विकासन्युज

अरिङ्गालले टोकेर मृत्यु

जाजरकोट । भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो । स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उनलाई टोकेको थियो । अन्य साथी भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा उनीमाथि अरिङ्गाल खनिएर टोकेका थिए । गम्भीर बिरामी परेका उनलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको स्थानीय निर्मित प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिए । रासस

बेल्ड एण्ड रोड इनिसियटिभले साम्राज्यवादीलाई धक्का दिएको छः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्रज्यवादीहरुको लागि धक्का भएको बताएका छन् । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै श्रेष्ठले बेल्ट रोड परियोजनामा नेपाल पनि सहयोगी भएको बताए । पूर्वउप–प्रधान तथा प्ररराष्ट्रमन्त्री समेत भएका प्रवक्ता श्रेष्ठले नेपाल–चीनको सम्बन्ध सदियौंदेखि एक असल र सफल मित्रता कायम रहदै आएको भन्दै भविश्यमा पनि निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे । पाँचओटा आयामले नेपाल–चीन सम्बन्ध रहेको बताउँदै श्रेष्ठले भने, “चिनियाँ सरकार नेपालमाथि अहस्थक्षेपकारी नीतिमा अडिग र¥यो, असल छिमोकीको ब्यवहार, चीनको भौगोलिक तथा भू–राजनीतिक अवस्थाअनुसार नेपाललाई स्वाभिमानी बन्न सहयोग, विगतदेखि एक धुर्बिय साम्राज्यवादी धारविरुद्ध बलियो शक्तिका रुपमा खडा हुनु तथा विश्व राजनीतिक अवस्थामा एक फरक पहिचान स्थापित गर्न चीन सफल भएको छ ।” उनले चीनले मालेमावादी विचार र आदर्शले विश्वलाई नेतृत्व गर्न सक्छ भन्ने सम्भावनालाई मुर्तता दिएको बताए । आफ्नो पछिल्लो चीन भ्रमणबारे जानकारी गराउँदै नेता श्रेष्ठले सो भ्रमण निकै सफल रहेको पनि बताए । आफुले चिनियाँ कम्युनिष्ट पार्टीको सक्षमताको मुल आधार नै राज्य सञ्चालनका सम्पूर्ण अवयवहरुमा कम्युनिष्ट पार्टीलाई केन्द्र बनाउनु र पार्टीलाई मालेमावादी विचार तथा आदर्शले स–शक्त बनाउनु भएको बताउँदै नेता श्रेष्ठले नेपाली कम्युनिष्टहरुको त्यसप्रति कुनै चासो नरहनु चिन्ताको विषय भएको बताए । सामाजिक संस्कृतिक विकास तथा भ्रष्टाचार नियन्त्रणमा चीनले चालेको पछिल्लो कदम नेपाललका निम्ति पनि अनुकरणिय भएको तर आफ्ने पर्टी नेतृत्व सरकार उदासिन देखिएको बताउँदै भने, “हाम्रो नेपालमा आफ्नो वरिपरिको भ्रष्टाचारी बाहेक सबैलाई साफ पारिन्छ भन्ने तरिकाले कसरी भ्रष्टाचार उम्मुलन हुन्छ ?”

सानिमामाई हाइड्रोपावरको साधारणसभा कात्तिक ८ मा, १५ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको सातौ वार्षिक साधारणसभा कात्तिक ८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडलाई गाभ्ने प्रस्ताव सभामा पेश हुने छ । गत आर्थिक वर्षको वित्तीय विवरण सभाले अनुमोदन गर्नेछ ।

आँखुखोला जलविद्युत कम्पनीको आईपीओ असोज २३ देखि, ६ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले असोज २३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ बराबरको १३ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द हुने छिटोमा असोज २६ र ढिलोमा कात्तिक ६ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । सिभिलका अनुसार न्युनतम ५० कित्ता र अधिकतमा ६ हजार कित्तासम्म आईपीओ भर्न पाइने छ । कम्पनीले १२ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्दा बिक्री नभएको १ करोड ७६ लाख रुपैयाँको समेत गरी आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासन मध्ये ६८ हजार ८०१ कित्ता आईपीओ सामूहिक लगानी कोष र २७ हजार ५२० कित्ता कर्मचारीलाई छुट्टाइएको सिभिलले जानकारी दिएको छ । कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । २०७० मंसिरदेखि कम्पनीले व्यापारिक रुपमा बिजुली उत्पादन गरेको हो । आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ । आयोजनामा ७५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ संस्थापक र २५ प्रतिशत अर्थात २० करोड रुपैयाँ सर्वसाधारणको लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । चुत्तापुँजी ८० करोड रुपैयाँ पुग्ने छ । आयोजनाबाट ९ वर्षमा लगानी फिर्ता हुने छ ।

आयल निगमको घाटा बढेर १२९ करोड पुग्यो, पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा नोक्सान

काठमाडौ । सरकारी स्वामित्वको नेपाल आयल निगम लिमिटेडको घाटा बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ६४ करोड ५७ लाख घाटा भएको छ । उनका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा, डिजलमा ४ रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ । भारतमा इन्धनको भाउ बढेर लिटरको ९१ भारु पुगेको छ । विश्वबजारमा कच्चा तेलको भाउ बढेर व्यारेलको ८३ डलर पुगेको छ । अमेरिकी डलर मजवुत हुन थालेपछि इन्धनको भाउ बढ्न थालेको हो ।

एचएच बजाजको नयाँ शोरुम भरतपुरको चितवनमा

  काठमाडाैं ।   एचएच बजाजले सम्पूर्ण सुविधा सहितको नयाँ शोरुम एन के मोटर्स चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ। हंशराजहुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । यो नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक हो । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्ता नगर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । ्नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पहुदा निकै खुशी लागेको छ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । एचएच बजाजले देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदानगर्न प्रतिबद्ध रहेको हंशराजहुलासचन्द एण्ड कम्पनीका जेनेरल म्यनाजेरले योगेन गुरुङले बताए । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौ । तेह्रथुम पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण आइपिओ निष्कासन गर्न लागेको हो । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ । यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् लाख ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले आज हस्ताक्षर गरे । चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिए । तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति करीब ६० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७३ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको आयोजनाले २०६७ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले छ महिनाअगावै अर्थात् आगामी असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनामा माछापुच्छे्र« बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक, जनता बैंकले क्रमशः ४० करोड, ३० र ३० करोड रुपैयाँ लगानी रहेको छ । –––

तनहुँ जलविद्युत आयोजना बनाउन ठेक्का सम्झौता, ५ वर्षमा बिजुली बल्ने

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना बनाउन ठेकेदारसंग सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बा“ध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सारभूत रुपमा तथा न्यूनतम मूल्याङकित इटालियन कम्पनी कोअपरेटिभा मुरातोरी सिमेनिष्ट ( सीएमसी) सँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावरका तर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सीएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) मा खरिद सम्झौता भएको हो । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम सारभूत रुपमा तथा न्यूनतम मूल्याङकित चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावरका तर्फबाट प्रवन्ध सञ्चालक थिके र सिनोको आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गरेका छन् । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि कर बाहेक) रुपैयाँमा खरिद सम्झौता भएको हो । दुवै प्याकेजको निर्माण दुई महिनापछि सुरु हुने भएको छ । आयोजना आगामी सन् २०२३ को डिसेम्बरभित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । प्रवन्ध सञ्चालक थिकेले आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गरे । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावरबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहुँको रिसिङ गाउँपालिका–१मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ । जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण सुरु गर्ने प्रक्रियामा छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारणलाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ ।