‘प्राविधिक विज्ञता उपयोग गरी देश विकासमा योगदान दिनूहोस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।

बुधबार (आज) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्को प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शाहले सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण स्थानमा रहेकाले आफ्नो प्राविधिक दक्षतालाई मुलुक निर्माणमा प्रयोग गर्नुपर्ने बताए ।

‘तपाईंहरू आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ । देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नूहोस्,’ उनले भने ।

प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए ।

निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

उनले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई ‘असाधारण’ व्यक्तिको संज्ञा दिँदै त्यस्ता व्यक्तिले सधैँ नयाँ उपाय र विचार ल्याएर त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।

नयाँ सोच र उपायसहित काम गर्न सके पाँच वर्षमै मुलुकलाई रूपान्तरण गर्न सकिने धारणा पनि प्रधानमन्त्री शाहले राखेका थिए ।

Share News