विकासन्युज

थ्रीस्टार हाइड्रोपावरले साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने

काठमाडौं। थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत शेयर लगानी रहने जनाइएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम थालिएको साप्सुखोला जलविद्युत् हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सिमानास्थित बेलडाँडाबाट उत्पादन गरिने हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार खरेलले बताए। “विद्युत् उत्पादनका लागि प्राधिकरणसँग पिपिए गरिसकिएको छ ।” उनले भने, “दशैँ तिहारपछि काम अगाडि बढाउने तयारीमा लागेका छौँ ।” कूल आम्दानीको दुई प्रतिशत स्थानीय तहलाई दिने गरी काम थालिएको जलविद्युत् उत्पादनको काम अहिलेसम्म १० प्रतिशत सम्पन्न भएको जनाइएको छ । जलविद्युत् उत्पादनका लागि ८५ रोपनी सरकारी र ४७ रोपनी निजी जग्गा खरिद गरेर कम्पनीको नाममा पास गरिसकिएको आयोजना प्रमुख जेनिश लामाले बताए। दश स्थानीय तह रहेको जिल्लामा साना ठूला गरी डेढ दर्जन बढी हाइड्रोपावर सञ्चालनमा छ । तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६३÷६४ मा उक्त हाइड्रोपावरलाई एकीकृत गर्दै पाँच वर्षभित्र जिल्लालाई अन्धकारमुक्त बनाउने गरी आवधिक योजना बनाए पनि कार्यान्वयन भएको छैन । रासस

ललितपुरको सातदोबाटोमा ट्राफिक प्रहरी भवन उद्घाटन, सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको १५ लाख सहयोग

काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्राफिक प्रहरी कार्यलय निर्माण सम्पन्न भएको छ । नयाँ ट्राफिक भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबार उद्घाटन गरेका छन् । अत्याधुनिक ट्राफिक प्रहरी भवन निर्माणका लागि सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

७ तल्ले अत्याधुनिक भवन बनाउँदै बीमा समिति, ८० करोड लागत

काठमाडौं । नियामक निकायमध्ये सबै भन्दा अत्याधुनिक भवन बीमा समितिले बनाउने भएको छ । समितिले ८० करोडको लागतमा ७ तले अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । सो भवन बिभिन्न नियामक निकायहरु बस्दै आएको हालसम्मकै अत्याधुनिक हुनेछ । कुपण्डोलस्थिल समितिको वर्तमान भवनको पछाडी समितिको नयाँ भवन निर्माण हुनेछ । त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ संस्थानको कन्सल्टेन्सी सर्भिसेजले बीमा समितिको नयाँ भवनको डिजाइन तयार पारेको हो । एक तल्ला अण्डर ग्राउण्ड पार्किङ, भुई तल्लामा क्याण्टिनका साथै तालिम हल, पहिलो तल्लामा अन्तराष्ट्रियस्तरको सम्मेलन स्थल र दोश्रो देखि छैठौं तल्लासम्म समितिको कार्यालय रहनेछ । सातौ तल्लामा भने बीमा क्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी कन्सल्टेन्सीहरुका लागि छुट्याइनेछ । बीमा समितिका निमिक्त कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार ललितपुर महानगरपालिकामा नक्सा पासका लागि पठाईको छ । नक्सा पास भए लगत्तै विद्युतिय ठेक्का( ई बिडिङ) गरिनेछ । ३ रोपनी क्षेत्रफलमा बन्ने भवन आगामी साढे ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य तय भएको छ । समितिको नयाँ भवन ४६८६.३२ वर्गमिटर क्षेत्रफलको हुनेछ । समितिले केहि बर्ष अघि नेपाल बैंकसँग ४८ करोड रुपैंयाँमा ९ रोपानी जमिन खरिद गरेको थियो । सोही जमिनको ३ रोपनीमा नयाँ भवन बन्नेछ । नयाँ भवन निर्माण भएपछि नियामक निकायहरुमध्ये समिति सबै भन्दा अत्याधुनिक भवनमा सर्नेछ ।

हिमालय ऊर्जा विकास कम्पनीको आईपीओ कात्तिक ६ देखि, ४९०० कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ६ गतेदेखि आयोजना प्रभावित स्थानीयबासिन्दालाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक २० र ढिलोमा मंसिर ५ गतेसम्म तोकिएको छ निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ ।जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयबासिन्दालाई आईपीओ निष्कासन हुन लागेको हो । कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ति बनाउन १ अर्ब ९१ करोड र माथिल्लो खिम्तीमा १ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट आउदो चैतसम्म विजुली उत्पादन हुने छ ।

भारतमा बैंक अफ बरौडा, विजय र डिना बैंकको असोज ३१ गते मर्जर हुदै, तेस्रो ठुलो बैंक बन्नै

एजेन्सी । भारतका ३ वटा वाणिज्य बैंक एकआपसमा गाभिने (मर्जर) भएका छन् । ३ वटै बैंकको सञ्चालक समितिले स्वीकृति प्रदान गरेपछि मर्जरमा जाने निश्चित भएको हो । असोज ३१ गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । मर्जरमा जानेमा बैंक अफ बरोडा, विजय बैंक र डिना बैंक रहेका छन् । यी ३ वटा बैंक गाभिएपछि पुँजीगत आधारमा भारतको तेस्रो ठुलो बैंक हुने भएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । ३ वटा बैंकलाई गाभेर मजवुत बनाउन सरकारले मर्जरमा लैजान लागेको हो । बरौडा र विजय बैंक मजवुत डिना बैंक कमजोर रहेको छ । यी मध्ये डिनाको खराबकर्जा अनुपात ११ प्रतिशत बरौंडाको ५.४ र विजयको ४.१ प्रतिशत छ ।

दुई वटा पेट्रोल पम्पमा सिलबन्दी

कलैया । गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले मंगलबार बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ । कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र कलैया उपमहानगरपालिका वडा नं १३ स्थित विजय आयल स्टोरमा सिल गरिएको क्षेत्रीय कार्यालयका प्रमुख शशिकान्त यादवले जानकारी दिए । अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल कमी भएको तथा पल्सर, गेयरमा समेत सिल नभएको हुँदा बाध्य भई नोजल सिल गरिएको प्रमुख यादवले जानकारी दिए । त्यसैगरी विजय आयलको डिजलमासमेत घटी भएको पाइएकाले त्यसलाई सिल गरिएको उनले भने । के-कति कारणले तेल कमी भएको हो, त्यस सम्बन्धमा अनुसन्धान भइरहेको क्षेत्रीय प्रमुख यादवले जानकारी दिए । रासस

पाटा नेपालका संस्थापक अध्यक्ष राणाले पाए ‘लाईफ टाईम अचिभमेन्ट’ अवार्ड

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टर अवार्ड फर ‘लाईफ टाइम अचिभमेन्ट’को अवार्ड पर्यटन व्यवसायी तथा पाटा नेपालका संस्थापक अध्यक्ष प्रभाकर समशेर राणाले पाएका छन् । पाटा नेपालले उनलाई नेपालमा गुणस्तरीय पर्यटन पवद्र्धन तथा पर्यटन सेवाको विविध क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर तथा सम्मान गर्दै उक्त अवार्ड पदान गरेको हो । मंगलबार ४२औँ वार्षिक साधारणसभाको अवसरमा पाटाले उक्त अर्वाड प्रदान गरेको हो । यसका साथै, पाटा नेपालले अन्य २ वटा अवार्डहरु प्रदान गरेको छ । नेपाल वायुसेवा निगममा महाप्रवन्धक सुगतरत्न कंसाकारलाई ‘पाटा पर्सनालिटी अफ द ईयर २०१८’ अवार्ड प्रदान गरिएको छ । वर्तमान परिप्रेक्षमा नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याएकोमा उनको भूमिकाको कदर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । त्यस्तै, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) लाई ‘वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर’ अवार्ड प्रदान गरेको छ । पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ठ कृयाकलापहरु गरेकोमा प्रशंसा गर्दै उक्त अवार्ड प्रदान गरेको छ । उक्त सभाले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय मार्ट तथा सेल्स मिसन, तेस्रो हिमालयन ट्राभल मार्ट २०१९, मानव संशाधन विकास सम्बन्धी तालिमहरु, पर्यटन सम्बन्धी अनुसन्धान-स्रोत पहिचान, प्रडक्ट डेभलपमेन्ट, मिडिया तथा ब्लगर्सहरुको परिचयात्मक भ्रमण तथा डेस्टिनेसन इमेज वील्डिङ्ग अभियानलगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेशसिंह बुडालले जानकारी दिए ।

साईनिङ्ग स्टार सहकारीबाट ४ करोड ठगी गरी काठमाडौंमा घर किन्ने अजय महर्जन पक्राउ

काठमाडौं । सहकारीको ४ करोड रुपैयाँ घोटला गरेका साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका तत्कालिन संचालक समिति सदस्य अजय महर्जन पक्राउ परेका छन् । महर्जनलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबीले) पक्राउ गरको हो । काठमाडौं महानगरपालिका वडा नं १३ ताहाचल बस्ने महर्जनलाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७२ बैशाख १७ गते ४० लाख ७८ हजार ८८१ रुपैयाँ जरीवाना र २ वर्ष ८ महिना जेल सजाय तोकेको थियो । अदालतको फैसलापछि उनी वेपत्ता भएका थिए । महर्जनलाई व्यूरोको टोलीले असोज २२ गते सोमबार राजधानीको ताहाचलबाट पक्राउ गरेको सीआईबीका प्रहरी नायव उपरिक्षक निरन्जनदत्त भट्टले बताए । उनका अनुसार सीआइबीले फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालतमा पेश गरिएको जनाएको छ । पक्राउ परेका महर्जनलाई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको छ । सहकारीको तत्कालिन संञ्चालक समितिमा रहेका महर्जनले आकर्षक ब्याज र उपहारको झुटा प्रलोभनमा देखाई बिभिन्न मितिमा निक्षेपकर्ताहरुबाट संकलित ४ करोड १७ लाख ५८ हजार ७०० रुपैयाँ हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा र सोको ब्याज समेत फिर्ता नगरी ठगी गरेका थिए । ठगीमा संलग्न रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठ समेत दुई जनालाई गत साउन १० गते पक्राउ गरिएको थियो ।