केएल टावरको दशैंतिहार उपहार योजना, बम्पर प्राइज मोटरसाइकल
काठमाडाैं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजया दशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि रमाईलो दशैं तिहार उपहार योजना संचालनमा ल्याएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् । हरेकदिनउपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाचीआरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतकाउपहार राखिएका छन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ । यसका साथै साप्ताहिक उपहारमा टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने छन् । उपहार जित्नको लागि के एल टावरमा रहेका आउटलेटमा कम्तीमाएक हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्तगर्ने छन् । उक्त कुपनका आधारमा दैनिक तथा साप्ताहीक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ । ५० वटा पसल,मिनीशौ, लाउञ्ज, कफिबार, तीनवटा सिनेमाहल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हबलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिदमा ग्राहकले एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गर्नेछन् । सोहीकुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १९ गतेदेखि शुरु भएको योजना कात्तिक ३० गतेसम्म संचालन हुने छ ।
८ अंकले बढेको बजारमा नाडेप लघुवित्तका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको बजार दोश्रो दिन करिब ८ अंकले बढेको छ । सोमबारको नेप्से परिसूचक ७.९९ अंकले बढेर १२२२.३५ अंकमा पुगेको छ । सो दिनको बजार कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रममा रहेको थियो । बजारमा १६३ कम्पनीको ३७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४ लाख ५१ हजार ५७२ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको ९ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया, एनसीसी, हिमालयन डिष्टिलरी र मेगा बैंकको एक करोड भन्दा बढी सेयर कारोबार भएको छ । एकल अंकले बढेको बजारमा सबैभन्दा बढी नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सोमबार उक्त संस्थाका सेयरधनीले ९.९६ प्रतिशत कमाएका छन् । सोमबार होटल समूहको सूचक ४८ अंकले बढेको छ । सो दिन जलविद्युत समूहको सूचक ३ अंकले घटेको छ भने कारोबारमा आएका बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।
नेपालको अर्थतन्त्रमा यस्ताे छ धानको महत्व, ‘प्रिमनसुन’ले चैते धानलाई फाइदा हुने
काठमाडौं । नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशतले रोपाइँ बढी भएको छ । गत वर्ष ८३ दशमलव ९७ प्रतिशत जमिनमा रोपाइँ भएको थियो भने यस वर्ष ९२ दशमलव २५ प्रतिशतमा रोपाइँ भएको छ । यस वर्ष नेपालमा जेठ ३१ देखि मनसुन शुरु भएको थियो । त्यसभन्दा अघिको ‘प्रिमनसुन’ले चैते धानलाई फाइदा पुर्याएको थियो । पर्याप्त वर्षाका कारण टारटुक्रा जमीनमा समेत सिँचाइ भएकाले उत्पादनमा बढोत्तरी हुने भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता तेजबहादुर सुवेदीले धानलाई पानी चाहिएका बेला पर्याप्त वर्षा हुनु, मलखाद र कीटनाशक विषादीको अभाव नहुनाले धानको उत्पादन उत्साहजनक देखिएको बताए । नेपालमा सन् १९७० मा २३ करोड, सन् १९८० मा २४ करोड ६० लाख, सन् १९९० मा ३० करोड ५० लाख, सन् २००० मा ४० करोड २२ लाख र सन् २०१० मा ४० करोड दुई लाख केजी धान उत्पादन भएको थियो । यस वर्ष झण्डै पाँच मिलियन टन अर्थात् ५० करोड केजी धान उत्पादन हुने अनुमान गरिएको छ । सरदर प्रतिकेजी रु ४५ का दरले हिसाब गर्दा उक्त धानबाट यस वर्ष २२ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । कृषि गणना २०६८ मा नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख छ । त्यसमा धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । गत वर्ष नेपालले लगभग २४ अर्ब रुपैयाँको चामल आयात गरेको थियो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती हुँदै आएको छ । आव २०६०/०६१ देखि २०७४/०७५ सम्म को तथ्याङ्क केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसमै निर्भर भएको देखिन्छ । जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको र मौसम प्रतिकूल भएका बखत उत्पादन घटेको देखिन्छ । नेपालमा कूल खेतीयोग्य जमीनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार-साउन) मा वर्षा भएन भने सिफारिश भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन । नेपालमा २०६०/०६१ देखि २०७४/०७५ अर्थात् १५ वर्षमा सबैभन्दा धेरै धानखेती भएको आव २०६०/०६१ हो । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमिनमा रोपाई भएकामा ४४ लाख ५५ हजार ७७२ मेट्रिक टन धान फलेको थियो । त्यसैगरी यहाँ सबैभन्दा कम ११ वर्ष पछि ०७२/०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धानखेती भएकामा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । पन्ध्र वर्षको सेरोफेरोभित्रमा सबैभन्दा धेरै धान फलेको वर्ष ०७३÷०७४ साल हो । उक्त वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो । नेपालको कूल जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा खेतीमध्ये लगभग ५० प्रतिशतमा धान खेती हुन्छ । सिँचाइ मन्त्रालयको तथ्याङ्कनुसार ६० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । धान रोपाइँ हुने असार-साउन महीनामा वर्षा भएन भने सिफारिश भए जति क्षेत्रफलमा धान रोपाइँ हुन सक्दैन । प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरेहेको छ । २०६०/०६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धान खेती भएकामा १५ वर्षपछि (२०७४/०७५) मा १४ लाख ६९ हजार ५४५ हेक्टरमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । वरिष्ठ कृषि अर्थशास्त्री शङ्कर सापकोटाका अनुसार नेपालीलाई लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको ‘सुपार जोन’ घोषणा गरेकोे छ । संसारका आधा जनसङ्ख्याको मुख्य खाना भात हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन हुनाका साथै खपत पनि हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दाबढि देशमा ८६४ थरीका धानका बीउ सिफारिश भएका छन् । नेपालमा ८६ उन्नत र सात रैथाने जातको बीउबाट उत्पादन गरिँदै आएको छ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषण गरेको छ । आगामी पाँच वर्षमा अर्थात् विसं ०७८/०७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ । रासस
भारतमा पेट्रोलको भाउ बढ्यो, प्रतिलिटर ८७.५० भारुसम्म पुग्यो
नयाँदिल्ली । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर ८२.०३ भारु (नेरु. १३१.२५) र डिजेलको मूल्य भारु ७३.८२ (नेरु ११८.११) पुगेको छ । मुम्बईमा पेट्रोलको मूल्य ८७.५० भारु र डिजेलको मूल्य ७७.३७ भारु तोकिएको छ । सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर २.५० भारुले कटौती गर्ने घोषणा गरेका थिए । उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गरेका थिए । रासस/एएनआई
निर्मला हत्याकाण्डमा संलग्न दुई प्रहरी निलम्वनमा
काठमाडौं । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई निलम्वन गरिएको जानकारी दिए । दुवै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्वन गरिएको हो । घटनामा दोषी देखिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित पाँच जनालाई यसअघि निलम्वन गरिसकेको छ । रासस
पूर्णिमा विकास बैंकले ११ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ४६ करोड नाघ्ने
काठमाडौं । पूर्णिमा विकास बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र करसहित ६.३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरको हो । उक्त प्रस्ताव गत असोज १९ गते बसेको संचालक समितिले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी ४४ करोड ४ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको पुँजी ४६ करोड रुपैयाँ नाघ्ने छ ।
गण्डकी प्रदेशको प्राथमिकता : पर्यटन, जलस्रोत र कृषि
काठमाडौं। गण्डकी प्रदेशले प्रदेशको विकासका लागि पर्यटन, जलस्रोत, कृषि लगायतका विषयलाई प्राथमिकता दिने भएको छ । संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आज यहाँ आयोजित साझत्कारमा प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी पौडेलले प्रदेशको वास्तविक अवस्था पहिचान गर्दै आगामी योजना तयका लागि गृहकार्य भैरहेको बताए। प्रदेशका १८ प्रतिशत युवा जनशक्ति विदेशीने गरेको बताउँदै उहाँले युवा जनशक्तिलाई नेपालमै राख्ने गरी प्राविधिक शिक्षा दिन प्रदेशले तयारी गरेको उल्लेख गरे। गण्डकी प्रदेशबाट मात्रै एक वर्षमा तीन लाख २२ हजार युवा विदेशीने गरेको र तिनीलाई स्वदेशमै रोजगारी दिने गरी नीति र योजना छिट्टै सार्वजनिक गरिने उनको भनाइ छ । प्रदेशमा तीन वटा चक्रपथ बनाउनका लागि अध्ययन शुरु भएको उनले जानकारी दिए । आगामी दुई वर्षभित्र गण्डकी प्रदेशका सबै जनताले पिउने पानी र बिजुली पाउने उनको दाबी छ । देशको करीब ५० प्रतिशत उर्जा गण्डकी प्रदेशबाट नै उत्पादन हुने गरेको र ५४७ मेगावाट क्षमताका जल विद्युत् आयोजना निर्माणाधिन अवस्थामा रहेको पौडेलले जानकारी दिए। उनका अनुसार देशमा एक हजार मेगावाट बिजुली उत्पादन भएकोमा गण्डकी प्रदेशबाट मात्र ४४९ मेगावाट बिजुली उत्पादन भइरहेको छ । आयोगका विज्ञ सदस्य विष्णुराज बरालले तथ्याङ्कमा प्रदेश अगाडि रहेपनि ग्रामीण क्षेत्रको अवस्था भने दयनीय भएको बताए। प्रदेशमा खेतीयोग्य जमिन प्रतिव्यतिm चार रोपनी पर्न आउने भए पनि कास्की जिल्लामा तीन रोपनी मात्रै रहेको उनको भनाइ छ । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष लालप्रसाद शर्माको अध्यक्षतामा भएको थियो । रासस
नेपाल सेवा लघुवित्तले ३१ लाख ५७ हजार रुपैयाँ नगद लाभांश दिने
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ३१ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्षको नाफा ४१ लाख ०९ हजार रुपैयाँबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै, बैठकले उक्त प्रस्तावित नगद लाभांशमा लाग्ने कर १ लाख ५७ हजार ८९५ रुपैयाँ गरी सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४९० रुपैयाँ रहेको छ ।