जनस्वास्थ्य सङ्घको अध्यक्षमा भट्ट
काठमाडौं। नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा नेपाल जनस्वास्थ्यकर्मी सङ्घ(प्रजातान्त्रिक) समूहका श्रीकृष्ण भट्ट निर्वाचित भएका छन्। भट्ट ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । काठमाडाँैसहित सातै प्रदेशको राजधानीमा शनिबार सम्पन्न निर्वाचनमा भट्टका निकटतम् प्रतिद्वन्द्वी नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका अध्यक्ष डा मोहनकृष्ण सापकोटाले ५२७ मत प्राप्त गरेका थिए। हाल सङ्घ अन्तर्गत करीब एक हजार ६०० सदस्य रहेकामा एक हजार ४९० मत खसेको बताइएको छ । यसैगरी उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा प्रजातान्त्रिक समूहका तर्फबाट क्रमशः कृष्णमान शाक्य, महेश्वर श्रेष्ठ, विनोद जोशी र सञ्जीवकुमार साह विजयी हुनुभएको छ । सचिव पदमा भने नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका दीपेन्द्र खड्का विजयी भएका छन् । सङ्घको कार्यसमितिको १५ पदमा निर्वाचन भएको थियो । निर्वाचनमा सदस्य पदमा रविकान्त मिश्र, कमल रानाभाट, निधुराम दङ्गाल, राजनबाबु सिलवाल, कैलाश श्रेष्ठ, रामचन्द्र सिन्हा, प्रजिता माली, रोशन लामा र विमला भट्ट विजयी भएका छन् । हाल देशभर १६ शिक्षण संस्थामा जनस्वास्थ्य विषयको अध्ययन हुन्छ । वर्षेनी एक हजारको हाराहारीमा स्नातक तह उत्तीर्ण हुने गर्दछन् । रासस
कक्षा ११ को नतिजा तिहारपछि मात्र
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बजनिक हुने भएको छ । परीक्षा बोर्डका एक अधिकारीका अनुसार उत्तरपुस्तिका सम्परिक्षणको काम चलिरहेकोले नतिजा कहिले आउँछ भने ठ्याक्कै भन्न नसकिने बताए । ‘तिहार अगाडी नतिजा प्रकाशन गर्ने कार्यक्रम छैन, तर सकेसम्म छिटो हुने गरि काम गरिरहेका छौँ, सम्भवत कार्तिक अन्तिम या मङ्सिर पहिलो/दोश्रो सातासम्म नतिजा प्रकाशन हुन्छ’ उनले भने । साथै यसपटक आंशिक र नियमितको परीक्षाको नतिजा समेत एकैचोटि निकाल्ने तयारी भैरहेको तर अहिले यसबारेमा अहिले केही भन्न नसकिने बताइएको छ । सामाजिक संजालमा दशैँ अगाडी नै नतिजा आउने भन्दै हल्ला चलिरहेकाले नतिजा पर्खेर बसिरहेका बिद्यार्थीहरु अन्योलमा रहँदै आएका थिए । श्रोत – मेरो स्टडी
चितवनमा हिंसा तथा लागूऔषधको बारेमा सचेत गराउन विद्यार्थीलाई पढाउँदै प्रहरी
काठमाडौं। जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षा सम्बन्धी विशेष सचेतना अभियान शुरु गरेको छ । जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्ष्य गरी सो अभियान थालिएको हो। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार विद्यार्थीलाई कक्षाकोठामा राखेर प्रहरी अधिकृतले नियमित रूपमा लागूऔषध दुव्र्यसन, साइबर अपराध तथा मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटना सम्बन्धी चेतनामूलक प्रशिक्षण दिइरहेका छन् । गत भदौ २५ गतेदेखि जिल्लाका विद्यालयमा क्रमशः कक्षा सञ्चालन गरिँदै आएको छ । पाठ्यक्रममा यस्ता विषय नहुँदा समाजमा विकृति, विसङ्गति बढ्दै गएपछि प्रहरीले अभियानका रूपमा कक्षा सञ्चालन गरेको हो । विद्यार्थीले आफूले सिकेको कुरालाई अभिभावक र समाजसम्म पु¥याउने हुँदा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहका महानगर, नगर, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरिएको छ । नियमित कक्षासँगै विभिन्न निकायसँग छलफल, पर्चा, ब्रोसर र होडिङबोर्ड तयार गरी चेतनामूलक सन्देश एवं तस्बीर प्रकाशन गर्ने काम पनि प्रहरीले गरेको छ । अभियान अन्तर्गत विभिन्न सडक नाटक, वृत्तचित्त एवं सन्देशमूलक श्रव्यदृश्य सामग्री तयार गरी देखाउने काम भइरहेको छ । पछिल्लो समय समुदायमा महिला हिंसा, लागूऔषध दुव्र्यसनी, साइबर अपराध, मानव बेचबिखन, मदिरा सेवन, सवारी दुर्घटनाको क्रम बढेपछि प्रहरी सो अभियानमा जुटेको हो । रासस
सेञ्चुरी बैंकले विश्व मुटु दिवसको उपलक्ष्यमा गर्यो निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा मुटु सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहक, शेयरधनी, कर्मचारी लगाएत सर्वसाधारण गरी उक्त शिविरमा १५० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको बैंकले जनाएको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
३ दिनमा स्टक क्लियरेन्स मेलामा ४० हजारले गरे अवलोकन, दशैंको सामान किन्नेको भिड
काठमाडौं। दशैंमा एकै छानामुनी सामान किन्न आउनेहरुको भिड भृकुटीमण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ । नजिकिँदै गरेको दशैंलाई लक्षित गरी सुरु गरिएको मेलामा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायतका वस्तुको खरिदमा आकर्षक छुट समेत पाइने भएकाले भिड बढेको हो । दशैंका लागि सामग्री किन्न कता जाने भन्ने योजना बनाउनेहरुलाई एक्स्पोको आयोजकले एकै स्थानमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन मेला आयोजना गरेको हो । मेलामा पहिलो दिनदेखि नै सामान किन्न आउनेहरुको बाक्लो उपस्थिती देखिएको हो । ३ दिनसम्ममा ४० हजार बढीले मेला भ्रमण गरेका छन् । राजधानीका साथै आसपासका उपभोक्तालाई लक्षित गर्दै स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवाका ७२ वटा प्रदर्शनी तथा बिक्री केन्द्र मेलामा राखिएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शले प्रवद्र्धन गरेको छ । चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने विश्वास चेम्बर अफ कमर्शले लिएको छ । दोस्रो संस्करणका रुपमा आयोजना भएको मेला ‘दशैंको बेला सस्तो मेला’भन्ने नारा सहित आयोजना गरिएको हो । आगामी सोमबारसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’ प्रधानले भने । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागि छन् । मेला असोज १५ गतेसम्म चल्ने छ ।
संयुक्त अस्थायी करार शिक्षक समितिले असोज १५ र १६ गते सामूदायिक विद्यालय बन्द गर्ने
काठमाडौं। संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाईझैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाईदिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको हो । समितिले धेरैभन्दा धेरै परीक्षार्थीको लिखित परीक्षामा नाम निकाल्ने अवसर प्रदान गर्नको लागि विज्ञापन नम्बर १ र २ मा बढी भएका दरवन्दीहरु विज्ञापन नम्बर ३ मा परीक्षा दिने परीक्षार्थीहरुको व्यवस्थापनमा समायोजन गर्नुपर्नेपनि माग गरेको छ । त्यस्तै समितिले आन्दोलन वा विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित भएका अस्थायी शिक्षकहरुलाई पुनः परीक्षा दिन पाउने अवसर दिलाउनुपर्ने पनि माग गरेको छ । समितिले यति गर्दागर् दैपनि यदि कोही साथीहरु विस्थापन हुने अवस्था देखिएमा अर्को विद्यालय, तह वा राहत कोटामा पुनस्र्थापना गर्नुपर्ने पनि माग अघि सारेको छ । त्यस्तै सुविधाको फारम भरेका अस्थायी शिक्षकहरुलाई दिईने भनिएको उपदान रकम औषधोपचारको खर्चसहित एकमुष्ट प्रदान गर्न अविलम्ब प्रकृया शुरु गर्नुपर्ने पनि माग विज्ञप्तीमा उल्लेख गरेको छ । आफूहरुले अघि सारेका मागहरु पूरा गर्न अविलम्ब प्रकृया अगाडि नबढाईएमा समितिले पुनः विगतका भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । समितिका अध्यक्ष हेमनाथ चौलागाँईले सबै प्रकृतिका अस्थायी शिक्षकहरुलाई बिना भेदभाव ४० अंक आउँदा उत्तिर्ण हुने वातावरण बनाउन सरकारसँग माग गरे । उनले भने,‘म यही कार्यक्रममार्फत राज्यलाई भन्न चाहन्छु, की सरकारले हाम्रा मागहरु संघीय शिक्षा ऐनमार्फत सम्बोधन गर्नुपर्छ । यदि सरकारले हाम्रा मागहरु सम्बोधन गरेन भने हामी बाध्य भएर सडक संघर्षमा उत्रिन्छौं ।’ समितिले यही असोज २१ गतेसम्म आफ्ना मागहरु पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । यदि असोज २१ गतेसम्म पनि माग पूरा नगरे बाध्य भएर आफूहरु देशव्यापी रुपमा अस्थायी करार, राहत, विद्यालय कर्मचारी र बालविकास शिक्षकहरु संयुक्त रुपमा माईतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको निषेधित क्षेत्रपनि तोड्ने समितिका अध्यक्ष चौलागाँईले बताए । समितिले सम्मानित सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विरोधमा यही असोज १५ र १६ गते देशव्यापी रुपमा सामूदायिक विद्यालयहरु बन्द गर्ने जानकारी दिएको छ । अध्यक्ष चौलागाँईले राज्यले आफूहरुलाई विभिन्न समूहमा विभाजित गरेर आन्दोलनलाई कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाए । उनले भने,‘हामीले जीवनको ३० औं वर्ष हाम्रो उर्वर समय खर्च गरिसक्यौं । अहिले गलहत्याएर त्यतिकै अपमान गरेर रित्तो हात फर्काउन पाईँदैन् ।’ कार्यक्रममा विद्यालय कर्मचारी संगठनका अध्यक्ष शंकर ढकाल, समितिका कानुनी सल्लाहकार सुर्य तिवारी, अस्थायी शिक्षक आन्दोलन समितिका महासचिव महादेव भट्टलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन भने समितिका सचिव शिव अधिकारीले गरेका थिए । आफूहरुले २० औं वर्ष पढाउँदापनि अहिलेसम्म स्थायी नगरिएकोमा आक्रोश पोखेका थिए । अब सर्वोच्च अदालतको फैसला बमोजिम आफूहरुलाई स्थायी गराउन जस्तोसुकै आन्दोलन गर्नपनि पछि नपर्ने उनीहरुको भनाई छ । उनीहरुले बाँच्नको लागिपनि अब आन्दोलन गर्नको विकल्प नरहेको स्पष्ट पारे । उनीहरुले आफूहरुसँग अब कि त मर्नु र कि त स्थायी हुनुको विकल्प नभएकोपनि जिकिर गरे ।
सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो फिदिम र फिक्कलमा बीमा जागरण अभियान
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वाषिकोत्सवको अवसरमा फिदिमको वीरेन्द्रचोकमा बीमा जागरण अभियान सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेको प्रमुख आतिथ्यतामा तथा विशेष अथितीद्धय फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेल र उपमेयर बमबहादुर भट्टराईको उपस्थितीमा सम्पन्न भएको थियो । ११ गते फिक्कलमा सुर्योदय नगरपालिकाको भवनमा आयोजित बीमा जागरण कार्यक्रममा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष र स्थानीय समाजसेवीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमहरुमा कम्पनीका महाप्रवन्धक गौतमले जीवन बीमाको महत्व बारे प्रकाश पारेका थिए । सोही कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता कट्टेल र कुञ्जनाले बीमा जागरण अभियानको बारेमा जानकारी गराएका थिए ।
निःसहाय सेवा सदनको रजत जयन्ती तथा वार्षिक उत्सव सम्पन्न
काठमाडौं। पवित्र समाज सेवाको भावनाले ओतप्रोत भई २०४८ सालमा स्थापना भएको निःसहाय सेवा सदनले रजत जयन्ती भव्यताको साथ मनाएको छ । शान्तिनगरमा रहेको उक्त संस्थाले आफ्नै भवन परिसरमा रजत जयन्ती मनाएको हो । संस्थाको संस्थापक अध्यक्ष सगुन शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक माननिय मन्त्री थममाया थापा, त्यसै गरि विशेष अतिथिमा शताब्दी पुरुष सत्यमोहन जोशी, काठमाडौ महानगरपालिकाको उप मेयर हरिप्रभा खड्गी श्रेष्ठ लगायत अन्य विशिष्ठ व्यक्ति, समाजसेवीहरुको उपस्थिति रहेको थियो । उक्त अबसरमा रजत जयन्ती स्मारिकाको विमोचन गर्नुको साथै सेवा सदनलाई सहयोग पु¥याउनुहुने महानुभावहरुलाई प्रमुख अतिथि र विशिष्ठ अतिथिको हातबाट सम्मान गरिएको थियो । प्रमुख अतिथिले मन्तव्यको क्रममा ज्ेयष्ठ नागरिकहरु समाजको ईतिहास भएको हुँदा वहाँहरुको सम्मान गर्नुपर्ने बताए। त्यसैगरी अहिले समाजमा वलत्कार लगायतका विभिन्न घटनाहरु घटिरहेकोले कडा कानुन बनाउन लागिपरिरहेको बताउनु भयो साथै ज्येष्ठ नागरिकहरुलाई भत्तामा पनि बृद्धि गरिने बताएका छन्। रजत जयन्ती तथा वार्षिक उत्सवको अबसरमा विभिन्न शिर्षकमा सहयोग गर्नुहुने दाताहरु, कर्मचारी आदीलाई सम्मान गरिएको थियो ।