विकासन्युज

जीवन रेग्मी भन्छन : सुदुरपश्चिमबाट यहाँ आउनु नै मेरो ठुला उपलब्धी

जीवन रेग्मी एसएलसीपछी परिवारसँग बस्न धनगढी झरे। जीवन पेसाले शिक्षक हुन् । अहिले उनी मिस्टर नेपालमा टप १८ मा परेका छन । सुदुरपश्चिम जस्तो ठाउँबाट आफुलाई चिनाउन पाउँदा उनी आफुलाई गर्व महसुस गर्छन्। सुदुरपश्चिमको जीवन कसरी मिस्टर नेपालमा आईपुगे, यही बिषयलाई लिएर बिकासन्युजका लागि डोमी शेर्पाले जीवनसंग गरेको गरेको कुराकानी। मिस्टर नेपालको यात्रा कसरी सुरु भयो ? मलाई यसमा ईन्ट्रेस्ट जागेको आज भन्दा २ बर्ष अगाडिदेखि हो। एकदिन मैले वेबसर्फिङ गर्दा मिस्टर नेपालको पेज लाइक गरेको थिएँ। त्यस पेज हेर्दा मलाई कार्यक्रम एकदमै आकर्षक लाग्यो। उक्त कार्यक्रम  एक्स्पोज नेपाल  संस्थाले चलाएको रहेछ। मैले तुरुन्त त्यहाँ भएको नम्बरमा सम्पर्क गरे। मैले यस बिषयलाई लिएर आफ्नो जिज्ञासा राख्दा काठमाडौं आएको बेला मलाई भेट्नुहोस् भन्नुभयो। म अस्ती भर्खर काठमाडौ आउँदा उहाँलाई भेटे। उहाँसँग मैले भेटेर कुरा गर्दा सर मेरो मोडल जस्तो बडी छैन भन्दा उहाँले जीवन जी यो बडी बिल्डिङ सो होईन, ट्यालेन्ट सो हो भनेर भन्नुभयो। कर्णाली पारी, अथवा पुर्व भन्दा उता पनि मोड्लिङ गर्ने मानिसहरु छन्, क्षमता भएको मानिसहरु छन। उनिहरुले प्लेटफर्म अभावको कारण पनि त्यहीँ थन्किएर बसेका छन्। सुदुरपश्चिममा पनि यस क्षेत्रका साथै धेरै क्षेत्रमा काम लाग्ने योग्य मानिसहरु छन् भनेर प्रमाणित गर्न म यहाँ आएको हो । मिस्टर नेपालको ट्रेनिङमा के के सिकाइन्छन् ? ट्रेनिङमा धेरै कुराहरु सिकाईन्छ। यहाँ र्याम्प वाल्कदेखी लिएर कसरी बोल्न, कसरी आफ्नी शब्दहरु राख्ने, मान्छेको ठुलो जमातलाई कसरी सामना गर्ने , आफुलाई कसरी फिट राख्ने, कसरी आफुलाई राम्रो देखाउने र कसरी पर्सान्यालिटी राम्रो बनाउने कुराहरु यहाँ सिकाइन्छ। मिस्टर नेपाल जित्छु भन्ने आशा कत्तिको छ ? मिस्टर नेपालको टाईटल लिएर जाने ठुलो ईच्छा छ । आफ्नो बेस्ट दिइरहेको छु। अहिले हामी देशभरीबाट फाईनलको लागि १८ जना छौं। काठमाडौँ मात्र नभएर धादिङ, पोखर, दमौलीबाट पनि सहभागीहरु हुनुहुन्छ। सबैजनासँग आ–आफ्नो प्रतिभा रहेको छ। प्रतियोगिता हो सबैलाई जित्छु भन्ने भाव हुन्छ। जित्छु भनेर आएका हुन्छन्। सबैजना हेरौ समयले कत्तिको साथ दिन्छ। तपाइसंग मिस्टर नेपालमा हुनुपर्ने के गुण छ ? मिस्टर नेपाल हुनुका लागि सबैभन्दा पहिला पब्लिक स्पिकिङमा एकदम राम्रो हुन जरुरी रहेछ । किनभने भोली मिस्टर नेपालको टाईटल जितिसकेपछी हामीले आफ्नो देशलाई प्रतिनिधित्व गर्नुपर्ने हुन्छ र मलाई पब्लिक स्पिकिङमा म राम्रो छु जस्तो लाग्छ। म खेलकुदमा र गजलमा पनि रुची राख्ने हुनाले यस टाईटलको हकदार छु जस्तो लाग्छ। म उसु खेलाडी पनि हुँ। मैले ५ बर्षसम्म उसु खेले। छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय मेरो खुट्टा फ्र्याकचर भयो जसको कारणले गर्दा मैले खेल्न पाईन। राम्रोसँग निरन्तरता दिन नपाए पनि म खेलिरहेको हुन्छु। यसबाहेक मलाई फुट्बल,भलिबल पनि खेल्छु। तपाईं आफुले आफुलाई कसरी चिनाउन चाहनुहुन्छ ? मेरो मोड्लिङप्रति रुची एक्कासी २ बर्ष अगाडी आएको हो। देशको लागि केही काम गर्ने अवसर पाईन्छ भन्ने हो। भोली यदी मिस्टर नेपाल बाहिरा जानु पर्‍यो भने आफ्नो राष्ट्रको लागि केही गर्न सकिन्छ। देशका लागि गर्न पाउनु एकदम ठुलो कुरा हो। यही कारणले पनि मेरो रुची यसप्रति बढेको हो। मिस्टर नेपाल जित्नु भएन भने के गर्नुहुन्छ ? टाईटल यदी जितिएन भने ठिकै छ । जीवन सिक्ने प्रक्रिया हो। मैले यहाँ नजिते पनि कम्तीमा पनि यो एक महिनाको अवधीमा कम्तिमा पनि २० २५ जना राम्रो साथी भेट्टाए पहिलो कुरा। धेरै कुरा सिकियो जस्तै र्याम्प वाक। मलाई यसको बारेमा चाँही केही पनि थाहा थिएन। मोडलिङमा चाहिने त्यो रहेछ र अर्को भनेको कन्फिडेण्स लेभल जसको ममा धेरै बिकास भएको छ। सेल्फ ग्रुमिङको धेरै कुरा सिकियो। जे होस् जीवनमा काम लाग्ने धेरै कुरा सिकियो। यही कुरालाई आगामी दिनमा मेरो क्षेत्रबाट यसमा आउनुहुने काउन्सील गर्न सकिन्छ। मैले त्यो चाँही गर्न सक्छु जस्तो लाग्छ। टाईटल नजिते पनि सुदुरपश्चिमबाट आएर यहाँसम्म आईपुग्नु नै मेरो लागि ठुलो कुरा हो। तपाईंलाई अहिले सम्मको जिन्दगीले के सिकाएको छ ? अली दुर्गम ठाउँको मानिसहरु यो त धनगढी बस्छ यसको त घर ठुलो होला है राम्रो होला है भन्छन् । सबै साथीको राम्रो घर हुन्थियो मेरो पनि यस्तै घर भईदिए हुन्थियो जस्तो लाग्थियो मलाई। त्यो समयमा साईकल सबैले चलाऊथे, मैले जस्तोतसो पैसा सबैसँग सापटी मागेर चलाए। त्यसपछी फेरी प्लस टु पढ्न अझै समस्या भयो। कलेज भर्ना गर्दा पैसा पुगेन, सहयोग गर्छु भन्ने साथीले पनि आस मात्रा देखाएर मुख मोडे, तर जसोतसो गरेर अन्त्यमा मैले आफ्नो कलेज भर्ना गरेको थिए। त्यसपछि मलाई पढ्नमा कुनै समस्या भएन, कलेजले मलाई पढ्नमा धेरै सहयोग गरेको छ।

गृहमन्त्री बादल र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले आज शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो । गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरेका छन्। उनले नेपाल–भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधिन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वाश व्यक्त गरेका छन्। भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सास्कृतिक हरेक क्षेत्रमा ऐतिहाँसिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताए। दुई देशको सहकार्यमा निर्माण भईरहेको पेट्रोलियम पदार्थ सम्बन्धी परियोजनाले दुबै देशका लागि फाईदाजनक रहेको टिप्पणी गरे। भेटमा नेपालका लागि भारतीय राजदुत रणजित रायपनि सहभागी थिए।

२ लाख ९६ हजार घरको पुनर्निर्माण सम्पन्न, १४८ अर्ब निजी आवास अनुदान वितरण

काठमाडौं । भूकम्पपछि २ लाख ९६ हजार ५१४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या करिब साढे ३ लाख पुगेको प्राधिकरणको अनुमान छ । दसैं तिहारपछि पुनर्निर्माण भइरहेका घरहरुको काम सम्पन्न हुने र सुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इन्जिनियर सहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न हुने जानकारी दिए । भूकम्पबाट घर क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७२८ छ । त्यसमध्ये ७ लाख १७ हजार ९६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ । २ लाख ६६ हजार ९०४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् । गुनासो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख १० हजार ६९० पुगेको छ । त्यस्तै, प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८९१ पुगेको छ । १४८ अर्ब अनुदान वितरण भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार रुपैयाँ वितरण भएको छ । यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार रुपैयाँ आर्थिक वर्ष २०७२/०७३ मा वितरण भएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २५८ वितरण भएको थियो । त्यसैगरी, २०७४/०७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८०९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको छ ।

६६६ स्थानीय तहमा बैंक पुगे

काठमाडौं । ६६६ स्थानीयत तहमा बैंक पुगेका छन् । संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौसम्म ६६६ स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । केन्द्रीय बैंकबाट इजाजत पाएका बैंक तथा वित्तीय संस्थाहरुको संख्या साउनमा घटेर १५२ पुगेको छ । जस अनुसार गत साउनमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २५ वित्त कम्पनी र ६६ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल ६ हजार ७१४ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

अमलेखगञ्जदेखि भरतपुरसम्म भारतले पेट्रोलियम पाइपलाईन बनाइदिने

काठमाडौं । भारतले अमलेखगञ्जसम्म पेट्रोलियम पाइलाइन पुर्वाधार बनाइदिने भएको छ । नेपाल र भारतका मन्त्रीबीच शुक्रबार काठमाडौंमा भएको द्धिपक्षिय बैठकमा भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानले भरतपुरसम्म पेट्रोलियम पाइपलाइन विस्तारमा सहमति जनाएका हुन् । रक्सौलदेखि अमलेखगञ्जसम्म ३९ किलोमिटर लामो पाइपलाइन बिच्छाउने काम जारी रहेका बेला भारतले चितवनसम्म पाइपलाइन विस्तार गर्न सहमति जनाएको हो । नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेतृत्व गरेका थिए । भेटवार्तामा भारतबाट ग्याँस पनि पाइपलाइनबाटै नेपाल ल्याउने सहमति भएको छ । भारतीय पक्षले गरेको अध्यायन प्रतिवेदन समेत नेपाललाई बुझाएको छ । यसैगरी नेपालको ५३ वटा ग्याँस बुलेट टर्मिनलसम्म गएर ग्याँस ल्याउन पाउने सहमति भएको छ । पेट्रोलियम पाइपलाइन विस्तार को विषयमा औपचारिक सहमति हुन बाँकी छ । कार्यवाहाक प्रधानमन्त्री ईश्वर पोखरेल र भारतीयमन्त्री प्रधानबीच शुक्रबार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने मन्त्री प्रधानले जानकारी गराएका थिए ।

कलंकी–नागढुंगा सडक खुल्यो, स्थानीयबासिन्दा र नगरपालिकाबीच वार्ता सुरु

काठमाडौं । स्थानीयबासिन्दाको आन्दोलनले बिहान ९ बजेबाट बन्द कलंकी नागढुंगा सडक खुलेको छ । वार्ता गर्ने सहमतिपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् । चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष उत्तमबहादुर राउतले वार्ता सुरु भएको जानकारी दिए । “स्थानीयले स्वस्च्छ वातावारणमा स्वाश फेर्न पाँउ भनेका हुन, हाम्रो भरखरै वार्ता सुरुभएको छ” उनले भने । कलंकी नागढुंगा सडक खण्डमा स्थानीयबासिन्दाले तत्काल सडक मर्मत गर्न माग गर्दै आएका थिए । स्थानीयको आन्दोलनका कारण कलंकी नागढुंगा सडक खण्ड २ घन्टा अवरुद्ध भएको थियो । स्थानीय बासिन्दाको आन्दोलनका कारण सैयौं सवारी साधन २ घन्टासम्म बीच बाटोमै रोकिएका थिए । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सडक मर्मतको जिम्मा दिएमा ३ महिना भित्र पुरा गर्ने बताए।’ “जनताले आफ्नो स्वास्थ्य बिग्रीएका कारणले आन्दोलन गरेका हुन” गिरीले भने “हामीले गृहमन्त्रीलाई पनि ज्ञापन पत्र बझाई सकेका छौँ । सडक विभाग र डेकदारसँग पनि बसेर बेलाबेलाम सल्लाह गरिरहेका छौँ । तर बाटोको अवस्था उस्तै छ ।” ढुंङेअड्डाका बासिन्दाले बिग्रिएको सडक मर्मतको प्रतिवद्धता जनाउन ठेकेदार आफैं वा सडक विभागका कर्मचारी आउनुपर्ने माग पनि गरेका छन । तर दुई निकायले एकअर्कालाई देखाउँदै पन्छिएपछि ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो । १२.४८ किलोमिटर लामो कलंकी नागढुंगा सडक खण्डमा दर्जनौं मुद्धा परेको थियो । २०७४ साल असोजमा सर्वोच्च अदालतले पहिले मुआब्जा वितरण गरेर मात्रै सडक विस्तार आदेश दिएको थियो । तर सरकारले उपत्याकाभरी ५१ अर्ब रुपैंया मुअब्जा वितरण गर्नुपर्ने भएपछि न्यायधीशहरुकै विरुद्धमा जाने सरकारले तयारी गरेको छ । सरकारले यथास्थीतीमै सडक पिच भने गर्न सक्नेछ । त्रिपुरेश्वर कलंकी नागढुंगा सडक खण्डमा ५७० वटा घर भत्काउन बाँकी छ भने ३१२ वटा बिजुलीको पोल, १७२ वटा टेलिकमको पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, २७ वटा ट्रान्सफर्मर, १५ वटा टेलिफोन म्यान होल र एक वटा पानी ट्यांकीको अवरोध रहेको छ । सडक विस्तारको काम सुरु भएको ३ वर्ष बित्न लाग्दालाई पनि काम सकिएको छैन । सडकमा खाल्डा खुल्डी पर्दा धुलोले स्थानीय वासिन्दा र यात्रुले भने सास्ती खेप्दै आइरहेका छन् ।

त्रिभुवन बिश्वबिद्यालय उत्कृष्ट १००० बिश्वबिद्यालयमा पर्न सफल

काठमाडौं। त्रिभुवन विश्वबिद्यालय उत्कृष्ट १००० बिश्वबिद्यालयमा पर्न सफल भएको छ । लामो समय देखि विश्वबिद्यालयको बरियता सम्बन्धि काम गर्दै आएको बेलायतको ‘टाइम्स हाइआर एजुकेसन’ पत्रिकाको उत्कृष्ट १ हजार २ सय ५० विश्व विद्यालयहरुको सूचीमा त्रिभुवन विश्वबिद्यालय १००० नम्बर भित्र पहिलो पटक अटाउन सफल भएको हो । बिद्यार्थी, क्याम्पस तथा बिषय संख्या, नतिजा लगायत बिभिन्न १३ ओटा मापन बिधि प्रयोग गरि सो बरियता सार्बजनिक गरिएको हो । बरियताको पहिलो नम्बरमा भने बेलायतको अक्सफोर्ड बिश्वबिद्यालय रहेको छ । अक्सफोर्ड बिश्वबिद्यालय गत बर्ष पनि पहिलो नम्बरमा रहन सफल भएको थियो । यस्तै बेलायतको क्याम्ब्रिज बिश्वबिद्यालय दोश्रो तथा अमेरिकाको स्टानफोर्ड बिश्वबिद्यालय तेस्रो नम्बरमा रहका छन् । सोहि पत्रिकाले सार्बजनिक गरेको उत्कृष्ट १० विश्वबिद्यालयको सूची तल दिइएको छ । श्रोत – मेरो स्टडी

नेपालको अर्थतन्त्र २४ अर्ब ७७ करोड घाटामा, आयात बढ्नु मुल कारण

काठमाडौं । आयात उच्च वृद्धि भएपछि चालु आर्थिक वर्षको पहिलो माहिनामा मुलुकको शोधानान्तर घाटा भएको छ । गत साउनमा मात्रै २४ अर्ब ७७ करोड रुपैयाँ शोधानान्तर घाटा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले शुक्रबार चालु आर्थिक वर्षको पहिलो माहिनामो परिदृष्य सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अघिल्लो वर्षको पहिलो महिनामा ३ अर्ब २९ करोडले शोधानान्तर घाटामा थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २९ करोड ५७ लाख रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ६७ करोड ४७ लाख र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६१ करोड रुपैयाँ थियो । आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई २५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो घाटा ५ अर्ब ९८ करोड रुपैयाँ मात्र थियो । अमेरिकी डलरको आधारमा अघिल्लो वर्षको पहिलो महिना अमेरिकी डलर ५ करोड ८३ लाख रहेको चालु खाता घाटा समीक्षा महिनामा अमेरिकी डलर २३ करोड ४ लाख पुगेको छ । विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ । कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । साउनमा ०.९ प्रतिशतले कमी आई १० खर्ब ९२ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ । सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।