विकासन्युज

मोटरसाइकल दर्ता १०० लटबाट शुरू हुँदै, बुधबारदेखि यात्रुले नै डिलक्स बस रिजर्भ गर्न सक्ने

काठमाडौं । वाग्मतीमा मोटरसाइकल दर्ता १०० लट देखि शुरु हुने भएको छ । ९९ सय लट पुगेर रोकिएको मोटरसाइकल दर्ता पुन: शुरु हुन १०० लटबाट शुरु हुने भएको हो । मोटरसाइकल दर्ता पुन: शुरु गर्ने प्रक्रिया मन्त्रिपरिषदमा पुगेको छ । विभागले यस मोडलमा नयाँ दर्ता गर्ने निर्णय गरी मन्त्रालयमा प्रस्ताव पेश गरिसकेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र अमेरिकाबाट फर्किएपछि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेस गर्न समय अपुग भएपछि सो निर्णय हुन सकेको थिएन । विभागकाे प्रस्ताव अनुसार निर्णय भएमा मोटरसाइकल दर्ता प्रक्रिया अब १०० बाट शुरु हुने यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । मुख्य सचिव लोकदर्शन रेग्मीका अनुसार सोमबारको मन्त्रिपरिषदमा समय अपुग भएपछि उक्त प्रस्ताव पेश हुन सकेको थिएन । मन्त्रिपरिषदको अर्को बैठकमा यस विषयकाे टुङगो लाग्न सक्ने बतार्इकाे छ । यसअघि मोटसाइकलमा प्रयोग गरिने लट नम्बर ९९ नाघेपछि वाग्मतीमा मोटरसाइकल दर्ता रोकिएको थियो । विभागको अनुसार हाल देशभर सवारी साधनको संख्या ३२ लाख पुगेका छ। त्यसमध्ये २५ लाख भन्दा बढी मोटरसाइकल रहेका छन् । वाग्मतीमा मात्रै मोटरसाइकलको संख्या १० लाख पुगेको छ । भोलिदेखि सार्वजनिक यातायातलाई रुट फ्री विभागले घटस्थापनाको दिनदेखि ३१ गतेसम्म सार्वजनिक यातायातलाई रुट फ्री गर्ने भएको छ । दशैं अवधिभर बसहरुलाई देशभर रुट परमिट खुल्ला गर्ने भएको हो । दशैंको समयमा उपत्यका बाहिरिने यात्रुको चाप उच्च हुने भएकोले यातायात सेवा प्रभावकारी बनाउन रुट परमिट खुल्ला गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार ३१ गतेसम्म सार्वजनिक बसले जुनसुकै रुटमा यात्रु लिएर हिड्न पाउनेछ । यात्रुहरु ग्रुपमा मिलेर आफैंले रूची र क्षमताअनुसार सुविधासम्पन्न बस रिजर्भ गर्न सक्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव सरोज सिटौलाले बताए । यसको लागि टिकट काउन्टर र यातायात समितिको निर्भर रहनु नपर्ने सिटौलाले बताए । हालसम्म १० लाख भन्दा बढी मानिस उपत्यका बाहिरीसकेका सिटौलाले जानकारी दिए । दशैं मनाउन उपत्यकाबाट २० लाख भन्दा बढी यात्रु उपत्यका बाहिरिने भएकाले यात्रु सहजताको लागि विभागले रुट परमिट खुल्ला गरेको हो । अब उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीलाई बाहिर यात्रु बोक्ने बाटो खुलेको छ । यसैगरी विभागले मोटरसाइकल कार लगायत सवारी बोक्ने मल्टिएक्ली ट्रायक्टर टेलरलाई नारायणघाटदेखि काठमाडौंसम्म प्रवेशमा रोक लगाएको छ । अब ती टेलरहरु असोज ३१ गते पछि मात्रै काठमाडौं प्रवेश गर्न पाउनेछन् । विभागको ४ वटा अनुगमन टोली विभागले दशैं अवधिभर ४ वटा टोली बनाएर अनुगमनमा खटाएको छ । विषेशगरी माइक्रोबसले मनोमानी रुपमा भाडा असुली गरेको पाइएको प्रवक्ता उपाध्ययले बताए । उनका अनुसार त्यस्ता बसहरुलाई भाडा फिर्ता गर्न लगाउने र तत्काल आवश्यक कारबाही गर्ने गरिएको छ । कुनै पनि समितिको टिकट सकिएमा तत्काल २ वटा थप बस थप्ने व्यवस्था मिलाइएको छ ।

१६० करोड लगानीमा दाङमा गजराज सिमेन्ट स्थापना, दैनिक १८ सय टन उत्पादन

लमही । दाङमा नयाँ सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको छ । अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ । लमही नगरपालिकाबाट सिमेन्ट उत्पादन थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिए। उत्पादन आसपासका नागरिकको स्वास्थ्यलाई कुनै असर नपर्ने गरी उद्योग सञ्चालनमा ल्याएको उनले जानकारी दिए। दैनिक १ हजार ८०० टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न १ अर्ब ६० करोड रुपैयाँको लगानी भएको पाण्डेले बताए । उद्योगले दाङको काभ्रे, लोहरपानी, स्यूजा, रोल्पाको डुब्रिङ र प्यूठानको रम्दीबाट चुनढुङ्गा ल्याउने गरेको छ । यस्तै उद्योगले क्लिङ्गर तत्कालका लागि सोनापुर सिमेन्ट उद्योग र भारतबाट ल्याउने गरेको पाण्डेले जानकारी दिए । सिमेन्ट उद्योगले गजराज र सम्राट ब्राण्डका पिपिसी र ओपिसी सिमेन्ट उत्पादन गर्ने उद्योग प्रशासनले जनाएको छ । जर्मन प्रविधिको मेसिनले सिमेन्ट उत्पादन थालेको उनको भनाइ छ । रासस

स्वदेशी लघुवित्तको सीईओमा चापागाई नियुक्त, मंसिर १ गतेदेखि लागू हुने

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गोबिन्द चापागाई नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई आगामी चार वर्षसम्म लागू हुने गरी लघुवित्तको सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ चापागाईले करार सेवा अनुसार आगामी मंसिर १ गतेदेखि २०७९ साल कात्तिक ३० गतेसम्म संस्थाको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने कम्पनी सचिव अशोक सुवेदीले बताएका छन् ।

एक्लै भएको अवस्थामा हार्टअट्याकबाट बच्ने उपाय जानीराखौँ

काठमाडौं । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाई रहेका छन् । हार्टअट्याक जुनै पनि समयमा जहाँ पनि जसलाई पनि हुन सक्छ। त्यसैले यो भएको अवस्थामा के गर्ने भनेर सबैलाई जान्न जरुरी छ। हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो यसलाई सजिलै जित्न सकिन्छ । डाक्टर नआउनजेल सम्म के गर्ने? यदि तपाईलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेत को अनुभव भयो र आफू फेन्ट हुँन्छु जस्तो लाग्यो भने, त्यस बखत तपाईसँग होश गुमाउनु पूर्व जम्मा दश सेकेन्ड समय रहन्छ । तर धेरै मानिसहरुलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू हडबडाउनुु हुँदैन । साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ । त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ । खोक्नुभन्दा पहिले लामो श्वास लिनुहोस् र लामो समयसम्म खोक्नुहोस्। आफ्नो फोक्सोमा जमेको थुक, खकार बाहिर फाल्न चाहे जसरी खोक्नुहोस्। प्रत्येक २ सेकेण्डमा नबिराई श्वास लिनुहोस्। यो प्रक्रिया डाक्टर नआए सम्म वा मुटुको धड्कन नरमल नभएसम्म जारी राख्नुपर्छ । गहिरो श्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रबेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ । यसले तपाईको मुटु र रगत संचारको गतिमा नियमितता ल्याउन मद्धत पुर्याउँछ । डाक्टर नआइपुगुनजेलसम्मका लागि यो एकदमै भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन । तसर्थ, संभव भए सम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरु सम्म पुर्याउनुहोस् । तपाईको सानो सहयोगले धेरैको ज्यान बचाउन सक्छ । मुटुरोग बिशेषज्ञहरु ग्यारेनटीका साथ भन्छन्, “यदि एक जनाले यो उपाय दश जना सम्म पुर्याएको खण्डमा, कमसेकम एक जनाको ज्यान बचाउन सकिन्छ ।

लायन्स क्लबको आयोजनामा कार्तिक ३० गतेदेखि पूर्वी क्षेत्र महोत्सव सञ्चालन हुँदै

चितवन। पुर्वी चितवनको रत्ननगरमा लायन्स क्लबले पूर्वी क्षेत्र महोत्सव सञ्चालन गर्ने भएको छ । रत्ननगरको लायन्स क्लब अफ चितवन राइनो सिटीले आउँदो कात्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म महोत्सव गर्न लागेको हो । रत्ननगरको शान्ति चोक नजिक महोत्सव गर्न लागिएको यहाँ आयोजित दसैँ शुभकामना आदानप्रदान एवम् महोत्सव घोषणा कार्यक्रममा जानकारी दिइएको हो । महोत्सवको आयोजना गरी उठेको रकमले एउटा शव बाहन खरिद गर्ने, पूर्वी चितवनका पत्रकारहरुको संरक्षणको लागि पत्रकार संरक्षण कोष स्थापना गर्ने, असहाय बालबालिकाको लागि लायन्स असहाय बालबालिका संरक्षण कोषको स्थापना गर्ने लगायतको उद्देश्य राखेर महोत्सव गर्न लागिएको महोत्सवको संयोजक निरज श्रेष्ठले जानकारी दिए । महोत्सवमा ३०० स्टलहरु रहने र करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको संयोजक श्रेष्ठले बताए । महोत्सवमा प्रवेश गर्न ५० रुपैयाँको टिकट र विद्यार्थीको लागि ३० रुपैयाँको टिकट दर कायम गरिने भएको छ । महोत्सवकै अवसरमा लायन्स क्लब अफ रत्ननगर शान्तिचोकले फुड फेष्टिबलसमेत आयोजना गर्ने आयोजकले जनाएको छ ।

बजार अनुगमनमा कडाई गर्दै चितवन प्रशासन, १७ किलो अखाद्य घ्यु नष्ट

चितवन । चार्डपर्व नजिकए संगै जिल्ला प्रशासन कार्यालय चितवन आक्रमक भएको छ । चाडपर्वको समयमा बजारमा हुने मनोमानीलाई कम गर्न प्रशासनले गीतानगर बजारका विभिन्न किराना पसलहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सोमबार १७ किलो अखाद्य घ्यू नष्ट गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । चाडपर्वको समयमा बजारमा गुणस्तरीयहीन सामान आउन सक्ने भन्दै गरिएको अनुगमनका क्रममा मिल्क डेरी फुडबाट उत्पादित राधाकृष्ण ब्राण्डको १० किलो र सिन्धुली डेरीको उत्पादनमा बजारमा कृति ब्राण्डको ७ किलो गरि १७ किलो घ्यू बरामद गरेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए । राधाकृष्ण ब्राण्डको घ्यू उत्पादन गर्ने कम्पनीले गुणस्तरहीन घ्यू उत्पादन गरेको भन्दै केही दिनअघि मात्रै खाद्य प्रविधि क्षेत्रीय कार्यालयले सिलबन्दी गरेको हुँदा उक्त घ्यू स्वास्थ्यको लागि हानिकारक हुने हुँदा नष्ट गरिएको उनले बताए । ‘उक्त कम्पनीका सञ्चालक हाल फरार छन्,’ उनले भने, कम्पनी विरूद्ध सरकारले जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा नै नर्दा गरिसकेको छ ।’ यस्तै कृति ब्राण्डको घ्यू भने मिति नाघेको भेटिएकोले बरामद गरेर नष्ट गरिएको छ । सोही क्रममा मिति नाघेका पेय पदार्थ समेत बरामद गरेर नष्ट गरिएको छ । ६० वटा ठूला प्लास्टिकका ठूला बोत्तलमा रहेका पेय पदार्थ मिति नाघेको भेटिएकोले सबै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि श्यामसुन्दर ढकालले जानकारी दिए । मिती नाघेका सामान बिक्री गरेका पसल सञ्चालकहरूलाई प्रारम्भिक बयानको लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर कारबाही प्रकृया अघि बढाइने उनले बताए । पेय पदार्थका उत्पादन कम्पनीहरूले बठ्याइँ गरेर मिति सकिएका सामाग्री समेत छाडेर जानसक्ने मिति हेरेर मात्रै सामान राख्न उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका कार्यबहाक अध्यक्ष विष्णुप्रसाद भुसालले व्यापारीहरूलाई आग्रह समेत गरे । ‘अन्य सामाग्रीमा पनि मिति हेरेर मात्रै राख्नुहोला,’ उनले सुझाए । जिल्ला प्रशासनले प्रहरी, उपभोक्ता अधिकार संरक्षण मञ्च, पत्रकार तथा स्थानीयको उपस्थितिमा उक्त सामाग्री बरामद गरेर नष्ट गरेको हो । प्रशासनले सोमबार गीतानगर बजारका किराना पसल तथा होटलहरूमा अनुगमन गरेको थियो ।

जावलाखेलको क्लिनिक वानमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेलको क्लिनिक वान प्रा. लि.बीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुबिक्रम राणाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वनमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँनेछन् ।

रसुवागढी हाइड्रोपावरको तेस्रो आईपीओ आउँदै, आयोजनाको ७० प्रतिशत काम सम्पन्न

काठमाडौं । प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । १११ मेगावाटको रसुवागढी आयोजनाको निर्माण गरिरहेको कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई २५ प्रतिशत अर्थांत १ अर्ब ७१ करोड ५ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि रसुवागढीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्कासन हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद कोइरालाले बताए । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेकोमा यसलाई स्थगन गरेर सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । भूकम्पबाट धेरै प्रभावित भएकाले आईपीओमा लगानी गर्न रकम नभएको भन्दै जिल्ला समन्वय समितिमार्फत स्थानीयबासिन्दाले आग्रह गरेपछि यसलाई स्थगन गरेर कम्पनीले १५ प्रतिशत निष्कासन गर्न लागेको हो । १५ प्रतिशत आईपीओ निष्कासन गर्न कम्पनीले बोर्डमा निवेदन दिएको उनले जानकारी दिए । बोर्डले स्वीकृति दिएमा पहिलो चरणमा सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ७३ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७३ हजार कित्ता आईपीओ निष्कासन हुने छ । त्यसपछि आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन हुने छ । यसअघि कम्पनीले पहिलो र दोस्रो गरी १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कर्मचारी संचय कोषका संचयकर्ता, संस्थागत लगानीकर्ता अन्तर्गत नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता संचय कोषका कर्मचारीलाई आईपीओ निष्कासन गरेको थियो । पहिलो र दोस्रो आईपीओ आइतबार बाँडफाँट भइसकेको छ । हालसम्म आयोजनाको ७० प्रतिशत काम सकिएको कोइरालाले बताए । आयोजनाको ४ हजार २०० मिटर अर्थात ४.२ किलोमिटर लामो सुरुङ खन्ने काम पुरा भएको छ । बाँधलगायत अन्य पुर्वाधारको काम जारी छ । आयोजनाको अब ३० प्रतिशत मात्र काम बाँकी छ । १८ महिनाभित्र आयोजना महिनामा सम्पन्न भई बिजुली बल्ने छ । आउदो २०७६ फागुन ७ गते आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । आयोजना नेपाल-चीन सीमा रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा पर्छ । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेड भारतले गरिरहेको छ । निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।