विकासन्युज

विजय लघुवित्त वित्तको १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने संस्थाले जनाएको छ ।

खुला सीमाका कारण औलोको उच्च जोखिम

काठमाडौं। खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ । तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला परेका हुन् । औलोका बिरामी अधिकांश भारतमा काम गरेर फर्केका रहेका छन् । जसमा चार भारतीय समेत रहेका छन् । आव २०७४÷७५ मा औलोका १३५ बिरामी फेला परेका थिए । जसमध्ये तीन बिरामीमा प्लाज्मोडियम फल्सिफारमको संक्रमण भएको पाइएको थियो । गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरी औलोका रोगी खोजी गरिएपछि सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताए। भारतका गुजरात, चेन्नई, नयाँदिल्ली, बैंगलोर, हल्द्धानी, पञ्जाव, उत्तर प्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, उडिसालगायत क्षेत्रमा लामो समय बसेर फर्केकामा औलो बढी देखिएको अधिकृत जोशीले बताए। उनका अनुसार जनस्वास्थ्य कार्यालयले भारतबाट आउने बिरामीलाई आयातित र जिल्लामा बसोवास गर्ने बिरामीलाई स्थानीय भनेर छुट्याई उपचार गर्ने गरेको छ । रासस

स्वास्थ्यकाे लागि हिमाली खसी उत्कृष्ठ, भारतीय खसीबाेकाकाे मासुमा यस्ता छन् खराबी

काठमाडौं । दशैंका लागि स्वदेशी तथा विदेशी खसी बोका काठमाडौं भित्रिने क्रम जारी  छ । दशैंमा अत्याधिक मासुको प्रयोग हुने भएकोले भारतबाट अत्यधिक मात्रामा खसीबोका भित्रिरहेको छ । दशैंको समयमा लगभग ८० प्रतिशत नेपाली बजार भारतीय खसीले ओगट्ने गरेको चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले बताए । भारतीय खसी नेपाली खसी भन्दा २० रुपैंयादेखि ६५ रुपैंया सम्म महँगो पर्ने संरक्षक थापाको भनाई छ । नेपाली खसीबाेका व्यवसायीहरुका अनुसार नेपालीभन्दा भारतीय खसीमा १० प्रतिशतसम्म बढी बोसो हुनेछ । स्वास्थ्यका लागि नेपाली खसी नै लाभ दायक हुने भएपनि नेपाली उत्पादनले बजारको भाग धान्न नसकेपछि विदेशी खसी ल्याउनु परेको हो । भारतीय खसीबाेका बोसोयुक्त मासुले शरीरलाई असर गर्ने डाक्टर बाबुराम हुमागाईँले बताए । हुमागाईँका अनुसार भारतीय खसी फर्ममा दाना खुवाएर पालिने भएकोले पालिने भएकोले बोसो धेरै हुन्छ । नेपालमा पनि फर्ममा दाना खुवाएर पालिने खसीमा बोसो धेरै हुने डा. हुमागाईँले बताए । विशेषगरी चरनमा रहेको खसीमा बोसो कम हुने पनि उनले बताए । भारतीय खसि व्यवसायीहरुले भने हिमाली भेगको खसी स्वास्थ्यको लागि बढी लाभदायक हुने बताएका छन् । चिसो हावापानी र जडिबुट्टी खाने भएकोले त्यस्ता खसीको मासु लाभदायक हुने उनीहरुको दाबी छ । मासु कसरी खाने ? प्रत्येक चाडपर्वमा नेपालीहरुको पहिलो रोजाईमा प्राय मासु पर्दै आएको छ । डा. हुमागाईँका अनुसार अत्याधिक मासु खानाले स्वास्थ्यलाई असर गर्नेछ । मासुको बिचमा हुने सेतो बोसो खानाले शरिरमा कोल स्टोरको मात्रा बढ्नेछ । सकेसम्म मासुलाई धेरै मसालेदार नबनाई खानुपर्छ । खानाकै साटोमा मासु मात्र खानु हुँदैन, केवल यसलाई तरकारीको रुपमा मात्र प्रयोग गर्नुपर्छ । खाद्य संस्थानले २६ गतेबाट खसी च्याङग्रा बिक्री सुरु गर्ने खाद्य संस्थानले असोज २६ गतेदेखि खसी बिक्री सुरु गर्ने भएको छ । बजारमा खाद्य तथा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले बर्सेनी सुपथ मूल्यको पसल सञ्चालन गर्दै आइरहेको छ । यो वर्षको दशैंको लागि संस्थानले १ हजार च्याङग्रा र १ हजार खसी बिक्री गर्ने संस्थानका सूचना अधिकारी शंकर सापकोटाले बताए । उनका अनुसार संस्थानले खरिद गरेको खसी २५ गतेसम्म काठमाडौं आइपुग्नेछ । संस्थानले खसी च्याङग्रा असोज २६ गतेदेखि बिक्री सुरु गर्नेछ । खसी संस्थानको थापाथलीस्थित स्टोर सेन्टरबाट बिक्री गर्नेछ । संस्थानले मकवानपुर र दाङबाट १ हजार खसी र मुस्ताङबाट १ हजार खसी ल्याउने तयारी गरेको छ । यसैगरी संस्थानले राजधानीको ४ स्थानमा सुपथ मूल्यको पसल सञ्चालन गरिरहेको छ । सूचना अधिकृत सापकोटाका अनुसार असोज १२ गतेदेखि सुरु भएको सुपथ मूल्यको पसलमा उल्लेख्य ग्राहकले सहभागी जनाएका छन् । संस्थानले हाल पसलमा सोना मनसुली चामल प्रतिकिलो ४० रुपैंयामा बिक्री गरिरहेको छ । यसैगरी जिरा मसिनो ५५, बास्मती ८१, गोरखनाथ ३८, र जापानिज चामल ७५ रुपैंया बिक्री गरिरहेको छ । यस्तै सिमी दाना १२० र फापर ७० रुपैंया प्रतिकेजी बिक्री गरिहेको छ ।

काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडौ । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले सोमबार बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन । प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी दिए । सुविधायुक्त सोफा सिट रहेको बसमा चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेको छ । काठमाडौँको गौशालाबाट बिहान ६ः३० बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने लोहनीले बताए । सात बस रहेको ट्राभल नेपालले चार बस पोखरामा सञ्चालन गर्दै आएको छ । टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान) का महासचिव कृष्ण आचार्यले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–लुम्बिनी बस सेवाले ठूलो सहयोग पुग्ने बताए। दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि काठमाडौँमा छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाडौँको कान्तिपथ सडकबाट पर्यटक बोकेर आवतजावत गरिरहेका पर्यटकीय बस यतिबेला सोह्रखुट्टे सडकबाट यात्रु बोकेर ओहोरदोहोर गरिरहेका छन् । पर्यटनको विकासका लागि एशोसियसनले काठमाडौँदेखि जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागे पनि पार्किङका लागि पूर्वाधारको विकास र सडक राम्रो नहुँदा समस्या परेको छ । काठमाडौँबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल १०० को हाराहारीमा बसले यात्रुलाई सेवा दिइरहेका छन् । रासस

छत्रेश्वरी विमानस्थल निर्माण अध्ययन प्रतिवेदन सार्वजनिक, ८१ करोड लाग्ने

सल्यान । सल्यानमा एक गाउँपालिकाले विमानस्थल निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत छत्रेश्वरी गाउँपालिकास्थित लेखपोखराको डाँडामा प्रस्ताव गरिएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । ८१ करोड रुपैयाँ लागत अनुमान गरिएको प्रस्तावित विमानस्थल निर्माणका लागि धावनमार्गका लागि चाहिने ६३० मिटर उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भूवनावटको हिसाबले जमीन उपयुक्त रहेको तथा धावनमार्गका लागि समेत जमीन उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सल्यान र रोल्पा जिल्लाका पश्चिमी भेगका करीब ३ लाख ५० हजार जनसङ्ख्यालाई लक्षित गरी अध्ययन थालिएको विमानस्थलमा १९ सिट क्षमताका ट्वीनटर विमान अवतरण गर्न सक्नेछन् । विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनले उपयुक्त देखाएकाले अब विमानस्थल निर्माणको कार्य अगाडि बढाइने छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जनाकारी दिए । “सम्भाव्यता अध्ययनबाट विमानस्थल निर्माणका लागि छनौट गरिएको स्थान उपयुक्त देखिएको छ । अब छिट्टै निर्माणको कार्य अगाडि बढाइनेछ”, अध्यक्ष केसीले भने । विमानस्थल निर्माणका लागि गाउँपालिका लागि ठूलो रकम भए पनि यसका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारलाई अनुरोध गर्ने जानकारी दिए। “हाम्रो भन्दा कमजोर र सानो जमीन भएका स्थानमा विमानस्थल निर्माण भएका छन्, शुरुमा सुन्दा धरैलाई अपत्यारिलो लाग्न सक्छ तर सबैको सहकार्य सहयोगले यो सम्भव बनाउँछु,”अध्यक्ष केसीले भने। छत्रेश्वरी गाउँपालिका–५ मा अवस्थित प्रस्तावित छत्रेश्वरी विमानस्थलको अध्ययन गर्ने जिम्मा पाएको आरम्भ आर्केटेक्ट एण्ड इञ्जिजिनियर्सको टोलीले अध्ययन प्रतिवेदन सार्वजानिक गरेकोे हो । रासस

भूकम्पबाट क्षतिग्रस्त पुर्वाधार बनाउन अझै ६ खर्ब अपुग, पुनःनिर्माणलाई आवश्यक बजेटको सूक्ष्म अङ्क आउने

काठमाडौ । भूकम्पपछिको पुनःनिर्माणका लागि ४ खर्ब १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता भएकामा हालसम्म ३ खर्ब ६ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ । भूकम्पपछि विसं २०७२ असारमा सम्पन्न दाता सम्मेलनमा भएको प्रतिबद्धताअनुसार सम्झौताको क्रम चलिरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रतिबद्धता भएको बजेटमध्ये ६७ अर्ब रुपैयाँ तत्कालको उद्धार तथा राहतमा खर्च भएको थियो । पञ्चवर्षीय पुनःनिर्माण योजना अन्तर्गतका योजना तथा कार्यक्रम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आँकलन गरिएको छ । चालु आर्थिक वर्षसम्म पुनःनिर्माणका लागि ३ खर्ब ३८ अर्ब रुपैयाँ बजेट छुट्याइसकिएको प्राधिकरणका सहप्रवक्ता एवं सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । पुनःनिर्माणका बाँकी काम सम्पन्न गर्न थप करीब ६ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । “पुृनःनिर्माणमा बजेटको अवस्था के छ ? भनेर हाल समीक्षा भइरहेको छ, असोजमै बजेटको अवस्था र बाँकी कति रकम आवश्यक पर्छ भन्ने सूक्ष्म प्रतिवेदन ल्याउने तयारी भएको छ,” उनले भने। आव २०७२/०७३ र २०७३/०७४ मा निजी आवास पुनःनिर्माणमा छुट्याएको बजेट पनि खर्च हुन सकेको थिएन । आव २०७४/०७५ देखि निजी आवास पुनःनिर्माणले गति लियो । पुनःनिर्माणले गति लिएसँगै बजेट पनि बढी खर्च हुन थाल्यो । गत आर्थिक वर्षमा पुनःनिर्माणमा १ खर्ब ८६ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको थियो । प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको आठौँ बैठकले सरकार र दातृ निकायसँगको सहकार्य एवं छलफलमा पुनःनिर्माणमा देखिएको आर्थिक अन्तरलाई पूरा गर्न पहल गर्ने निर्णय गरेको थियो । बैठकले दाताले प्रतिबद्धता जनाएका रकमको सम्झौतालाई प्राथमिकता दिन पहल गर्ने निर्णयसमेत गरेको थियो । पुनःनिर्माणमा केही स्रोत गैरसरकारी तथा निजी क्षेत्रबाट पनि परिचालन भएको छ । पञ्चवर्षीय पुनःनिर्माण योजना परिमार्जनको क्रममा रहेको र त्यसपपछि वास्तविक वित्तीय आवश्यकता आउने जनाइएको छ । भूकम्पबाट प्रभावित ८ लाखभन्दा बढी घर परिवारमध्ये निजी आवास निर्माणका लागि ९० प्रतिशतले पहिलो किस्ता, ६२ प्रतिशतले दोस्रो किस्ता र ३२ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेका छन् । भूकम्पबाट क्षति भएका घरमध्ये ३६ प्रतिशतको पुनःनिर्माण सम्पन्न भइसकेको छ । पुनःनिर्माण हुनुपर्ने सात हजार ५०० विद्यालयमध्ये ३ हजार ८०० विद्यालयको निर्माण सम्पन्न भएको छ । २ हजार ७०० विद्यालय निर्माण क्रममा छन् । १ हजार २०० स्वास्थ्य संस्थामध्ये ६५० को निर्माण पूरा भएको छ । १५० स्वास्थ्य संस्था निर्माणाधीन छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ७५३ सम्पदामध्ये १८५ वटा सम्पदाको निर्माण सम्पन्न भएको छ । ३१० सम्पदा निर्माणका क्रममा छन् । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी ऐेन, २०७२ मा विकास सहायताद्वारा सञ्चालित कार्यक्रमलाई प्रभावकारी र पारदर्शी बनाउन, अनुमगन गर्न गराउन प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार र नागरिक समाजको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने व्यवस्था छ । प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरे बजेट अभाव भएरै हालसम्म पुनःनिर्माण नरोकिएको बताउछन् । छुट्याइएको बजेट नै पुनःनिर्माणमा खर्च हुन नसकेकाले काम गर्ने क्षमता बढाउनु आवश्यक रहेको उनको भनाइ छ । चारवटा एकीकृत बस्ती पुनःनिर्माण योजना स्वीकृत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरण कार्यकारी समितिको आजको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका–३ फुयाँल गाउँस्थित फुयाँल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याँडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याँडीटोल एकीकृत माझी बस्तीको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो । बैठकले सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–१२ गिराञ्चौरस्थित सामुदायिक पुनःनिर्माण पर्यटन प्रवद्र्धन परियोजना र काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–७ पुखुलाछीस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई समेत स्वीकृत गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको सहप्रवक्ता एवं सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए। फुयाँलगाउँ एकीकृत नमूना बस्तीमा १२, झ्याँडीटोल एकीकृत बस्तीमा ५६, गिराञ्चौरस्थित सामुदायिक पुनःनिर्माण पर्यटन प्रवद्र्धन परियोजनामा १३५ र सिर्जनशील एकीकृत बस्ती विकासमा १६ घरधुरी रहनेछन् । तीन लाख बढी घर पुनःनिर्माण पुनःनिर्माण सम्पन्न निजी आवासको सङ्ख्या ३ लाख नाघेको छ । प्राधिकरणको सूचना प्रणालीमा प्राप्त तथ्याङ्कअनुसार ३ लाख ५ हजार ८८३ निजी आवासको पुनःनिर्माण सम्पन्न भएको छ । २ लाख ५१ हजार ५२७ घर निर्माण भइरहेको उहाँले जानकारी दिए । निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको सङ्ख्या सात लाख २६ हजार ९१७ छ । आजै बसेको कार्यकारी समितिको बैठकले गुनासो सुनुवाइबाट ४४५ लाभग्राही थपेको छ । थपिएसँगै लाभग्राहीको सङ्ख्या ८ लाख ११ हजार १३५ पुगेको छ । गुनासो सुनुवाइबाट दुई हजार ३४३ भूकम्पपीडित प्रवलीकरण सूचीमा समावेश भएका छन् । प्रवलीकरण सूचीमा सूचीकृत लाभग्राहीको सङ्ख्या ६४ हजार २३४ पुगेको प्राधिकरणले जनाएको छ । पुनःनिर्माण सूचीमा परेका लाभग्राहीले ३ लाख र प्रबलीकरण सूचीमा सूचीकृत लाभग्राहीले १ लाख रुपैयाँ अनुदान पाउँछन् । ३ लाख तीन किस्ता र १ लाख रुपैयाँ दुई किस्तामा दिने प्राधिकरणको कार्यविधिमा उल्लेख छ । रासस

बजारमा चिनीको अभाव छैन्, ५९ रूपैयाँमा पाइन्दैन– आपूर्तिमन्त्री

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट पारेका छन्। आइतबार यहाँ आयोजित साक्षात्कारमा मन्त्री यादवले भने, “बजारमा चिनीको अभाव छ भन्ने हल्ला निराधार हो । बजारमा कहीँ कतै चिनीको अभाव छैन ।” नेपालमा हाल १ लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको र बजारको आवश्यकता २ लाख ३० हजार मेट्रिक टन रहेको जानकारी दिँदै ५० हजार मेट्रिक टन बाहिरबाट खरीद गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले बताए। उनले आर्थिक वर्ष २०७४÷०७५ मा २ लाख ३५ हजार मेट्रिक टन चिनी बजारमा रहेको जानकारी दिए। मन्त्री यादवले नेपाली उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिँदै उत्पादन लागत र किसानको मिहिनेतका आधारमा नेपाली चिनी प्रतिकेजी ५९ मा बिक्री गर्न सक्ने अवस्था नरहेको बताए। रासस

विद्युत प्राधिकरण र फेदीखोलाबीच पीपीए, ४ वर्षमा बिजुली उत्पादन हुने

काठमाडौं । नेपाल विधुत् प्राधिकरण र फेदीखोला हाइड्रोपावर कम्पनीबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । कम्पनीले ३.५ मेगावाटको फेदी (थुम्लुङ) खोला जलविद्यबाट उत्पादन गरेको बिजुली खरिद गर्ने छ । विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिह र कम्पनीका अध्यक्ष चन्द्रप्रसाद वाँस्तोलाले पीपीएमा हस्ताक्षर गरेका छन् । कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिचो गा।पा।मा निर्माण गर्ने यो आयोजनाबाट उत्पादित विधुत अपर ईर्खुवा खोला जलविद्युत् आयोजना १४.५ मेगावाटको स्वीचयार्डसम्म ३३ केभी प्रसारणलाईन र त्यसपछि १३२ केभी प्रसारणलाइन मार्फत संखुवासभाको सितलपाटीमा बन्ने २२० केभी सवस्टेशनमा जोडिने कम्पनीले जनाएको छ । आयोजनाले २०७९ फाल्गुन ३० गतेबाट व्यापारीक विधुत् उत्पादन गर्ने कम्पनीका सञ्चालक प्रकाश दुलालले जानकारी दिए । आयोजना बनाउन ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।