काठमाडौं । बुढानीलकण्ठ हेरिटेज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४२ प्रतिशत अर्थात् करिब ६ करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सन् २०१८ नोभेम्बरमा स्थापना भएको बुढानीलकण्ठ हेरिटेजले काठमाडौंको बुढानीलकण्ठमा ‘लेमन ट्री प्रिमियर’ ब्रान्डअन्तर्गत पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । होटलमा हाल ९९ वटा कोठा छन् भने क्षमता बढाएर १०२ कोठासम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ ।
होटल सञ्चालनका लागि कम्पनीले लेमन ट्री होटल्स लिमिटेडसँग २० वर्षको व्यावसायिक सम्झौता गरेको छ । होटलले सन् २०२४ मार्च ९ देखि आंशिक रूपमा सेवा सुरु गरेको थियो भने सोही वर्षको सेप्टेम्बरको मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । लेमन ट्री होटल्स भारत, भुटान, नेपाल र दुबईमा १०० भन्दा बढी होटल तथा आवासीय प्रतिष्ठान सञ्चालन गर्ने स्थापित होटल समूह हो ।
गत वर्ष भएको जेनजी आन्दोलन र त्यसले पर्यटन क्षेत्रमा पारेको असरका बाबजुद बुढानीलकण्ठ हेरिटेजको होटल सञ्चालनमा सुधार देखिएको छ । कम्पनीको कोठा उपयोग दर आर्थिक वर्ष २०८२/८३ मा बढेर ४९ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो उपयोग दर करिब ३६ प्रतिशत थियो । यद्यपि, औसत कोठा दर भने करिब ११ प्रतिशतले घटेको छ ।
कोठा उपयोग दरमा भएको सुधारसँगै उपलब्ध कोठाबाट प्राप्त आम्दानी करिब २१ प्रतिशतले बढेको छ । लेमन ट्री होटल्स लिमिटेडसँगको आबद्धता, ठूलो ग्राहक आधार तथा सभा, सम्मेलन र कार्यक्रम केन्द्रित व्यवसायमा कम्पनीको सक्रियताले सञ्चालन सुधारमा सहयोग पुगेको जनाइएको छ ।
यसैगरी, सन् २०२५ डिसेम्बरदेखि क्यासिनोसँग गरिएको भाडा सम्झौताबाट आम्दानीको नयाँ स्रोत थपिएको छ । सञ्चालन खर्च नियन्त्रणमा आएसँगै कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८१/८२ को ऋणात्मक ३ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८२/८३ मा करिब ३० प्रतिशत पुगेको छ । यद्यपि, उच्च वित्तीय तथा ह्रासकट्टी खर्चका कारण कम्पनीको खुद नाफा मार्जिन अझै करिब ३.२ प्रतिशत ऋणात्मक रहेको छ ।
बुढानीलकण्ठ हेरिटेजले ४९ करोड ५० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । प्रस्तावित आईपीओबाट ४९ करोड ५० लाख रुपैयाँ संकलन गर्ने योजना रहेको छ ।