काठमाडौं । कलंकी नागढुंगा सडक खण्डमा स्थानीय बासिन्दाले आन्दोलन गरेका छन् । स्थानीय बासिन्दाको आन्दोलनका कारण कलंकी नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ । स्थानीय बासिन्दाको आन्दोलनका कारण सैयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
स्थानीयहरुले तत्काल सडक मर्मत गर्न माग गर्दै आन्दोलन गरेका छन् । ढुंगेअड्डाका स्थानीयले सडक अवरुद्ध गरेपछि सतुंगल क्षेत्रमा पनि आन्दोलन उठेको छ । कलंकी ट्राफिक पोष्टका इन्सपेक्टर बिमल थापाले एक घण्टादेखि सडक अवरुद्ध रहेको र स्थानीय बासिन्दासँग वार्ताको प्रयास भैरहेको जानकारी दिए ।
१२.४८ किलोमिटर लामो कलंकी नागढुंगा सडक खण्डमा दर्जनौं मुद्धा परेको थियो । २०७४ साल असोजमा सर्वोच्च अदालतले सडक विस्तारका सवालमा महत्वपुर्ण फैसला गरेर पुर्णपाठ पनि आईसकेको छ । सर्वोच्चको फैसला कायम गर्नको लागि सरकारले पहिले मुअब्जा वितरण गरेर मात्रै सडक विस्तार गर्न सक्छ ।
तर सरकारले उपत्याकाभरी ५१ अर्ब रुपैंया मुअब्जा वितरण गर्नुपर्ने भएपछि न्यायधिसहरुकै विरुद्धमा जाने सरकारले तयारी गरेको छ । सरकारले यथास्थीतीमै सडक पिच भने गर्न सक्नेछ ।
त्रिपुरेश्वर कलंकी नागढुंगा सडक खण्डमा ५७० वटा घर भत्काउन बाँकी छ भने ३१२ वटा विजुलीको पोल, १७२ वटा टेलिकमको पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, २७ वटा ट्रान्सफर्मर, १५ वटा टेलिफोन म्यान होल र एक वटा पानी ट्यांकीको अवरोध रहेको छ ।
सडक विस्तारको काम सुरु भएको ३ वर्ष बित्न लाग्दालाई पनि काम सकिएको छैन । सडकमा खाल्डा खुल्डी पर्दा धुलोले स्थानीय वासिन्दा र यात्रुले भने सास्ती खेप्दै आइरहेका छन् ।