विकासन्युज

ओलीको भर्चुअल सम्बोधन सुरु, चार प्रदेशका एमाले नेतासँग संवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्न सुरु गरेका छन् । बुधबार (आज) सुरु भएको भर्चुअल कार्यक्रममा अध्यक्ष ओलीले चार प्रदेशमा पार्टीको संगठनात्मक अवस्था, पछिल्ला गतिविधि तथा समसामयिक राजनीतिक विषयमा नेताहरूसँग संवाद गरिरहेका छन् । कार्यक्रममा एमालेका उपाध्यक्ष, महासचिवलगायत शीर्ष नेताहरू पनि सहभागी छन् ।  प्रदेश र जिल्ला तहका सचिवालय सदस्यलाई जोडेर आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा प्रदेश र जिल्ला तहका गतिविधिबारे धारणा राख्ने बताइएको छ । चार प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरू सहभागी कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तहसम्म पार्टी संगठनको अवस्था र गतिविधिबारे समेत जानकारी लिने तथा नेताहरूका धारणा सुन्ने तयारी छ । पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश तथा जिल्ला तहका नेताबीच प्रत्यक्ष संवाद गर्ने उद्देश्यले भर्चुअल कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित

काठमाडौं । नेपालका चार जुडो खेलाडीले २० औं एसियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हार सामना गरेका छन् ।  जापानको नागोयामा बुधवार भएको खेलमा नेपालका विशेष र विकाश विक तथा देवकीमाया र निशा श्रेष्ठले पहिलो चरणमा बाहिरिए । आइची इन्टरनेसनल एरिनामा भएको खेलमा चारै खेलाडीले खराब प्रदर्शन गरे । चारमध्ये निसा र विकाश निर्धारित समयसम्म टिक्नै सकेनन् । पुरुष ६० केजीमुनि तौलसमूहमा विकास उज्बेकिस्तानका समरिद्दिन कुचकारोभसँग इप्पोनको आधारमा पराजित भए ।  यी दुवैले पहिलो चरणमा बाई पाएका थिए । तर विकासले त्यसलाई सदुपयोग गर्न सकेनन् । समरिद्दिन एसियन जुनियर विश्व च्याम्पियनसिपको स्वर्ण विजेता हुन् । कुल चार मिनेटको खेलमा विकास म्याटमा एक मिनेटमै नतिजा सुम्पिन बाध्य भए ।  पहिलो सेकेण्डदेखि नै समरिद्दिन आक्रामक देखिए । अन्तत: उनले विकासमाथि ४८ सेकेन्डभित्र नै बाजी मारे । महिला ४८ केजी तौलसमूहमा पनि निशाले खराब प्रदर्शन गरिन् । उनी हङकङकी योङ का लीसँग इप्पोनको आधार पराजित हुन पुगिन् ।  २ मिनेट ३२ सेकेन्डमा नै निसाले नतिजा सुम्पिएकी थिइन् । महिला ५२ केजीमा देवकी मायाले पनि पहिलो चरणमा भियतनामकी लाम थी एनगान हासँग युकको आधारमा पराजित हुन पुगिन् । अनुभवी खेलाडी देवकी मायाले अन्तिम समयसम्म चुनौती दिइन् ।  तर, खेल सकिन २० सेकेण्ड बाँकी छँदा युको सामना गर्न पुगेपछि देवकी माया पराजित भइन् ।  त्यसअघि दुवैले सिदो (पहेंलो कार्ड ) सामना गरेका थिए । उनी निसाकी दिदी हुन् । अर्का पराजित खेलाडी विकास र विशेष पनि दाजुभाइ हुन् । विशेष भने पुरुष ६६ केजी तौलसमूहमा हङकङका वाङ का कीसँग वाजारिका आधारमा पराजित हुन पुगे ।  तर, विशेषले चार मिनेटसम्म चुनौती दिए पनि पराजित भए । अब नेपालले दुई विधामा पुनम श्रेष्ठले महिला ७० केजीमुनि तौलसमूह, सुजन गुरुङले पुरुष ९० केजीमुनि तौलसमूह र मिक्स टिममा प्रतिस्पर्धा गर्नेछ । –न्युज एजेन्सी नेपाल

सीएनआईवाइईएफ र टीएसएनको सहकार्य, वर्षमा १०० स्टार्टअपलाई प्रवर्द्धन गरिने

काठमाडौं । नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारी भएको छ । समझदारीअनुसार सीएनआईवाइईएफ र टीएसएनले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रममार्फत हरेक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँग पहुँच तथा सम्बन्ध विस्तार, लगानीको तयारी र सम्भावित लगानीकर्तासँग जोड्ने काम गरिने जनाइएको छ । समझदारीपत्रमा सीएनआईवाइईएफका निवर्तमान अध्यक्ष आशिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरेका छन् । साझेदारीअन्तर्गत सीएनआईवाइईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाको सञ्जालमार्फत टीएसएनका कार्यक्रमका लागि सम्भावित प्रायोजक, संस्थागत साझेदार तथा अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्न सहजीकरण गर्नेछ । यो सहकार्य काठमाडौंमा मात्र सीमित नराखी नेपालका विभिन्न शहर तथा उदाउँदा उद्यमशीलता केन्द्रसम्म विस्तार गर्ने योजना रहेको छ । स्थानीय स्तरमै नयाँ व्यवसाय तथा उद्यमी जन्माउने र नवप्रवर्तन तथा उद्यमशीलताको पहुँच देशका विभिन्न भूगोलसम्म पुर्‍याउने लक्ष्य साझेदारीले लिएको जनाइएको छ ।

नेप्से नयाँ वित्तीय उपकरण कार्यान्वयन गर्न सक्षम छ : सुवेदी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले नियम तथा विनियमावलीले व्यवस्था गरेका सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन् । अर्थसमितिमा भएको पुँजी बजारसम्बन्धी छलफलमा सुवेदीले नेप्सेले हाल इक्विटी, म्युचुअल फण्ड, डिबेन्चरलगायतका उपकरणको कारोबार गराउँदै आएको जानकारी दिए ।  उनका अनुसार ओभर द काउन्टर (ओटीसी) बजारसमेत नेप्सेले सञ्चालन गरिरहेको छ । पछिल्लो समय मार्जिन कारोबारसमेत सञ्चालनमा आएको र धेरै ब्रोकर कम्पनीले मार्जिन लेन्डिङ कारोबार सुरु गरिसकेको उनले बताए । लगानीकर्ताको मागअनुसार ‘आफ्टर मार्केट अर्डर’ सुविधा पनि कार्यान्वयनमा आइसकेको उनको भनाइ छ । सुवेदीले भने, ‘अहिलेको सन्दर्भमा हामीसँग उपलब्ध रहेका र नियम तथा विनियमले व्यवस्था गरेका सम्पूर्ण वित्तीय उपकरणहरूको कारोबार गराउन नेप्से सक्षम छ ।’ नयाँ वित्तीय उपकरण ल्याउने विषय भने नीतिनिर्माणसँग सम्बन्धित रहेको उनले स्पष्ट पारे ।  नयाँ उपकरणसम्बन्धी नीति मुख्यतः नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थ मन्त्रालयले तय गर्ने भएकाले सम्बन्धित निकायबाट बनेका नीति कार्यान्वयन गर्ने भूमिका नेप्सेको रहेको उनको भनाइ छ । ‘नयाँ वित्तीय उपकरण ल्याउने विषय नीतिसँग जोडिएको विषय हो। नीति निर्माण मुख्यतः नेपाल धितोपत्र बोर्ड वा अर्थ मन्त्रालयले गर्ने विषय हो। सम्बन्धित निकायहरूले बनाएको नीति हामीले कार्यान्वयन गर्नैपर्छ र सोहीअनुसार कार्यान्वयन गर्दै आएका छौं,’ उनले भने । पछिल्लो समय नयाँ वित्तीय उपकरणका विषयमा सेबोनसँग समन्वय भइरहेको जानकारी दिँदै सुवेदीले आगामी दिनमा जुनसुकै नयाँ उपकरण आए पनि त्यसलाई कार्यान्वयन गर्न नेप्से प्रतिबद्ध रहेको बताए । मार्जिन लेन्डिङमा विभिन्न ब्रोकर कम्पनीले फरक–फरक मूल्य निर्धारण गरेको विषयमा पनि नेप्सेले निरीक्षण गर्ने उनले बताए ।  नेप्सेले तयार गरेको मार्जिन कारोबारसम्बन्धी कार्यविधिअनुसार ब्रोकरहरूले कारोबार गरिरहेका छन् कि छैनन् भन्ने विषयमा निरीक्षण गरिने उनको भनाइ छ । यस्तै, नेप्सेको अनलाइन कारोबार प्रणालीको स्वामित्वसम्बन्धी प्रश्नमा सुवेदीले प्रणालीको स्वामित्व नेप्सेकै रहेको स्पष्ट पारे ।  सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्रणालीको मर्मतसम्भारका लागि बोलपत्र आह्वान गरी कम्पनी छनोट गरिएको उनले बताए । ‘यसको स्वामित्व नेप्सेकै हो । प्रणालीको मर्मतसम्भारका लागि नेप्सेले सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम बोलपत्र आह्वान गरेको थियो । बोलपत्र प्रक्रियाबाट कुनै कम्पनी छनोट हुनु स्वाभाविक प्रक्रिया हो । तर त्यसको स्वामित्व, स्रोत कोडदेखि सम्पूर्ण सञ्चालनसम्बन्धी अधिकार नेप्सेकै हुन्छ। यो नेप्सेको सम्पत्ति हो,’ सुवेदीले भने । ब्रोकरहरूलाई प्रणालीमा लगइन गर्न प्रयोगकर्ता नाम तथा पासवर्ड उपलब्ध गराउने र ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सँग जोडिन आवश्यक पहुँच प्रदान गर्ने व्यवस्था नेप्सेले गरेको उनले बताए । टीएमएस सञ्चालनको जिम्मेवारी भने सम्बन्धित ब्रोकर कम्पनीकै रहेको सुवेदीले स्पष्ट पारे । उनले नेप्से आफ्नो भूमिकाप्रति निरन्तर प्रतिबद्ध रहेको र बजारको आवश्यकता तथा उपलब्ध नियमावली, विनियमावली र कार्यविधिअनुसार काम गर्दै आएको पनि बताए ।

बुढानीलकण्ठ हेरिटेजको आम्दानी २५ प्रतिशत बढ्यो, ४९.५ करोडको आईपीओ आउँदै

काठमाडौं । बुढानीलकण्ठ हेरिटेज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४२ प्रतिशत अर्थात् करिब ६ करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१८ नोभेम्बरमा स्थापना भएको बुढानीलकण्ठ हेरिटेजले काठमाडौंको बुढानीलकण्ठमा ‘लेमन ट्री प्रिमियर’ ब्रान्डअन्तर्गत पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । होटलमा हाल ९९ वटा कोठा छन् भने क्षमता बढाएर १०२ कोठासम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ । होटल सञ्चालनका लागि कम्पनीले लेमन ट्री होटल्स लिमिटेडसँग २० वर्षको व्यावसायिक सम्झौता गरेको छ । होटलले सन् २०२४ मार्च ९ देखि आंशिक रूपमा सेवा सुरु गरेको थियो भने सोही वर्षको सेप्टेम्बरको मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । लेमन ट्री होटल्स भारत, भुटान, नेपाल र दुबईमा १०० भन्दा बढी होटल तथा आवासीय प्रतिष्ठान सञ्चालन गर्ने स्थापित होटल समूह हो । गत वर्ष भएको जेनजी आन्दोलन र त्यसले पर्यटन क्षेत्रमा पारेको असरका बाबजुद बुढानीलकण्ठ हेरिटेजको होटल सञ्चालनमा सुधार देखिएको छ । कम्पनीको कोठा उपयोग दर आर्थिक वर्ष २०८२/८३ मा बढेर ४९ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो उपयोग दर करिब ३६ प्रतिशत थियो । यद्यपि, औसत कोठा दर भने करिब ११ प्रतिशतले घटेको छ । कोठा उपयोग दरमा भएको सुधारसँगै उपलब्ध कोठाबाट प्राप्त आम्दानी करिब २१ प्रतिशतले बढेको छ । लेमन ट्री होटल्स लिमिटेडसँगको आबद्धता, ठूलो ग्राहक आधार तथा सभा, सम्मेलन र कार्यक्रम केन्द्रित व्यवसायमा कम्पनीको सक्रियताले सञ्चालन सुधारमा सहयोग पुगेको जनाइएको छ । यसैगरी, सन् २०२५ डिसेम्बरदेखि क्यासिनोसँग गरिएको भाडा सम्झौताबाट आम्दानीको नयाँ स्रोत थपिएको छ । सञ्चालन खर्च नियन्त्रणमा आएसँगै कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८१/८२ को ऋणात्मक ३ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८२/८३ मा करिब ३० प्रतिशत पुगेको छ । यद्यपि, उच्च वित्तीय तथा ह्रासकट्टी खर्चका कारण कम्पनीको खुद नाफा मार्जिन अझै करिब ३.२ प्रतिशत ऋणात्मक रहेको छ । बुढानीलकण्ठ हेरिटेजले ४९ करोड ५० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । प्रस्तावित आईपीओबाट ४९ करोड ५० लाख रुपैयाँ संकलन गर्ने योजना रहेको छ ।

इरानका तीन कमान्डरको सूचना दिन अमेरिकाले राख्यो डेढ करोड डलर इनाम

काठमाडौं । अमेरिकाले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) को एयरोस्पेस फोर्सका तीन कमान्डरसँग सम्बन्धित जानकारी दिनेलाई १ करोड ५० लाख अमेरिकी डलरसम्मको पुरस्कार घोषणा गरेको छ । बीबीसी फारसीका अनुसार अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत उक्त पुरस्कार घोषणा गरिएको हो । पुरस्कार घोषणा गरिएका तीन कमान्डरमा ब्रिगेडियर जनरल अब्दुल्ला मेहराबी, अहमद जाफराबादी र अली असगर नौरुजी छन् । ब्रिगेडियर जनरल अब्दुल्ला मेहराबीलाई आईआरजीसीको एयरोस्पेस फोर्सअन्तर्गतको ‘जिहाद रिसर्च एन्ड सेल्फ–सफिसिएन्स अर्गनाइजेसन’को प्रमुखका रूपमा चिनाइएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अहमद जाफराबादी आईआरजीसीको एयरोस्पेस फोर्सका वरिष्ठ कमान्डर हुन् । उनी उक्त फोर्सको सञ्चालनसम्बन्धी व्यवस्थापनका लागि जिम्मेवार रहेको अमेरिकी पक्षको भनाइ छ । त्यस्तै, अमेरिकाले अली असगर नौरुजीलाई ‘रिभोल्युसनरी गाड्र्स रेडिनेस एन्ड सपोर्ट’का उपनिर्देशकका रूपमा उल्लेख गरेको छ । यसैबीच, अमेरिकाले इरानको रक्षा मन्त्रालयसँग सम्बन्धित १० व्यक्ति तथा संस्थामाथि पनि प्रतिबन्ध लगाएको छ । अमेरिकी वित्त मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले प्रतिबन्धको सूची सार्वजनिक गरेको हो । सूचीमा इरानसँगै मेक्सिको, चीन र पाकिस्तानका नागरिकको नाम पनि समावेश छन् ।

विद्यालय तहको पाठ्यक्रममा मुख स्वास्थ्यसम्बन्धी विषय समावेश गर्न एनडिएको आग्रह

काठमाडौं । बालबालिकालाई सानै उमेरदेखि मुख तथा दन्त स्वास्थ्यप्रति सचेत गराउँदै स्वस्थ बानीको विकास गराउने उद्देश्यले नेपाल डेन्टल एसोसिएसन (एनडीए) ले विद्यालय तहको पाठ्यक्रममा मुख स्वास्थ्यसम्बन्धी विषय समावेश गर्न सरकारसँग माग गरेको छ । एसोसिएसनका अध्यक्ष डा.अजयकुमार साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको हो । भेटका क्रममा एनडीएले बालबालिकालाई सानैदेखि दाँत तथा मुखको सरसफाइ, सामान्य रोगहरू, तिनको रोकथाम र स्वस्थ जीवनशैलीबारे शिक्षित गराउनुपर्नेमा जोड दिएको छ । भेटमा अध्यक्ष डा. साहले मुखलाई सम्पूर्ण शरीरको प्रवेशद्वारका रूपमा उल्लेख गर्दै सानै उमेरमा सही ज्ञान र सीप दिन सके भविष्यमा हुन सक्ने अनेकौँ दन्त तथा मुख स्वास्थ्यसम्बन्धी समस्याहरूबाट जोगिन सकिने बताए । विद्यालय स्तरको पाठ्यक्रम निर्माण तथा त्यससँग सम्बन्धित शैक्षिक सामग्री तयार पार्न एसोसिएसनका तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासहितको पत्रसमेत मन्त्री पोखरेललाई बुझाइएको छ । भेटघाटमा दन्त चिकित्सा क्षेत्रमा विद्यमान समसामयिक चुनौती, समस्या र तिनका सम्भावित समाधानका उपायहरूबारे मन्त्री पोखरेलसँग सकारात्मक र फलदायी छलफल भएको एसोसिएसनले जनाएको छ । एसोसिएसनकी सदस्यसमेत रहेकी सांसद डा.अंकिता ठाकुरको सहजीकरणमा भएको उक्त भेटघाट कार्यक्रममा एनडीए अध्यक्ष डा. साहसहित महासचिव प्रदीप भण्डारी, सदस्य डा. भुमेश काफ्ले लगायत अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

नेप्से निजीकरणदेखि सामाजिक सञ्जाल नियमनसम्म, रेग्मीका ५ सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजारमा देखिएका समस्या समाधान तथा नीतिगत सुधारको प्रभावकारी कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन् । बुधवार (आज) अर्थ समितिमा भएको पुँजीबजारसम्बन्धी छलफलमा रेग्मीले नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु पुँजी बजार सुधारको पूर्वसर्तजस्तै रहेको बताए ।  रणनीतिक साझेदारबिना सरकारले घोषणा गरेका कार्यक्रम तथा नेपाल धितोपत्र बोर्डले अघि सारेका नीतिगत सुधार कार्यान्वयन गर्न कठिन हुने उनको भनाइ छ । रेग्मीले पुँजी बजारका ब्रोकर, मर्चेन्ट बैंकरलगायत व्यवसायीको स्तरीकरण र मानकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । निश्चित मापदण्ड बनाएर उनीहरूलाई सुधार प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउनुपर्ने उनले बताए । ‘नेपाल सरकारले घोषणा गरेका कार्यक्रम तथा धितोपत्र बोर्डले सुधार गरेका वा सुधार तथा परिमार्जन गर्न लागेका नीति–नियम कार्यान्वयन गर्न नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नु पूर्वसर्तजस्तै देखिन्छ,’ उनले भने, ‘अन्यथा यी सुधार कार्यान्वयन गर्न सहज हुँदैन ।’ सामाजिक सञ्जालबाट हुने अनियन्त्रित सूचना प्रवाहले पनि पुँजी बजारमा भ्रम सिर्जना गरिरहेको रेग्मीले बताए ।  निःशुल्क परामर्श दिने नाममा गलत सूचना फैलाउने प्रवृत्तिले बजार प्रभावित भइरहेको भन्दै उनले सामाजिक सञ्जालबाट हुने गलत सूचना प्रवाहलाई नियमन गर्न आवश्यक रहेको बताए । त्यस्तै, बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ निष्कासन प्रक्रियालाई प्रभावकारी बनाउन संस्थागत लगानीकर्ताको संख्या र भूमिका बढाउनुपर्ने उनको भनाइ छ ।  संस्थागत लगानीकर्तालाई बजारको चालक बनाउँदै व्यक्तिगत लगानीकर्ताको हित संरक्षण गर्ने व्यवस्था आवश्यक रहेको रेग्मीले बताए । संस्थागत लगानीकर्ताको सहभागिता बढाउन करसम्बन्धी व्यवस्था पनि सुधार गर्नुपर्ने उनले बताए । व्यक्तिगत र संस्थागत लगानीकर्ताबीच करको दरमा रहेको ठूलो भिन्नताले संस्थागत लगानीलाई निरुत्साहित गरेको उनको भनाइ छ । ‘व्यक्तिगत रूपमा कारोबार गर्दा पाँच प्रतिशत कर तिर्नुपर्ने अवस्थामा संस्थागत रूपमा लगानी गर्दा ३० प्रतिशत कर तिर्नुपर्ने हो भने संस्थागत लगानीकर्ता किन आकर्षित हुन्छन् ?’ उनले प्रश्न गरे । संस्थागत लगानीकर्ताको सहभागिता नबढेसम्म व्यक्तिगत लगानीकर्ताले मात्रै बजार सञ्चालन गर्ने अवस्था रहने र त्यसले बजारमा अस्थिरता कायम रहन सक्ने रेग्मीले बताए । यसैगरी, नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना प्रणालीमा पनि सुधार आवश्यक रहेको उनले बताए ।  सूचक गणना गर्दा बजारमा कारोबारका लागि उपलब्ध ‘फ्लोट सेयर’लाई आधार बनाउनुपर्नेमा जोड दिँदै उनले यसबाट बजारको वास्तविक अवस्थालाई सूचकले प्रतिबिम्बित गर्न सक्ने बताए । रेग्मीका अनुसार पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेप्सेको संरचनागत सुधार, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, पुँजी बजार व्यवसायीको मानकीकरण तथा बजारसम्बन्धी सूचना प्रवाहको नियमनलाई प्राथमिकता दिन आवश्यक छ ।