विकासन्युज

हाजिर जमानीमा घर फर्कँदै ओली र लेखक

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा प्रहरीले छाड्ने निर्णय गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले सर्वोच्च अदालतको आदेश अनुसार दुवैलाई छाड्ने निर्णय भएको जानकारी दिए ।  ‘आवश्यक अवस्थामा उपस्थित हुनेगरी हाजिरी हुने शर्तमा जमानीमा छाड्ने तयारी भएको हो,’ उनले भने, ‘हामी अब उहाँहरूको सबभन्दा नजिकको मानिसको जिम्मामा छाड्छौं ।’ प्रहरीले दुवै जनामाथि भदौ २३ को घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । उनीहरूलाई पछिल्लो पटक ५ दिनको म्याद थप गरिएको थियो । उक्त म्याद गएराति सकिएसँगै आज उनीहरूलाई छाडिने भएको हो । चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो । ओली पत्नी राधिका र लेखक पत्नी यशोदाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।  परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न अदालतले भनेको थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापनबारे विषयगत समितिको पाँचौँ बैठक सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्ध सुदृढ गर्ने उद्देश्यले गठित विषयगत समिति (सहकारी) को पाँचौँ बैठक सुरु भएको छ । संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२(१) बमोजिम गठित उक्त समितिको बैठकमा समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन, बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्ने उपाय तथा सहकारी ऐनमा आवश्यक सुधारका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । बैठकमा सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै बचतकर्ताको हित संरक्षण गर्ने तथा सहकारी प्रणालीलाई व्यवस्थित र विश्वसनीय बनाउने उपायहरूबारे धारणा आदान–प्रदान भइरहेको बताइएको छ ।  

एसईई दिएका विद्यार्थीले सस्तोमा डेटा र कल सुविधा पाउने

काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ । कम्पनीले विद्यार्थीलाई सहुलियत दरमा नयाँ सिमकार्ड तथा विभिन्न बोनस सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त अफर ल्याएको जनाएको छ । कम्पनीका अनुसार अफर चैत २६ गतेदेखि सुरु भई आगामी असार २६ गतेसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत विद्यार्थीहरूले २० रुपैयाँमै नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन् भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीले पनि सोही नम्बरमार्फत अफर लिन सक्नेछन् । नयाँ सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न सेवा सुविधा उपलब्ध हुनेछन् । प्याकेजअन्तर्गत दैनिक २० मिनेट अन–नेट भ्वाइस, १० वटा एसएमएस तथा ५०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा अतिरिक्त बोनस सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । बोनसअन्तर्गत डेटा, भ्वाइस कल र एसएमएस सेवा निश्चित अवधिसम्म प्रयोग गर्न सकिनेछ । अफर लिन विद्यार्थीले एसईई प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको प्रतिलिपि, फोटो तथा नागरिकता वा सरकारी परिचयपत्रसहित आवेदन दिनुपर्नेछ ।  सिम सक्रिय गर्न तथा अफर प्रयोग गर्न कम्पनीले तोकेको नम्बर डायल गरी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै अघिल्लो वर्षझैँ यस वर्ष पनि योजना निरन्तरता दिइएको कम्पनीले जनाएको छ । यसबाट विद्यार्थी वर्ग लाभान्वित हुने अपेक्षा गरिएको छ ।  

राजस्व र रोजगारी वृद्धि गर्न अटोमोबाइल क्षेत्र सुधार आवश्यक : नाडा

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधार आवश्यक रहेको औंल्याएको छ । नाडाको प्रतिनिधिमण्डलले राजस्व सचिव भूपाल बराल सँग भेट गरी अटोमोबाइल क्षेत्रका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरेको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले हाल शिथिल अवस्थामा रहेको अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन केही नीति तथा नियम संशोधन आवश्यक रहेको धारणा राखेको जनाएको छ । यस्ता सुधारबाट सरकारको राजस्व संकलन तथा रोजगारी सिर्जनामा समेत वृद्धि हुने विश्वास नाडाले व्यक्त गरेको छ । भेटका क्रममा राजस्व सचिव बरालले नाडाबाट प्राप्त सुझावहरू कार्यान्वयनयोग्य रहेको उल्लेख गर्दै उठाइएका विषयमा मन्त्रालय जानकार रहेको बताए । छलफलमा अटोमोबाइल उद्योग विस्तारका लागि कम्पोनेन्ट उद्योग स्थापना आवश्यक रहेको तथा त्यस्ता उद्योगलाई सरकारले प्रोत्साहन दिनुपर्ने माग राखिएको थियो । आवश्यक कच्चा पदार्थ आयातमा सहुलियत व्यवस्था गर्न सके रोजगारी वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने नाडाको भनाइ छ । नाडाले नेपालमै उत्पादन भइरहेका अटोमोबाइल सामग्रीको गुणस्तर परीक्षण गर्ने संयन्त्र अभावका कारण व्यवसायीहरूले समस्या भोगिरहेको समेत औंल्याएको छ । त्यस्तै, सवारी साधन खरिदसँग सम्बन्धित ऋण–मूल्य अनुपात (Loan to Value Ratio) पुनरावलोकन गर्नुपर्ने माग पनि राखिएको छ । यस्तो व्यवस्था सहज भए सवारी साधन बिक्री बढ्ने र त्यसबाट सरकारको राजस्वसमेत बढ्ने नाडाको तर्क छ । छलफलमा अटोमोबाइल क्षेत्रलाई अझै विलासिताको वस्तुका रूपमा वर्गीकरण गरिनु उपयुक्त नभएको भन्दै नीतिगत पुनर्विचार आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । साथै सीमावर्ती क्षेत्रमा चोरी पैठारी नियन्त्रण र कर संरचनामा समयानुकूल समायोजन गर्नुपर्ने विषय पनि उठाइएको थियो ।   

कागती किलोको ३०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३२, आलु रातो प्रतिकिलो रु २० र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।  यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ५५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।  त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १००, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु १००, परवर (तराई) प्रतिकिलो रु ९०, चिचिन्डो प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ७०, झिगनी प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो ९०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ८०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १९०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ११०, खुर्सानी (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ३१०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १५०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३२० निर्धारण गरिएको छ ।     

सिद्धार्थ बैंकका संस्थापक अग्रवाल र केडिया बाहिरिने, बिक्रीमा राखे सेयर

काठमाडौं । सिद्धार्थ बैंकबाट २ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जगदिश कुमार अग्रवाल र सुबोध कुमार केडियाले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् ।  बैंकका अनुसार अग्रवालले आफ्नो नाममा रहेको ५ लाख ४४ हजार १६४ कित्ता र केडियाले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।  खरिद गर्न इच्छुक लगानीकर्ताहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधि भित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

मोदी इनर्जीको २.२६ करोड कित्ता सेयरको लइकन सकिदैँ

काठमाडौं । मोदी इनर्जीको सेयरको लकइन अवधि एक महिनापछि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि वैशाख ३० गते समाप्त हुने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरूको गरी कुल २ करोड २६ लाख ३० हजार ४६० कित्ता सेयरको लइकन सकिन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको २ करोड १७ लाख ५० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ८ लाख ४ हजार ३९० कित्ता र कम्पनीका कर्मचारीको ७६ हजार ७० कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ । लकइन अवधि सकिएसँगै उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुको हकमा भने खरिद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।  आईपीओ बिक्री गरेर सेयर बाँडफाँडपश्चात् ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याएको सेयर लक इनमा राख्नु पर्ने नेपाल धितोपत्र बोर्डले व्यवस्था गरेको छ ।

हिलो र  चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई सवारी साधान सडक ‘फसे’काले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । बुधबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारीको जाम लागेको छ । ‘हिजो दिउँसोदेखि लगातार सिमसिम पानी परिरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिएर गुड्न समस्या भइरहेको छ, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ,’ उनले भने, ‘मालवाहक सवारीसाधनलाई अहिले अरुणखोला क्षेत्रमा नै रोकिएको छ ।’ दाउन्ने खण्डमा वर्षाले सवारी आवागमनमा समस्या भए पछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।