
काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना बनाउन ठेकेदारसंग सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बा“ध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सारभूत रुपमा तथा न्यूनतम मूल्याङकित इटालियन कम्पनी कोअपरेटिभा मुरातोरी सिमेनिष्ट ( सीएमसी) सँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावरका तर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सीएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) मा खरिद सम्झौता भएको हो । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम सारभूत रुपमा तथा न्यूनतम मूल्याङकित चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ ।
तनहुँ हाड्रोपावरका तर्फबाट प्रवन्ध सञ्चालक थिके र सिनोको आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गरेका छन् । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि कर बाहेक) रुपैयाँमा खरिद सम्झौता भएको हो ।
दुवै प्याकेजको निर्माण दुई महिनापछि सुरु हुने भएको छ ।
आयोजना आगामी सन् २०२३ को डिसेम्बरभित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । प्रवन्ध सञ्चालक थिकेले आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गरे ।
पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावरबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहुँको रिसिङ गाउँपालिका–१मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ । जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण सुरु गर्ने प्रक्रियामा छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारणलाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ ।