्दानी २ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ गर्ने भएको छ । गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड ८० लाख, चालु वर्षमा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी हुने बैंकको प्रक्षेपण गरिएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन २५ प्रतिशत बढेर ९५ अर्ब ६४ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । चालु अर्थिक वर्षमा बैंकको निक्षेप बढेर ७६ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । कर्जा लगानी ३०.७६ प्रतिशत बढ्ने अनुमान छ । आगामी २ वर्षमा बैंकको कर्जा लगानी बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । यस्तै चालु आर्थिक वर्षमा ६४ अर्ब १० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । जगेडा कोषको आकार पनि बढेर ५ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ पुग्ने अनुमान बैंकको छ । गत आर्थिक वर्षमा बैंकको जगेडा कोष ३ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । चालु आवमा बढेर ४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ पुग्ने छ । २ वर्षमा पनि निक्षेपको ब्याजदर १०.६१ प्रतिशत नै हुने अनुमान बैंकको छ । गत वर्ष औसत ९.१२ र चालु आर्थिक वर्षमा ९.६९ प्रतिशत पुग्ने छ । यस्तै कर्जाको औसत ब्याजदर १४.३० प्रतिशत पुग्ने छ । गत वर्ष १३.४६ र यो वर्ष अझ बढेर १३.९९ प्रतिशत पुग्ने अनुमान छ । बैंकले भदौ ४ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ ।

लगानीकर्ता एनएमबी बैंकको बोनस सेयरमा लोभिए, सबैभन्दा बढी कारोबार

काठमाडौं । लगानीकर्ता बोनस सेयरमा लोभिदा मंगलबार एनएमबी बैंकको सबै भन्दा बढी कारोबार भएको छ ।  एनएमबीले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभामा पेश गर्दैछ । बिहीबारसम्म किन्ने मात्र बोनस सेयर पाउने भएपछि लगानीकर्ताले लोभिएका हुन् । बैंकको २२ औं साधारणसभा साउन ३१ गते हुने भएको छ । बिहीबारसम्म सेयर खरिद गर्नेले सो १५ प्रतिशत बोनस सेयर पाउने छन् । एनएमबीको प्रतिकित्ता ३६४ रुपैयाँमा ७८ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंकले पुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओमा लगानी गर्नेले प्रतिसेयर ३० रुपैयाँ बढी र थप बोनस पाउने भएपछि लगानीकर्ता लोभिएका हुन् । सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर स्वीकृति गर्ने छ । बोनस सेयर स्वीकृतिपछि चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ । बैंकले एफपीओ जारी गरेर चुत्तापुँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।

नेशनल र ओरियन्टल इन्स्योरेन्स मर्जरको बाटोमा

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जरमा जाने भएका छन् । भारत सरकारको पुर्ण स्वामित्वमा रहेका ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीको शाखाका रुपमा यी दुबैले नेपालमा बीमा व्यवसाय गर्दै आएका छन् । भारत सरकारले आफ्नो स्वामित्वमा रहेका यी दुईसहित युनाईटेड इन्स्योरेन्स कम्पनीलाई मर्ज गर्ने प्रक्रिया अघि बढाएको छ । प्यारेन्ट कम्पनीमा मर्जरको प्रक्रियामा जुटेसँगै यी दुबै कम्पनीले नेपालमा पनि मर्जमा जाने तयारी थालेका हुन् । बीमा समितिले तोकेको निर्धारित पुँजीका लागि दुबै कम्पनीले मर्जरमा जाने उल्लेख गरेका छन् । ‘निर्धारित पुँजी पुर्याउनका लागि प्यारेन्ट कम्पनी मर्जमा गएकाले हामी पनि मर्जमै जान्छौं भन्ने निवेदन दिएका छन्’, बीमा समिति श्रोतले भन्यो । बीमा समितिले २०७५ असार मसान्त भित्र जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । तर विदेशी कम्पनीको शाखाका रुपमा सेवा प्रवाह गरिरहेका मेट लाइफ, ओरियन्टल र नेशनल इन्स्योरेन्सका लागि भने निर्धारित पुँजीको व्यवस्था गरिएको थियो । मेटलाइफले निर्धारित पुँजी पुर्याउनुपर्ने बाध्यताबाट मुक्ति दिन आग्रह गर्दै समितिलाई पत्र लेखेको छ । तर भारतीय कम्पनीको शाखाका रुपमा सेवा दिईरहेका ओरियन्टल र नेशनलले भने मर्जरमा जाने तयारी थालेका हुन् । भारतको केन्द्रिय सरकारले आर्थिक बर्ष २०१७।१८ को बजेट मार्फत ओरियन्टल, नेशनल र युनाइटेड इन्स्योरेन्स कम्पनीलाई मर्ज गर्ने घोषणा गरेको थियो । सरकारको सोही घोषणा अनुसार भारतमा यी ३ वटै कम्पनीहरुले मर्जरको तयारी अघि बढाईसकेका छन् । यी नै कम्पनीका शाखाका रुपमा नेपालमा कार्यरत ओरियन्टल र नेशनलले पनि मर्जमा जाने निधो गरेका हुन् । भारतमा ती कम्पनीहरु मर्ज भएपछि सर्वसाधारणका लागि सेयर(आईपीओ) निष्काशन गर्नेछन् । यी कम्पनीहरुको मर्जरपछि सन २०१८।१९ मा ८ खर्ब भारूको व्यापार अभिवृद्धि गर्ने भारत सरकारको योजना रहेको छ ।

जोशीलाई वेलायतमा ‘२०१८ को सर्वोत्तम उद्यमी’ अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिका संयोजक गौरी जोशी वर्षकै उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् । वेलायतबाट संचालित नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्वसको अवसर पारेर उनलाई सो अवार्ड घोषणा गरिएको हो । जोशीलाई गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकको अवसर पारेर संघका संरक्षक जीवा लामिछाने र अध्यक्ष भवन भट्टले संयुक्त रुपमा सो अवार्डबाट सम्मान गरियो । नेपाल ब्रिटेन डट कमले वेलायतस्थित नेपाली समुदायका १० जना समाजसेवीका अतिरिक्त विश्वभर छरिएका सफल नेपाली मध्यवाट जोशीलाई चयन गरेको थियो । जोशीलाई सम्मान गर्दै संरक्षक जीवा लामिछानेले जोशीलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । उनले भने ‘गौरीजीको पौरख मेरो आखाँले देखेको छु नेपाल ब्रिटेन डट कमले जोशीलाई सो अवार्डबाट सम्मान गर्ने गरेको निर्णय साच्चिकै राम्रो हो’ । जोशी चितवनमा रहेको पुख्र्यौली जग्गा बेचेर उनी २१ वर्ष अघि पढाईको लागि अमेरिका पुगेका थिए । उनले सन् २००० मा टेक्सासको डालास युनिभरसीटीबाट इन्फरमेसन टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् । आईटी क्षेत्रमा लोकप्रिय कम्पनी ए टी एन्ड टीमा जागिर शुरु गरेका जोशीले सन २००७ मा व्यवसायीक गोरेटो तय गर्न सफल भएर भास्टिका नाम आईटी कम्पनी खोलेर विश्व आइटी बजारमा व्यवसाय शुरु गरेका थिए, अहिले भास्टिकाका करिव ५ हजार उत्पादनहरु बजारमा स्थापित छन्। अमेरिकन, युरोपियन, बंगलादेशी, अफ्रिकन, वंगलादेशी, श्रीलंकाली मात्र होइन अष्टेलियाका नागरिकहरुलाई उनले काम दिएका छन् । उनका उत्पादनहरु अहिले एटी एन्ड टी, सिटी बैंक, अमेरिकन एयरलाइन देखी वर्ल्ड बैंकसम्म पुगेका छन्।

मिस नेपाल श्रृंखला खतिवडा बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर

काठमाडौं । आर्किटेक्ट मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् । गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र मिस नेपाल श्रृंखलाले एम्वेसडर बन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् । आफू मिस नेपाल वर्ल्ड २०१८ भएता पनि आफनो इन्जिनियरिंग पेशा अनुरुपको प्रोडक्टमा ब्राण्ड एम्वेसडर हुन पाएको उनले खुशी व्यक्त गरेकी छिन् । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट भूकम्पपश्चातको पुननिर्माण तीव्र हुने सम्भावना भएकोले पनि आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर बनेको बताएकी छिन् । वर्तमान समयमा निर्माण सामाग्रीको दुनियाँंमा नयाँंनयाँं निर्माण सामाग्रीहरु बजारमा उपलव्ध भएको कुरा औंल्याउँदै आर्किटेक्ट मिस नेपाल खतिवडाले आर्किटेक्टहरुले भबन डिजाइन गर्दा गोर्खा इको प्यानल जस्ता भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामाग्री प्रयोग गर्न जोड दिएकी छिन् । आर्किटेक्ट इन्जिनियहरुको भाबनालाई आर्किटेक्ट इन्जिनियरले नै प्रतिनिधित्व गर्न सक्ने भएकोले आर्किटेक्ट मिस नेपाल श्रृखलालाई ब्राण्ड एम्वेसडर बनाएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।