लुब्रिकेन्टको सेल्फी कन्टेस्टमा किरण नापित र राज बिके पुरस्कृत
काठमाडौं । क्यास्ट्रोल लुब्रिकेन्टले आयोजना गरेको सेल्फी कन्टेस्टका विजेताहरुलाई पुरस्कृत गरिएको छ । क्यास्ट्रोल भेक्टन सेल्फी स्टार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार राज बिके भएका छन् । उनीहरुलाई एक एकवटा स्मार्टफोन उपहार प्रदान गरिएको छ । उनीहरुलाई क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले पुरस्कृत गरेका छन् । किरण नापित पोर्पा अजिमा सर्भिसिङ सेन्टर र सन्तोष मोटर ग्यारेजका सञ्चालक हुन् भने राज बिके राज मोटरसाइकल वक्र्सका सञ्चालक हुन् । क्यास्ट्रोल भेक्टन पहिलो पटक नेपालमा उपलब्ध गराएको अवसरमा क्यास्ट्रोल भेक्टन सेल्फी कन्टेस्ट आयोजना गरिएको थियो । क्यास्ट्रोल भेक्टनको ब्यानरमा आफ्नो तस्बिर खिचेर क्यास्ट्रोल लुब्रिकेन्ट नेपालको आधिकारिक फेसबुक पेजमा ट्याग गरे पछि सबैभन्दा बढी लाइक पाउनेलाई विजयी घोषणा गरिने बताइएको थियो । क्यास्ट्रोल लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले सो प्रतियोगिताको आयोजना गरेको हो । क्यास्ट्रोल भेक्टन केही समय पहिले मात्र नेपाली बजारमा भित्रिएको इन्जिन आयल हो । यो सीआई–४ प्लस र प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल हो । क्यास्ट्रोल एक्टिभोमा अत्याधुनिक एक्टिभ बोन्ड मोलिक्युल्स रहेको हुन्छ । उक्त मोलिक्युल्सको सहयोगले इन्जिनमा एक किसिमको झिल्ली बस्न गई इन्जिनलाई सुरक्षित राख्छ । यसका कारण इन्जिनमा अनावश्यक पदार्थ बस्न वा जम्न पाउदैन ।
नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
काठमाडौं। नेपाल बङ्गलादेश बैंक लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. बीच मिति २०७५ असोज ७ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एन.बी.आईले नेपाल बङ्गलादेश बैंक का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार नेपाल बङ्गलादेश बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ । उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रशाद ढुंगाना र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
रोटरी ईन्टरनेसनलको “न्यु मेम्बर ओरेन्टएसन प्रोग्राम ” सम्पन्न
काठमाडौं। रोटरी ईन्टरनेसनल, जिल्ला ३२९२ (नेपाल र भुटान) क्षेत्र १,२,३ अन्तर्गतका ५४ वटा रोटरी क्लबहरुमा रहेका नयाँ सदस्यहरुलाई लक्ष्य गरी मिति २०७५ असोज ६ गते, २२ सेप्टेम्बर २०१८ का दिन “न्यु मेम्बर ओरेन्टएसन प्रोग्राम ” ललितपुर जिल्लाको सानेपा स्थित ग्रिनबिच होटलमा आयोजना गरिएकोे थियो । सो कार्यक्रम क्षेत्र १,२,३ अन्तर्गतका रोटरी क्लबहरुमा आबद्ध ९० जान नयाँ रोटरी सदस्यहरुको सहभागिता रहेको थियो । सो रोटरी ईन्टरनेसनल, जिल्ला ३२९२ नेपाल र भुटान कार्यक्रम जिल्लाका गभर्नर चिन्तामणी भट्टराई, ईमीडियट पास्ट जिल्लाको गभर्नर रोटरियन सञ्जय गिरी, जिल्ला गभर्नर नोमिनी रोटरियन राजिव पोखरेल, पास्ट डिस्ट्रिक्ट गभर्नर रोटरियन र्थिमान शाक्य, पास्ट डिस्ट्रिक्ट गभर्नर रोटरियन जया राज्यलक्ष्मी शाह र टिआरयफ चेयर रोटरियन जितेन्द्र राजभण्डारी तथा डिस्ट्रिक्ट प्रोग्राम कमिटी चेयर रोटरियन राजेन्द्र लाल श्रेष्ठले सहभागीहरुलाई दिएका थिए। कार्यक्रममा फ्यासीलियिटिएटरको भूमिकामा कार्यक्रम आयोजक कमिटिका सदस्यहरु रोटरियन हेमा अधिकारी, रोटरियन शम्भू आम्गाई, रोटरियन कामी शेर्पा, रोटरियन अमित गिरी र रोटरियन सन्तोष बास्तोला रहेका थिए भने कार्यक्रम सञ्चालन डिस्ट्रिक मेम्बरसिप कमिटी चेयर रोटरियन मन्जू कार्की लामिछाने स्वयम्ले गरेकी थिइन्। कार्यक्रममा रिसोर्स पर्सनलाई प्रोग्राम कूर्डिनेटर तथा डिस्ट्रिक्ट मेम्बरसिप कमिटी चेयर रोटरियन मन्जू कार्की लामिछानेले मायाको चिनो प्रदान गरेकी थिईन् भने डिस्ट्रिक्ट मेम्बरसिप को- चेयर रोटरियन हेमा अधिकारीले धन्यवादको मत प्रदान गरेकी थिईन्।
नेपाली कफीको बजार विस्तार हुदै गएकाे छ : मानबहादुर श्रेष्ठ
व्यवसायी मानबहादुर श्रेष्ठले २ दशकदेखि कफीको तितो झोलमा मिठास भर्ने काम गरिरहेका छन् । २०५५ सालमा विराटनगरबाट काठमाडौं छिरेका श्रेष्ठले हिमालयन जाभाबाट आफ्नो करियर सुरु गरेका हुन् । उनले कफी बनाउने (बारिस्टा ट्रेनिङ) दिन थालेको १३ बर्ष भयो । श्रेष्ठ नेपालको पहिलो बरिस्टा प्रशिक्षक हुन् । उनले एसप्रेसो अग्र्यानिक कफी हाउस सञ्चालन गरिरहेका छ । ३५ लाख रुपैयाँ लगानीमा उनले कफी हाउस खोलेका हुन् । नेपालमा कफी व्यवसायका विषयमा केन्द्रीत रहेर श्रेष्ठसंग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी । नेपालमा कफी खेती कहिलेदेखि सुरु भएको हो ? करिब चार दशकअघि पश्चिमी पहाडी जिल्ला गुल्मीबाट नेपालमा व्यवसायिक रूपमा कफी उत्पादन सुरु गरिएको बताइन्छ । अहिलेसम्म नेपालमा वार्षिक ५०० टनको हाराहारीमा मात्र कफी उत्पादन हुने गरेको छ । विश्वमा कफीलाई चियापछिको दोश्रो पेय पदार्थको रूपमा लिइन्छ । कफीमा स्फूर्ति ल्याउने क्याफिन हुन्छ । यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन र निद्रा हटाउँछ । यसमा कार्बोहाइड्रेट, प्रोटीन, अम्ल (क्लोरोजेनिक एसिड), बास्ना (भोलाटाइल कम्पाउण्ड) र अन्य रसायन (कार्बो्क्सिलिक एसिड) पाइन्छ । नेपालमा कफी खेतीको सम्भावना कतिको छ ? विश्वमा १०० भन्दा बढी मुलुकमा कफी उत्पादन हुने गरेको छ । नेपालमा उच्च गुणस्तरको कफी उत्पादन गर्ने शीतल र मन्द हावा चल्ने जलवायु छ । यहाँ पानी नजम्ने भिरालो परेको हराभरा पहाडी भू–भाग प्रशस्त छ । सिंचाई र प्रशोधनको निम्ति आवश्यक पर्ने पानीको स्रोत पनि यही छ । नेपालमा कफी खेतीको प्रचुर सम्भावना छ । नेपालमा पाइने सबै कफी १ हजारदेखि १ हजार ६०० मिटरसम्मको उचाइमा अराविका वर्णको टिपिका र बर्बन जातका हुन् । प्राय सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ । अन्य कफी उत्पादक मुलुकहरूको भन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफीमा विशिष्ट प्रकारको गुण र बास्ना रहेको पारखीहरू बताउँछन् । नेपालका प्राय सबै कफी प्राङ्गारिक प्रविधिबाट उत्पादित भएकाले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा स्पेसियालिटीको रूपमा हेर्ने गरिन्छ । नेपाली कफी खासगरी जापान, अमेरिका र युरोपेली मुलुकहरूमा निर्यात हुने गर्छ । जहाँ पनि कफी मसिन बेच्ने, जो पनि बरिस्टा ट्रेनिङ गराउने, जसले पनि कफी पसल खोल्दिने जस्ता कारणले यसमा धेरै नै प्रतिस्पर्धा छ । यही कारणले गर्दा पनि कफी क्षेत्र उत्पादन बढी देखिन्छ । व्यवसायिक रुपमा हेर्दा आम्दानी कम देखिन्छ । जुन स्तरको आम्दानी पहिला देखिन्थ्यो त्यो अहिले छैन । तपाइलाई कफी व्यवसायमा कसरी लाग्नु भयोे ? कफीमा लाग्न उत्प्रेरित गर्नेमा कलाकार शिव श्रेष्ठ दाई हुनुहुन्छ । उहाँले नै मलाई सुरुमा हिमालयन जाभामा आवद्द गराउनुभएको हो । मेरो कफी करियर त्यहीँबाट सुरु भएको हो । सुरुवाती दिनहरुमा धेरै गाह्रो भएको थियो । त्यतिखेर अहिलेको जस्तो धेरै मान्छे हुँदैन थिए । कफी बनाउने, रोष्ट गर्ने र ग्राहकलाई सर्भ गर्ने सबै काम आफैले गर्नु पथ्र्याे । कफी बनाउने मेसिन पनि आजको जस्तो सजिलो कहाँ थियो र । बरिस्ता भनेको के हो थाह थिएन । तर बिस्तारै बुझ्दै जाँदा सजिलो हुँदै गयो र यस प्रति झनझनै रुची बढ्दै गयो । मैले जाभामा ६ बर्ष बिताए । त्यसपछी मैले कफीमा धेरै अनुसन्धान र अध्ययन गरे । कफी प्लान्टेसनमा गएर बिभिन्न कफी सम्बन्धित संघ संस्थासँग आवद्द भएर काम गरें । म अहिले कफी बनाउने मात्र नभएर उत्पादान,प्रोसेसिङ, रोस्टिङ, कपिङमा पनि काम गर्छु । जुन समयमा तपाईंले कफिको क्षेत्रमा काम सुरु गर्नुभयो त्यो समयमा मानिसहरुलाई कफिको बारेमा कत्तिको ज्ञान थियो? मैले सुरुवात गर्ने समयमा नेपालमा कफी पिउने कल्चर थिएन । एकदमै कम मानिसलाई मात्र यस सम्बन्धी ज्ञान थियो । कफी भन्ने बित्तिकै मानिसहरुले नेसक्याफे भन्थे । देशको राजधानी काठमाडौंमा पनि मानिसहरू ‘इन्स्ट्यान्ट कफी’ लाई नै कफी मान्दथे, जसमा दूध हालेर मज्जाले फिट्दै फिज निकालेर पिउन सकियोस् । शहरमा कमै थिए, जसलाई ‘अमेरिकानो’ र ‘क्यापुचिनो’ बीचको फरक थाहा होस् । क्यापाचिनो, एस्प्रेसो भन्न मलाई १ महिना लाग्यो । त्यसबेला मेसिनहरु चलाउन पनि सार्है गार्हो थियो । त्यस समयमा हिमालयन जाभा र एक दुई वटा ५ तारे होटलमा मात्र मसिन राखिएको थियो तर कफी मेकिङ हुँदैन थियो । हामी बरिस्ता भन्नले वरिष्ठ मान्छे भनेर बुझेका थियौं । बिस्तारै यो शब्द पत्ता लाग्दै गईसकेपछि मात्र हामीले बल्ल यस शब्दको अर्थ बुझ्यौ । त्यो समयमा कफिको लागि जाभा बाहेक अरुमा काम गर्ने अवसर पनि थिएन । कित जाभा नत्र बिदेश जानुपर्ने थियो । कफी व्यवसायले तपाईंको दैनिक जीवनमा कस्तो असर पारेको छ ? कफी मेरो शरीरको रगत जस्तो हो । मेरो दिनको सुरुवात कफीको चुस्की सँगै सुरु हुन्छ । अहिलेसम्मको मेरो करियर, गुड्विल कफी नै हो । असफल हुन्छु कि भन्ने नसोची म अगाडि बढिरहे । परिवर्तनको कुरा गर्नुपर्दा सोचेजस्तो पैसा कमाईएन होला त्यो एक ठाउँमा छ तर अनुभव,गुणस्तरिय, दक्ष मान्छे मलाई कफीले बनाएको छ । कफी कति प्रकारका छन् ? कफी धेरै प्रकारका हुन्छन्। नेपालमा मुख्य दुई प्रकारको कफीको प्रयोग हुन्छ। एक अरबिका कफी जुन उच्च हिमाली क्षेत्रमा फल्छ र अर्को रोबस्ता जुन तराई क्षेत्रमा फल्दछ। त्यस्तै कफी बेभरेज ५ प्रकारका छन् । एक्सप्रेसो राम्रोसँग धुलो पारिएको कफी बिन्समा केही मात्रामा प्रेसराइज्ड तातोपानी हालेर बनाइन्छ । यो सामान्यतया २० देखि २५ एमएल मात्र हुन्छ । अमेरिकानो एक्सप्रेसोमा केही मात्रामा तातोपानी मिसाएर बनाइन्छ । यसमा भने पानीको मात्रा ४०० एमएलभन्दा माथि हुन्छ । लात्ते यसमा भने एक्सप्रेसोपछि दूध मिसाइन्छ । एक्सप्रेसो एक भाग र दुध तीन भाग हुन्छ । माथिबाट केही चित्र पनि कोरिएको हुन्छ । मोका यसमा पनि एक्सप्रेसो एक भाग हुन्छ भने अर्को तीन भाग स्मिड दूध हुन्छ । थोरै चक्लेट पनि यसमा हालिएको हुन्छ । क्यापेचिनो यसमा भने एक्सप्रेसो, तातो दूध, स्मिड दूधको फोम मिसाएर बनाइन्छ। यसमा लात्तेभन्दा कम स्टिम दूध हालिन्छ । नेपाली कफी कुन देशमा बढी निकासी भएको छ ? जापान, अमेरिका, बेल्जियम, जर्मनमा नेपाली कफीहरु निर्यात हुन्छ । बढी आर्ग्निक कफी मात्र निर्यात हुन्छ । अहिले नेपालले पनि ईन्टरनेसनल कफी सोमा आफ्नो उपस्थिती देखाउन थालेकाले भबिष्यमा नेपाली कफीको बजार राम्रो हुने देखिन्छ । तपाईले सञ्चालन गर्नुभएको एसप्रेसो अग्र्यानिक कफी हाउसले कस्तो व्यवसाय गरिरहेको छ ? मैले धेरै ठाउँमा बरिस्ता ट्रेनिङहरु दिए र धेरैलाई दक्ष बरिस्ताको रुपमा स्थापना पनि गरे । म आफ्नै क्याफे संञ्चालन गर्न चाहान्थे । आफै मालिक बन्न चाहान्थे । आफ्नै क्याफेमा आफैले आफैलाई कफी बनाउन निर्देशन दिने रहर थियो मेरो । यही चाहनबाट ४ बर्ष अगाडि स्थापना भयो एस्प्रेसो अग्र्यानिक कफी हाउस । २ बर्ष भयो यो थापागाउँ बानेश्वरमा सरेको । यस अगाडि यो नक्सालमा थियो । मलाई मेरो व्यवसायमा अभिनेत्री तथा संञ्चारकर्मी कृति भट्टराईले साथ दिएकी छिन् । मेरा दुई छोरा पनि यही व्यवसायमा आवद्द छन् । मेरो कफीसँगको यात्रामा मेरो श्रीमती लीला श्रेष्ठ र छोराहरुको साथ बिना म असफल हुने थिए । कफी व्यवसायीको बन्ने चाहना भएका युवाहरुलाई तपाईं के सल्लाह दिनुहुन्छ ? कसैको लहैलहैमा लागेर कफी व्यवसायमा लाग्छु भनेर नसोच्न आग्रह गर्न चाहन्छु । कफी मात्र नभएर हरेक व्यवसायमा सबैभन्दा पहिला त्यस बारेमा पुरा ज्ञान हाँसिल गरेर मात्र अघि बढ्नु पर्छ । कफी व्यवसायमा आफुलाई स्थापना गर्न चाहने युवाहरुले सबैभन्दा पहिले कफीको बारेमा राम्रो अध्ययन गर्न जरुरी छ । त्यसपछी कफीसँग सम्बन्धित ट्रेनिङहरु लिनुपर्छ । व्यवसायमा कहिले नाफा कहिले घाटा हुनसक्छ, यसका लागि सधैं तयार भएर बस्न जरुरी छ । आफ्नो व्यवसायको कमजोर पक्षलाई नियालेर सुधारिदै निरन्तरता दिने हो भने पक्कै एक सफल व्यवसायी बन्न सकिन्छ। एउटा सामान्य कफी शप खोल्न कति लगानी चाहिन्छ ? एउटा सामान्य कफी शप खोल्नलाई कम्तीमा पनि १५ लाख रुपैयाँ चाहिन्छ । ठाउँ अनुसार कस्तो ईन्टेरियर डिजाईन गर्ने, कस्तो खालको मेसिन राख्ने यो सबै रिसर्च भईसकेपछि मात्र बजेटको कुरा आउँछ । एक किलो रोस्टेड गरेको बिन्सले कति ग्लास कफी बन्छ ? यो बिभिन्न बारीस्टामा भरपर्छ तर नेपाली कफी धेरै ओभरडोज हुनेगर्छ । त्यसैले १ किलोले ९० कपसम्म कफी बनाउन सकिन्छ । कफीलाई अझ व्यवसायिक रुपमा अघि बढाउन के गर्नुपर्ला ? कफी व्यवसायलाई अझै राम्रो बनाउन सबै भन्दा पहिले कफीको लागि खेती योग्य जमिन खोज्न जरुरी छ । त्यस क्षेत्रको तापक्रम पनि बुझ्न जरुरी छ । किनभने कफी जहाँपायो त्यही ठाउँमा फल्दैन । यो ठाउँ, वातावरण, तापक्रम अनुसार भिन्न भिन्न ठाउँमा फल्दछ । सरकारले कफी खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपालमा कफी खेतीका प्रशस्त सम्भावना छ । सरकारले कफी किसानलाई राम्रो सहयोग गर्ने हो भने उत्पादन अझै बढाउन सकिन्छ। तपाईंका भावि योजना के छन ? कफी बाहेक मेरो कुनै योजना छैन र मैले के गर्ने भन्ने सोचेको छैन । मेरो अब आउने दिनमा कफी शपको लागि उपयुक्त ठाउँ रिसर्च गरेर नयाँ ठाउँमा कफी शप बिस्तार गर्ने योजना छ । नयाँ व्यवसायीलाई चाहिने सहयोग, सामाग्री र कामदार उपलब्ध गराउने योजना छ ।
वातावरण जोगाउने नाममा निजगढ विमानस्थल रोक्दैनौं
काठमाडौं । काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण संरक्षणका नाममा नरोक्ने स्पष्ट पारेका छन् । पछिल्लो समय वन संरक्षणका नाममा वन मन्त्रीले रोकेको आरोप लाग्दै आएको थियो । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै मन्त्री बस्नेतले कम भन्दा कम वन विनास गरेर विमानस्थल बनाई छाड्ने संकल्प पनि पेश गरे । उनले आफ्नो चाहेज चासोलाई स्थानीय स्वार्थ र राजनीतिक स्वार्थसँग जोडेर आफुलाई विकास बिरोधी देखाउने षडयन्त्र गरिएको आरोप पनि लगाए । “न्यून वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ, यससम्बन्धी सकारात्मक चासो, चिन्ता र जिम्मेवारीबोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवाललाई सरकारले उचित सम्मान तथा सम्बोधन गर्छ ।”, मन्त्री बस्नेतले भने । विकास र वातावरणलाई एकअर्काका विरोधीका रूपमा नभई पूरकका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । २५ सय हेक्टर क्षेत्रफलमा निर्माण हुने निजगढ विमानस्थलको पहिलो चरणका लागि एक लाख ९५ हजार रुख कटान गर्ने तयारी पर्यटन मन्त्रालयले गरेको छ । १२१ अर्ब बजेट लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । ८ हजार ४५ हेक्टर जमिन ओगट्ने विमानस्थलको निर्माणका लागि भने ७ खर्ब लाग्ने भनिएको छ ।
जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु,
काठमाडौं । जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पु¥याउने सरकारको योजनाअनुसार जुम्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् । अहिले सबै स्थानीय तहका योजनादेखि सामाजिक सुरक्षाभत्ताका सबै कामकाज गाउँमै हुन थालेको छ । पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता टरेपछि सङ्घीयताको महसुस बैंकिङ सेवाले पनि गराएको तातोपानी गाउँपालिका स्थानीय रामकृष्ण न्यौपाने बताए । उनले भने, “सिंजाबाट सदरमुकाम पुग्न बास बस्नुपथ्र्यो, तर अहिले गाउँमै बैंक आएपछि निकै सहज भएको छ ।” कुन स्थानीय तहमा कुन बैंक सदरमुकामबाट सबैभन्दा टाढा रहेको कनकासुन्दरी गाउँपालिकामा कुमारी बैंकको शाखा सञ्चालनमा रहेको छ । जसले गर्दा पहिलेको योजनादेखि आर्थिक कारोबारका लागि बास बस्नुपर्ने स्थिति अहिले टरेको सचिव अम्मरराज गिरीले बताए । त्यस्तै सिंजा गाउँपालिकामा नेपाल बङ्गलादेश बैंक, हिमा गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा सञ्चालनमा छन् । तिला गाउँपालिकमा नबिल बैंक, तातोपानी गाउँपालिकामा जनता बैंक, गोठीचौर गाउँपालिकामा सनराइज बैंक र पातारासी गाउँपालिकामा बैंक अफ काठमाण्डूको शाखा सञ्चालन भएको छ । पातारासी गाउँपालिकामा भने केही सामग्रीहरु जोड्न बाँकी रहेकाले सेवा सञ्चालनमा आउन सकेको छैन । नमूना गाउँपालिका बनाउने योजनाअनुसार बैंकको स्थापनालाई पहिलो प्रथामिकता दिइएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।रासस
भूकम्प पीडितलाई घर बनाउन ५ बर्से कर्जा
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् । मन्त्रीपरिषद्बाट पारित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार घर बनाउन नसकेका भूकम्प पीडितले निजी आवास निर्माणका लागि अधिकतम पाँच वर्षका लागि ऋण लिन सक्ने छन् । नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने यस्तो कर्जामासम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा दुई प्रतिशत बिन्दु भन्दा बढी नहुनेगरी व्याज लिन पाउनेछन् । यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले यो ब्याज बाहेक अन्य कुनै प्रकारको थप सेवा शुल्क लिन पाउने छ्रैनन् । बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्नेछन् । प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले आर्थिक अभावका कारण घर निर्माण सुरु गर्न नसकेका खासगरी निम्न मध्यम वर्गका लाभग्राहीका लागि सहुलियतपूर्ण कर्जा उपयोगी हुने बताए । “दसैं तिहारपछि निजी आवास निर्माणको मौसम सुरु हुन्छ । यो कर्जाले आर्थिक अभावका कारण घर निर्माण अघि बढाउन नसकेका लाभग्राहीलाई राहत दिनेछ ।”, उनले भने । तर, यस्तो ऋण लिन कार्यविधिले केही सर्त भने राखेको छ । कर्जा प्राप्त गर्न लाभग्राहीले निजी आवास अनुदान बाहेक अन्य संस्थागत अनुदान नलिएको हुनुपर्छ । त्यसैगरी, सम्बन्धित लाभग्राही आर्थिक अभावका कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकेको भूकम्प पीडित मात्र यसका लागि योग्य हुन्छ । साथै, ऋणी वा निजको परिवारको नाममा कुनै पनि स्थानमा बस्नयोग्य घर भएको पनि हुनु हुन्न ।
मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीका कर्मचारीको तलब बढ्ने, धितोपत्र बोर्डले गर्यो हस्तक्षेप
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीका कर्मचारीहरुको तलब स्केल तथा योग्यता तोकेको छ । बोर्डले बुधबार निर्देशन जारी गर्दै मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब स्केल र योग्यता तोकिदिएको हो । यी दुबै संस्थामा कार्यरत कर्मचारीहरुको योग्यता र तलब स्केलमाथी प्रश्न उठेपछि बोर्डले हस्तक्षेप गरेको हो । योग्यता तथा ज्ञान नभएका कर्मचारीबाट काम गराएको र न्युनतम तलब समेत नदिएको आरोप मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीहरुलाई लाग्दै आएको थियो । बोर्डले धितोपत्र व्यवसायीहरुको कर्मचारी सेवा, शर्त तथा सुविधा सम्वन्धी नियवमाली जारी गरेको हो । बोर्डले ४५ दिनभित्र कर्मचारीहरुको योग्यता, तलब लगायतका व्यवस्था कार्यान्वयन गरि बोर्डमा उपलब्ध गराउन निर्देशन दिएको हो । यस्ता छन् नयाँ सुबिधा क) नेपाल सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिक सम्वन्धी कानूनी व्यवस्थाको केन्द्रमा रही योग्यता र विशिष्टताको साथै वित्तीय क्षेत्रमा प्रदान गरिएको औषत सेवा सुविधालाई दृष्टिगत गरी प्रचलित कानूनले तोके बमोजिम न्यूनतम पारिश्रमिक तथा वित्तिय क्षेत्रको औसत किसिमको सेवा सुविधा कर्मचारीहरुलाई उपलब्ध गराउन । ख) संस्थामा कर्मचारीको रुपमा कार्यरत सवैलाई अनिवार्य रुपमा निजहरुको जिम्मेवारी तथा सेवा शर्त खुल्ने गरी नियुक्ति/करार गर्न । ग) कर्मचारी नियुक्ति, योग्यता, जिम्मेवारी, सेवा, शर्त तथा सुविधा सम्वन्धमा कर्मचारी सेवा शर्त विनियमावली तयार गरी लागू गर्न । साथै नेपाल सरकारको निर्णयानुसार मिति २०७५ आषाढ ३२ गतेको राजपत्रमा प्रकाशित सूचनामा उल्लेखित व्यवस्था कार्यान्वयन गर्न वोर्डवाट अनुमतिपत्र/दर्ता प्रमाणपत्र प्राप्त निकायहरुलाई उक्त संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवम् वित्तीय सुविधा वैंक खाता मार्फत अनिवार्य भुक्तानी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन परिपत्र गरिएको छ ।