विकासन्युज

रुरु जलविद्युत परियोजनाले आईपीओ निष्कासन गर्ने

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ४ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

नौबिसे नागढुङ्गाको चापलाई कम गर्न वैकल्पिक मार्ग प्रयोगको तयारी

काठमाडौं। नौबिसे नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ। वडादशैँका बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लागिएको हो । अचेल हरेक दिन नौबिसे नागढुङ्गा सडकमा २५ किलोमिटर सडकमा यातायात अवरुद्ध भई उक्त दूरी पार गर्न चार घण्टाभन्दा बढी समय लाग्ने भएकाले धादिङको धार्केबाट सीतापाइला जाने कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न मर्मत थालिएको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए। देशभरका मानिस आवतजावत गर्ने सडक भएकाले यसलाई नियमित गराउन कुनै कसर बाँकी नराख्ने र नागरिकलाई सहज र छिटो तरिकाले यात्रा गराउन लागि परेको धादिङका प्रमुख जिल्ला अधिकारी भारिथ पाण्डेले बताए। सडकको जाम कम गर्न आयोजित सर्वपक्षीय छलफलमा नगर प्रमुख आचार्य, सो क्षेत्रका प्रदेशसभा संसद् राजेन्द्र पाण्डे, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डम्बरबहादुर विक, सडक डिभिजन कार्यालयका प्रमुख हरि ठकुरीलगायतले वैकल्पिक मार्ग सञ्चालन गरी दर्शैँका लागि यातायात व्यवस्था नियमित गर्नुपर्नेमा जोड दिए। हरेक दिन हुने जामलाई कम गर्न ठूला, अत्यधिक भार भएका र लामो दूरीका सवारी साधनलाई धार्के क्षेत्रमा दिउँसोको समयमा रोक्ने र राति मात्र सञ्चालन गर्न दिने, अन्य सवारी साधनलाई धार्के सीतापाइला सडकको वैकल्पिक मार्ग प्रयोगका लागि अनुरोध गर्ने र राजमार्गमा एकनासले सवारी साधान सञ्चालन हुने व्यवस्था मिलाउन लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकले बताए। वैकल्पिक मार्ग धार्के सीतापाइला २३ किलोमिटर र धार्के कलङ्की २५ किलो मिटर रहेको छ । नगर प्रमुख आचार्यले वैकल्पिक सडकमा धुलो उढ्न नदिन दैनिक पानी हाल्नुपर्नेमा जोड दिए । नौबिसे नागढुङ्गा सडक खण्डमा एउटा सवारीसाधन बिग्रियो भने पाखा लगाउने ठाउँ छैन । दुई तीन वटा सवारीसाधन बिग्रिएपछि झन त्रिभुवन राजपथको सो सडक खण्ड अवरुद्ध हुने गरेको छ । सानो सडक र धेरै घुम्ती भएका कारण यो सडकको स्तरोन्नति गर्नुपर्ने अवस्था छ। निर्माण शुरु गर्दा दिनमा एक हजारसम्म सवारीसाधन गुड्ननसक्ने गरी बनाइएको सो सडकमा हरेक दिन १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।रासस

भारतमा पेट्रोलको भाउ बढेर ९१ भारु पुग्यो, नेपालमा के होला ?

एजेन्सी । भारतमा पेट्रोलको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ । भारतीयले अब एक लिटर पेट्राल किन्न ९१ भारु खर्च गर्नुपर्ने भएको छ । भारतको वित्तीय राजधानी मुम्बइमा पेट्रोलको भाउ बढेर लिटरको ९१ भारु पुगेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । भारतमा दैनिक पेट्रोलियमको भाउ बढ्दै गएको छ । पेट्रोलको भाउ राजधानी दिल्लीमा ८३.४९, कोलकतामा ८५.३० र चेन्नाइमा ८६.८० पुगेको छ । यस्तै आइतबार डिजेलको भाउ बढेर दिल्लीमा ७४.७९, कोलकतामा ७६.७४, मुम्बइमा ७९.४० र चेन्नाइमा ७९ भारु पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढेर व्यारेलको ८३ डलर पुगेको छ । भारतमा दिनहु पेट्रोलियम पदार्थको भाउ बढेकाले यसको असर नेपाली बजारमा पनि पर्ने देखिएको छ । नेपाल आयल निगम लिमिटेडले इण्डिन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम खरिद गर्दै आएको छ । भारतमा महंगो भएपछि नेपाली पनि थप भाउ बढ्ने छ । असोजमा मात्रै २ पटक पेट्रोलियमको भाउ बढेको छ । नेपाल आयल निगमले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियमको मूल्य समायोजन गर्दै आएको छ । पेट्रोलियम पदार्थ महंगिदा ढुवानी लागतमा वृद्धि भई यसको असर बजार भाउमा पर्ने छ । नेपालमा पेट्रोलको भाउ प्रतिलिटर ११४ र डिजेलको १०१ रुपैयाँ छ । यता विश्लेषकहरुले कच्चा तेलको भाउ बढेर व्यारेलको १०० डलर पुग्ने अनुमान गरेका छन् । अमेरिकी डलर मजवुत भएपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ उकालो लाग्दै आएको छ । सन २०१४ मा पेट्रोलियमको भाउ बढेर व्यारेलको १०० डलर पुगेको थियो ।

सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

काठमाडौं। सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए। यसअघि प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७(८) बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिले प्रस्तुत गरेको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को प्रतिवेदनमाथि भएको छलफलमा प्रदेशसभा सदस्य उमिता विक, राजकुमार ओझा र मोहम्मदताहिर मियाँले विधेयक सर्वोत्कृष्ट रहेकामा पूर्ण समर्थन जनाएका थिए। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले ऐनलाई उत्कृष्ट बनाउन सात प्रदेशसभाका सदस्यले दर्ता गराएको संशोधन प्रस्तावपछि बनेको विधेयक निकै फलदायी छ भनेका थिए । यसअघि शून्य समयमा प्रदेशसभा सदस्य ज्योति सुब्बाले निजी अस्पतालमा चिकित्सकका कारण मृत्यु हुने बिरामीका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन्। प्रदेशसभा सदस्य सूर्यराज राईले प्रदेश नं १ को स्थायी राजधानी र नाम छिट्टै कायम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए। प्रदेशसभा सदस्य राधा थापाले विराटनगर महानगरपालिकामा ढल, नाला र खानेपानीको उचित प्रबन्ध मिलाउन प्रदेश सरकारको ध्यान जानुपर्ने बताए। सदस्य केदार कार्कीले प्रतिपक्षको पूर्ण सहयोग र समर्थन हँदा पनि प्रदेश सरकारले सदनलाई छलेर काम गरिरहेको आरोप लगाएका थिए।

सेयर बजार दोहोरो अंकले घट्दा ग्लोबल आईएमईको सबैभन्दा बढी कारोबार

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन बजार १०.४७ अंकले घटेर नेप्से परिसुचक १ हजार २५६ मा सीमित भएको छ । बजार घटेपछि सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । व्यापारिक बाहेक सबै क्षेत्रको सुचक घटेको छ । नेप्से घटेका बेला सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर कारोबार भएको छ । ग्लोबल आईएमईको प्रतिकित्ता ३२० रुपैयाँमा ६ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ग्लोबलको सेयर मूल्य कम भएकाले पनि लगानीकताले बढी खरिद गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेशन र बेष्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् ।

के भनेका थिए माधव नेपालले संसदमा ? पूर्ण पाठसहित

माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता-नेकपा सम्माननिय सभामुखज्यू, संसदको यो बैठकमा सम्भवतः म पहिलो चोटी रोष्ट्रममा उभिएर बोल्ने जमर्काे गर्दैछु । म यहि रोष्ट्रममा उभिएर पहिले बोलेको कुरा सम्झँदैछु । मैँले भनेको थिएँः मेरो देश डुब्न लाग्यो किनारा लगाईदेउ, माझी छौ की कोही किनारा लगाई देश, देशै डुब्न लाग्यो देशै बचाई देउ । आज पनि बिभिन्न ठाउँमा घटिरहेका घट्ना प्रति सबैको ध्यान आकृष्ट गराउन चाहान्छु । यो प्रश्न सबै ठाउँमा उठिरहेको छ । कञ्चनपुरकी निर्मला पन्त, रौतहटकी एसिड पीडित सम्झनाको मृत्यु भएको छ । बलात्कार र एसिडबाट हत्या भैरहेका छन् । भ्रष्टाचार रोक्ने कुनै अंग छ की छैन् ? कोहि गिरफ्तार भयो की छैन ? कसै विरुद्ध मुद्धा चल्यो की छैन् ? मान्छे हेर्न चाहान्छन काम , मान्छे हेर्न चाहान्छन परिणाम । परिणाम दिईसकेपछि बल्ल हाम्रो पनि शिर ठाडो हुनेथियो । यो कानले सुन्नुपर्ने थिएन की जुन जोगी आएपनि कानै चिरेको । म सरकारको, मन्त्रीज्यूहरुको र राज्यका सबै निकायहरुको ध्यानाकर्षण गराउन चाहान्छु । सम्माननिय सभामुखज्यू, मैले यस पटक रजगज भन्ने उपन्यास पढेँ । त्यो पढ्दै गर्दा मलाई यो देशको कहाली लाग्दो अवस्थाले चिन्तित बनायो । त्यसका सबै तथ्यहरु सत्य नहोलान तर सोधखोज गरेर ल्याएको जस्तो देखियो । राज्यका बिभिन्न निकायहरुको भ्रष्ट स्वरुपको त्यसमा उदांगो स्वरुप चित्रण गरिएको छ । अरु पनि यस्ता धेरै किताब होलान्, मन्त्रीज्यूहरु एक पटक पढ्नुस् । भ्रष्टहरुलाई प्रश्रय दिनेहरु जिल्लाबाट पुनरावेदन हुँदै सर्वाेच्च अदालतमा पुगेका छन् । भ्रष्ट शाखा अधिकृतहरु उपसचिव हुँदै माथी माथी आउने क्रम कहिले रोकिन्छ ? दुनियाले भ्रष्टाचारी भनेको व्यक्ति पुरस्कृत भैरहँदा हाम्रो शिर निहुरिन्छ । यो कहिले रोकिने ? यो अधिवेशनमा माननियहरुले यस्ता धेरै कुरा उठाउनु भएको छ । बाटो घाटोमा हिड्दा, बसमा यात्रा गर्दा, पैदल हिड्दा वा पसलमा बस्दा कान थुन्नुपर्ने अवस्था छ । कमसे कम जनताले के भन्छन भन्ने कुरा ख्याल गर्नुस् । कहाँ रह्यो त्रुटि खोज्ने, समस्या पत्ता लगाउने र समाधान गर्ने आँट देखाउनु पर्छ । राम्रो काम गर्नुस, नेकपाको मात्रै होइन सिंगो संसदको समर्थन मिल्छ । संसदको मात्रै होइन सम्पुर्ण नेपाली जनताको समर्थन रहनेछ । नेपालीलाई चाहिएको छ सुशासन, भ्रष्टाचार मुक्त प्रशासन र छिटो छरिटो काम । र जनतालाई चाहिएको छ उनीहरुको समस्याको अन्त्य । जनताले गाँस, बाँस, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा खोजेका छन् । आफ्ना समस्या प्रति सम्वेदनशिलता खोजेका छन जनताले । राष्ट्रियता माथी प्रश्न उठिरहेको छ । भौगोलिक अखण्डतामाथी खुलेआम चुनौती दिने गरिएको छ । हिजो मैले एउटा भिडियो देखेँ । त्यो मन्त्रीहरुले हेर्नु भएको छ की छैन् ? गृहमन्त्री कहाँ हुनुहुन्छ ? उहाँले देख्नु भएको छ की छैन् ? खुलेआम देश टुक्राउँछु भन्नेहरुलाई जोगाउने नेपालका बिभिन्न निकायहरु लागेका छन् । गृह प्रशासन भन्ने चिज छ की छैन यहाँ ? सरकारले राम्रा कामहरु पनि गरेको छ । मौलिक हक सम्बन्धी १६ वटै बिधेयक पारित गरेकोमा बिषयगत समिति, प्रतिपक्षी र सरकार सबैलाई धन्यवाद दिन चाहान्छु । सरकार प्रति आशा पनि छन् । राम्रा काम पनि भएका छन् । बेला बेलामा तदारुकता पनि देखाउने गरिएको छ । जनताले पनि अहिलेसम्मको अनुभवबाट सिकेर काम गर्न सुझाएका छन् । अरुका कुरा सुनेर, अनुभवीहरुका कुरा लिएर, छलफल गरेर अघि बढ्नुपर्छ । धेरै भन्दा धेरैका अनुभवहरु बटुलेर अघि बढ्दा सबैलाई राम्रो हुन्छ । अघि बढ्नुस, राम्रो काम गर्नु भयो भने हाम्रो पनि साथ रहन्छ । राम्रो काम गर्नु भएन भने रहँदैन् । जता गयो खाली आलोचना, बिरोध र खिसिटिउरा बाहेक केहि छैन् । यस्तो अवस्थाले हामी सबैलाई पोल्नुपर्ने हो । सरकारले बजेट निर्माणदेखि अहिलेसम्मका सबै कामहरुको समिक्षा गरोस् । अर्काे अधिवेशनमा आउँदा आशा जगाउने गरि, शिर ठाडो हुने गरि सबैको मन जित्ने गरि सरकार अघि बढोस् । साँखुदेखि चावहिलको बाटोका बारेमा त एउटा गित नै बनेको रहेछ । यो बाटोको बेहालको बारेमा भिडियो छ, मान्छे र गाडीहरुको बेहाल छ । म आफैं त्यहाँ चार पटक अनुगमनका लागि पुगेँ । हामी जानु भन्दा अघि ठेकेदारले पाँच गाडी बालुवा हाल्ने रहेछ । त्यसपछि वेपत्ता हुने रहेछन् । मन्त्री कहाँ हराउने, सचिव, डिजी र इञ्जिनियर कहाँ हराउने हुन् ? ठेकेदारले त्यस्तो गरेवापत दण्डित पनि हुनुनपर्ने । र त्यस्ता कम्पनी कालोसूचिमा नपर्ने रहेछन् । कालो सचिमा परेकाहरु त झनै पुरस्कृत हुनुपर्ने अवस्था रहेछ । जति कालो सूचिमा पर्नुस, त्यति पुरस्कृत हुने । जति धेरै अपराध गर्नुस, त्यति पुरस्कृत हुँदै जानुहुन्छ भन्ने अवस्था देखिँदैछ । त्यसकारण अब यहि सरकारमाथी जनताको आशा छ, यसले नै देशलाई भ्रष्टाचार उन्मुलन गर्न सक्छ । सुशासनको प्रत्याभुति दिन सक्छ । नेकपाकै सरकार माथी जनताको आशा छ । भ्रष्टाचार गर्दिन भनेर होइन, नगरेर देखाउन सकोस् । भ्रष्टाचारीलाई दण्डित गरेर देखाओस् । सुशासनको प्रत्याभूति दिलाउन सकोस् । छोरा छोरी, श्रीमति, नातागोता, पिए लगाएर घुमाएर केहि गर्ने तरिकाहरु छन् भने त्यसको अन्त्य गरियोस् । त्यसकारण देशको अखण्डता जोगाउने कुरामा, राष्टहितको अभिवृद्धि, सार्वभौम सत्ताको रक्षा गर्ने, प्रदेशको सम्वेदनशिलता प्रति सबै गम्भिर बनौं । लोकतन्त्र आएको छ, गणतन्त्र ल्याएका छौं । जनतालाई थप अधिकार सम्पन्न बनाऔं । समाजका विसंगति र विकृतिहरु हटाउन सबैलाई सक्रिय बनाऔं । त्यस अर्थमा बेरोजगारी, निरक्षरता अन्त्यका लागि जुटौं । सभामुख महोदय, सुन्नमा आएको छ, ब्रिटिस सेनामा नेपाली महिलाहरुलाई भर्ना गर्ने कुरा आएको छ । यसलाई रोकिसकिएको छ भने ठिकै भयो । नत्र यो भन्दा लाज र सर्मको कुरा अरु केहि हुनै सक्दैन् । भोली गएर त्यहाँ नेपाली महिलाको सम्मान हुने विश्वास छैन हामीलाई । भोली खाडी मुलुकले पनि भर्ना गर्ला, इण्डियाले पनि भर्ना गर्ला । त्यतिबेला हाम्रो शिर निहुरिनेछ । विदेशी सेनामा नेपाली जाने कुराहरुको उहिलेदेखि नै बिरोध भैरहेको छ । महिलालाई पठाउने कुरा सोच्न पनि सकिन्न । पुर्व बेलायती सेनाको अधिकार, गैर आवासिय नेपालीहरुको सवालमा पनि सरोकारवालाहरुको ध्यान जाओस् । सबैका आ आफ्ना स्वार्थ हुन्छन्, जायज स्वार्थ र नाजायज स्वार्थ छुट्याउनु पर्छ । सरकारले मात्रै सबै गर्न सक्दैन्, पार्टीको, संसदको र विपक्षीको पनि साथ चाहिन्छ । अहिले निजगढ विमानस्थलका नाममा ठुलो परिचर्चा छ । नेकपा भित्रै पनि बिरोध भैरहेको छ भन्ने मैले सुनेँ । यहाँ राम्रो काम गर्ने आडमा कसैले स्वार्थ पुरा गर्न खोजेको त होइन भन्ने हाम्रो चासो हो । राम्रो गर्ने नाममा आफ्नो स्वार्थ पुरा गर्न खोजिएको त होइन् ? भन्ने प्रश्न हो । २० बर्षदेखि विकल्पहिन थियो, अर्काे विमानस्थल कहाँ बनाउने भनेर आयोगहरु बने, प्रतिवेदन आए । त्यसकै आधारमा मैले २०६७ सालमा निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको थिएँ । सबै हिसाबले सोँच विचार गरेर निर्णय गरेको हुँ । तर सबै रुख काट्न आवश्यक छ की छैन् ? भएका जति सबै रुख काटेर दारी खौरिए जसरी रुख काट्ने हाम्रो चलन छ । त्यो गलत भो । जति चाहिन्छ, त्यो भन्दा एउटा पनि बढी रुख काट्न पाइँदैन् । घरै बनाइन्छ भने घरको बीचमा रुख रोप्नुपर्छ । भारतको सिम्लामा घरका बीचमा, पर्खालमा रुख रोपेको देखिन्छ । मैले पनि बुझ्दा खेरी जति रुख काट्ने भनेर हल्ला गरिएको छ, त्यति रुख काट्ने योजना छैन् । विकल्पमा कति रुख रोप्ने हो त्यति रोप्नुपर्छ । नेपालमा कहीँ पनि काम गर्न नदिने तत्वहरु लागेको देखिन्छ । उद्योग धन्दा खोल्न नदिने, नदिनालाको उपयोग गर्न नदिने, विजुली उत्पादन गर्न नदिने, विमानस्थल बन्न नदिने, देशलाई आत्म निर्भर बन्न नदिने षडयन्त्र भित्र हामी फस्ने खतरा छ । म मन्त्री र अधिकारीहरुलाई भन्न चाहान्छु । त्यसकारण यो काम कुनै हालतमा रोकिनुहुन्न । विकास रोक्ने षडयन्त्रमा सरकार फस्नु भएन् । विमानस्थल बनाउने र फास्ट ट्रयाक समयमै बनाउन सरकार चुक्नु हुन्न । रोक्नेहरुलाई पन्छाउन सरकारले कानुनै संसोधन गर्ने वा नियमावली संसोधन गर्नु परेपनि गरोस् । काम नगर्ने ठेकेदारलाई कानुन संसोधन गरेरै भएपनि पन्छाउनपुर्छ । कालोसूचिमा परेकाहरुले मात्रै काम पाईरहने अवस्था किन आयो ? के ती बाहेक अरु मान्छे योग्य नै छैनन् त ? त्यसको कारण खोजियो भने के जवाफ दिने ? प्रश्न उठेको छ कतै यस्तै मान्छेहरुको विगबिगी हुने त होइन् देशमा ? त्यसकारण अब मुलुकलाई बिधीको शासनमा लैजानु पर्छ । सरकार यसमा सचेत बनोस् । बिधी र प्रक्रियामा मुलुकलाई कसरी लैजाने ? पारदर्शी काम कसरी गर्ने भन्ने बारेमा सरकार सचेत हुनुपर्छ । व्यक्तिको मूल्यांकन कसरी गर्ने ? इमानदार, पवित्र भावना भएका, देशभक्तहरुलाई हुकाउर्न प्रोत्साहित गर्ने, विदेशमा गएका नेपालीहरुको ज्ञान, शिप र प्रबिधीलाई कसरी सदुपयोग गर्ने भन्नेबारे पनि हामीले सोच्नु आवश्यक छ । त्यसकारण राम्रा मान्छेहरु छान्नु पर्छ । अहिले एउटा अवसर आएको छ, जनताले विश्वास गरेर दुई तिहाई बहुमत दिएका छन् । अब गुनासो गर्ने अधिकार छैन् । राम्रो काम गरेपछि जनतो स्याबास भन्नेछन् । देशको इञ्जत बढ्दा प्रतिपक्षीले पनि बिरोध नगर्ला । सरकारले कतिपय राम्रा कामहरुको नेतृत्व पनि लिएको छ । मौलिक हक अन्तर्गतका कानुनहरु बनाएको छ । अब बिनियमहरु निर्माण होस् । राम्रा मानिसहरुले जिम्मेवारी पाउन् । राजदुतहरु यथासक्य चाँडो नियुक्ती होस् । सम्वैधानिक निकायमा चाँडै नियुक्त गरियोस् । जिम्मेवारी दिइने मान्छेहरुको विगत र वर्तमानको अध्ययन गर्नु पर्छ । हामीसँग अनुभवहरुको कमी छैन् । धेरै मन्त्री र पूर्व प्रधानमन्त्री छन् । उनीहरुसँग सल्लाह र परामर्श गरियोस् । सरकारसँग जनताको ठुलो आसा छ । सरकारको सफलताको कामना गर्दै दशैं, तिहार, छठ, न्युँदया भिन्तुना लगायतका सबै पर्वहरुको अग्रिम शुभकामना दिन चाहान्छु । नेपालीहरुले दुःख कष्ट, महंगी र अभावमा बाच्नु नपरोस, आनन्दका साथ चाडपर्व मनाउन् । सुखी नेपाली, समृद्ध नेपालको नाराले सार्थकता पाओस । धन्यवाद

माछापुच्छ्रे बैंकले गर्याे पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण

काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए। पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको माननीय मन्त्रीले उच्च प्रशंसा गरे। उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ बैंक परिवार गौरवान्वित भएको बताए। बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घरनिर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् । बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाट ग्राहकलाई सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

लक्ष्मी बैंकले पशुपतिनाथ परिसरका लागि गर्‍यो २ थान विद्युतिय टेम्पो सहयोग

काठमाडौं। लक्ष्मी बैंकले आईतबार पशुपतिनाथमा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो । यो टेम्पो पशुपतिनाथ मन्दिर परिसर भित्र र विषेश गरी बृद्ध र अशक्त भक्तजनहरुको निःशुल्क आवतजावतका लागि सञ्चालन हुनेछ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रमशाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलार्इ सफा टेम्पोको साँचो हस्तान्तरण गरेपछी सेवाको शुभरम्भ भएको हो।