विकासन्युज

५७.३ मेगावाटको म्याग्दी खोला परियोजना बन्दै, १० अर्ब लगानी

काठमाडौं। हाइड्रो भिलेज प्राइभेट लिमिटेडले निर्माण गर्ने म्याग्दी खोला हाइडो पावर परियोजनाबाट उत्पादन गर्ने विजुली खरिद विक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसिंह घिसिंग र म्याग्दी खोला हाइड्रो पावरका अध्यक्ष रामेश्वर थापाले हस्ताक्षर गरे । म्याग्दी जिल्लामा बन्ने ५७.३ मेगावाटको परियोजना १० अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाले सन् २०२३ मा विद्युतको ब्यवसायिक उत्पादन सुरु गर्ने लक्ष लिएको छ । ‘जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि समयमै परियोजना पूरा गर्न हामी प्रतिवद्ध छौं,’ आयोजनाका अध्यक्ष थापाले भने । परियोजनाका प्रबन्ध निर्देशक सुशिल पोखरलले आयोजनामा लगानी हुने ३० प्रतिशत रकम प्रत्यक्ष बैदेशिक लगानीबाट जुटाइने जानकारी दिए । अरु ७० प्रतिशत विभिन्न बैंकबाट ऋण लिएर लगानी गरिने छ । ‘अहिले हामी परियोजनालाई जोड्ने २४ किलोमिटर लामो पहुँच मार्ग निर्माणको तयारी गरिरहेका छौं,’ पोखरेलले भने, ‘आयोजनाको काम सुरु गरेको साढे ३ वर्षभित्रै विद्युत उत्पादन गर्ने गरी हामी काम अगाडि बढाउनेछौं ।’ परियोजनाले जारी गरेको विज्ञप्ति अनुसार यस आयोजनाले सुख्खा याममा १०३.११ गिगावाट आवर र बर्षामा २३२.८८ गिगावाट आवर गरी बार्षिक औषत ३३५.९९ गिगावाट आवर विद्युत उत्पादन गर्ने छ । उत्पादित विजुली प्राधिकरणले बर्षातमा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा खरिद गर्ने छ । धवलागिरी हिमालको आधारमा रहेको नदी प्रवाही (आरओआर) आयोजनाबाट उत्पादित विजुली आयोजनास्थलदेखि १७ किलोमिटर दूरीमा प्राधिकरणले निर्माण गर्ने कालीगण्डकी कोरिडोरको १३२ केभी डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।

ओयोले गर्‍यो पोखरा प्रिमियर लिगको आतिथ्य साझेदारी घोषणा

काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबैभन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । साझेदारको रुपमा ओयोले लिगमा भागलिने खेलाडिहरु र लिग मेम्बरका लागी बस्ने सुविधा प्रदान गर्ने छ । काठमाडौं रोयल, पोखरा पल्टन्स, चितवन राइनोज, बुटवल ब्लास्टर, बिराटनगर टाइटान्स र धनगढी ब्लुज कार्तिक ९ गते देखि सुरु हुने उक्त पोखरा प्रिमियर लिगमा सहभागी हुनेछन् । ज्ञापन पत्रमा हस्ताक्षर ओयोका नेपाल प्रमुख निशिद्ध हलानी तथा क्विन्स इभेंट म्यानेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाद्वारा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का तथा नेपाल हेड कोच जगत बहादुर तमट्टाको उपस्थितिमा रोयल एम्पायर बुटिक होटलमा भएको हो । कार्तिक ७ देखी खेलाडीहरू खेलमैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका बेला खेलको मज्जालिन फ्यानहरूले सजिलै ओयो होटलमा ५०% छुटमा रुम बुक गर्नसक्नेछन् । निशिद्धहलानीले भने, ‘पोखरा प्रिमियर लिगको आधिकारीक आतिथ्य साझेदारको रुपमा हामी सबै लिगसँग सम्बन्धित सबै फ्यानहरुका लागि आरामदायी तथा विश्वसनिय बसाइँको अनुभुति प्रदान गर्नेछौ । फ्यानहरूले आफ्नो टिमको खेल हेर्दै मनोरन्जन लिन सक्नेछन्।’

फास्ट ट्रयाक र एयरपोर्टसँगै वीरगञ्ज-काठमाडौं रेलमार्ग पनि निजगढमै

काठमाडौं । वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्ग पनि निजगढ हुँदै काठमाडौं आउने भएको छ । रेल विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्गलाई जितपुरबाट सिमरा एयरपोर्ट हुँदै निजगढ ल्याउन लागेको हो । हाल भारत सरकारले यो रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिरहेको छ । ‘पर्सावन्यजन्तु राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज काठमाडौं रेलमार्गलाई जितपुरबाट निजगढ ल्याउन लागेका हौं, फास्ट ट्रयाक आसपासबाटै त्यसको अलाइनमेन्ट बन्न सक्छ’, रेल विभागका महानिर्देशक बलराम मिश्रले विकासन्युजसँग भने । सो रेलमार्ग काठमाडौंको चोभारमा जोडिनेछ । यस अघि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि वीरगञ्ज काठमाडौं रेलमार्ग र फास्ट ट्रयाक दुबैलाई चोभारमा जोड्ने बताएका थिए । ‘फास्ट ट्रयाकलाई चोभार जोड्ने व्यवस्था मिलाउन भनिसकिएको छ, भविष्यमा निर्माण हुने वीरगञ्ज–काठमाडौं रेलमार्गलाई पनि चोभारमै जोड्ने गरि अध्ययन अघि बढाउन भनिसकेका छौं’, मन्त्री खतिवडाले भनेका थिए । वीरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग भारत सरकारले अनुदानमै निर्माण गरिदिने आश्वासन दिएको छ । १०० किलोमिटर भन्दा कम दुरीको हुने अनुमान गरिएको वीरगञ्ज काठमाडौं विद्युतिय रेलमार्गलाई कार्गो बोक्ने क्षमतामा निर्माण गरिनेछ । केरुङबाट काठमाडौं आउने रेलमार्ग टोखामा आउनेछ । सो रेललाई पनि चोभारसम्म पुर्याएर चीन र भारतीय रेलवे नेटवर्कलाई जोडिने महानिर्देशक मिश्रले बताए । विभागले पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जका कारण सिमरादेखि नवलपरासीको तम्सरियासम्मको रेलवे लिंकका लागि नयाँ डीपीआर बनाउने तयारी पनि थालेको छ ।

पर्वत र वाग्लुङ जोड्ने नेपालकै लामो पुलको निर्माण सुरु

पर्वत । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ ।पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो । बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ्गको अदुवाबारी जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए।पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले शुक्रबार गरेको नाप जाँचका क्रममा पुल निर्माण प्राविधिक दृष्टिले सम्पन्न गर्न सकिने इञ्जिनियर हुमानाथ मिश्रले जानकारी दिए । विसं २०५९ देखि पुल निर्माणका लागि विभिन्न चरणमा छलफल, बहस र नाप जाँच भए पनि लट्ठा तान्ने प्रविधि नेपालमा नभएका कारण काम अघि बढ्न सकेको थिएन । कुश्मा र बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि पुल निर्माणका लागि केन्द्रीय तहमा पहल भएको थियो । पुल निर्माणका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद पदम गिरीको पनि विशेष पहलमा प्राविधिक टोलीले पुल निर्माणको सम्भाव्यता अध्ययन गरेको हो । चाइनिज प्रविधिको लट्ठा तान्ने मेसिन भित्रिएपछि शहीद पार्कदेखि आदुवाबारीसम्म पुल निर्माण गर्न सकिने इञ्जिनियर मिश्रले जानकारी दिए। विस्तृत सर्वेक्षणबाट पुलको लम्बाइ करीब ५६७ मिटर हुनेछ भने उचाइ १६० मिटर हुने भएको छ । यो अहिलेसम्म पर्वतका निर्माण भएका चारवटै पुलभन्दा पनि अग्लो हुने भएको छ । कालीगण्डकी नदीमाथि निर्माण हुने उक्त पुललाई बागलुङ बजारको व्यावसायिक भविष्यसँग जोडेर हेर्ने गरिएको छ । पुल निर्माण भएपछि कुश्मा नगरपालिका–१ पाङ्ग, २ खुर्कोट, जलजला गाउँपालिका–९ बनौ र ८ नाङलिवाङका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । यि क्षेत्रका बासिन्दाको आर्थिक तथा व्यावसायिक कारोबार बढी मात्रामा बागलुङ बजारमै हुँदै आएको छ । रासस

अमेरिकासंग व्यापार लडाइ भएपछि मौद्रिक नीतिमा परिमार्जन गर्दै चीन

बेइजिङ । चीन– अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ । युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बैंक अफ चाइनाले बताएको छ । केन्द्रीय बैंकको तेस्रो त्रैमासिक मौद्रिक नीतिबारे भएको छलफलपछि चीनको उक्त भनाई सार्वजनिक भएको राज्य सञ्चालित सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ । चीनको कर्जा वृद्धिबारे व्यापक चेतावनी आइरहेका समय केन्द्रीय बैंकले चीनले कर्जा सङ्कलनमा तर्कसङ्गत वृद्धि रहेको र वित्तीय सुधारलाई निरन्तरता दिने बताएको हो । चीनले अमेरिकासँग व्यापार विवादकाबीच अघि बढिरहेको छ । चीनले यसै हप्ताको शुरुदेखि लागु हुनेगरी अमेरिकाले चिनियाँ सामानमाथि गरेको दुई खर्ब अमेरिकी डलर बराबरको करवृद्धिले ल्याएको तरङ्गलाई चुनौति दिँदै अमेरिकाबाट चिनियाँ भूमिमा आयात हुने ६० अर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धिको घोषणा गरेको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले गत हप्ता व्यापार विवादका कारण व्यापक समस्याको सामना गरिरहेको र यसका कारण आर्थिक वृद्धिमा केही शिथिलता देखिएको स्वीकार गरेका थिए । तर उनले समस्या निराकरण गर्ने चीनसँग क्षमता रहेको बताए । विश्लेषकहरूले युआनको तीव्र अवमुल्यनले चीनको निर्यात सस्तो बनाएको बताएका छन् । तर चिनियाँ अधिकारीहरूले आफ्नो मुद्रा अवमुल्यनबारे लगाएको उक्त आरोपको खण्डन गरेका छन् । अहिलेसम्म २ खर्ब ५० करोड अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गरेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अर्को २ खर्ब ६७ करोड अमेरिकी डलरको चिनियाँ सामानमाथिको कर लगाउने चेतावनी दिएका छन्् । यसबाट अमेरिका निर्यात हुने प्राय सबै चिनियाँ सामानमा प्रभाव पर्ने अमेरिकी अधिकारीहरूको दावी छ । चीनले संरक्षणवादी अमेरिकी व्यापार नीतिविरुद्ध सङ्घर्ष गर्दै गत बर्ष १ खर्ब ३० करोड अमेरिकी सामान मात्र खरिद गरेको थियो । चीनले अहिलेसम्म अमेरिकी १ खर्ब १० करोड अमेरिकी डलर बराबरको सामानमा कर वृद्धिको गरेको छ । रासस

४२ मेगावाटको मिस्त्रीखोला आयोजनामा स्थानीयबासिन्दाको अवरोध, निमार्ण बन्द

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् ।सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् । आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिए । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ । पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागलाई आयोजनाले बेवास्ता गरेकाले बाध्य भएर काम बन्द गराउनु परेको पुनले बताए ।वडाध्यक्ष चन्द्रप्रकाश फगामीले स्थानीयवासीको माग सम्बोधन गराउन पहल गरे पनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको बताए । आयोजनाको सुरुङ निर्माणका क्रममा खानेपानीका मुहान सुकेको स्थानीयवासीले बताएका छन् । पानी निस्किएपछि आयोजनाको सुरुङ निर्माणको कामसमेत प्रभावित बनेको छ । सन् २०१६ को जुन १३ देखि निर्माण शुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानको काम ६० प्रतिशतभन्दा बढी सकिएको छ । नारच्याङको नीलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध, २ हजार २८८ मिटर सुरुङ, १ हजार ५०० मिटर पेनस्टक पाइप र बेँशीगाउँस्थित कालीगण्डकीको बायाँ किनारमा विद्युत्गृह रहेको छ । नारच्याङ बेँशीगाउँदेखि बाँधसम्मपुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजनाको ५ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । रासस

नर्भिक हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बनाउने घोषणा, १०० शैयायुक्त छुट्टै भवन बन्दै

काठमाडौं । बसन्तकुमार चौधरीले नर्भिक इन्टरनेशनल हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै सर्वेत्कृष्ट मध्येको एक बनाउने घोषण गरेका छन् । नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले विश्व मुटु दिवस २०१८ समारोहलाई सम्बोधन गर्ने उक्त घोषणा गरेका हुन् । उनले तत्काल १०० शैयासहितको एक लाख वर्गफिटको नयाँ भवन बनाउने पनि घोषणा गरेका छन् । सो सँगै नर्भिकले छिट्टै अति विशिष्ट क्रायो सेवा लगायत छुट्टै कोलो–रेक्टल शल्यक्रिया सेवा पनि सुरु गर्ने भएको छ । समारोहमा विकट स्थानहरुमा र आपतकालीन अवस्थामा प्रयोग हुने हेली रेस्क्यु टोली गठनको जानकारी समेत गराइएको थियो । समारोहका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री डा.  सुरेन्द्र यादवले नेपाली स्वास्थ्य सेवाका क्षेत्रमा परिवर्तन आवश्यक भएको, सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरु निजीमा पनि विस्तार गनुपर्ने र नेपाली स्वास्थ्य सेवाको स्तरलाई उकास्न निजी क्षेत्रका हस्पिटलहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यक रहेको बताए । नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ । विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारिखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ दशकलाई स्पर्श गर्न गइरहेको छ । विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहि आएको छ । सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ पनि मानिसहरु यसको चपेटामा पर्दै आएका छन् र मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् । विकासोन्मुख राष्ट्रहरूमा हाल विश्वमा १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् । विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ । यस वर्षको विश्व मुटु दिवसको नारा “मेरो मुटुः तपाईको मुटु ” रहेको छ । यसले मानव जीवनका लागि मुटुको महत्व कति छ भन्ने दर्साउँछ । नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल लगाएतका वक्ताहरुले मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रा. डा. भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै “इन्टेन्सिभ केयर स्पेशलिष्ट” को सेवा थप्ने, चिकित्सा सेवामा चिकित्सकहरूको समूहगत दृष्टिकोण अपनाइने र बिरामीको समग्र व्यवस्थापनका लागि एकै स्थानमा सम्पूर्ण समाधान दिइने रणनीति अपनाएको बताए । प्रा.डा. भट्टले नर्भिकको मुटुरोग विभागलाई नेपाली जनताको उच्चतम् सेवाका खातिर नयाँ उचाईमा पु¥याउने योजना छ । हृदयाघात पश्चात् बिरामीको ज्यान बचाउन गरिने एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपका लागि अमेरिकन कार्डियाक एशोसियनले निर्धारित गरेको (प्रक्रिया सकेर बिरामी शय्यामा सार्ने) समय ९० मिनेट तोकेको छ भने नर्भिकको उक्त समय (धेरैजसो केसहरूमा) केवल ६० मिनेट मात्रै रहेकोले नर्भिकको स्तर युरोपेली र अमेरिकी सरह भएको उनको भनाई छ । समारोहमा नर्भिकका चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवालले विरामीहरु मात्रै नभएर स्वस्थ व्यक्तिले समेत स्वस्थकर भोजन र उपयुक्त जीवनशैली अपनाउनुपर्ने बनाए । गत वर्ष नर्भिकमा जटिल मुटुरोगको उपचार गराउने करिब २०० जना बिरामीहरूमध्येका प्रा. रत्नमान डंगोल र पूर्व बाणिज्य सचिव डा. शङ्करकृष्ण मल्लले नर्भिकमा आफूले उपचार गराउँदाका प्रशंसनीय अनुभवहरू सुनाए ।

२ महिनामा विकास खर्च २ प्रतिशत मात्र, साउन र भदाैमा ५ अर्ब ८५ करोड

काठमाडौ । चालू आर्थिक वर्षको २ महिनामा मात्रै २ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म मात्रै २ प्रतिशत पूँजीगत खर्च भएको पाइएको हो । शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा युवराज खतिवडाको समुपस्थितिमा सबै मन्त्रालयका सचिवको संयुक्त बैठकका क्रममा उक्त तथ्य पेश गरिएको हो । सो अवधिमा चालू खर्च ९६ अर्ब २५ करोड रुपैयाँ भएको जानकारी गराइएको थियो । आव २०७४÷०७५ मा त्यस्तो खर्च १ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । त्यो भनेको कूल १५ प्रतिशत खर्च थियो भने चालु आवमा ११ प्रतिशत चालू खर्च भएको छ । चालू आवको दुई महिनामा ५ अर्ब ८५ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । आव २०७४/ ०७५ मा ४ अर्ब २७ करोड रुपैयाँ खर्च भएको थियो । गत आवको सोही अवधिको तुलनामा चालू आवमा केही बढी पूँजीगत खर्च भएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ चालू आवमा १ अर्ब १८ करोडको हिसाब देखिएको छ । आव २०७४/ ०७५ मा त्यस्तो व्यवस्था ८२ करोड रुपैयाँ मात्रै भएको थियो । चालू आवमा ८ प्रतिशत खर्च भएको छ । आव २०७४/०७५ मा कूल खर्च १० प्रतिशत भएको थियो । अर्थमन्त्री डा खतिवडाले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सबै निकायले थप सक्रियता बढाउने, कार्य सम्पादनमा अन्तर मन्त्रालय समन्वयलाई अझ बढी प्रभावकारी बनाउने, अर्थ मन्त्रालयले अन्य मन्त्रालयबाट उठान भई आएका विषयमा सहयोग र सहजीकरणमा ध्यान दिने तथा तहगत सरकारबीचको सहकार्य र अन्तक्र्रियालाई थप सुदृढ बनाई कार्य सम्पादन गरेमा बजेटले राखेका उद्देश्य पूरा हुने बताए। बैठकमा विभिन्न मन्त्रालयका सचिवले चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्यायोजनाअनुरुप आआफ्नो मन्त्रालयले भदौ मसान्तसम्म हासिल भएका परिमाणात्मक उपलब्धि, बजेट खर्चको अवस्था, बजेट कार्यान्वयनमा रहेका समस्या र आगामी रणनीतिका बारेमा जानकारी गराएका थिए । राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले अन्तर मन्त्रालय सहयोगमा वृद्धि गर्दै नीति तथा कार्यक्रम र बजेट कार्यान्वयको गतिलाई अझै बढाउनुपर्ने, सूचना प्रविधिमा आधारित प्रतिवेदन प्रणालीलाई सुदृढ गर्दै व्यवहारमा अवलम्बन गर्न, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र बजेट कार्यान्वयनबीच सूचना तथा प्रतिवेदनसम्बन्धी काममा अन्तर आबद्धता बढाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस