विकासन्युज

नेपाल इन्भेष्टमेण्ट बैंकको मास्टरकार्ड सञ्चालनमा, कारोबार गरेबापत रकम पाइने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको सुरुवात गरेको छ । बैंकले मास्टरकार्डको सहकार्यमा आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको हो । स्थानीय(डोमेस्टिक) कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय(इन्टरनेशनल) कार्ड विश्वभर प्रयोग गर्न सकिने बैंकले जनाएको छ । एनआईबीएल मास्टरकार्डको उद्घाटनसंगै बैंकले तीन महिनासम्म आफ्ना ग्राहकहरुलाई निशुल्क कार्ड जारी गर्ने भएको छ । साथै, यस्तो मास्टर कार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना बैंकले ल्याएको छ । यसका लागि भने केहि शर्तहरु लागू हुने बैंकले जनाएको छ । त्यस्तै, एनआईबीएल माष्टर कार्डले आर्थिक कारोवार गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ ।

साँसद पोल्देन छोपाङ गुरुङ स्याउ खेतीमा, ३० करोड लगानीमा एग्रो मनाङ स्थापना

मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको बिहीबार उद्घाटन गरेका छन् ।सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे। उनले सरकारले यो वर्ष स्याउ कृषकका लागि १० करोड रुपैयाँ अनुदान दिएको र १ लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको जानकारी दिए।अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए । मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गरेको स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने उनले बताए। ७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाइएकामा ४२५ रोपनी क्षेत्रफलबाट उत्पादन भएको छ । स्याउ बगैँचा ३० करोड रुपैयाँ लगानी रहेको छ । प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार ५५ जना कर्मचारी रहेका छन् । उहाँका अनुसार अत्याधुनिक चिस्याङ केन्द्रमा जुस उद्योगको समेत स्थापना गरिएको छ ।रासस

सुन्धारामा खुल्यो मोबाइल हब, दशैँ धमाकामा ६० प्रतिशत छुट

काठमाडाँै । दशैंको पूर्वसन्ध्यामा काठमाडौंको सीटीसी मलमा नयाँ मोबाइल गन्तव्य सुरु भएको छ । सुनधारास्थित सिभिल ट्रेड सेन्टरको भुई तल्लामा बिहीबारदेखि सञ्चालनमा आएको सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्ने भएको छ । औपचारीक सुरुवातसँगै मोवाइल हबले असोज ३१ गतेसम्म दशैको धमाका मोबाइल मेला सञ्चालन गर्न लागेको हो । दशै धमाकामा मोबाइ खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको छ । सिटिसि मोबाइल हबमा सुन्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने आयोजकले जनाएको छ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण पनि गरिने भएको छ पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ । मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा रहने छ ।

सिटिजन्स बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं। ‘सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बिहिबारउक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता समारोहमा सिटिजन्स बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेल र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो । यस सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।  यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । उक्त सम्झौताको बारेमा बोल्दै सिटिजन्स बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्लेले भने, “हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेका छौँ भन्ने महसुस गरेका छौ ।” साथै बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेलले आफू डिजिटल प्रविधिमैत्री रहेको र मोबाईलबाटै फिल्मको टिकट काट्ने र अन्य दैनिक भुक्तानीहरु पनि मोबाईल एप मार्फत नै गर्ने गरेको बताए । “मप्रविधिको विकास र यसले मानिसको दैनिक जीवनमा ल्याएको सहजताबाट एकदमै प्रभावित छु । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरु माझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ ।” उनले थपे। त्यसै गरी खल्तीका निर्देशक अमित अग्रवालले भने, “हामी सिटिजन्स बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब सिटिजन्स बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उनिहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन्। नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिपसँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।” सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ ।

पावर ट्रान्सफरमर उत्पादनमा नेपाल इकरातकाे फड्काे, अब नेपालमै १० एमभीए

काठमाडौं । नेपालमा विद्युत प्रवाह गर्न ठुलो क्षमताको (पावर ट्रान्सफरमर) उत्पादन शुरु भएको छ । निजी क्षेत्रको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्राइभेट लिमिटेडले १० एमभीए १३२ केभी क्षमताको पावर ट्रान्सफरमर उत्पादन थालेको हो । १० एभीए क्षमताका ट्रान्सफरमर नेपालमा उत्पादन नभएपछि भारतबाट आयात हुँदै आएको छ । पावर ट्रान्सफरमर उत्पादन गरी बिक्री पनि भइसकेको नेपाल इकरातका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए । नेपाल इकरातले १० एमभीए पावर ट्रान्सफरमर वार्षिक ४० वटासम्म बनाउने भएको छ । विस्तारै उत्पादन क्षमता बढाउने जोशीले जानकारी दिए । एउटा पावर ट्रान्सफरमरको मूल्य न्युनतम १ करोड ५० लाख रुपैयाँ हुने उनले बताए । कम्पनीले वार्षिक २ हजार थान ट्रान्सफरमर उत्पादन गर्दै आएको छ । हालसम्म कम्पनीले ५ एमभीए क्षमताको मात्र ट्रान्सफरमर उत्पादन गर्दै आएको थियाे । वार्षिक ६ हजार थान ट्रान्सफरमर उत्पादन हुने गरी क्षमता विस्तार गरिएको जोशीले जानकारी दिए । कम्पनीले पहिलो चरणमा माथिल्लो मैलुङखोला जलविद्युत आयोजनालाई ७.९ एमभीए क्षमताको पावर ट्रान्सफरमर आपूर्ति गरेको उनले सुनाए । अर्डर आएपछि मात्र पावर ट्रान्सफरमरको उत्पादन शुरु हुने जोशीले बताए । पावर ट्रान्सफरमर ठुला जलविद्युत आयोजनालाई आवश्यक पर्ने गर्छ । भारतलगायत तेस्रो मुलुकबाट वार्षिक औसत २०० वटा पावर ट्रान्फरमर आयात हुने गरेकोमा अब नेपालमा बन्न शुरु गरेकाले विदेशबाट किन्नु पर्ने अवस्थाको अन्त्य हुने जोशी बताउछन् । नेपाल इकरातले अझ बढी सुरक्षित ड्राइटाइपको ट्रान्सफरमर बनाउनका लागि स्पेनको आईएमईएफवाइ कम्पनीसँग सहाकार्य गर्न लागेको जोशीले सुनाए । केही समयपछि ड्राइटाइपको ट्रान्सफरमरको नेपालमै उत्पादन थालिने उनले सुनाए । पछिल्लो समयमा स्वदेशमा विद्युतीय ट्रान्सफरमरको माग बढ्दै गएको नेपाल इकरातको ट्रान्सफरमर टेलिकम, स्कुल, जलविद्युत आयोजना, सामुदायिक विद्युतीकरण, सिमेन्ट, डण्डी उद्योग, हाउजिङ र अस्पताललगायत बढी बिजुली खपत हुने क्षेत्रमा प्रयोग हुदै आएको छ । कम्पनीले विभिन्न क्षमताको ४ हजार ट्रान्सफरमर भुटानमा निर्यात गरेको थियो । त्यहाँ वार्षिक २०० थान ट्रान्सफरमर निर्यात हुने गरेको छ ।

नेप्से ९ अंकले उक्लियो, मेगा बैंक सहित ५ कम्पनीको एक करोड बढी सेयर कारोबार

काठमाडौं । बिहीबारको नेप्से परिसूचक ९.०३ अंकले बढेर १२२७.३६ अंकमा पुगेको छ । सो दिनको बजार अघिल्लो दिनको तुलनामा ०.७४ प्रतिशतले उकालो लागेको हो । बजार खुलेदेखि उकालो लागेको बजारमा कुल १६५ कम्पनीको सेयर किनबेच भएको छ । ८ लाख ६२ हजार कित्ता सेयर २५ करोड २२ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । कुल कारोबार मध्ये सबैभन्दा बढी मेगा बैंकको सेयर किनबेच भएको छ । यस बैंकको एकैदिन एक करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको छ । त्यस्तै, एक करोड रुपैयाँ भन्दा बढी सेयर करोबार गर्नेमा मेगा सहित अन्य ४ कम्पनीहरु रहेका छन् । एनआईसी एशिया बैंकको एक करोड ५१ लाख, एनएमबी बैंकको एक करोड ३८ लाख, जनता बैंक नेपालको एक करोड २० लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एकल अंकले बढेको बजारमा सबैभन्दा बढी यूनाईटेड फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७.९५ प्रतिशतले बढेको छ । सो दिन निर्जीवन बीमा समूहको सूचक ४८ अंकले उकालो लागेको छ । उत्पादन मूलक १२ र होटल समूह ३१ अंकले ओरालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् ।

माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ् सेवा, रियल टाइममानै खाता खोल्न मिल्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्मा ४ शाखा रहित बैंकिङ् सेवा संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्को रुपाकोट मझुवागढिनगरपालिका, खोटा खोटाङ्को च्यास्मीटार र धितुङ्मा उक्त सेवा संचालनमा ल्याएको हो । बैंकले तुरुन्त (रियल टाइममा) खाता खोल्न मिल्ने गरी उक्त ४ स्थानामा सेवा विस्तार गरेको हो । यो सहित बैंकको हालसम्म ३३ शाखा रहित बैंकिङ् सेवा सञ्चालनमा आइसकेका छन् । बैंकले उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन, २०२० सम्म २५ प्रतिशत घटाउने लक्ष्य

काठमाडौं।  सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔ’, भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय संस्थाले सन् २०१० को अध्ययनलाई आधार मानी सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । उक्त दुवै संस्थाले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा ‘भिजन २०२० ः दृष्टिको अधिकार’ कार्यक्रम घोषणा गरी हरेक वर्ष अक्टोबर महीनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने गरिएको हो । नेपाल सरकार पनि उक्त सङ्गठनको राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा २० वर्षे कार्ययोजना (सन् २००१–२०१९) लागू गरेको छ । दिवसका अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानले मुलुकभरका सामुदायिक आँखा केन्द्रमा विभिन्न कार्यक्रम गरिरहेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिए। यस दिवसका अवसरमा प्रतिष्ठानले ओखलढुङ्गा, रामेछाप, दोलखा तथा सिन्धुली र मुस्ताङका बिरामीलाई लक्षित गरी आयोजना गरिएको आँखा शल्यक्रिया शिविरमा १४४ को निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको उनले जानकारी दिए। नेपालमा आँखासँग सम्वन्धी केही तथ्य प्रतिष्ठानका अनुसार नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन छन् । दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टि दोषको समस्या छ । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । अन्धोपनका १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् । नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिसमध्ये ६० प्रतिशत महिला छन् । न्यून दृष्टिको मुख्य कारणमा दृष्टि दोष, मोतिविन्दु र जलविन्दु रहेका छन् । सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेक्षणमा ० दशमलव ६ प्रतिशत बालबालिकामा अन्धोपन देखिएकामा ८० प्रतिशत बालबालिकाको उपचार गरेर अन्धोपन हटाउन सकिने भेटिएको थियो। अन्धोपनाका मुख्य कारण मोतिविन्दु र यससँग सम्बन्धित ६५ प्रतिशत, आँखाको पर्दाजन्य रोग १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना छ प्रतिशत, जलविन्दु पाँच प्रतिशत, दृष्टि दोष चार प्रतिशत र अन्य सात प्रतिशत रहेको छ । विश्वमा आँखा स्वास्थ्य सम्वन्धी केही तथ्य विश्वमा तीन करोड ६० लाख मानिस दृष्टिीबिहीन छन् । २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित छन् । एक अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् । एक करोड ९० लाख बालबालिकामा दृष्टि दोष देखिएको छ । कूल दृष्टिदोषमध्ये झण्डै ६५ प्रतिशत मानिस ५० वर्ष र माथिका उमेरका छन् । अन्धोपना र दृष्टिदोषको भार सन् १९९० को ४ दशमलव ५८ प्रतिशतबाट कम भएर २०१५ मा ३दशमलव ३७ प्रतिशतमा झरेको तथ्याङ्क छ । आँखा स्वास्थ्य सन्देश आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टि दोषका लक्षण हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुनसक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जचाइहाल्नुपर्दछ । हरेक पाँच अन्धोपन भएका मानिसमध्ये चारको उपचार र रोकथाम सम्भव छ । तसर्थ नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरी अन्धोपना हुनबाट बचौँ र बचाऔँ ।