
काठमाडौं । भूकम्पपछि २ लाख ९६ हजार ५१४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या करिब साढे ३ लाख पुगेको प्राधिकरणको अनुमान छ । दसैं तिहारपछि पुनर्निर्माण भइरहेका घरहरुको काम सम्पन्न हुने र सुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इन्जिनियर सहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न हुने जानकारी दिए ।
भूकम्पबाट घर क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७२८ छ । त्यसमध्ये ७ लाख १७ हजार ९६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ । २ लाख ६६ हजार ९०४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् ।
गुनासो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख १० हजार ६९० पुगेको छ । त्यस्तै, प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८९१ पुगेको छ ।
१४८ अर्ब अनुदान वितरण
भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार रुपैयाँ वितरण भएको छ । यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार रुपैयाँ आर्थिक वर्ष २०७२/०७३ मा वितरण भएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २५८ वितरण भएको थियो । त्यसैगरी, २०७४/०७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८०९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भएको प्राधिकरणले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको छ ।