सडक अवरूद्ध हुँदा कोरलाबाट हुने आयात-निर्यात रोकियो, खुलाउन ६ दिन लाग्ने

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो, सडक कटान तथा पुलको पहुँचमार्ग बगाउँदा सडक अवरुद्ध भएको छ ।

भन्सार विभागका अनुसार असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्ग-४८ अन्तर्गत पर्ने उक्त सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको हो ।

लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरीका विभिन्न स्थान, बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर, दाना र लाटोखोलामा सडक माथिबाट लेदोसहितको पहिरो खस्दा यातायात अवरुद्ध भएको विभागले जनाएको छ ।

त्यसैगरी पोखरेबगर पुलको बायाँतर्फको पहुँचमार्ग बगाएको छ । तातोपानी कुण्ड, नार्च्याङ र खामभित्ता क्षेत्रमा नदीको उच्च बहावका कारण सडक कटान भएपछि आवागमन प्रभावित भएको छ ।

सडक अवरुद्ध भएपछि सडक विभाग तथा मातहतका निकायले सडक सञ्चालनका लागि तीव्र गतिमा काम गरिरहेका छन् । केही स्थानमा सडक सञ्चालनमा आइसकेको र बाँकी अवरोध हटाउने काम भइरहेको विभागले जनाएको छ ।

वर्षा रोकिएर सडक मर्मत तथा अवरोध हटाउने काममा थप समस्या नआएमा ३ देखि ६ दिनभित्र कालीगण्डकी कोरिडोर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने जानकारी सडक विभागबाट प्राप्त भएको भन्सार विभागले जनाएको छ ।

सडक अवरुद्ध हुँदा कोरला नाकाबाट हुने सामानको आयात-निर्यातमा तत्काल समस्या परेको भए पनि सडक विभाग तथा मातहतका निकायको निरन्तर प्रयासबाट सडक छिट्टै सञ्चालनमा आउने विश्वास रहेको भन्सार विभागले जनाएको छ ।

कोरला नाका हुँदै हुने व्यापार प्रभावित भएकाले सडक सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने अवस्था रहेको छ । सडक सञ्चालनमा आएपछि नाकाबाट हुने आयात-निर्यातसमेत सहज हुने अपेक्षा गरिएको छ ।

Share News