गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्ने मल्ल पक्राउ
काठमाडौं । गृहमन्त्रीका सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- ४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ५ बस्दै आएका ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ललाई पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक मर्यादा एवं वैयक्तिक प्रतिष्ठामा असर पर्ने किसिमको अडियो प्रसारण भएको विषयमा सोधपुछ गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको परिसरका प्रवक्ता दानबहादुर थापाले बताए । सामाजिक सञ्जालमा प्रसारित अडियोको वास्तविकता बुझ्न प्रहरीले मल्लसँग सोधपुछ गर्न खोजेको थियो। उनले खटिएको प्रहरी टोलीलाई गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेका थिए । उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । मल्लविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थपका लागि पेस गरिएकामा अनुसन्धानका लागि दुई दिनको म्याद थप भएको छ । बाँकेमा ६ वटा मुद्दा दर्ता प्रहरीका अनुसार मल्लको विवरण जाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीविरुद्ध विभिन्न समयमा ६ वटा मुद्दा दर्ता भएको खुलेको छ। दूरसञ्चार ऐनसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय बाँकेमा दूरसञ्चार ऐनअन्तर्गत मुद्दा दर्ता रहेको छ। उक्त मुद्दामा मल्ल फरार रहेको प्रहरी अभिलेखमा उल्लेख छ। अभद्र व्यवहारसम्बन्धी कसुर,मल्लविरुद्ध अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दासमेत जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता रहेको छ। बैंकिङ कसुर, बाँके प्रहरीमा मल्लविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा पनि दर्ता रहेको प्रहरी अभिलेखबाट खुलेको छ। अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दा, उनीविरुद्ध अभद्र व्यवहारकै कसुरमा थप अर्को मुद्दा दर्ता रहेको छ। अभद्र व्यवहारसम्बन्धी तेस्रो मुद्दा, प्रहरी अभिलेखअनुसार अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दा पनि उनीविरुद्ध दर्ता रहेको छ । ठगीसम्बन्धी कसुर, मल्लविरुद्ध ठगीसम्बन्धी कसुरमा समेत जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। मल्लविरुद्ध दूरसञ्चार ऐन, बैंकिङ कसुर, ठगी तथा अभद्र व्यवहारसम्बन्धी गरी जम्मा ६ वटा मुद्दा बाँके प्रहरीमा दर्ता रहेको खुलेको हो।
अमेरिकाले चीनलाई हतियार किन बेच्दैन ?
काठमाडौं । चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यूले गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई हतियार बेच्ने प्रस्ताव गरेको दाबी गरेका छन् । पर्ड्यूले आइतबार ‘फक्स न्युज’लाई दिएको अन्तर्वार्तामा गत साता अमेरिका आएका चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा ट्रम्पले अमेरिकाले विश्वका धेरै देशलाई हतियार बेच्ने गरेको भन्दै चीनले पनि अमेरिकाबाट केही हतियार किन्न चाहन्छ कि भनेर सोधेको बताएका छन् । तर पर्ड्यूको उक्त अन्तर्वार्तापछि ह्वाइट हाउसले चीनलाई हतियार बेच्ने अमेरिकाको कुनै योजना नरहेको स्पष्ट पारेको छ । अमेरिकी विदेश मन्त्रालयले पनि अमेरिकी कानुनले चीनलाई हतियार बिक्रीमा प्रतिबन्ध लगाएको भन्दै चीनलाई हतियार बेच्ने कुनै योजना नरहेको जनाएको छ । हतियार बेच्ने प्रस्तावको ताइवान कनेक्सन पर्ड्यूको अन्तर्वार्तापछि अमेरिकाले आत्मरक्षाका लागि ताइवानलाई हतियार उपलब्ध गराउन कानुनी रूपमा बाध्य भए पनि करिब १४ अर्ब डलरको हतियार सम्झौतालाई रोकिरहेको विषयमा चर्चा बढेको छ । अर्कोतर्फ, अमेरिकाले आफ्नै कानुनअनुसार हतियार उपलब्ध गराउन नसक्ने चीनलाई हतियार बेच्ने प्रस्ताव गरेको भनाइ सार्वजनिक भएको छ । यद्यपि अमेरिकी विदेश मन्त्रालयले यस्तो प्रस्ताव भएको कुरा अस्वीकार गरेको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र ताइवानलाई चीनमा एकीकरण गर्ने बताउँदै आएको छ। अमेरिकाले ताइवानलाई हतियार उपलब्ध गराउँदै आएको विषयमा चीनले लामो समयदेखि आपत्ति जनाउँदै आएको छ । जुन २०२५ मा चीनले ताइवानलाई अमेरिकामाथि निर्भर भएर वा सैन्य माध्यमबाट स्वतन्त्रता हासिल गर्ने प्रयास गर्नु ‘फँसेजस्तै’ हुने चेतावनी दिएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार गत डिसेम्बरमा ट्रम्पले ताइवानलाई ११.१ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिएका थिए । तर १४ अर्ब डलरको अर्को हतियार सम्झौताबारे भने निर्णय रोकिएको छ । ट्रम्पले उक्त सम्झौतालाई ‘चीनसँगको सम्झाैतामा महत्त्वपूर्ण दाउ’ का रूपमा व्याख्या गरेका थिए । बेलायती अखबार ‘द गार्डियन’ले रोयटर्सलाई उद्धृत गर्दै अमेरिका लामो समयदेखि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्छ कि गर्दैन भन्ने विषयमा ‘रणनीतिक अस्पष्टता’ को नीति अपनाउँदै आएको जनाएको छ । तर दशकौं पुरानो ‘ताइवान रिलेसन्स एक्ट’ अन्तर्गत अमेरिकाले ताइवानलाई आफ्नो रक्षाका लागि आवश्यक पर्याप्त सैन्य उपकरण उपलब्ध गराउनुपर्ने व्यवस्था छ । गत साता वासिङ्टनमा ट्रम्पसँग भएको भेटका क्रममा सी जिनपिङले ट्रम्पलाई ‘ताइवानको स्वतन्त्रता’को विरोध गर्न आग्रह गरेका थिए । पर्ड्यूको अन्तर्वार्ताअघि ताइवानका उपविदेशमन्त्री चेन मिङ–चीले पनि चीनबाट उत्पन्न गम्भीर सैन्य खतराबारे बताएका थिए। ताइपेईमा पत्रकारहरूसँग उनले भनेका थिए, ‘ताइवान जलडमरुमा अवस्था गम्भीर छ । चीनको अर्थतन्त्र कमजोर भइरहेको भए पनि उसले आफ्नो सैन्य क्षमता विस्तार गर्न निरन्तर थप स्रोत परिचालन गरिरहेको छ । यस्तो अवस्थामा अमेरिकाले हाम्रो रक्षा आवश्यकतालाई राम्रोसँग बुझेको छ ।’ चीनलाई हतियार बिक्रीमा प्रतिबन्ध लगाउने कानुन के हो ? अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज एच.डब्ल्यू. बुसले सन् १९८९ को जुनमा चीनको थियानमेन चोकमा लोकतन्त्र समर्थक प्रदर्शनकारीविरुद्ध चिनियाँ सरकारको हिंसात्मक कारबाहीपछि चीनलाई हतियार तथा सैन्य सामग्री निर्यातमा प्रतिबन्ध लगाएका थिए । त्यसपछि अमेरिकी कंग्रेसले सन् १९९० को फेब्रुअरीमा पीएल १०१–२४६ को धारा ९०२ मार्फत ती प्रतिबन्धलाई स्थायी रूपमा कानुनमा समावेश गर्दै यसको दायरा थप विस्तार गरेको थियो । यस कानुनअन्तर्गत चीनलाई अमेरिकी ‘म्युनिसन्स लिस्ट’मा समावेश रक्षा सामग्री तथा रक्षा सेवाको निर्यातका लागि इजाजतपत्र जारी गर्न रोक लगाइएको छ । यसका अतिरिक्त अपराध नियन्त्रणसँग सम्बन्धित उपकरण तथा केही उपग्रहमा पनि यस्तो प्रतिबन्ध लागू हुन्छ । अमेरिका विश्वकै ठूलो हतियार निर्यातकर्ता सीएनएनका अनुसार अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार निर्यातकर्ता देश हो । युरोप अमेरिकी हतियारको सबैभन्दा ठूलो ग्राहक हो । सीएनएनले स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई)को नयाँ तथ्यांक उद्धृत गर्दै सन् २०२० देखि २०२४ सम्म विश्वव्यापी हतियार निर्यातमा अमेरिकाको हिस्सा ४३ प्रतिशत रहेको जनाएको छ । यो विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता फ्रान्सको हिस्साभन्दा चार गुणाभन्दा बढी हो । एसआईपीआरआईको प्रतिवेदनअनुसार सन् २०१५ देखि २०१९ सम्म विश्वव्यापी हतियार निर्यातमा अमेरिकाको हिस्सा ३५ प्रतिशत थियो । सीएनएनका अनुसार पछिल्लो एक दशकमा युरोप अमेरिकी हतियारमा क्रमशः बढी निर्भर हुँदै गएको पनि प्रतिवेदनले देखाएको छ । पछिल्ला पाँच वर्षमा, जसमा सन् २०२२ मा युरोपको सीमामा रुसले युक्रेनमाथि गरेको आक्रमण पनि समावेश छ, युरोपका नेटो सदस्य राष्ट्रले आयात गरेका हतियारमध्ये करिब दुईतिहाइ अमेरिकामा निर्मित थिए । सन् २०१५ देखि २०१९ सम्म यस्तो हिस्सा आधाभन्दा केही बढी थियो । एसआईपीआरआईका अनुसार दुई दशकमा पहिलोपटक अमेरिकी हतियार निर्यातको ठूलो हिस्सा मध्यपूर्वको सट्टा युरोपतर्फ गएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनले अमेरिका लगायत विभिन्न देशबाट ठूलो परिमाणमा हतियार तथा सैन्य उपकरण खरिद गर्दै आएको छ ।
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान
काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो । गत भदौ १० गतेको रसुवा भोटेकोशीमा आएको बाढीपछि विद्युत् आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल जेनेरेटर चलाएर सञ्चालनमा राखिएको थियो । तर, टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो । सोलार प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ । नेपाल टेलिकमले टिमुरे–खैदीमा आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरी १२ किलोवाट क्षमताको सोलार सिस्टम जडान गरेको जनाएको छ । यससँगै विद्युत् सेवा उपलब्ध नभएको अवस्थामा पनि टिमुरे क्षेत्रमा नेपाल टेलिकमको टुजी तथा फोरजी सेवा सहज रूपमा सञ्चालन हुने भएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका दूरसञ्चार पूर्वाधार तथा सेवा प्रभावित भएका थिए । टिमुरे क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि टेलिफोन सेवा सञ्चालनका लागि जेनेरेटरमा निर्भर हुनुपरेको थियो । सोलार प्रणाली सञ्चालनमा आएपछि टेलिफोन तथा मोबाइल इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक ऊर्जा वैकल्पिक रूपमा उपलब्ध भएको छ । यसबाट स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रमा रहेका सेवाग्राहीलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन सहज हुने नेपाल टेलिकमले जनाएको छ ।
सुक्खायाममा विद्युत आपूर्ति सहज बनाउन ११ सय ५४ मेगावाट विद्युत भारतबाट आयात गरिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १ हजार १ सय ५४ मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको छ । सोमबार (आज) काठमाडौंमा पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने उक्त मात्रामा विद्युत आयात गर्ने योजना रहेको बताएका हुन् । उनका अनुसार हाल सुक्खायाममा आन्तरिक उत्पादनबाट कुल १ हजार २ सय १८ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ । उनले ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट ६ सय मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३ सय ५० मेगावाट र आरटिसीमार्फत १ सय ५० मेगावाट विद्युत आयात गर्ने प्राधिकरणको योजना रहेको बताए । उनका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल २ हजार ३ सय ७२ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ । अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु २ हजार २ सय ९२ मेगावाट पुगेको थियो । कार्यकारी निर्देशक श्रेष्ठले गत भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ बीको २ सय २० केभी हब तथा विभिन्न जलविद्युत केन्द्रमा क्षति हुँदा ४ सय ३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको जानकारी दिए । बाढीबाट प्राधिकरण र सहायक कम्पनीका संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ र पावरहाउसमा जम्मा भएको डेब्रिज तथा फोहोर हटाउने काम अघि बढाइने उनले जानकारी दिए ।
दसैंमा सेन्साइको अफर : ३० हजार १०० रुपैयाँसम्म क्यासब्याक
काठमाडौं । नेपालीहरूको महान् पर्व दसैंलाई लक्षित गर्दै सेन्साइले विशेष उत्सव योजना सार्वजनिक गरेको छ । ‘अँध्यारोपछि उज्यालो आउँछ, यो दसैं आशा नछोडौँ, हामी सँगै छौँ’ भन्ने सन्देशसहित कम्पनीले योजना ल्याएको हो । योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा विद्युतीय उपकरण खरिद गर्दा ग्राहकले ३० हजार १०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनरलगायतका उपकरण समावेश छन् । फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्ने ग्राहकले ६ केजी सर्फ एक्सेल र सेमी–अटोमेटिक वाशिङ मेसिन खरिद गर्दा २ केजी सर्फ एक्सेल निःशुल्क पाउने कम्पनीले जनाएको छ । योजनामा सहभागी ग्राहकले बम्पर उपहारका रूपमा सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन जित्ने अवसरसमेत पाउनेछन्। बम्पर उपहारका लागि योजनामा उपलब्ध क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । ग्राहकको खरिदलाई सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा ईएमआई तथा पुरानो सामानसँग नयाँ सामान साट्ने सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू भएको हो । चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा सेन्साइका उत्पादन बिक्री वितरण गर्दै आएको छ । सेन्साइका उत्पादन नेपालभरका आधिकारिक डिलर तथा २२ वटा सीजी डिजिटल शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अत्यधिक वर्षाबाट धानमा हुने क्षतिका लागि सलिकोको नयाँ बीमा योजना
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने क्षतिका लागि नयाँ बीमालेख जारी गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर कम्पनीले ‘अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख’ सञ्चालनमा ल्याएको हो । यो बीमालेख २०८३ असोज ७ गतेदेखि मंसिर ७ गतेसम्म लागू हुनेछ । कम्पनीका अनुसार कैलाली, कञ्चनपुर, धनुषा, सिराहा, सर्लाही, बाँके, बर्दिया, दाङ र कपिलवस्तुका धान उत्पादक किसानलाई यस बीमालेखमा समेटिएको छ । यस बीमालेखमा प्रति कट्ठा १ हजार ५९५ रुपैयाँ बीमाङ्क रकम कायम गरिएको छ । बीमालेख जारी भएको पहिलो दिनमै करिब १ हजार ३०५ किसानको ३ हजार ३०४ कट्ठा क्षेत्रफलको धानको बीमा गरिएको कम्पनीले जनाएको छ । यस बीमालेखमा किसानको खेतमा भएको वास्तविक क्षति छुट्टै मूल्याङ्कन गरिने छैन । तोकिएको तीन दिनको अधिकतम सञ्चित वर्षाको मात्राका आधारमा क्षतिपूर्ति निर्धारण गरिनेछ । तोकिएको वर्षाको सूचकांक पुगेमा किसानले छुट्टै दाबी फाराम वा अन्य कागजात बुझाउनुपर्ने छैन । बीमा भुक्तानीका लागि योग्य भएमा दाबी रकम किसानको बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस व्यवस्थाले किसानलाई दाबी प्रक्रियामा लाग्ने कागजी झन्झट र अतिरिक्त समयबाट राहत दिनेछ । अत्यधिक वर्षाका कारण धान उत्पादनमा कमी हुँदा हुने आर्थिक जोखिम व्यवस्थापनमा बीमालेखले सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार (आज) आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार आयोगले आर्थिक वर्षभरि सम्पादन गरेका काम, गतिविधि तथा समावेशीकरणसँग सम्बन्धित विषय समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो ।
सानिमा बैंकको १० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा असोज १२ गते सोमबार साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । दुवै लाभांशमा करसमेत समावेश छ । साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ र खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले बढेको बैंकले जनाएको छ । असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८०.७७ प्रतिशत रहेको छ ।