कलंकी-नागढुंगा सडकमा स्थानीय आन्दोलित, सयौं सवारीसाधन रोकिए
काठमाडौं । कलंकी नागढुंगा सडक खण्डमा स्थानीय बासिन्दाले आन्दोलन गरेका छन् । स्थानीय बासिन्दाको आन्दोलनका कारण कलंकी नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ । स्थानीय बासिन्दाको आन्दोलनका कारण सैयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । स्थानीयहरुले तत्काल सडक मर्मत गर्न माग गर्दै आन्दोलन गरेका छन् । ढुंगेअड्डाका स्थानीयले सडक अवरुद्ध गरेपछि सतुंगल क्षेत्रमा पनि आन्दोलन उठेको छ । कलंकी ट्राफिक पोष्टका इन्सपेक्टर बिमल थापाले एक घण्टादेखि सडक अवरुद्ध रहेको र स्थानीय बासिन्दासँग वार्ताको प्रयास भैरहेको जानकारी दिए । १२.४८ किलोमिटर लामो कलंकी नागढुंगा सडक खण्डमा दर्जनौं मुद्धा परेको थियो । २०७४ साल असोजमा सर्वोच्च अदालतले सडक विस्तारका सवालमा महत्वपुर्ण फैसला गरेर पुर्णपाठ पनि आईसकेको छ । सर्वोच्चको फैसला कायम गर्नको लागि सरकारले पहिले मुअब्जा वितरण गरेर मात्रै सडक विस्तार गर्न सक्छ । तर सरकारले उपत्याकाभरी ५१ अर्ब रुपैंया मुअब्जा वितरण गर्नुपर्ने भएपछि न्यायधिसहरुकै विरुद्धमा जाने सरकारले तयारी गरेको छ । सरकारले यथास्थीतीमै सडक पिच भने गर्न सक्नेछ । त्रिपुरेश्वर कलंकी नागढुंगा सडक खण्डमा ५७० वटा घर भत्काउन बाँकी छ भने ३१२ वटा विजुलीको पोल, १७२ वटा टेलिकमको पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, २७ वटा ट्रान्सफर्मर, १५ वटा टेलिफोन म्यान होल र एक वटा पानी ट्यांकीको अवरोध रहेको छ । सडक विस्तारको काम सुरु भएको ३ वर्ष बित्न लाग्दालाई पनि काम सकिएको छैन । सडकमा खाल्डा खुल्डी पर्दा धुलोले स्थानीय वासिन्दा र यात्रुले भने सास्ती खेप्दै आइरहेका छन् ।
एक रुपैयाँ खर्च नगरी मलेशियामा काम गर्न जान पाइने
काठमाडौं । नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ ।छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउने भएको छ । कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी/मुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारीको अवसर प्रदान गर्ने विषयलाई पनि नेपालले जोड दिनेछ । यसैगरी कामदारको सामाजिक सुरक्षा, न्यूनतम् सेवा सुविधा, २४ घण्टे बीमा, स्वास्थ्योपचारलगायत मुद्दा पनि छलफलका क्रममा नेपालले उठान गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए । प्रतिनिधिमण्डलले मलेशियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरी दुईदेशबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुट्न बाँकी रहेका विषयमा सहमति जुटाउने बताइएको छ । नेपाल र मलेशियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयु) को खाका तीन पटकसम्म आदानप्रदान भइसके पनि सम्झौताको केही बुँदामा सहमति जुट्न नसकेपछि गम्भीर छलफलका लागि बुधबार नेपालबाट टोली मलेशिया गएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एशिया मामिला महाशाखाका प्रमुख तापस अधिकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कवीन्द्र नेपाल सहभागी छन्। मलेशिया जाने नेपाली कामदारसँग विभिन्न एजेन्सीका नाममा अवैध शुल्क लिएको भन्दै नेपाल सरकारले रोजगारीका लागि मलेशिया जान रोक लगाएको थियो । चार महिनादेखि मलेशियाका लागि श्रमिक आपूर्ति ठप्प भएको छ । सरकारले विभिन्न एजेन्सीका नाममा नेपाली कामदार ठगीमा पर्दै आएको भन्दै नेपालका तर्फबाट ती एजेन्सी खारेजी गरिदिएको थियो । नेपाल र मलेशियाबीच १७ वर्षदेखि श्रम सम्बन्ध रहे पनि अहिलेसम्म दुई मुलुकबीच श्रम सम्झौता हुन सकेको छैन । दुई मुलुकबीच पटकपटक श्रम सम्झौताको प्रयास भए पनि अहिलेसम्म त्यसले मूर्त रुप पाउन सकेको छैन । रासस
स्टक ब्रोकर एसोसियसनमा उपाध्यक्षसहित ८ पदमा निर्विरोध, अध्यक्षको निर्वाचन शुक्रबार
काठमाडौं । स्टक बोकर एसोसियसन अफ नेपालको नयाँ कार्यसमितिका लागि अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा कोहिनूर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका भरत रानाभाट र भिजन सेक्युरिटिजका राजकुमार तिमल्सिनाको उम्मेदवारी परेको छ । एसोसियसनको उपाध्यक्षमा त्रिशत्ति सेक्युरिटिजका टंकप्रसाद गौतम, महासचिवमा स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा, सचिवमा सनि सेक्युरिटजका सन्तोष पौडेल र कोषाध्यक्षमा आर्यतार इन्भेष्टमेन्टका गुणनिधि भुसाल निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा निभ सेक्युरिटिजकी सजिला अर्याल, सुनधारा सेक्युरिटजका फडिन्द्र ढकाल,भृकुटी स्टकका सन्दीप चाचन र ओपल सेक्युरिटजका सुमन गौतम निर्विरोध चयन भएको एसोसियसनले जनाएको छ । अध्यक्षका लागि शुक्रबार निर्वाचन हुने छ । अध्यक्षका प्रत्यासी रानाभाटले उम्मेदवारी फिर्ता लिने संभावना रहेको स्रोतको भनाई छ ।
नेपाल क्यान्सर अस्पताल र लायन्स क्लब मिलेर क्यान्सर बिरुद्द लड्दै
नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १, एम. डि ३२५ नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। विश्वमै फैलिएको डरलाग्दो क्यान्सर रोगका कारण हजारौं मानिसहरु मृत्युवरण गरिरहेका छन् । अझ हाम्रो जस्तो अविकसित मूलुकमा अशिक्षा, गरीवि, कुसंस्कार र यस सम्बन्धी चेतना, औषधि उपचार र अन्यश्रोत साधनका अभावका कारण वर्षेनि हजारौं मानिसले ज्यान गुमाएका छन् भने परिवारका सदस्यहरुले झन कष्टदायी जिवन विताउन बाध्य छन् । आर्थिक अभाव र मानसिक तनावले रोगीहरुलाई असर परिरहेको परिप्रेक्षमा विश्वमा नै रोगीलाई आत्माविस्वास दिलाउदै उपचार गर्ने प्रचलनले आज धैरे हद सम्म रोगीको आयु लम्ब्याउन सफल भएको छ । नेपालमा पनि उपचारसंग—संगै रोगी र उसको परिवारलाई विश्वास दिलाउदै रोगीको उपचारमा रेखदेख गर्दै आत्माविश्वासका साथ बांच्न सिकाउदै रोग विरुद्ध लड्न संजालमा आबद्ध गर्दै सबै प्रकारका क्यान्सरका रोगीहरु र उनिहरुका परिवार समेत समावेस गरि डाक्टर, बुद्धिजिवी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत नागरिक समाजका सवै वर्ग समेत सामेल भई रोग नियन्त्रण भईसकेकालाई आत्माविश्वासका साथ बांच्न सिकाउने र रोग पत्ता लागि सकेका असहाय विरामीहरुलाई सकेको सहयोग गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबको बिचमा सम्झौता भएको छ। नेपालमा दिनानुदिन बढ्दै गैरहेको क्यान्सर रोगको व्यवस्थापनका लागि विभिन्न अस्पताल, क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठन संग भैरहेको सम्झौताहरुको सिलसिलामा क्यान्सर हस्पिटल र लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १, एम। डि। ३२५ नेपाल बीच असोज ११ गतेका दिन सम्झौता भएको छ। नेपाल क्यान्सर हस्पिटलका तर्फबाट हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिपश्रेष्ठ र लायन्स क्लबका तर्फबाट लायन अशोक कुमार श्रेष्ठद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो। दुवै संगठनले नेपालक्यान्सर रोगको रोकथाम, निदान, र उपचारका लागि आ-आफ्नो संगठनात्मक संरचानाबाट एक आपसलाई सहयोग गर्ने संझौता गरेका छन्। यस सम्झौतामा क्यान्सर निवारण, क्यान्सर उपचार कोष स्थापना, प्रशिक्षण तथाशोध र प्रबिधि हस्तान्तरण आदिका बुँदा रहेका छन्। सम्झौतामा नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबका बीच विभिन्न समयमा क्यान्सर जांचशिविर तथा सचेतनाकक्षा संचालन गर्ने, लायन्स क्लब ३२५ बी १ का सदस्यहरुलाई विशेष छुट प्रदान गर्ने निर्णय भएको छ। सम्झौता अनुसार नेपाल क्यान्सर हस्पिटलले लायन्स क्लब ३२५ बी १ का सदस्य, जीवनसाथी र दुइ सन्तानलाई रेडियोलोजी, प्याथोलोजी र बेडमा १० प्रतिशत, रेडियोथेरापी र ब्राकी थेरापीमा ५ प्रतिशत र हस्पिटलले प्रदानगर्ने क्यान्सर स्क्रिनिंग सेवामा दस प्रतिशत छुट प्रदान गर्ने भएको छ।
घुस लिदालिदै प्रहरी नायब निरीक्षक गोविन्द खरेल अख्तियारको फन्दामा
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा आज प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो । आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा आज थप पक्राउ गरिएको हो । आरोपी खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले आजै कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिष्टारद्धय धर्मराज रोकाय र गङ्गाधर पौडेललाई पक्राउ गरेको छ । आयोगका अनुसार शङ्कर इलेक्ट्रिकल इण्डष्ट्रिजका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको भन्ने उजुरीका आधारमा आयोगले बबरमहलबाट पक्राउ गरेको हो । रासस
६० दिनपछि मेलम्चीको पानी राजधानीमा
काठमाडौ । उपत्यकावासीले २ महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए। कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसकेका छन् । सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो । काम सकिएसँगै उपत्यकावासीले सहजरुपमा खानेपानी पाउने छन् । दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ । “मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हुँदैछ”, आयोजनका प्रमुख कँडेलले भने, “पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ ।” सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा मेलम्ची खानेपानीका विषयको छलफलमा समितिका सांसदलाई आयोजना प्रमुखले सो कुरा बताएका हुन्। बैठकमा सांसद खिमलाल भट्टराई, धन खतिवडा, रामप्रीत पासवान, कोमल ओलीलगायतले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ र उपत्यकावासीले सहज रुपमा खानेपानी खान पाउँछन् भन्ने प्रश्न सोधेका थिए । रासस
प्रभु इन्स्योरेन्सको दुई नयाँ शाखा बिस्तार
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि दुई उप–शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटा उप–शाखा तथा अछाम उप–शाखाको एकै साथ कारोबार सुरु गरेको छ। नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ। धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोपबहादुर रावलले अछाम उप–शाखा कार्यालयको उद्घाटन गरेका थिए । ए
स्टक क्लियरेन्स मेला सुरु, दशैंका लागि एकै छानामुनी सस्तो मूल्यमा सामान
काठमाडौं। दशैंका लागि आवश्यक सामग्री एकै छानामुनी सस्तोमा धेरै किसिमका सामान किन्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्धेश्यले मेला सुरु भएको हो । एकै छानामुनी स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवा उपलब्ध गराउन इभेण्ट सोलुसनले मेलाको सञ्चालन गरेको हो । मेलालाई नेपाल चेम्बर अफ कमर्शले प्रवद्र्धन गरेको छ । मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने गरेको बताए । मेला तथा एक्स्पो आयोजना हुने क्रम बढ्दै गए पनि ठुलो प्रदर्शनी स्थलको अभावले समस्या हुने गरेको उनको भनाई थियो । सरकारले जग्गा मात्र उपलब्ध गराएको खण्डमा आफुहरु प्रदर्शनी स्थल तयार गर्न अग्रसर हुने उनले बताए । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । ५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । मेला असोज १५ गते सम्म चल्ने छ ।