विकासन्युज

बत्ती निर्माणको काम नगरी ९ लाख हिनामिना गरेको आरोप, ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुमा बत्ती निर्माणको काममा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा हुम्लाको अदानचुली गाउँपालिका–कुकुरफाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३ भिईसम्म बत्ती निर्माणका लागि विनियोजित रकममा अनियमितता भएको थियो । अनुसन्धानका क्रममा फिल्डमा वास्तविक रूपमा भएको कामभन्दा बढी मूल्याङ्कन गरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन, झुट्टा उपभोक्ता भुक्तानी बिल तथा योजना अनुगमन र भुक्तानीका लागि सिफारिसलगायतका कागजात तयार गरी रकम भुक्तानी गरिएको पाइएको अख्तियारले जनाएको छ । आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा वास्तविक कामभन्दा बढी ९ लाख २६ हजार २३२ रुपैयाँ ७५ पैसा भुक्तानी गरी गैरकानुनी लाभ लिएको तथा नेपाल सरकार र सार्वजनिक संस्थालाई हानि पुर्‍याएको आरोप छ । आरोपपत्र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल, तत्कालीन सब–इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल र सोरू गाउँपालिका–३ का तत्कालीन वडाध्यक्ष लालु धामीविरुद्ध दायर गरिएको छ । त्यस्तै, गल्फागाढ छहराखेत भिई जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीविरुद्ध पनि आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले मुख्य प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ । उपभोक्ता समितिका पदाधिकारीलाई भने मुख्य कसुरदारलाई हुने सजायलाई आधार मानी मतियारका रूपमा मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।

मुनलाइट हाइड्रोको ९२ करोड रुपैयाँको सेयर प्रत्याभूति ज्योति क्यापिटलले गर्ने

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको सेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त सेयरको कुल रकम ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ रहेको छ । यससम्बन्धी सम्झौतामा ज्योति क्यापिटल र मुनलाइट हाइड्रोपावरबीच हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाइट हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कारोबारको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिस्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ ।

एमालेको ‘डिजिटल वार’ रणनीति, ओलीले दिए सामाजिक सञ्जालमा सक्रिय हुन निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जाल र सूचना प्रविधिको माध्यमबाट भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न ‘डिजिटल वार’ मा सक्रिय हुन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई बुधबार भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीका गतिविधि, नीति र उपलब्धिलाई डिजिटल माध्यमबाट जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन संगठनलाई परिचालन गर्नुपर्ने बताए ।  ओलीले परम्परागत संगठनात्मक गतिविधिसँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मलाई राजनीतिक जनसम्पर्कको महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । एमालेका पक्षमा रहेका विषयसमेत प्रभावकारी रूपमा सार्वजनिक हुन नसक्दा गलत सूचना र भ्रमले स्थान पाउने अवस्था आउन नदिन कार्यकर्तालाई सक्रिय हुन उनले आग्रह गरे ।  उनले पार्टीका काम र उपलब्धिबारे तथ्यमा आधारित सूचना प्रवाह गर्न तथा एमालेविरुद्ध हुने प्रचारको तथ्यसहित प्रतिवाद गर्न निर्देशन दिए । सूचना प्रविधिको क्षेत्रमा पार्टीको उपस्थिति कमजोर हुन नहुने भन्दै उनले स्थानीय तहदेखि नै डिजिटल गतिविधिलाई संगठनात्मक कामसँग जोड्नुपर्ने बताए ।  ओलीले सामाजिक सञ्जाललाई केवल प्रचारको माध्यम नभई जनतासँग प्रत्यक्ष संवाद र सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताए । त्यसका लागि नेता–कार्यकर्ताले आ–आफ्नो कार्यक्षेत्रमा नियमित रूपमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।  संगठनसँगै डिजिटल मोर्चा  ओलीको पछिल्लो निर्देशनले एमालेले आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीमा संगठन परिचालनसँगै डिजिटल माध्यमलाई पनि प्राथमिकतामा राख्न खोजेको देखिन्छ ।  उनले पार्टीभित्रका सानातिना असमझदारीलाई व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध बनाउनसमेत आग्रह गरे । ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ’ भन्दै ओलीले आन्तरिक एकता मजबुत बनाएर साझा राजनीतिक लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए ।  उनले आगामी निर्वाचनलाई केन्द्रमा राखेर संगठन परिचालन गर्न निर्देशन दिँदै एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको बताए ।  भर्चुअल कार्यक्रममा महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय तल्लो तहसम्म पठाइने जानकारी दिँदै पार्टी सदस्यताको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताए । वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए ।  असोज मसान्तभित्र सदस्यता अभिलेखीकरण  बैठकमा महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत तल्लो तहसम्म पठाइने जानकारी दिए ।  उनका अनुसार पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको छ भने प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तभित्र पूरा गर्नुपर्नेछ ।  पोखरेलले वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताए । लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने पनि उनले जानकारी दिए ।  जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन संगठनात्मक गतिविधिलाई तीव्रता दिने निर्णयसमेत बैठकमा जानकारी गराइएको थियो । 

‘प्राविधिक विज्ञता उपयोग गरी देश विकासमा योगदान दिनूहोस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् । बुधबार (आज) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्को प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री शाहले सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण स्थानमा रहेकाले आफ्नो प्राविधिक दक्षतालाई मुलुक निर्माणमा प्रयोग गर्नुपर्ने बताए । ‘तपाईंहरू आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ । देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नूहोस्,’ उनले भने । प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए । निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । उनले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई ‘असाधारण’ व्यक्तिको संज्ञा दिँदै त्यस्ता व्यक्तिले सधैँ नयाँ उपाय र विचार ल्याएर त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । नयाँ सोच र उपायसहित काम गर्न सके पाँच वर्षमै मुलुकलाई रूपान्तरण गर्न सकिने धारणा पनि प्रधानमन्त्री शाहले राखेका थिए ।

चियामा भेटियो स्वास्थ्यलाई हानी गर्ने कृत्रिम रङ, उत्पादन रोक्न विभागको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरण भइरहेको चियामा मानव स्वास्थ्यलाई असर पुऱ्याउने कृत्रिम बाह्य रङको मिसावट पाइएको भन्दै सम्बन्धित उद्योगका उत्पादन रोक्का गरी थप अनुसन्धान अघि बढाएको छ ।    विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा कृत्रिम बाह्य रङ प्रयोग भएको पुष्टि भएको जनाएको छ ।  सो पश्चात् विभागले गत असोज ८ गते नै सम्बन्धित व्यवसायीलाई ती चिया बजारबाट फिर्ता गर्न आदेश दिइसकेको छ । हाल उक्त उद्योगका अन्य उत्पादनहरूसमेत रोक्का राखेर अनुसन्धान भइरहेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै सम्पूर्ण चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री९वितरकहरूलाई चियामा कृत्रिम रङ वा अन्य कुनै पनि प्रकारको मिसावट नगर्न कडा निर्देशन दिएको छ ।    यदि निर्देशन विपरीत चियामा अखाद्य वा कृत्रिम वस्तु मिसावट गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को कानूनी व्यवस्था बमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

एबीपी इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । जलविद्युत् कम्पनी एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । यससम्बन्धी सम्झौता एबीपी इनर्जी र सिद्धार्थ क्यापिटलबीच भएको हो । सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै कम्पनीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापन प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइने कम्पनीले जनाएको छ । एबीपी इनर्जीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तादी खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने यो आयोजना रन–अफ–रिभर प्रकृतिको हो । आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५० लाख रुपैयाँ रहेको छ । आयोजनाको कुल लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा सिद्धार्थ बैंकले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ । आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशतभन्दा बढी पुगेको छ । कम्पनीले २०८४ साल वैशाख मसान्तसम्म आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा अनुभव भएका पूर्णलाल श्रेष्ठ र बलराम खतिवडासँगै एफवान सफ्ट इन्टरनेसनल तथा इसेवाका संस्थापक अज्गर अली रहेका छन् । कम्पनीले अनुभवी नेतृत्व र ऊर्जा क्षेत्रमा दीर्घकालीन प्रतिबद्धताका साथ नेपालको जलस्रोतको उपयोग गरी स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमा योगदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

रास्वपाको केन्द्रीय समिति बैठक असोज १७ गते बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने भएको छ ।  बैठक १७ गते  काठमाडौंको वनस्थली चमतीस्थित घन्टीघरमा अपरान्ह ३ बजे बस्ने भएको हो ।  पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा सहभागी हुन सबै केन्द्रीय समिति सदस्यलाई अनुरोध गरिएको छ ।  बैठकको एजेन्डाबारे भने रास्वपाले जानकारी दिएको छैन ।

१५७ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेर २५९८ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार १०९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३५२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै पिपुल्स हाइड्रोको २२ करोड, मन्जुश्री फाइनान्सको १८ करोड, शिवम् सिमेन्टको १५ करोड र सिद्धार्थ बैंकको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   आज सिन्धु विकास बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले बढेको छ । बुधबार सेयर बजारका अधिकांश उपसूचक घटेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार १३ वटा उपसमूहमध्ये ३ वटा उपसूचक बढ्दा १० वटा उपसूचक घटेका हुन् । सबैभन्दा धेरै ट्रेडिङ उपसूचक १.१८ प्रतिशतले बढेर ३ हजार २५४.३० अंक पुगेको छ । त्यस्तै, म्युचुअल फन्ड उपसूचक ०.२५ प्रतिशतले बढेर १९.४८ अंक पुगेको छ । हाइड्रोपावर उपसूचक भने सामान्य ०.०१ प्रतिशतले बढेर ३ हजार ५४८.२३ अंक पुगेको छ । यता होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै ०.५४ प्रतिशतले घटेर ७ हजार २३.२७ अंकमा झरेको छ । डेभलपमेन्ट बैंक उपसूचक ०.५० प्रतिशतले घटेर ५ हजार ३५४.९२ अंकमा पुगेको छ । जीवन बीमा उपसूचक ०.३५ प्रतिशतले घटेर ११ हजार ६९९.६२ अंक, बैंकिङ ०.३८ प्रतिशतले घटेर १ हजार ४९४.०६ अंक र फाइनान्स उपसूचक ०.३३ प्रतिशतले घटेर २ हजार १९९.७९ अंकमा कायम भएका छन् । त्यस्तै, उत्पादन तथा प्रशोधन ०.२४ प्रतिशत, माइक्रोफाइनान्स ०.०३ प्रतिशत, निर्जीवन बीमा ०.१६ प्रतिशत, लगानी ०.१९ प्रतिशत र अन्य उपसूचक ०.२२ प्रतिशतले घटेका छन् ।