प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैबीच, आज अर्थसमिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्नेछ । समितिका बैठकमा विभिन्न समसामयिक विषय तथा विधेयकसम्बन्धी छलफल हुने जनाइएको छ ।

Share News